फिल्ममा महिला युग

महिला केन्द्रित फिल्म बन्ने क्रम बढेको छ, महिला पात्रलाई सोचेर कथा लेखिन्छ, बुनिन्छ, यस्ता फिल्म बनाउन निर्माता र निर्देशक तयार छन्, दर्शकले पनि स्वीकार गरिरहेका छन्

असार १४, २०८२

केकी अधिकारी

The Age of Women in Film

काठमाडौँ — नेपाली फिल्मको महिला पात्रमा मेरो मनमा पहिलोपल्ट आउने सम्झना भुवन चन्द दिदीको हो । मलाई लाग्छ, त्यो बेला भुवन दिदीहरूले कसरी आँट गर्नुभयो होला ? कसरी उहाँहरूले आफूलाई स्थापित गर्नुभयो होला ? म त्यस समयको समाज र वातावरण सम्झन्छु ।

महिला कलाकारप्रति समाजको दृष्टिकोण नै नकारात्मक रहेको त्यस समयमा पुरुषलाई नै महिला पात्रमा उतार्ने गरिन्थ्यो । अभिनेत्री बन्न भुवन दिदीहरूले लिएको त्यो आँट सामान्य थिएन । आज पनि फिल्म क्षेत्रमा आउन धैर्य र आँट चाहिन्छ । 

नेपाली फिल्मको इतिहास ‘आमा’ बाट सुरु हुन्छ । त्यो महिला केन्द्रित फिल्म थियो । फिल्मको सुरुवातमै महिला भूमिका अगाडि सारिएको देखिन्छ । यसबाट फिल्ममा महिलाको भूमिका सुरुदेखि नै ‘अन्डरभ्यालु’ गरिएको होइन भनेर बुझ्न सकिन्छ । 

तर फेरि पनि, धेरै फिल्म ‘बिक्री’ हुने हिसाबले बनाइन्छन् । कथाभन्दा पनि बजार प्राथमिक हुन पुग्छ । त्यही भएर कहिलेकाहीं पुरुषभन्दा महिला पात्र देख्दा दर्शकको भावुकता बढ्ने भएकाले त्यतिबेला महिला केन्द्रित फिल्म बनाइएको हो कि जस्तो लाग्छ । 

भुवन चन्ददेखि चैतन्य, बसुन्धरा दिदीहरू हुँदै नेपालमा रंगीन फिल्मको प्रवेश भयो । पहिलो रंगीन फिल्म ‘कुमारी’ पनि महिलाबाटै सुरुवात भएको छ । सुरुवातीताका महिलालाई दया, हिंसाको पात्र वा अन्य कुनै पारिवारिक भूमिकामा देखाइन्थ्यो । समयक्रमसँगै महिलालाई सशक्त, विद्रोही, चुनौती दिने पात्रका रूपमा फिल्ममा देखाउन थालियो । 

फिल्म समाजकै एउटा अंश हो । समाजभन्दा बाहिर फिल्म बन्दैन । राजनीतिक, सामाजिक परिवर्तनको प्रत्यक्ष असर फिल्ममा पर्ने गर्छ । फिल्म बिस्तारै परिस्कृत हुँदै गयो । महिलालाई रोनाधोना र दयाको पात्रमा मात्र सीमित गर्न छाडियो । फिल्ममा महिलालाई ‘मोर सेलिङ’ का रूपमा देखाउन थालियो । 

८०–९० को दशकतिर नेपाली फिल्ममा बलिउडको प्रभाव पर्न थालेको देखिन्छ । आइटम डान्स, ग्ल्यामर, सौन्दर्यप्रतिको आकर्षणका कारण महिला पात्रलाई पनि त्यही रूपमा प्रस्तुत गर्न थालियो । यही समयमा फिल्ममा महिला पात्रले विद्रोह गर्न थाले– समाजको परिभाषालाई तोड्न सक्ने सशक्त र साहसी नारीका रूपमा महिला कलाकार स्थापित हुन थाले ।

करिस्मा मानन्धर, रेखा थापा, अरुणिमा लम्सालहरूको प्रवेशसँगै महिला पात्रहरूले फिल्मलाई बोकेर हिँड्न थाले । मुख्य पात्र भएर उनीहरूले कथामा रोल देखाउन थाले । रोइरहेको, दुःख पाइरहेको पात्रबाट माथि उठेर महिला पात्र घरबाहिर निस्कन थाले । दर्शकले यस्ता पात्रलाई मन पराउँदै गए । निर्माता–निर्देशकको पनि सोच बदलिन थाल्यो । 

मैले फिल्ममा १५ वर्ष बिताइसकेकी छु । मैले पहिलो पटक फिल्म ‘स्वर’ मा अभिनय गरें । त्यो म्युजिक ब्यान्डसम्बन्धी नयाँ सोचमा बनेको फिल्म थियो । तर मेरा लागि त्यस फिल्मको भूमिकाले खास केही दिन सकेन । म केवल पुरुष पात्रको प्रेमिकाको भूमिकामा थिएँ । त्यस फिल्मपछि मसँग धेरै प्रश्न उब्जिए– के महिला पात्र सधैं अरूको भावनाका लागि मात्रै हुने ? पुरुषको प्रेमिकाका रूपमा मात्रै देखिनुपर्ने ? 

