बेचबिखनमा परेर फर्केका तर सामाजिक बहिष्करणमा परेका महिलाका कथा मार्मिक विवरण मात्र नभएर सैद्धान्तिक र बहुआयामिक पनि छन्
मीना पौडेलद्वारा लिखित ‘साहस’ झट्ट हेर्दा बेचबिखनमा परेर फर्केका तर सामाजिक बहिष्करणमा परेका २८ महिलाका वास्तविक कथा जस्तो लाग्ला । तर यसको सौन्दर्य नै यो मार्मिक विवरण मात्र नभएर सैद्धान्तिक र बहुआयामिक छ । यो विषयको गहिराइमा समेत गएको कृति हो ।
किताबका समेटिएका २८ महिलाको छनोट विभिन्न उमेर, समुदाय, क्षेत्र, धर्म, बाल्यकालको परिवेश, वैवाहिक स्थिति, परिवारिक पेसामा आधारित छ । यसमा बच्चा पाएका/नपाएका, एकल महिला, विवाहित, पुनर्विवाहित, एचआईभी भएका/नभएका जस्ता थप विवरण पनि छन् ।
विशेष गरी बेचिएर नेपाल फर्केका महिलाको बहिष्करणको प्रकृति, रूपरेखा र गहिराइलाई किताबले वर्णन गरेको छ । ती महिलाले बेचबिखनविरुद्ध कसरी तत्कालीन र रणनीतिक हतियार अपनाएर प्रतिरोध गरेका छन् भन्नेबारेमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ । महिला बेचबिखनविरुद्ध लागेका संघसंस्था, सरकारका निकाय, गैरसरकारी निकायहरूको सक्कली र नक्कली कामको विवरण पनि किताबमा प्रस्तुत छ ।
किताब पढेपछि विवाह, परिवार, समाज र राज्यका निकायहरू कति सामन्ती पुरुषवादी चिन्तनबाट ग्रसित छन् भन्ने बुझिन्छ । गरिबी, उत्पीडन वा अप्ठ्यारोमा परेका महिलाका लागि परिवार, समाज र राज्यका निकायहरूसमेत निर्मम हुँदा रहेछन् । बालविवाहबाट भाग्न पनि नपाउने, हिंस्रक विवाहबाट पनि जोगिन नपाउने, विवाह नगरी पनि बस्न नपाउने ! त्यस्ता महिलाका लागि विवाह अभिशाप हुँदो रहेछ ।
यो किताबले बेचबिखनमा परेका महिलाको कष्टदायी कथा भन्छ । तिनीहरू फर्केपछि कसरी आफ्नै परिवार, छरछिमेकीबाट बहिष्करणमा परेका छन्, कसरी आफ्नै देशको नागरिकताबाट वञ्चित भइरहेका छन्, अनि बेचबिखनबाट बचाउने संस्था, राज्यका निकायको व्यवहार कस्तो छ भन्ने विषयमा किताबले मार्मिक ढंगले चित्रण गरेको छ ।
बहिष्करणमा परेकी एक जना महिला त ‘साहस’ किताब प्रकाशित नहुँदै श्रीमान्ले गरेको लैंगिक हिंसाका कारण मृत्युको बाटो रोज्न बाध्य भइन् । त्यस्तै मार्मिक कहानी अर्की महिलाको पनि छ– पढ्दापढ्दै बेच्न लगिएकी तर बीचैबाट भागेर फर्केकी उनले फेरि पढ्न खोज्दा सकिनन् ।
किनभने उनलाई सुरुसुरुमा आफ्नै साथीहरूले बहिष्कार गर्न थाले, पछि शिक्षकहरूले पनि उपेक्षा गर्न थाले । त्यसपछि त उनका बा–आमाले पनि पढाउन मन गरेनन् । बेचिएपछि फर्केर घर बस्दा एक महिला कुलपूजाबाट बहिष्कृत भइन् । गाउँलेले उनको परिचय पाएपछि त समाजले धारा र खेतबाटै बहिष्कार गरे ।
यी २८ महिलामा कोही कामको खोजीमा त कोही पढ्दापढ्दै मानव बेचबिखनमा परेका हुन् । बहिष्करणमा परेका महिलाले साहस गरेर आफ्नो हकहितका लागि ‘शक्ति समूह’ संस्था दर्ता गरे र सञ्चालनमा ल्याएको विवरण किताबमा छ । ‘शक्ति समूह’ लाई संस्था दर्ता गर्न कसरी चार वर्षसम्म लागेको थियो भन्ने पनि उल्लेख गरिएको छ ।
लेखकले महिला बेचबिखनलाई कुन आँखाले हेर्ने ? यौनिकता र यौन शोषणको घेराबाट मात्र हेर्ने कि आप्रवासनको बृहत् आयामभित्रको एउटा शोषणको अंगका रूपमा हेर्ने भन्ने सवालमा चर्चा गरेकी छन् । जसले यसलाई लैंगिक शोषणका रूपमा मात्र हेर्न खोज्छन्, उनीहरूका दृष्टिकोणमा यो फौजदारी अपराध हो । तसर्थ बेचबिखनमा परेकालाई त उद्धार गर्नुपर्छ ।
सुरक्षित ठाउँमा राख्नुपर्छ । यो श्रम खोज्ने क्रममा आप्रवासनभित्रको लैंगिक शोषणका रूपमा बुझ्यो भने यो मानव अधिकारको विषय हुन जान्छ, काम गर्न पाउने हक/अधिकारको विषय बन्छ । गुमेको पहिचान पुनःप्राप्त गर्ने विषय बन्छ । साथै बेचबिखन गर्नेलाई कठघरामा ल्याउने र सजाय दिने विषय बन्छ ।
यो किताबको अर्को महत्त्वपूर्ण पक्ष भनेको अनुसन्धानको महिलावादी विधि हो । यो विधिले कति बहुआयामिक सम्भावना बोकेको छ, यसले कसरी शोधकर्तादेखि सोधिएका व्यक्तिहरूलाई समेत सशक्तीकरण गर्न सक्ने रहेछ भन्ने किताबबाट थाहा हुन्छ । यसले ज्ञानको स्रोत अनुसन्धानकर्ता मात्र नभई अनुसन्धानमा भाग लिने पनि हुन सक्छ भन्ने धारणा राख्छ ।
यो किताब सामाजिक बहिष्करणमा परेका २८ महिलाको ‘साहस’ को कथा हो नै, यसमा लेखक आफैं पनि साहसको पात्र हो भन्दा अतिशयोक्ति नहोला । लेखक आफैं बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । उहाँ एक जमानामा कुनै पार्टी नजिककी नर्सिङ विद्यार्थी नेता हुनुहुन्थ्यो ।
२०४६ सालको आन्दोलनमा परी जेलनेल पनि उहाँले भोग्नुभएको थियो । पछि उहाँ महिला बेचबखनविरुद्धको अभियन्ता बन्नुभयो । भएको जागिर छोडेर महिला बिचबिखनविरुद्धको अभियानमा लागेको भनेर परिवारले समेत आपत्ति जनायो ।
आफ्नै पार्टीका नेताबाट समेत विरोध सुन्नुपर्यो । बेचबिखन गर्ने गुन्डाबाट मार्ने धम्कीसम्म आउँथ्यो । तर उहाँ टसमस हुनुभएन । उसो त यो किताब लेखकको विद्यावारिधिको शोधमा आधारित छ । यसलाई सर्वसाधारणले समेत बुझ्ने गरी लेखिएको छ ।
