जहाँ म बाँचें र अझै बाँच्दै छु/ जुकाझैं चुसेर रगत तिम्रो श्रमको/ म अब अरू बाँच्न चाहन्न/ सिकार भएर अति प्रेमको भ्रमको / मेरी प्रियतमे !
जुन प्रेमको थालनी
अस्पतालमा भयो,
जुन प्रेमको हुर्काइ
फेवातालमा भयो,
तालवारि भयो
तालपारि भयो
डुंगामाथि भयो
उर्लंदो छालमा भयो ।
जुन प्रेम पछि परिणत भएर विवाहमा
केही वर्षमा
सन्तान जन्माई बिते हर्षमा
पुनः थालनी भयो अस्पतालमा भर्ती हुने
र, घर फर्किने
फेरि भर्ती हुने र घर फर्कने क्रमको
जहाँ म बाँचें र अझै बाँच्दै छु
जुकाझैं चुसेर रगत तिम्रो श्रमको
म अब अरू बाँच्न चाहन्न
सिकार भएर अति प्रेमको भ्रमको
मेरी प्रियतमे !
(यो पत्र हामीलाई भूपीकी छोरी कविता शेरचनले उपलब्ध गराएकी हुन्)
