केही असफल प्रेमहरू गरें, कसैलाई उपकार गरें, कसैबाट उपकृत भएँ, सम्पत्तिमा दुईपालि स्कुटर किनें, कसैलाई घृणा गरें, कसैबाट घृणित भएँ, जाबो यस्ता सामान्य क्रियाकलापको फेहरिस्त के काफी छ र अबिच्युरी लेखिनलाई ?
What you should know
थिएट्रिकल मृत्यु : यसरी म मरेछु, सिनेमा थिएटरमा । मेरी प्रेयसीले मेरो यसपालिको जन्मदिनको उपहार आमीर खानको ‘सितारे जमिन पर’ हेराउन लगी । मध्यान्तर सकिँदा/नसकिँदा तीनचोटि हिक्कहिक्क भएँ । मेरा लागि राम्रो सिनेमा भनेको रुवाउन सक्ने सिनेमा हो ।
घरीघरी रोएँ । अन्तिम सिनमा आमीर खानको ‘स्पेसियल्ली एबल्ड’ टिमले भलिबल म्याच हार्छ । कोच आमीर कुण्ठित बन्छ । तर, उसको हारेको टिमले भने हाँस्दै, रमाउँदै जितेको टिमलाई विजेता ट्रफी लिन स्टेजमा उठाउँछ । जित्ने र हार्ने टिम एकसाथ सेलिब्रेट गर्न थाल्छन् । जित्नु र हार्नुको धर्का मेटिएको अवस्था ! हारेर पनि कसरी मान्छे खुसी हुन सक्छ ? त्यो पाठ ‘स्पेसियल्ली एबल्ड’ केटा–केटीहरूले हामी नर्मल्ली एबल्डलाई दिन्छन् । म त्यतिखेरसम्म मुर्छा परिसकेको हुँदो रहेछु ।
गर्लफ्रेन्डले मलाई झकझकाउँछे, पानी ख्वाउँछे । तर, म हल न चल । पोस्टमार्टम टेस्टको रिपोर्ट आयो– ‘कार्डियक अरेस्ट’ ।
यसै त ‘नियर टु डेथ’ आभास म प्रेसमा काम गर्दा निक्कै सालअघि भएको हो । नाइट सिफ्ट सकिएर मलाई घर पुर्याउन गएको गाडी तीन ‘पोल्ड’ पल्टिँदा म झन्डै मृत्युको काखमा निदाएको । तर, मैले आफैंले आफैंलाई बचाएँ । राति २ बजे तीन किलोमिटर हिँडेर एउटा हात भाँचिएको र टाउको फुटेको अवस्थामा रगताम्य भएर गाउँ पुगें, म बाँचें ।
दोस्रो चोटि कोभिड क्वारेन्टाइनमा एक रातको बलशाली ज्वरोले झक्झकाएर झन्डै टिपेका बेला पनि मृत्युलाई अनुभव गर्न खोजिएको हो ।
यो ब्रह्माण्डमा जसरी कुनै पूर्वघोषणाबिना एउटा कीरा मर्छ, जसरी कुनै होहल्लाबिना एउटा एउटा चरा मर्छ । म मरें उसरी नै, उस्तै मृत्यु, सामान्य । मरें सबैको मृत्यु ।
हिटलरे ट्याबु
यसै त म फ्यासिजमलाई घोर घृणा गर्छु । तर, मलाई हिटलरको मृत्यु मनपर्छ । उसले इच्छामृत्यु वरण गर्न सकेको थियो । त्यो पनि आफ्नो प्रिय कुकुरसँग । मान्छेले जन्म त लिन्छ, तर उसको इच्छाविरुद्धको सबैभन्दा ठूलो पीडा हो– उसको अवश्यम्भावी मृत्यु । मृत्यु नहुँदो हो त उसको जीवन एउटा बोरिङ अनन्त रेखा हुने हो, जुन रेखा आफैंमा उसको कैद–रेखा हुँदो हो ।
