बलिउड-हलिउडको पर्दामा काठमान्डु

हलिउडका निर्देशक बर्नार्दो वेत्रोलुची सिद्धार्थ गौतमको जीवनी बनाउन नेपाल आए । २५ सय वर्ष पुरानो प्राचीनता भक्तपुरमा भेटेपछि उनले मौजुदा सम्पदामा पटकथाअनुसार केही ‘प्रप्स’ थपे । वेत्रोलुचीले दिएको ‘टच’ बाट विस्मित नहुने कोही रहेनन् ।

असार २१, २०८२

शेखर खरेल

Kathmandu on the Bollywood-Hollywood screen

‘पिक्चरेक्स !’‘सुरम्य’, ‘चित्रमय’, ‘मनोहर’ आदि–इत्यादि । काठमाडौं (उपत्यका) को प्रथम दर्शनलाई यस्तै–उस्तै उद्गार र अलंकारले विभूषित गर्थे अतिथि–पर्यटक । उपत्यकाको ‘पिक्चरेक्स’ जलप उप्किँदै गए, अद्यावधि खुइलिसकेको भने छैन । विश्वका ‘पिक्चरेक्स’ सहरहरूको चर्चा चल्दा काठमाडौं (उपत्यका) सिरानमा नभए पनि फुटनोट्समा अटाएको हुन्छ नै ।

नेपालको पहिलो व्यावसायिक फोटोग्राफी घराना चित्रकारका भिन्टेज तस्बिरहरूमा काठमाडौं खाल्डो कल्पनातित ‘पिक्चरेक्स’ देखिन्छ । मन्दिर र देवल, स्तूपा र चैत्य, खेल मैदान, पोखरी, फाल्चा, ढुंगेधारा, फराकिला बाटा अनि चिसा गल्ली, झिंगटीका घर अनि नियो–क्लासिकल प्यालेसले सुसज्जित यो उपत्यका कुनै परिकथाको सेट प्रतीत हुन्छ । कृत्रिम सेट बनाएर करोडौं रुपैयाँ चेट गर्न नचाहनेहरूको वैकल्पिक गन्तव्य बन्दै आएको छ, काठमाडौं । 

कुरा चलचित्रको हो । संसारका निम्ति भर्खरै मात्र खुलेको र पर्यटकीय पूर्वाधारमा बामे सर्दै गरेको काठमाडौं उपत्यका स्वप्नदर्शी चलचित्रकर्मीका निम्ति पनि गन्तव्य हुन सक्छ भन्ने कुरा सायद अनुमानभन्दा बाहिरको कुरा थियो । भूगर्भविद् टोनी हागनलगायतका वृत्तचित्र र फुटेजहरूमा प्राचीन काठमाडौंको ‘भर्चुअल’ रमण गर्न सकिन्छ । नदी बिटुलिएर नाला बनेको, सपिङ मल र ‘हाइराइज’ को चेपमा मन्दिर निसासिएको, पोखरी मिचिएको, ढुंगेधारा सुकेको, इनार पुरिएको आजको परिस्थितिमा ती सम्पदाहरूलाई तस्बिर र चलचित्रमा वैभवशाली यौवनावस्थामा देख्दा यही काठमाडौं हो भनेर विश्वास गर्न मुस्किल पर्छ ।

झन् औद्योगिक क्रान्तिले वायुको वेगमा प्रविधिको युगमा लग्दै गरेको पश्चिमा मुलुकका निम्ति काठमाडौं ‘मिस्टिकल’ (रहस्यपूर्ण) र ‘पियोर’ (निर्मल) थलो नरहने कुरै भएन । काठमाडौंको प्राचीनता र निर्मलताका दसीका रूपमा चित्रकार परिवार र आगन्तुक पर्यटकका तस्बिर प्रशस्तै देख्न सकिन्छ । प्राचीन नगरी काठमाडौंको चलायमान जीवन पर्दामा देख्दा किशोरवयको म अचाक्ली रोमाञ्चित बनेको थिएँ । एसएलसीको लामो छुट्टीमा फ्रान्सेली भाषा सिक्न बागबजारस्थित फ्रेन्च कल्चरल सेन्टर पुगेका बेला ठूलो पर्दामा सन् ६० को दशकको काठमाडौं, त्यो पनि रंगीन कलेवरमा देख्दा होसै उडेको थियो । फ्रेन्च चलचित्रका एक्सन र कमेडीका लिजेन्ड जँ पल बेलमदो अभिनीत ‘ट्रिबुलेसन्स अफ अ चाइनाम्यान इन चाइना’ को छायांकन चीनसहित नेपालमा भएको रहेछ । काठमाडौं उपत्यका, पोखरा र नाम्चेसहित नेपाल समेटिएको यो चलचित्र सन् १९६५ मा रिलिज भएको थियो । बेलमदोको चलचित्रमा पहिलोचोटि मैले ‘पिक्चरेक्स’ काठमाडौंलाई चलायमान देखें ।

