सम्बन्धहरूको सुन्दर दस्ताबेज

किताबमा लेखकले पाँच दशकअघिको काठमाडौंमा महिला स्वावलम्बन र स्वउद्यमको रोचक परिकल्पना गरेका छन्

श्रावण १०, २०८२

रमण घिमिरे

A beautiful document of relationships

What you should know

सम्बन्धको अर्थ एउटै भए पनि यसका परिभाषा फरक–फरक हुन सक्छन् । सम्भवतः संसारमा सबैभन्दा धेरै परिभाषा प्रेमले नै बनाएको छ । अनादिदेखि आजसम्म प्रेम आफ्नो परिभाषा फेर्दै र नयाँ बनाउँदै मानिसबीच जीवित छ ।

त्रेतामा सीतासँग रावण आशक्ति होस् या द्वापरमा राधा र कृष्ण, द्रौपदी र कृष्णको प्रेम, द्रौपदीसँग दुर्योधनको आशक्ति अथवा यही युगमा मोनिका लेविन्स्की र बिल क्लिन्टनको प्रेम होस् । प्रेमका प्रकृति र आशय जेजस्तो भए पनि यी सबै प्रेमकै परिभाषाभित्रका घटना हुन् । त्यसैले प्रेमको परिधि जति विस्तृत छ, यसको रूप र प्रस्तुतिहरू पनि त्यति नै भिन्न छन् । 

सन्दर्भ हो, लेखक/कवि बसन्त चौधरीको हालै प्रकाशित उपन्यास ‘देवयानी’ को । यो उपन्यास सम्बन्धहरूमाथि लेखिएको सुन्दर दस्ताबेज हो । यसमा आख्यानकार चौधरीले प्रेमसम्बन्धका पृथक्–पृथक् अवधारणा प्रस्तुत गरेका छन् ।

यस मान्यताको जगमा उभिएर समीक्षा गर्दा प्रेम र सम्बन्धको क्षितिज उदात्त र फराकिलो देखिन्छ अनि आकाशवरिपरि उडिरहेका बादलको नियति जस्तै लाग्छ । ‘देवयानी’ किन पनि यस्तो लाग्छ भने यसको आकृति र मन्तव्य बादलजस्तै बेलाबेला बदलिइरहन्छ ।

अनि ‘देवयानी’ आकाशको क्यानभासमा बतासले कोरिदिएको सुन्दर चित्रजस्तो लाग्छ । जसरी हावाको वेग र गतिसँगै बादलको आकृति परिवर्तन हुन्छ, त्यसरी नै ‘देवयानी’लाई पनि आख्यानकारले बीचबीचमा घटनाहरूमाथि रोचकताको रङ छरेर सुन्दर तर परिवर्तनीय चित्र बनाएका छन् । 

खासमा भन्ने हो भने यो सम्बन्धहरूको रंगीन धागोमा बाटिएको यस्तो आख्यान हो, जहाँ हरेक पात्र र तिनले निर्वाह गर्ने भूमिका सजीव र स्वाभाविक लाग्छन् । त्यसैले यसको कथा आजको समाजले व्यहोरिरहेको घटनाक्रम हो । कथानक, प्रस्तुति र चरित्र चित्रण कसिलोसँग बुनिएको छ, यो कतै खुस्किँदैन ।

सर्कसमा डोरीमाथि हिँडिरहेकी युवतीलाई देखेर त्रासले दर्शकको मुटुको स्पन्दन जति नै बढे पनि युवतीको सन्तुलन नबिग्रिएजस्तो उपन्यास पढिरहँदा कहाँ गएर धरमराएर भताभुङ्ग हुने हो कथा भनेर पाठक आशंकित भए पनि यसको अवतरण सहज र दुर्घटनारहित हुन्छ । कथा, आख्यानका घटनामा दुर्घटना नहुनु भनेको निर्विघ्न अवतरण नै हो ।

हिन्दीमा एउटा वाक्यांश छ, त्यसको प्रयोग यहाँ एकदमै सटीक हुन्छ– तातो दूधको तर पनि फुक्दै सेलाएर मात्र खानुपर्छ, नत्र च्यापु खुइल्याउँछ । हो, ‘देवयानी’ का परिच्छेदहरूमा आख्यानकार चौधरीले यसरी नै सावधानीपूर्वक कलम चलाएका छन्– हरेक मोड र बिसौनीहरूलाई सहज बनाएर । 

सुरुमा आदित्य र देवयानीबीचको प्रणयगाथा यति रफ्तारमा दौडिन्छ– यसले राजमार्गमा मर्सिडिज कार हुइँकिएको आनन्द दिन्छ । ३३/३४ अध्याय छिचोलिसकेपछि पठन–क्रिया एकदमै सहज र सुविधाजनक हुन्छ, कतै हल्लिँदैन । 

तर, हाम्रो देशका सडक र ‘देवयानी’ को अन्तर्कथा उस्तै–उस्तै छन् । एकैछिन गाडी तीव्र गतिमा दौडायो, बीचमा अवरोधका ठेउकाहरू भेटिहालिन्छ । ‘देवयानी’ मा पनि यस्तै हुन्छ । पढ्दै जाँदा पाठकले, कथामा घुम्ती र भीरपाखाहरू पनि आउँछन् भन्ने बिर्सियो भने यस्तो हुन्छ । जीवनमार्गको यात्रामा पनि सधैं चिल्लो राजमार्ग त कहाँ हुन्छ र ! गोरेटो, कुइनेटो, जंघार, भड्खालो– सबै त पार गर्नुपर्छ ।

