तिमीबिना सम्हालिन सक्दिनँ

‘सायद हामी अलिकति नजिक भएको भनेको पोखराको भेटपछि थियो । म त्यति बेला लाहुरे हुने सपना बोकिरहेको थिएँ, छनोट हुनकै लागि धनकुटाबाट पोखरा गएको थिएा । के यो कुरा तिमीलाई याद छ ?’ 

भाद्र १४, २०८२

कुशल श्रेष्ठ

I can't handle it without you

What you should know

प्रिय तारा !तिमीलाई प्रेमपत्र लेख्न उमेरको छेकबार नै किन र ? जे होस्, अलिकति रोमाञ्चकता, त्यत्तिकै खुसी, अनि तिमी आफैं कति धेरै अचम्म पर्नेछ्यौ भन्ने कुरा मनमा खेलाएर यो पत्र लेख्दै छु । हामी दुवै नेपाली खेल क्षेत्रसँग आबद्ध छौं । हाम्रो परिचय दिएको पनि यही खेलकुदले हो ।

स्वाभाविक के पनि छ भने हामीलाई नजिक ल्याएको पनि खेलकुदले नै हो । त्यसैले सबैभन्दा पहिले धन्यवाद, नेपाली खेलकुदलाई नै । अझ कराँते भन्दा हुन्छ । मलाई राम्रोसँग सम्झनामा छ, हाम्रो प्रेम पहिलो देखाइमै बसेको थिएन । हामी पहिलो पटक भेटेको प्रतियोगिताकै क्रममा हो । प्रतियोगिता थियो, क्राउन प्रिन्सकप । त्यति बेला म कोशी अञ्चलबाट प्रतिनिधित्व गरेर खेल्न गएको थिएँ, तिमी गण्डकी अञ्चलबाट आएकी थियौं ।

यो ०५५ सालतिरको कुरा भयो । अझ सुरुमा त बोलचाल पनि भएको थिएन, भएको भनेकै देखादेख मात्रै थियो । सबै सामान्य नै थियो । सायद हामी अलिकति नजिक भएको भनेको पोखराको भेटपछि थियो । म त्यति बेला लाहुरे हुने सपना बोकिरहेको थिएँ, छनोट हुनकै लागि धनकुटाबाट पोखरा गएको थिएँ । के यो कुरा तिमीलाई याद छ ? त्यही बेला हामीबीच सम्बन्ध सुरु भएको थियो । तिमीबारे मेरो पहिलो मनको कुरा थियो, यी केटी खुबै चुलबुले छिन्, चञ्चल छिन् । मलाई त के लाग्छ भने तिमी अझै पनि यस्तै छ्यौ । एउटा कराँते खेलाडीका रूपमा तिमी राम्रै थियौ । तिमी ४५–५० केजीमा खेल्थ्यौ । म ५०–५५ केजीमा । एउटा कुरा भने तिमीमा पक्कै पनि थियो र त्यो थियो, सबैको आँखामा पर्ने । तिम्रा गुरुहरू पनि हामीले चिनेकै हुन्थ्यौं ।

फेरि कहींकतै जाँदा कराँतेका खेलाडीले खोज्ने भनेको कराँतेका अरू खेलाडी कहाँ छन् भनेर नै त हो । यसरी हामी नजिक भएका थियौं । मलाई लाग्छ, तिम्रा सम्झना पनि यस्तै रहे होलान् । त्यो बेला अहिलेको जस्तो फेसबुक थिएन । हामीले जति पनि कुराकानी गरेका थियौं, त्यो सबै ल्यान्डलाइनको टेलिफोनबाटै थियो । हामी दुवै राष्ट्रिय टिममा परेपछि काठमाडौं आएका थियौं, त्यसपछि भने भेटघाट बाक्लिएको थियो ।

ती संघर्षकै दिन थिए । अब त हामी विवाहपछि परिपक्व भइसकेका छौं । तिमीलाई सम्झना नै हुनुपर्छ, विवाह हुँदाको क्षण । साल थियो, ०५९ । यस्तोमा विवाह गरेपछिको समय पनि धेरै भइसकेको छ । एउटी श्रीमतीका रूपमा तिम्रा केही गुणले मलाई असाध्यै प्रभावित पारेका छन् । तिम्रो एउटा खास गुण हो, कसैको केही गल्ती छ भने त्यसलाई औंल्याइदिने । अझ तिमी एक पाइला अगाडि सरी यसरी सच्याउने भनेर सल्लाह पनि दिन्छ्यौ ।

I can't handle it without youकेही छ भने मुखै अगाडि भन्छ्यौ, तिमीलाई कुरा लुकाउन आउँदैन । अनि तिमी असाध्यै बुझ्ने खालकी छौ । जीवन हो, हामीबीच अनेक समस्या आएका छन् । अनि मलाई के पनि लाग्छ भने केही भयो भने तिमी असाध्यै चाँडै प्रतिक्रिया दिन्छ्यौ । अब यसलाई राम्रो भन्ने कि नराम्रो भन्ने ? चाँडै प्रतिक्रिया दिँदा समस्या आएका अनेक उदाहरण पनि छन्, त्यो तिमीलाई थाहा नै छ ।

