युगौंयुग भनिरहून्- थिए एक फुटबलर

मलाई असाध्यै प्रेम गरेका छन्– फुटबलप्रेमीले, शेखपछि सम्झिऊन् युगौंयुग, स्मृतिमा बाँच्नु सुन्दर कुरा हो 

श्रावण ३, २०८२

राजु शाक्य

A footballer is called Yugaunyug

What you should know

फुटबल भनेरै पूरै जीवन बिताएँ । परिचय मात्रै होइन, सबैथोक दिएकामा फुटबलप्रति कृतज्ञ छु । भलै फुटबल–जीवनमा उतारचढाव रहे, सफलता–असफलता रहे, खुसी र निराशा रहे । तर, मैले फुटबलै रोजें । फुटबलले नै जीवनमा खुसी दिएको छ । 

फुटबल नखेलीकन अरू पेसामा लागेको भए मलाई कसैले पनि चिन्ने थिएनन् । जीवनको अर्को नाम नै अनुशासन रहेछ । र, सफलता उसै प्राप्त हुने चीज होइन रहेछ । केही गुमाएँ, केही पाएँ । त्यसैले जीवनप्रति सन्तुष्टै छु, खासै गुनासो छैन । 

म चाहन्छु– मेरो शेखपछि पनि नेपाली फुटबलले जीवन प्राप्त गरोस् । र, फुटबलमा असाध्यै प्रगति गरोस् देशले । मेरो मृत्युपछि पनि मानिसले मलाई सम्झिऊन् युगौंयुगसम्म– थियो एक फुटबल खेलाडी, थियो एक कप्तान । त्यति भए पुग्छ मलाई । म पछि मानिसले मलाई कसरी सम्झेलान् भन्ने कल्पनाले पनि रोमाञ्चित हुन्छु । सोच्छु– मिडिया, अनुज, फुटबलप्रेमीले मलाई ‘असल मानिस थियो, राम्रो खेल्थ्यो’ भन्लान् पक्कै । 

सानैदेखि फुटबलको जुनुन थियो । म हुर्केको–बढेको धरानमा हो । ०१७ सालमा जन्मेको मैले किशोर हुँदासम्म देखेको धरान खेलमय–फुटबलमय थियो । सानैदेखि खेलेको खेल्यै गरें– फुटबल, टेबल टेनिसदेखि भलिबलसम्म पनि खेलें । तर, एक दिन निर्णय गरें– फुटबलमै केन्द्रित हुनेछु । 

त्यतिबेला धरानको फुटबल वास्तवमै असाध्यै राम्रो थियो । कति राम्रो भन्दा मैले धरानको मुख्य टिमबाट कहिल्यै खेल्न पाइनँ । मेरो सपना थियो, धरानको मुख्य टिमबाट खेल्ने । तर, म धरानको ‘बी’ टिममै सीमित रहें । मलाई अझै लाग्छ, त्यो धरानको मुख्य टिमबाट खेल्दा कस्तो हुँदो हो ? साँच्चै त्यति बलियो थियो, धरानको फुटबल । खेल मात्रै भनेर मैले पढ्न खासै ध्यान दिइनँ । त्यसको पछुतो छ ।

खेलाडीले पढ्नुपर्छ नै, खेल मात्रै भनेर हुन्न । पढ्ने खेलाडीको खेल अझ राम्रो हुने सम्भावना हुन्छ । बुबा सानुकाजी शाक्य जहिल्यै मलाई पढ्न भन्नुहुन्थ्यो । उहाँ आफैंले चाहिँ पढ्न पाउनु भएको थिएन । परिवार ठूलो थियो, बुबा कमाउने एक्लो हुनुहुन्थ्यो । त्यसैले हाम्रो परिवार आर्थिक रूपमा ठीकैको मात्र थियो । अझ केही गाह्रै भन्दा हुन्छ । बुबा सुनको काम गर्नु हुन्थ्यो । मैले पनि गरें तर मेरो त्यसमा हात बसेन । 