तर, ऊ त मर्छ– मर्छै मर्छ । जसरी जन्मनु उसको हातमा छैन, मर्नु पनि उसको हातमा छैन । उसको इच्छाअनुसार मर्न पाउँदो हो त मान्छेको मृत्युपीडाले एक हदको प्रश्रय पाउँदो हो । ढुक्कसँग मरिदिँदो हो– आफ्नै गतेमा, आफ्नै खामखयालीमा, आफ्नै तयारीमा ।
हुन त इच्छा–मृत्यु केवल मिथ–कथाहरूमा मात्रै जान्न पाइन्छ । वास्तविकतामा इच्छामृत्यु भनेको आत्मघात, आत्महत्या नै मात्र त हो । जुन क्रियाकलाप घृणित, तुच्छ र तिरस्कृत छ । यसो र इच्छामृत्यु एकप्रकारले अवाञ्छनीय, अमान्य र अस्वीकृत छ । अर्थात्, ट्याबु ।
म बाँचुञ्जेल दुई चोटि डिप्रेसनको सिकार भएको हुँ । पहिलो चोटिको डिप्रेसन मेरा लागि अतिशय नयाँ अनुभव थियो । निश्चित छ– म यस अनुभवप्रति अज्ञानी थिएँ । अनिश्चित अँध्यारोको अवस्था । अन्योलताको त्यो भुमरीमा मभित्र पनि इच्छामृत्यु वा आत्मघातको बाटो गइदिने घोर इच्छा जागेको हो ।
आत्महत्या कायरता हो भनिन्छ । सोचिल्याउँदा भेउ हुन्छ– आत्महत्या गर्न नसक्नु अर्को ठूलो कायरता रहेछ । मैले सकिनँ । मैले त बाँच्नै चाहेको थिएँ । मेरा आमा–बाबा, बहिनीहरू, कुटुम्ब, साथी–भाइ, जड–अजड मेरा प्रिय थोकहरूले मलाई नजानिँदो पाराले निक्कै दह्रो गरी तानेका थिए । मेरो डिप्रेसन पनि बिस्तारै दमित बन्दै गइरहेका थिए । मैले आज मरिसकेर आफ्नो जीवनलाई एक झलक फर्किहेर्दा मेरो जीवन–रेखामा टाढैबाट देखिने गाँठोहरूमध्ये त्यही डिप्रेसनको गाँठो चहकिलो देखिने रहेछ ।
स्मृति रेखा
यसो र म आकस्मिक मृत्यु मरें, आत्महत्या गरेर होइन । ज्यानमारा रोगले पनि होइन । एक्सिडेन्ट भएर पनि होइन । बालकृष्ण समको ‘नियमित आकस्मिकता’ जस्तै आकस्मिकताको एउटा विन्दुमा ।
मरेपछि मेरो नामको गुणगान होस् । मलामीमा ढोल–नगाडा बजाइयोस् । मेरो नाममा बाटोको नाम राखियोस् । संघसंस्थाको नाम राखियोस् । पुरस्कार राखियोस् । चोकमा मूर्ति ठड्याइयोस् । यस्ता सोच, इमानदारीपूर्वक भन्छु, कहिल्यै आएनन् ।
यसै मेरो कवि–फिल्मकार भाइ पल्लबीले मजाकको बेला भन्छ, ‘दाज्यु, तपाईं मरेपछि मूर्तिकार अमीर सुन्दासले बनाएको तपाईंको पाउट गरेको मूर्ति सुकुनाको चोकमा राख्नेछौं है ।’
मलाई त्यो मजाकले मुटुको भित्री कोठासम्म भयावह झक्झक्याउँछ । त्यो मूर्तिकै मुन्तिर रातिराति ड्रग्स खाने अड्डा जमिदियो भने नि ! या त काठ तस्करहरूको खैनी माड्ने जग्गा भइदियो भने नि !