हुन त त्यसअघि देव आनन्द अभिनीत ‘हरे रामा हरे कृष्णा’ मार्फत काठमाडौंलाई चलायमान नदेखेको भने होइन । सन् १९७१ मा रिलिज भएको ‘हरे रामा हरे कृष्णा’ को मूल विषय हिप्पी भएकाले पर्दामा विदेशी अनुहार र पश्चिमा रहनसहन देखिन्थ्यो । तर, बेलमदोको फिल्म नेपालमा हिप्पीहरू ओइरिनुअघि नै खिचिएकाले पर्दामा काठमाडौं ग्राम्य र स्फटिकझैं निर्मल जीवनशैली देखिन्थ्यो । 

काठमाडौंका स्थानीय र हाम्रा बा पुस्ताले देव आनन्दको चलचित्रभन्दा पनि त्यसको छायांकनका बारेका अनेक किस्सा सुनाउँथे । निर्देशक–अभिनेता आनन्दको क्रेज र सुटिङका बेला भीड व्यवस्थापनका कथाहरू हामी किशोरले त्यतिबेला सुनेका थियौं । तर, बेलमदोको उचाइबारे सबै नेपाली बेखबर थिए । जँ पल बेलमदो (१९३३–२०२१) सन् ६० को फ्रान्सेली चलचित्रको ‘न्यु वेभ’ का एक अग्रणी र सर्वकालिक लोकप्रिय अभिनेता हुन् । फ्रान्सेली भाषामा ‘पोलिसिए’ भनिने ‘एक्सन–थ्रिलर’ विधाका ख्यातनामा महानायक थिए, बेलमदो ।

हाईस्कुलकै बेला हो, काठमाडौंलाई बम्बई इपिसेन्टर भएको भयानक भूकम्पले हल्लायो । बलिउडका महानायक अमिताभ बच्चन सुटिङका लागि काठमाडौं आउँदै छन् भन्ने खबर चैते डढेलोझैं फैलियो । नभन्दै केही दिनमा अमिताभसहितको टोली काठमाडौं उत्रियो र संयोगवश फिल्मका मुख्य पात्रहरूले सहरमा भर्खरै खुलेको पाँचतारे सेराटन (अहिले होटल एभरेस्ट) लाई आफ्नो आश्रय बनाए । अब हामी फुच्चेहरूलाई के चाहियो र ? घरबाट ढुंगा हुर्‍याउँदाको दूरीमा अमिताभ र जीनत अमान बस्ने होटल । सिद्धार्थ वनस्थलीको स्कुल बसको पिकअप–ड्रप प्वाइन्ट सेराटनको गेटै छेउ थियो । बिहानीपख हामी स्कुले पोसाकमा अमिताभ र जीनतको एक झलकका निम्ति होटल गेट छेउ सत्याग्रहको भाँती पलेंटी कस्थ्यौं । बसले बेस्सरी हर्न नबजाएसम्म टसमस हुँदैनथ्यौं । स्कुलबाट फर्किंदा त झन् सिधै होटलको ढोकामा र रात झमक्कै भएपछि तथा भोकले हुँडलेपछि मात्र घरतिर लम्किन्थ्यौं । सायद महिना दिन, बिहान र साँझको यही रुटिन 

दोहोरिरह्यो । बिदाको दिन त दिनभर होटल गेटमा ड्युटी लगाउँदा पनि हामीलाई पर्दाका ‘स्टार’ हरूलाई नांगो आँखाले देख्ने संयोग जुरेन । अमिताभ अभिनीत ‘महान्’ (सन् १९८३) लाई अन्ततः पाटनको अशोक सिनेमा हलमा हेरेर हामी साथीभाइ तृप्त भयौं । 

काठमाडौंको आकर्षण छिमेकी भारत वा फ्रान्ससम्म मात्र सीमित रहेन । चीनका अन्तिम वादशाह माथिको सिनेमा ‘द लास्ट एम्पेरर’ (सन् १९८७) बाट विभिन्न ९ विधामा एकेडेमी अवार्ड हात पारेपछि हलिउडका निर्देशक बर्नार्दो वेत्रोलुची सिद्धार्थ गौतमको जीवनी बनाउन चाहिरहेका थिए । इसापूर्व पाँचौं शताब्दीको शाक्य जनपदलाई दृश्यमा उतार्न उनले स्टुडियोभन्दा पनि ‘रियल लोकेसन’ रोजे । २५ सय वर्ष पुरानो प्राचीनता भक्तपुरमा भेटेपछि वेत्रोलुची छायांकन टिमसहित नेपाल आए । उनले मौजुदा सम्पदामा पटकथाअनुसार केही ‘प्रप्स’ थपे । वेत्रोलुचीले दिएको ‘टच’ बाट विस्मित नहुने कोही रहेनन् । 