यो एक अर्थमा राम्रो पनि हो, अनि अर्को अर्थमा नराम्रो पनि । फेरि यसरी प्रतिक्रिया दिन पनि न त अगाडि हेर्छ्यौ, न त पछाडि । कहिलेकाहीं स्थिति आफू अनुकूल पनि भएको छ, कहिलेकाहीं प्रतिकूल पनि । यति भन्दाभन्दै मेरो यहाँसम्मको यात्रामा तिम्रो ठूलो योगदान छ । खेलाडी छँदा पनि मेरो खेल जीवनमा तिम्रो योगदान थियो नै । सायद प्रशिक्षक हुँदा यो योगदान अझ बढी रह्यो । यसको एउटा राम्रो उदाहरण म तिमीलाई दिन सक्छु । हामी दुवै प्रशिक्षक भएको नाताले हामीलाई समान अवसर अगाडि आए । तर धेरै अवसरमा तिमीले मलाई अगाडि सार्ने क्रममा आफू पछाडि रह्यौ । प्रशिक्षकमा कुशलको नाम छ भने तिमी पछाडि हटेको सम्झना पनि छ । फेरि प्रशिक्षकमा बूढाबूढीलाई राख्नु हुन्न भन्ने कुरा पनि छँदै छ । यो त एक प्रकारले तिम्रो त्याग नै हो ।

यति मात्र होइन, एउटा प्रशिक्षकका रूपमा मलाई आफ्नो काममा मात्र केन्द्रित हुन तिमीले धेरै मद्दत गरेकी छौ । मलाई यो चाहियो, त्यो चाहियो भनेर कहिले पनि अप्ठ्यारोमा पार्ने काम गरिनौं । मलाई कराँतेमै मात्र ध्यान केन्द्रित गर्ने वातावरण दियौ । मेरो आफ्नै बानी पनि छ, एउटा काम पर्‍यो भने त्यसमै मात्र लाग्ने । म प्रायः दायाँबायाँ हेर्दिनँ, तिमी पनि मेरा लागि अरू सबै जिम्मेवारी उठाइदिन्छ्यौं । घर हेर्ने, छोरी हेर्ने काम दुवै तिमीले नै गरिहेकी छौ । सायद यो कुरा तिमीले भन्दा अरू कसले पो बुझ्न सक्छ ? पछिल्लो पटक चीनमा भएको एसियाली खेलकुदमा मेरो काँधमा प्रशिक्षकका रूपमा नेपाली कराँते टिमको जिम्मेवारी थियो । चीन जान अगाडि हामीबीच यसबारे कुराकानी पनि भएकै थियो । तिमी भन्थ्यौ, यसपल्ट कराँतेबाट केही न केही पदक आउनेछ ।

I can't handle it without you

नभन्दै एरिका गुरुङले ऐतिहासिक रजत पदक जितिन् । यो त नेपाली कराँते इतिहासकै सबैभन्दा ठूलो उपलब्धिका रूपमा थियो । एरिकाको त्यो उपलब्धि पनि मैले चीनबाट दुई जनालाई फोन गरेको थिएँ । एक त हाम्रा गुरु युवराज लामालाई । अर्को तिमी नै भयो । तिमी नेपालमै थियौ । त्यति बेला तिमी आफैं असाध्यै खुसी भएकी थियौ । तिमीलाई पनि एरिकामाथि ठूलै विश्वास थियो । खासमा तिमीले मलाई जति जोडेर जे जति भन्छ्यौ, त्यो पूरा भइरहेको पनि हुन्छ । यो सायद भाग्यको खेल पनि हो । तिमीले यस्तो उस्तो नगर्नू भन्दा कहिलेकाहीं मेरो जिद्दीले काम बिग्रेको पनि छ । सबै भनिसकेपछि अन्त्यमा एउटा कुरा भन्न चाहन्छु, जुन मैले अहिलेसम्म तिमीलाई भनेको छैन । मलाई अहिले लाग्न थालेको छ, तिमी भन्दा पहिले म मरूँ ।

म तिमी मरेको सहन सक्दिनँ जस्तो लाग्छ । मलाई तिमीबिनाको जीवन सह्य हुनेछैन । म त्यो स्थिति सम्हाल्न नै सक्दिनँ होला । सबैलाई एक दिन न एक दिन मर्नु नै छ, हामी दुईको कुरामा यस्तै हो, मैले सोचेजस्तै होस् भन्ने लाग्छ । फेरि यसबारे सोच्ने हतारो नै किन परेको छ र ? मलाई नेपाली कराँतेका लागि धेरै गर्नु छ । तिम्रै सधैंको जस्तो 

साथ भइरहोस् ।’

— तिम्रै, कुशल

कुशल श्रेष्ठ

Link copied successfully