खासमा समाजले कुनै घटना वा कुनै व्यक्तिलाई सम्झनुपर्ने सामूहिक स्मृति वा कलेक्टिभ मेमोरीको समेत आयु हुने गर्छ । समाजका साझा अनुभव, घटनाहरू र ज्ञानलाई सक्रिय रूपमा सम्झन र सँगै हस्तान्तरण गर्न सक्ने समयको अवधि हो– आयु । मौखिक परम्परा, पाठ, अनुष्ठान, स्मारक वा अन्य सांस्कृतिक सञ्चार माध्यममार्फत बाँचेको हुन्छ यो सामूहिक स्मृति ।
सामाजिक स्मृतिको आयु ३ देखि ५ पुस्तासम्म फैलिएको हुने रहेछ । मोटामोटी ७५ देखि १५० वर्ष हुँदो हो त्यो टाइमलाइन । मौखिक स्मृति, पारिवारिक कथा–किस्सा र जीवित अनुभवहरूबाट सजीव रहने हो कुनै घटना वा व्यक्तिबारेको स्मृति ।
पार्टिसन पीडा
जसरी नेपाल–भारत सिमाना वारिपारि पारिएकाहरूको स्मृतिमा एकार्काको सहचार्य स्मृति अझ बल्झिँदो छ । जसरी पूर्व बंगाल र पश्चिम बंगालको विभाजनको पीडामा अझ पनि दुई देशमा फ्याक परेका बंगालीहरूको सामूहिक स्मृति विदग्ध छ । जसरी यहुदी समुदायसँगै विश्वकै सामूहिक स्मृतिमा सक्रिय रूपमा आज पनि सम्झिइन्छ— होलोकास्ट । उसरी नै अझ भारतको सामूहिक स्मृतिमा आलो छ– सन् १९४७ को भारतको विभाजन अर्थात् पार्टिसन ।
यस्तै, जलिरहेको स्मृतिले मेरै परिवारलाई पनि पोलिरहेको हुन्छ । सन् १९४७ को पार्टिसनको एउटा भिक्टिम मेरो परिवार र मेरो कुटुम्ब पनि हो । पार्टिसनअघि अनडिभाइडेड पञ्जाब पाकिस्तानको रावलपिन्डी, पेसावरहरूसम्म फैलिएको थिए ।
पुनियानी सिन्ध प्रान्तमा बसोबास गर्ने पञ्जाबी समुदायको एक हाँगा हो । राजनीतिक सीमानुसार अहिलेको पाकिस्तानमा पर्ने रावलपिन्डीका रैथाने मेरा सिन्धी पुर्खाहरू काफिला–काफिलाको ताँती लागेर, रातोरात हिँडेर त्यतिखेर बनिँदै गरेको भारततिर भित्रिएका थिए । उनीहरू रातारात शरणार्थी भएका थिए । त्यही शरणार्थी पुर्खा भारतभरि छरिएछन् । उही पुर्खाको एक हाँगा— मेरा बाजे काकाराम पुनियानी— यता दार्जिलिङतिर आएछन् । यतै मेरा बाबा दीपक पुनियानी जन्मिएछन् ।
ब्रिटिसहरूले वनस्पतिमा आधारित बसाएका ती ठूला उद्योग– चिया र सिन्कोना, लाटपञ्चर सिन्कोनाको बगान । त्यहीं जन्मिएकी मेरी सुब्बेनी आमा गीतासँग बाबाको लभ परेछ, त्यसताका नेपालीहरूकै बहुलता रहेको सिलगढीमा । अनि जन्मिएछु म । मेरो अस्तित्वको किस्सा मेरै आउने पुस्ताहरूले म मरेर गएपछि अझ कति साल जिउँदो राख्लान्— संशय छ ।
इतिहास र मान्छे
डिजिटल युगले सामूहिक स्मृतिलाई अब गजबकै चुनौती दिएको अवस्था छ । औसत मानव ध्यान अवधि– अटेन्सन स्प्यान– उल्लेखनीय रूपमा घटेको छ । न्यूनतम स्मृति क्षमताधारी गोल्ड फिसको स्मृति ८ सेकेन्ड हो । १४० क्यारेक्टरको सोसियल मिडिया टेक्स्ट र ६० सेकेन्डको रिल हेर्न आदिमानव स्मृति गोल्ड फिसको स्मृति क्षमतासम्म पुग्ने त होइन ?
यस्तो स्मृति चुनौतीमा याद राखिने धोको मैले जिउँदो रहँदै पाल्ने दुस्साहस कसरी गर्थें र ?