उनले तयार गरेको ‘द लिटल बुद्ध’ (सन् १९९२) को सेटमा कुन सक्कली प्रस्तर र काष्ठक अनि कुन नक्कली फाइबर ग्लास छुट्याउन आगन्तुक त परै जाओस्, स्थानीय भक्तपुरेहरूलाई समेत हम्मे पर्दथ्यो । छायांकन अवधिभर भक्तपुरमा सेट हेर्नेहरूको मेला लाग्दथ्यो । सायद वेत्रोलुचीको सेटको बखान सुनेर हुनुपर्छ, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वयं भक्तपुर पुगेका थिए । साथीभाइसँग पुगेको मैले पनि फाइबर ग्लास भनी असली मूर्तिमाथि खोट्टा बजार्दा औंला झन्झनाएको सम्झना अहिले पनि ताजै छ ।

‘द लिटल बुद्ध’ मा उनै वेत्रोलुचीको सहायक निर्देशक भएर सघाएका बौद्ध धर्मगुरु झोङसार खेन्त्से रिम्पोछे कालक्रममा खेन्त्से नोर्बुका नाममा चलचित्र निर्देशकका रूपमा प्रसिद्ध भए । संयोग कस्तो भने, ‘द लिटल बुद्ध’ मा सहायक निर्देशक बनेको तीन दशकपछि उनले काठमाडौं उपत्यकालाई नै लोकेसन बनाएर ‘लुकिङ फर अ लेडी विथ फ्याङ एन्ड अ मुस्ताज’ (नेपाली संस्करणमा ‘डाकिनी’) निर्माण गरे ।

Kathmandu on the Bollywood-Hollywood screen

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को १९ औं संस्करणमा नेपाल प्रिमियरपछि मैले निर्देशक नोर्बुसँग ‘जुम’ संवाद गर्दै सोधेको थिएँ, ‘रिम्पोछे, तपाईंको फिल्मका अधिकांश फ्रेम वाइड एंगलमा छन् नि, किन ?’ रिम्पोछेले मुस्कुराउँदै जवाफ दिए, ‘तिम्रो सहर यति सुन्दर छ कि मलाई क्लोज–अप लिनै मन लागेन ।’ काठमाडौंको ‘पिक्चरेक्स’ चरित्रलाई रिम्पोछेले अनुमोदन गरिदिए ।

वेत्रोलुचीझैं अर्का एकेडेमी (लाइफटाइम अवार्ड) विजेता सत्यजित रे पनि काठमाडौंको ‘पिक्चरेक्स’ अदाबाट अछूत रहेनन् । सन् ८० को दशकको मध्यतिर रे आफ्नो जासुसी शृंखला ‘फेलुदा’ का केही छायांकनका निम्ति काठमाडौं उत्रिए । दूरदर्शनको टीभी सिरिज ‘किस्सा काठमान्डुका’ को केही भागका निम्ति उनी ‘फेलुदा’ को चरित्रमा रहेका बलिउड अभिनेता शशी कपुरसहित काठमाडौं आएका थिए । 

काठमाडौंले बलिउड र हलिउड मात्र होइन, संसारका धेरै भाषाका चलचित्र निर्मातालाई आकर्षित गरेको छ । चिनियाँ, स्पेनिस, इटालियन, कोरियनदेखि दक्षिण भारतीय निर्माता/निर्देशकसम्मलाई आफ्नो सुन्दरताको घुम्टो उठाएर वसिभूत गरेको छ । काठमाडौं र पूरै नेपालमा कुन–कुन चलचित्र छायांकृत भए, त्यो खोजीकै विषय हो । संसारभरबाट ‘सुटिङ स्पट’ निम्ति काठमाडौं ओइरिने क्रम जारी नै छ । सन् २०१६ मा मात्रै पनि हलिउडको ठूलो लगानीको साइ–फाइ (साइन्स फिक्सन) ‘डाक्टर स्ट्रेन्ज’ काठमाडौं उपत्यकामा छायांकृत भएको थियो । विश्वका चर्चित निर्देशकका छायांकन थलो बनेर काठमाडौंले बाह्य जगत्सम्म आफ्नो चिनारी फैलाइरहेको छ भने चलचित्रमार्फत नेपालको पर्यटकीय प्रवर्द्धनमा समेत टेवा पुगेको छ । तर पनि काठमाडौंको सुन्दरता अनि सौम्यता निम्ति जति चलचित्रकर्मी यहाँ आउनुपर्ने हो, त्यो हुन सकेको छैन । 

शेखर

Link copied successfully