मैले ०३२ सालमा एसएसली दिएँ र क्याम्पसमा भर्नासम्म भएँ । तर, पढाइ त्यहीं रोकियो । त्यही बेला धरानमा एउटा खबर के आयो भने तत्कालीन जनकपुर चुरोट कारखाना (जचुका) ले फुटबल टिम बनाउँदै छ र त्यसका लागि खेलाडी खोज्दै छ । मैले पनि त्यहाँ जाने निर्णय गरें । र, त्यहींबाट औपचारिक रूपमा फुटबल खेल जीवन सुरु भयो । 

जचुकाबाट सुरु गरेको फुटबल यात्रा विभिन्न क्लब हुँदै राष्ट्रिय फुटबल टिमसम्म पुग्यो । नेपाली फुटबलले हात पारेका दुई ठूला सफलता भनेको सन् १९८४ को पहिलो दक्षिण एसियाली खेलकुद र सन् १९९३ को त्यही प्रतियोगिताको अर्को संस्करण हो । दुवैमा नेपालले पुरुष फुटबलमा स्वर्ण जितेको थियो । ती दुवै टिमको म सदस्य थिएँ । त्यस अर्थमा मलाई अहिले पनि त्यो सफलतासँग जोडिएको खेलाडी भएको नाताले खुसी र गर्व दुवै छ ।

मैले लगातार पहिलो दक्षिण एसियाली खेलकुददेखि छैटौंसम्म खेलें । यस्तो उपलब्धि धेरै कमले मात्रै पाएका छन् । अझ छैन नै भन्दा हुन्छ । राष्ट्रिय टिमसँग जोडिएका सबै सम्झना अझै ताजा छन्, सबैलाई साँचेर राखेको छु । कुनै पनि देशको प्रतिनिधित्व गरेर खेल्नुको उपलब्धि धेरै ठूलो हुन्छ । यसलाई पैसासँग जोडिनु हुन्न । 

सन् १९९३ को दक्षिण एसियाली खेलकुदसँग जोडिएको एउटा घटनाले मलाई अझै नराम्ररी पिरोल्छ । त्यसले मलाई त्यो समय साह्रै दुःखी तुल्याएको थियो । म त्यस दिनको कप्तान थिएँ । बंगलादेशको ढाकामा भएको त्यस दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको स्वर्ण त्यही एउटा हो, त्यो पनि प्रतियोगिता सकिने बेला मात्र हात परेको । 

‘त्यो एउटा स्वर्ण जित्ने हो भने यस्तो गर्ने, उस्तो गर्ने’ भनिएको थियो । काठमाडौं फर्केयता पनि धेरै आश्वासन पाइयो । धेरै राजनीतिक नेताले ‘यस्तो गर्ने र उस्तो गर्ने’ भने । तर, केही पनि पूरा भएन । मलाई तत्कालीन शाही नेपाल वायु सेवा निगममा स्थायी जागिर दिने कुरा भएको थियो । त्यो बेला निगमको आफ्नै फुटबल टिम पनि थियो । म त्यो स्थायी जागिर पाउनेमा ढुक्क थिएँ । तर, त्यो पाइनँ । एक खेलाडीका नाताले सबैभन्दा दुःख लागेको घटनामध्ये यो एक हो । 

२३ वर्ष लगातार खेलें, त्यसपछि प्रशिक्षक भएँ । अहिले पनि प्रत्येक दिन फुटबलसँगै जोडिएर काम गरिरहेको छु । यो काममा मलाई परिवारले ठूलो साथ दिएको छ । मैले खेल्न छाडेपछि मात्रै विवाह गरेको हुँ । फुटबलबारे श्रीमती मञ्जु शाक्यको कहिल्यै गुनासो भएन, लगातार सहयोग रह्यो– भावनात्मक रूपमा । मैले खेलाडी, क्याप्टेन र कोच भएर मेडल पाएँ । तर, मूल्यांकन ? अहिले पनि गरेका छन् फुटबलप्रेमीले, म पछि पनि पक्कै गर्नेछन् । मान्छेहरूको स्मृतिमा बाँच्नु सुन्दर कुरा हो ।

राजु

Link copied successfully