‘साहस’ को साहसिक यात्रा

बेचबिखनमा परेर फर्केका तर सामाजिक बहिष्करणमा परेका महिलाका कथा मार्मिक विवरण मात्र नभएर सैद्धान्तिक र बहुआयामिक पनि छन्

असार २८, २०८२

हिसिला यमि

Adventure journey of 'Courage'

मीना पौडेलद्वारा लिखित ‘साहस’ झट्ट हेर्दा बेचबिखनमा परेर फर्केका तर सामाजिक बहिष्करणमा परेका २८ महिलाका वास्तविक कथा जस्तो लाग्ला । तर यसको सौन्दर्य नै यो मार्मिक विवरण मात्र नभएर सैद्धान्तिक र बहुआयामिक छ । यो विषयको गहिराइमा समेत गएको कृति हो । 

किताबका समेटिएका २८ महिलाको छनोट विभिन्न उमेर, समुदाय, क्षेत्र, धर्म, बाल्यकालको परिवेश, वैवाहिक स्थिति, परिवारिक पेसामा आधारित छ । यसमा बच्चा पाएका/नपाएका, एकल महिला, विवाहित, पुनर्विवाहित, एचआईभी भएका/नभएका जस्ता थप विवरण पनि छन् । 

विशेष गरी बेचिएर नेपाल फर्केका महिलाको बहिष्करणको प्रकृति, रूपरेखा र गहिराइलाई किताबले वर्णन गरेको छ । ती महिलाले बेचबिखनविरुद्ध कसरी तत्कालीन र रणनीतिक हतियार अपनाएर प्रतिरोध गरेका छन् भन्नेबारेमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ । महिला बेचबिखनविरुद्ध लागेका संघसंस्था, सरकारका निकाय, गैरसरकारी निकायहरूको सक्कली र नक्कली कामको विवरण पनि किताबमा प्रस्तुत छ । 

किताब पढेपछि विवाह, परिवार, समाज र राज्यका निकायहरू कति सामन्ती पुरुषवादी चिन्तनबाट ग्रसित छन् भन्ने बुझिन्छ । गरिबी, उत्पीडन वा अप्ठ्यारोमा परेका महिलाका लागि परिवार, समाज र राज्यका निकायहरूसमेत निर्मम हुँदा रहेछन् । बालविवाहबाट भाग्न पनि नपाउने, हिंस्रक विवाहबाट पनि जोगिन नपाउने, विवाह नगरी पनि बस्न नपाउने ! त्यस्ता महिलाका लागि विवाह अभिशाप हुँदो रहेछ ।

यो किताबले बेचबिखनमा परेका महिलाको कष्टदायी कथा भन्छ । तिनीहरू फर्केपछि कसरी आफ्नै परिवार, छरछिमेकीबाट बहिष्करणमा परेका छन्, कसरी आफ्नै देशको नागरिकताबाट वञ्चित भइरहेका छन्, अनि बेचबिखनबाट बचाउने संस्था, राज्यका निकायको व्यवहार कस्तो छ भन्ने विषयमा किताबले मार्मिक ढंगले चित्रण गरेको छ । 

बहिष्करणमा परेकी एक जना महिला त ‘साहस’ किताब प्रकाशित नहुँदै श्रीमान्ले गरेको लैंगिक हिंसाका कारण मृत्युको बाटो रोज्न बाध्य भइन् । त्यस्तै मार्मिक कहानी अर्की महिलाको पनि छ– पढ्दापढ्दै बेच्न लगिएकी तर बीचैबाट भागेर फर्केकी उनले फेरि पढ्न खोज्दा सकिनन् ।

किनभने उनलाई सुरुसुरुमा आफ्नै साथीहरूले बहिष्कार गर्न थाले, पछि शिक्षकहरूले पनि उपेक्षा गर्न थाले । त्यसपछि त उनका बा–आमाले पनि पढाउन मन गरेनन् । बेचिएपछि फर्केर घर बस्दा एक महिला कुलपूजाबाट बहिष्कृत भइन् । गाउँलेले उनको परिचय पाएपछि त समाजले धारा र खेतबाटै बहिष्कार गरे ।