यसै पनि सामूहिक स्मृति समाजले छनोट गरेको स्मृति हुने गर्छ । समाजले के सम्झने र के बिर्सने भन्ने कुराको चुरो प्रायः वर्तमान आवश्यकताहरू, दृष्टिकोण र पहिचानजस्ता कारणसँग गाँसिएका हुने हुन् । केही स्मृति समयसँगै मक्किएर जालान् । केही स्मृति जानी जानी मेटिन्छन् । कतिपय मेटाइन्छन् । जसरी भारतको शिक्षा प्रणालीबाट बिस्तार गैर–हिन्दु इतिहासलाई मेट्ने अभियानै चलेको छ । फुकियामाको इतिहासको अन्त्यको दृष्टिकोणले अझ विस्तार पाएको छ । इतिहास त मारिन्छ भने मानिस के हो र ?
हुन त कतिपय स्मृतिहरूलाई पुनर्जीवित वा पुनरुद्धार पनि गर्ने गरिएको हो । शासकहरूद्वारा आदिवासीहरूको दबाइएको इतिहासको उत्खनन पनि भइरहेका छन् । शोषित, उत्पीडितहरूको छाया पारिएको कथा पुनर्लेखन गर्ने कोसिस इतिहासका पुनर्लेखकहरूद्वारा भइरहेकै पनि छ । उपनिवेशकालीन अतीतको पुनः दाबी गरिरहेको भारतीयको गर्भे कथाको अभियान पनि शासकीय इतिहासको समानान्तर चलिरहेकै छ ।
नाथे म
केही कविता लेखें । दुईवटा किताब निकालें । कविताको एउटा पुरस्कार– भाइचन्द पुरस्कार– पाएँ । कवितालाई सिनेमासँग बिहे गराएर ‘मल्टिमिडिया पोएट्री’ थालें । केही पत्रिका सम्पादन गरें । केही अनुवाद गरें । एउटा लिटरेचर फेस्टिभल आयोजन गरें । एउटा पोर्टल चलाएँ । अल्प इच्छा र बढी देखासिकीमा हायर एडुकेसनमा म्याथ् पढें । ह्युमानिटिजको विद्यार्थी हुन सक्थें भन्ने भेउ पलाउञ्जेल साइकोलोजीतिर झ्याम्मिएँ । तर, पूरा भएन । बीचमा म्यानेजेमेन्ट पढें । चुरुप्पै आर्ट गरें । अलिकता अभिनय गरें ।
दुईवटा कम्पनी खोलेर डुबाएँ । एउटा चलाउँदै छु । तीनवटा प्राइभेट कलेजमा पढाएँ । सरकारी बुनियादी स्कुलमा दुई साल पढाएर राजीनामा दिएँ । कलेजमा विद्यार्थी राजनीति गरें । नेपाली अनर्स कोर्स थिएन, ल्याउन लडाइँ गरें । केही सामाजिक मुद्दाका अभियानहरूमा जोडिएर खटें ।
केही असफल प्रेमहरू गरें । केही केसमा म डिच भएँ । केहीमा मैले डिच गरेँ । कसैलाई उपकार गरें । कसैबाट उपकृत भएँ । सम्पत्तिमा दुईपालि स्कुटर किनें । केही ठाउँ भ्रमण गर्न भ्याएँ । कसैलाई घृणा गरें । कसैबाट म घृणित भएँ । जाबो यस्ता सामान्य क्रियाकलापको फेहेरिस्त के काफी छ र अबिच्युरी लेखिनलाई ? म जस्तो नाथेको के नै पो त्यस्तो उपलब्धि, अवदान, योगदान रह्यो र जसलाई समाजले आफ्नो आवश्यकताबोध अनुसार मेरो स्मृतिलाई युगौंयुग जोगाएर राखोस् !
बाँचुञ्जेलको गम
यसै त तपाईंहरूलाई मरेपछि कस–कसले मलाई याद गर्लान् र मेरा लागि रोइदेलान् भन्ने प्रश्नले पनि निक्कै सताउँदो हो । तर, मचाहिँ बाँचुञ्जेल गम खान्थें– म मरेपछि मलाई कस–कसले गाली गर्लान्, सराप्लान् ?
