‘मुनामदनको डिभोर्स पार्टी’ का कथा स्वैरकाल्पनिक, तर इतिहासबाट प्रभावित छन्
पत्रकार/कथाकार दिपक समीरको कथासङ्ग्रह ‘मुनामदनको डिभोर्स पार्टी’ मा स्वर्ग, नर्क, प्रेत, हत्या, मृत्यु र आत्मासँग जोडिएका कथाहरू छन् । यी कथाले पाठक–मस्तिष्कमा अत्यास जन्माउँछ ।
पहिलो कथा ‘बलात्कारीलाई प्रेमपत्र’ मा चौध वर्षकी बालिका अर्चनामाथिको बलात्कारले पाठक–हृदय छेदन गर्छ । गरिबी, अभाव, गाउँको बसाइ, बुबा वैदेशिक रोजगारीमा, आमाको दुःख, अनि हुर्कंदै गरेकी कोपिला फक्रनै नपाई निमोठिएको भयानक कथा छ । बालिका अर्चना भन्छे– ‘मेरो बाल मस्तिष्कले आफूजस्तै निश्चल देख्यो, भरोसा गर्यो र अन्तिममा लुट्यो ।’ कथाले बालबच्चालाई कस्तो प्रलोभनमा फसाइन्छ भन्ने वर्णन गर्छ ।
‘एक रात प्रेतसँग’ कथा स्वैरकल्पनामा आधारित छ । कथाले मोडलिङ गर्दै वेश्यावृत्तिमा लागेकी सियन हुर्किएको जीवन भन्छ । अल्पायुमै आत्महत्या गरेका, नदीमा हामफालेर, विष पिएर, गोली लागेर वा चक्कु प्रहारबाट हत्या भएका प्रेतात्मासँगको जम्काभेटले पाठकलाई रनथन्याउँछ ।
अँध्यारो थिएटरभित्र भ्यालेन्टाइन र जुलियाको नाटक हेरेजस्तो अनुभूत गराउँछ– ‘नवराज विकको भ्यालेन्टाइन डे’ कथाले । जातीय छुवाछूतको सिकार भएको नवराज विकको अधुरो प्रेम–कहानीलाई अमर बनाएको छ कथाले । ‘हिउँको सिन्दूर’ कथाले सगरमाथा र हिउँसँग जुधेका विश्वविख्यात आरोहीको संघर्ष वाचन गर्छ । पासाङ र नाम्गेल हिउँमाथि प्रेमालाप गर्दै, रमाउँदै जान्छन् र हिउँभित्र विलय हुन्छन् ।
‘हिटलरकी प्रेमिका’ कथामा विश्वयुद्घ, बन्दुक–बारुद, आचरण, प्रेम, भूमिगत जीवन, आत्महत्या छ । ‘मुनामदनको डिभोर्स पार्टी’ कथाले गोलोक अर्थात् स्वर्गमा ठूलो सम्मेलन गराएको छ । पृथ्वीलोकको बेथिति, विसंगति र सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई कथाले खुलस्त पार्छ । स्वर्गमा पनि ‘युनिभर्सल डिभोर्स सर्भिस’ कार्यालय खोलेर वकिलले अर्थोपार्जन गरेको छ । स्वर्गमा मुना र मदनको सम्बन्धविच्छेद कार्य सम्पन्न गराउँछ– वकिलले ।
‘ब्रो लाइटर छ ?’ कथा छ, जसमा सिंगापुरलाई समृद्घ बनाउने नेता ली क्वान युलाई एउटा ट्याक्सी ड्राइभरले काठमाडौंको कुनाकुना घुमाउँछ । कथाले यहाँका भ्रष्ट नेतालाई झापड हान्छ । ‘मैना’ कथाले १५ वर्षकी मैना सुनारको बलात्कार, हत्या र न्याय नपाएको शृंखला सुनाउँछ । त्यस्ता हत्यारालाई यमराजले भकभक उम्लिरहेको तेलकुण्डमा डुबाओस्, शरीरभरि स्याउँस्याउँती किरा परोस् भन्छन् कथाकार ।
‘उजेली तिमीलाई के ल्याइदिऊँ ?’ आकर्षक उपहारको पर्खाइमा बेसेकी श्रीमतीको कथा हो । उजेली र नुरुमान समय र परिस्थिति, गरिबी र अभावका कारण परिवारबाट टाढिन्छन् । नुरुमान सोध्छ, ‘उजेली तिमीलाई के ल्याइदिऊँ ?’ तर, श्रीमान् पार्थिव शरीर भएर बन्द बाकसमा आउँछन् । कथाले वैदेशिक रोजगारीको पीडा वर्णन गर्छ ।
‘किरा परेको गिदी’ स्वर्गको विज्ञान प्रयोगशालामा गिदी परीक्षण गर्दा किरा भेटिएपछि पृथ्वीलोकको मानवमा दया, करुणा, धर्म हराउँदै गएको कथा हो ।
कथाहरू स्वैरकाल्पनिक भए पनि ती इतिहासबाट प्रभावित छन् । इतिहास रचेका पात्रहरूको नाम, काम, जीवन समेटिएका कथाहरूले समाजको दर्पण देखाउँछ । ‘मुनामदनको डिभोर्स पार्टी’ भित्रका कथाहरू अलौकिक, रहस्यमय, सन्देशमूलक र पठनीय छन् ।