यी २८ महिलामा कोही कामको खोजीमा त कोही पढ्दापढ्दै मानव बेचबिखनमा परेका हुन् । बहिष्करणमा परेका महिलाले साहस गरेर आफ्नो हकहितका लागि ‘शक्ति समूह’ संस्था दर्ता गरे र सञ्चालनमा ल्याएको विवरण किताबमा छ । ‘शक्ति समूह’ लाई संस्था दर्ता गर्न कसरी चार वर्षसम्म लागेको थियो भन्ने पनि उल्लेख गरिएको छ । 

लेखकले महिला बेचबिखनलाई कुन आँखाले हेर्ने ? यौनिकता र यौन शोषणको घेराबाट मात्र हेर्ने कि आप्रवासनको बृहत् आयामभित्रको एउटा शोषणको अंगका रूपमा हेर्ने भन्ने सवालमा चर्चा गरेकी छन् । जसले यसलाई लैंगिक शोषणका रूपमा मात्र हेर्न खोज्छन्, उनीहरूका दृष्टिकोणमा यो फौजदारी अपराध हो । तसर्थ बेचबिखनमा परेकालाई त उद्धार गर्नुपर्छ ।

सुरक्षित ठाउँमा राख्नुपर्छ । यो श्रम खोज्ने क्रममा आप्रवासनभित्रको लैंगिक शोषणका रूपमा बुझ्यो भने यो मानव अधिकारको विषय हुन जान्छ, काम गर्न पाउने हक/अधिकारको विषय बन्छ । गुमेको पहिचान पुनःप्राप्त गर्ने विषय बन्छ । साथै बेचबिखन गर्नेलाई कठघरामा ल्याउने र सजाय दिने विषय बन्छ । 

यो किताबको अर्को महत्त्वपूर्ण पक्ष भनेको अनुसन्धानको महिलावादी विधि हो । यो विधिले कति बहुआयामिक सम्भावना बोकेको छ, यसले कसरी शोधकर्तादेखि सोधिएका व्यक्तिहरूलाई समेत सशक्तीकरण गर्न सक्ने रहेछ भन्ने किताबबाट थाहा हुन्छ । यसले ज्ञानको स्रोत अनुसन्धानकर्ता मात्र नभई अनुसन्धानमा भाग लिने पनि हुन सक्छ भन्ने धारणा राख्छ ।

यो किताब सामाजिक बहिष्करणमा परेका २८ महिलाको ‘साहस’ को कथा हो नै, यसमा लेखक आफैं पनि साहसको पात्र हो भन्दा अतिशयोक्ति नहोला । लेखक आफैं बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । उहाँ एक जमानामा कुनै पार्टी नजिककी नर्सिङ विद्यार्थी नेता हुनुहुन्थ्यो ।

२०४६ सालको आन्दोलनमा परी जेलनेल पनि उहाँले भोग्नुभएको थियो । पछि उहाँ महिला बेचबखनविरुद्धको अभियन्ता बन्नुभयो । भएको जागिर छोडेर महिला बिचबिखनविरुद्धको अभियानमा लागेको भनेर परिवारले समेत आपत्ति जनायो ।

आफ्नै पार्टीका नेताबाट समेत विरोध सुन्नुपर्‍यो । बेचबिखन गर्ने गुन्डाबाट मार्ने धम्कीसम्म आउँथ्यो । तर उहाँ टसमस हुनुभएन । उसो त यो किताब लेखकको विद्यावारिधिको शोधमा आधारित छ । यसलाई सर्वसाधारणले समेत बुझ्ने गरी लेखिएको छ ।

हिसिला यमि

Link copied successfully