म मरेपछि मैले दुःख दिएका, मैले हर्ट गरेका, मैले घृणा गरेका मानिसहरूले मलाई सम्झँदै म बाँचुञ्जेलभन्दा बढी गाली गर्लान् । गरिरहेका होलान् अहिले । सबैभन्दा बढी गाली त्यो मानिसले गर्ला, जसलाई मैले उसकै संज्ञानमा उसको छातीमा छुरा चलाएँ, घात गरें ।
मामाको सपना
सबैभन्दा ठूलो घात मैले मेरा जेठा मामाको सपनामाथि गरिदिएँ, जो म सानु हुँदा आकाशमा तल सालुगढा आर्मी क्याम्पबाट उडेको हेलिकोप्टर देखाउँदै भन्थे, ‘भानिज, तिमी पनि ठूलो भएर ऊ त्यस्तो पाइलट हुनुपर्छ है !’
मैले ‘हुन्छ मामा’ भन्ने गर्थें ।
ठूलो हुँदै गएपछि एस्ट्रनोमी र खगोलविज्ञानका किताबहरू पढें । सोचें, पाइलट नै किन र ? बरु खगोलविज्ञानी नै हुने । समाजवादी रसियाबाट आउने मिर प्रकाशन, रादुगा प्रकाशनका सस्ता, तर अति आकर्षक सचित्र खगोल किताबहरू पढ्ने गर्थें । टेलिभिजनमा पपुलर साइन्स अभियन्ता प्रोफेसर यश पालहरू फलो गर्न थालें । नर्थ बेंगाल युनिभर्सिटीको फिजिक्स डिपार्टमेन्टको छतबाट वृहस्पति ग्रहको दर्शनसमेत गरियो । त्यस साल शताब्दीकै सबैभन्दा चहकिलो मिटिओर सावरको साल थियो । खगोल विज्ञानमा निक्कै चासो विकसित हुँदै गयो । तर, पछिबाट उच्चस्तरीय खगोलविज्ञान बिस्तार मेरो मगजले नभ्याउने हुँदै गयो । यसरी पाइलटीय धोकोको हत्या गरियो ।
मामा छैनन् । मामाले पनि आफू मरेरै गाली गरे होलान् । आमा र बाबाले त मलाई जुनीभरि कहिल्यै सफल नभएको छोरा भनेर गाली गर्दै माया गर्दा हुन् ।
वाहियात सम्झना
म मरिसकेर अधिकतम केही दिन, केही महिना मलाई जिउँदो छउञ्जेल घृणा गर्ने साथी, दाज्यु, भाइहरूले पनि घृणा गर्न छाड्नेछन् । किनभने घृणा गर्न पनि घृणा गर्नेको स्मृतिमा घृणा गरिने बाँच्नुपर्ने हुन्छ ।
सबैभन्दा बढी म आफैंले आफैंलाई बिर्सनेछु– किनभने मेरा आफ्नै स्मृतिको भल्टमा मैले पाएको घृणासँगै दुर्नाम, बुली, अपमान र तिरस्कारहरूको स्मृति थुप्रो पारेको छु ।
अहिले जब म जिउँदाहरूको संसारमा छैन, कसैले भन्दै होलान्– यो केटा असल थियो, तर बौलाहा पनि थियो । यो केटा ‘ट्यालेन्टेड’ थियो, तर शर्ट टेम्पर्ड पनि थियो । यो केटा हेल्पफुल थियो, तर आह्रिसे पनि थियो । यो केटाले जति अचिभ गर्यो, त्योभन्दा बढी लुज गर्यो ।
कसै कसैले भन्दै होलान्– यो केटा झोंक्की थियो, तर यसले पछिबाट छुरा हानेन । यसले अघिल्तिरैबाटै वार गर्यो । यो मर्यो, तर एउटा जुनी बाँचेरै मर्यो भन्दै होलान् ।
अनि कसैले भन्दै होलान्– यो केटा घमण्डी थियो, तर मायालु थियो ।
म आफू सम्झनामा राखिनु वाहियात कुरा हो भन्ने सत्यलाई सत्य मान्दै यो अपूरो र अराजक सेल्फ–अबिच्युरी लेखिरहेको छु ।