मैले गरेको दोस्रो फिल्ममा आर्यन सिग्देलसँग मेरो समान भूमिका थियो । त्यसपछि पनि म सशक्त महिला पात्रका रूपमा प्रस्तुत हुन थालें । फिल्म निर्माणमा मैले पाइला टेक्दै गर्दा पनि महिलालाई मुख्य पात्रका रूपमा उभ्याउने प्रयास गरें । मैले निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’ महिलाले कमेडी गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्ने प्रयास थियो । त्यसअघि कमेडियन भनेपछि पुरुष मात्र भन्ने बुझाइ थियो । ‘कोहलपुर एक्सप्रेस’ त्यो परम्पराविरुद्धको एक पाइला थियो । 

मैले निर्माण गरेको ‘बोक्सीको घर’ मा पनि महिला पात्रको मुख्य भूमिका छन् । महिला निर्माता भएर आउँदा महिला केन्द्रित फिल्म बनाउन सकियोस् भन्ने हुने रहेछ । तर महिला निर्देशक र निर्माता महिलामा मात्र सीमित हुन पनि सकिँदैन । कथावस्तुअनुसार फिल्म बन्छन्, फिल्ममा विविधता पनि हुनुपर्छ । महिला निर्देशक, निर्माता कम भएकाले पनि महिला केन्द्रित फिल्म कम भएको स्वीकार गर्न भने सकिन्छ । 

पछिल्लो समय महिला केन्द्रित फिल्म बन्ने क्रम बढेको छ, जुन राम्रो संकेत हो । महिला पात्रलाई सोचेर कथा लेखिन्छ, कथा बुनिन्छ । निर्माता र निर्देशक फिल्म बनाउन तयार छन् । दर्शकले पनि स्वीकार गरिरहेका छन् । फिल्ममा महिलाको युग आएको महसुस हुन्छ । 

एउटा फिल्म चल्यो भने त्यही किसिमका फिल्म बनाउने ‘ट्रेन्ड’ नेपाली फिल्म क्षेत्रमा देखिन्छ । कमेडी चलेपछि कमेडी मात्र, ‘बोक्सीको घर’ चलेपछि महिला केन्द्रित मात्र । यसले विविधता घटाउँछ । दर्शकले पनि नयाँ स्वाद खोज्छन् । त्यसैले ध्यान दिनुपर्ने के छ भने महिला केन्द्रित भन्ने बहानामा एकैखालका चरित्र दोहोरिन हुँदैन ।

फिल्म क्षेत्रमा अझै पनि पारिश्रमिकमा असमानताको समस्या छ । महिलालाई रहरले फिल्ममा आएको भन्ने बुझाइ छ । पुरुषलाई चाहिँ ‘प्रोफेसनल’ मानिन्छ । महिलाले पनि परिवार, करिअर र समाजको जिम्मेवारी बोकेका छन् भनी बुझ्ने गरिँदैन । आज पनि फिल्ममा हिरो खोजिन्छ, हिरोइन भने सधैं पूरक पात्र बनाइन्छ । अब भने महिलाले अडान लिन सक्नुपर्छ । पारिश्रमिकमा समानता खोज्ने समय भइसकेको छ । स्थापित कलाकारहरूले आवाज उठाउनुपर्छ ।

फिल्म समाजको ऐना हो । समाजमा परिवर्तन हुने कुराले फिल्म निर्माणमा प्रभाव पार्छ । समाजमा परिवर्तन हुँदै गएको फेसन शैलीको प्रभाव फिल्ममा देखिन्छ । पहिले साडी, गुन्युँचोलीमा महिलालाई देखाइन्थ्यो । पारिवारिक भूमिकामा महिलालाई देखिने भएकाले त्यस समयमा त्यही पहिरन ठीक थियो होला ।

तर अहिले जे सहज हुन्छ, त्यही लगाउने शैली पछ्याउन थालिएको छ । सुटिङमा महिलाका लागि वातावरण र व्यवहार पनि परिवर्तनशील छ । पहिला सेटमा महिला पात्रले हेयर, ड्रेस, मेकअप सबै आफैं मिलाउनुपर्थ्यो । कहिलेकाहीं पुरुष साथीहरूले तन्ना ओढेर कपडा चेन्ज गराइदिन्थे । अहिले त्यस्तो असहजता छैन । 

नेपाली फिल्ममा महिलाको दृष्टिकोणमा परिवर्तन हुँदै गएको छ । महिला पात्र अब सशक्त छन्, उनीहरूसँग आफ्नो कथा छ, आत्मविश्वास छ । समाज र चेतनाको विकाससँगै फिल्ममा महिलाको भूमिका अझ फराकिलो र सशक्त हुँदै जानुपर्छ । 

केकी

Link copied successfully