‘देवयानी’मा पनि कतै रोचक, कतै रोमाञ्चक र कतै विषादपूर्ण मोडहरू आउँछन् । अनि बल्ल हेक्का हुन्छ– कथा जीवनकै एउटा अंश त हो नि ! कथामा आरोह–अवरोहहरू आउनु त स्वाभाविकता नै हो, आश्चर्य होइन । तर, हिँड्न त छोड्नु हुँदैन ।

यो एउटा क्रान्तिकारी लेखन पनि हो । अझ यसलाई सहासी अभिव्यक्ति भन्दा हुन्छ । चौधरीले यस उपन्यासमा देवयानी र आदित्यबीचको सम्बन्धलाई जुन हिम्मतिलो रूपमा प्रस्तुत गरेका छन्– पाठक कतिपय ठाउँमा बुकमार्क लगाएर सोचमग्न हुन पुग्छ । 

उनले महिलालाई अग्रगतिका साथ स्वच्छन्द र उत्ताल स्वतन्त्रता दिएर अघि बढाएका छन् । यसले आजको समाजको मनस्थितिलाई राम्रैसँग प्रतिबिम्बित गरेको हुन्छ । देवयानीको चरित्र संरचना गर्नु आफैंमा हिम्मतिलो काम हो । यसबाहेक यसका नायक आदित्यले विवाहित हुँदाहुँदै पनि यस उपन्यासमा जसरी परस्त्री प्रेमको गर्तमा चुर्लुम्म डुब्ने छुट पाएको छ, यो नै आजको समाजमा व्याप्त हुँदै गएको विसंगतिको एउटा ज्वलन्त यथार्थ पनि हो । यस उपन्यासमा यस पाटोलाई आख्यानकार बसन्त चौधरीले जस्ताको तस्तै राखिदिएजस्तो लाग्छ । 

यो, कहिले हिमनदीजस्तै तीव्र गतिमा हुनहुनाएर बग्छ, कहिले समुद्रजस्तै किनारमा शीतल छालहरू छम्केर फर्किन्छ । कहिले वियोगी मनजस्तै चोइटिन्छ र कहिले झरीपछि क्षितिजमा देखिने इन्द्र्रेणीजस्तै मनमा सुन्दर अनुभूति छोडेर जान्छ । 

यसको कथामा नजाऊँ । किनभने बसन्त चौधरी सधैं सिर्जनामा प्रेम र शान्ति पस्किने सर्जक हुन् । जतिखेर देशमा द्वन्द्व चलिरहेको थियो, त्यस बेला पनि उनले शान्तिको कुरा गरे, शान्तिलाई जोगाउने कुरा गरे, प्रेम बाँड्ने कुरा गरे, प्रेमले मान्छेको मन जित्ने कुरा गरे ।

त्यसैले त आजको समकालीन साहित्य, सिनेमा र नाटकका पृष्ठहरू राजनीतिक द्वन्द्वका लिपिले छ्यापछ्यापी भरिएको परिस्थितिमा ‘देवयानी’ले अर्कै मार्गचित्र कोरिदिएको छ । र, गैरराजनीतिक परिवेशमा रमाउन चाहने पाठकलाई मनग्य अक्सिजन खन्याइदिएको छ । जति नै लामो सास ताने पनि यसमा कुनै द्वन्द्वको प्रदूषण पाइँदैन बरु भित्रसम्म एक किसिमको आनन्द अनुभव हुन्छ । 

आख्यानको आधारभूमि प्रविधिसम्पन्न समृद्ध सहर हो । यस अर्थमा यसलाई काठमाडौं भनेर बुझे पनि हुन्छ । त्यसैले यस उपन्यासले सम्भ्रान्त र शिक्षित परिवारको कथा भन्छ, जहाँ कूटनीतिका ठाउँमा सम्बन्ध र राजनीतिका ठाउँमा प्रेम प्रकट हुन्छ । तर, यसमा पनि द्वन्द्व छ– प्रेमबीचको, सम्बन्धबीचको, संस्कृति र विचारबीचको । यो द्वन्द्व राजनीतिको भन्दा चर्को छ– नारी–नारीबीचको द्वन्द्व । 

हुन त राजनीतिक द्वन्द्व पनि महिला द्वन्द्वबाटै उत्पन्न भएर विग्रह भएको इतिहास छ । तर, लेखकले उपन्यासमा पाँच दशकअघिको काठमाडौंमा महिला स्वावलम्बन र स्वउद्यमको रोचक परिकल्पना गरेका छन् । महिला जति नै शिक्षित र सम्भ्रान्त भए पनि उसको परिधि एकदमै साँघुरो थियो । पुरुषसरह खुला रूपमा आएर खुलस्त र स्वतन्त्र विचार राख्ने महिलाको संख्या नगण्य थियो ।

यस्ता महिलालाई समाजले चोर औंला तेर्स्याउँथ्यो । साँच्चै भन्ने हो भने त्यस कालखण्डमा महिलालाई भान्सा र शृंगारमा मात्र सीमित गरिएको थियो । भोजभतेर, पूजापाठ, अतिथि सत्कारजस्ता विचारशून्य गतिविधिमा उनीहरूको काम, कर्तव्य निर्धारण गरिएको थियो । ‘देवयानी’ ले समाजले लगाएका यस्ता सम्पूर्ण अवरोधलाई फड्को मारेको छ । 

समष्टिमा यो हामी बाँचिरहेकै समाजको घटनाक्रमको विस्तार हो । त्यसैले उपन्यास पढ्दै जाँदा यसका अवस्थितिमा, घटनाक्रममा, पात्रहरूको क्रियात्मकतामा र उनीहरूको स्वभावमा कतै न कतै पाठकले आफ्नो उपस्थितिबोध गर्छ । यो नै देवयानीको उपन्यासको औचित्य पनि हो सायद ।

रमण

Link copied successfully