ऊबेला काँ यसरी ‘चील’ हान्न पाइन्थ्यो र यार !

सुन्दर हिमाल आँखैअघि देख्दा पनि फोटो इन्स्टाग्रामको एस्थेटिकसँग मिल्ने गरी आयो भने मात्रै हिमाल हेर्दाको आनन्द अनुभूति हुन्छ, हामी जेन–जीलाई 

जेष्ठ २४, २०८२

प्रकृति गिरी

At that time it was not possible to shoot 'eagle' like this and man!

काठमाडौँ — दूध चियालाई रोमान्टिसाइज गर्ने जेन–जीमै पर्ने भए पनि मलाई व्यक्तिगत रूपमा चिया त्यति मन पर्दैन । तर, पछिल्ला केही महिना पछाडि फर्केर हेर्दा दिनको ३–४ कप चिया त म खासै चिया मननपर्ने मान्छेले पनि खाइरहेको रहेछु । सायद मेरा लागि चियाको स्वादभन्दा पनि महत्त्वपूर्ण कुरा साथीहरूसँगको अपनत्व–भाव हो । 

हुन त सँगै चिया खाँदै साथीहरूसँग गफ गर्ने चलन हाम्रो पुस्ताले ल्याएको हो भन्न मिल्दैन । अहिले पनि भक्तपुर र पाटनतिरका चिया पसलहरूमा जाने हो भने अघिल्लो पुस्ताका पुरुषहरू चिया खाँदै देशको राजनीति कसरी सुधार्ने भन्नेबारे गम्भीर गफ गरिराखेको भेटिन्छ । तर, झम्सिखेल र बानेश्वरतिरका चिया पसलहरूलाई ‘कुल’ बनाउने काम भने हाम्रो पुस्ताले नै गरेको हो । अहिलेको सहरिया संस्कृतिको एउटा ठूलो हिस्सा बेलुकी चिया पसलमा साथीहरूसँग चिया खाँदै गफिनु हो । तर, हामीलाई भने बालेनको फेसबुकमा के स्टेटस आयो भन्नेबाहेक राजनीतिसँग खासै केही सरोकार छैन । 

हाम्रो गफ फरक हुन्छ । हामी आफ्ना सपना, भविष्य र सम्भावनाहरू बारे कुरा गर्छौं । हाम्रो गफको एउटा मुख्य विषय हो– आफ्नो आइडेन्टिटी क्राइसिस । हाम्रो पुस्तालाई पुँजीवादले लगभग सबै तर्फबाट छोपिसकेको छ । बुबा–आमालाई जस्तो जागिरको स्थिरताले हामीलाई लोभ्याउन सक्दैन । हामीलाई आर्थिक र व्यक्तिगत स्वतन्त्रता बढी प्यारो छ । चिया पसलमा चिया खाँदै गर्दा आफ्नै एउटा चिया पसल खोल्ने सपना सधैं मनमा आउँछ । कहिलेकाहीँ किन बेलैमा व्यापार–व्यवसाय नगरेको होला भनेर बुबा–आमालाई सराप्ने पनि गर्छौं । हरेक दिन ९–५ जागिर गरेर पाएको ३० हजार तलबले पसलमा चिया र चुरोटको बिल तिर्न पनि धौधौ पर्छ, अरू आवश्यकताका कुरा त परै छाडौं ।

केही साथीहरू अन्टरप्रेनर भएर ७० लाखको बीवाईडी चढिरहेका छन्, केही बाली घुम्न गइसकेका छन् । अनि आफ्नो हालत हेर्दा महिनामा एक पटक साथीहरूले ‘कोरियन खाना खान जाऊँ न’ भने पनि पैसा पुग्छ कि पुग्दैन भनेर सोच्नुपर्ने अवस्था हुँदा ‘संसार छुटिसक्यो’ जस्तो लाग्नु वा ‘मैले जति सकिन्छ छिटो–छिटो धेरै पैसा कमाउनुपर्छ’ जस्तो महसुस हुनु स्वाभाविकै होला । 

नढाँटीकन भन्नुपर्दा मलाई पहिलो पटक कोरियन खाना खान जाँदा अलिकति पनि मन परेको थिएन । अहिलेसम्म पनि त्यति मिठो लाग्दैन । तर, कहिलेकाहीं खान जानचाहिँ मन लाग्छ । क्लबिङ कल्चरप्रति पनि खासै आकर्षण छैन । राति १–२ बजेसम्म क्लबमा नाचिरहँदा ‘चुपचाप लागेर घरमै सुतेको भए हुन्थ्यो, के गर्न आको होला यति राति’ जस्तो महसुस हुन्छ । तर, साथीहरूले ‘जाम न’ भन्दा नाइँचाहिँ भन्दिनँ । अहिलेसम्म पोखरा तीन पटक पुगिसकेको छु, तर लेकसाइडका रेस्टुरेन्ट र पबहरूबाहेक धेरै ठाउँ घुमेको छैन । पोखरा मात्र होइन, चितवन, घान्द्रुक, कुरिनटार जहाँ गए पनि हाम्रो घुम्ने स्टाइल उस्तै छ । जति सकिन्छ सस्तोमा, तर स्विमिङ पुल भएको होटलमा बस्ने, बियर खाने, एस्थेटिक फोटो खिच्ने अनि 

फर्किने ! ट्रेकिङ जाँदा सुन्दर हिमाल आफ्नै आँखैअगाडि देख्दा पनि फोटो इन्स्टाग्रामको एस्थेटिकसँग मिल्ने गरी आयो भने मात्रै हिमाल हेर्दाको आनन्द अनुभूति हुन्छ । यसो सोच्दा कहिलेकाहीं लाग्छ, यही काठमाडौंमै घुमेर फोटो हाले भइहाल्यो नि, किन जानु यति टाढा ? तर त्यसो हुँदाहुँदै पनि पैसा भएको बेला जानचाहिँ मन लाग्छ ।

यी कुराहरू मैले वा मेरो पुस्ताका साथीहरूले किन गर्छन् होला भनेर सोच्दा, सायद यो सबै आइडेन्टिटी क्राइसिसले सिर्जना गरेको खालीपन भरौं भन्ने प्रयास हो कि जस्तो लाग्छ । एक पटक पोखरा गएर फर्किंदा १५ दिन काम गरेर जम्मा गरेको पैसा एकैचोटि सकिन्छ । तर पनि लेकसाइडमा हातमा बियर बोकेर बगिरहेको डुंगा हेर्दा एकछिनका लागि भए पनि लाग्छ– ‘यार, लाइफ त हाम्रै हो ! बुवा–आमाको पालामा काँ यसरी चील हान्न पाइन्थ्यो र ?’ अनि त्यो क्षणको अनुभूति, यो ‘लाइफ त हाम्रो हो’ को भावलाई सामाजिक सञ्जालको भ्यालिडेसनले झन् गहिरो बनाइदिन्छ । आफ्नो प्रिभिलेज स्विकारेर यी कुराहरू लेख्दै गर्दा यो सहरिया संस्कृति बाहिर पनि एउटा छुट्टै जेन–जी सर्कल छ, जो मैले गरिरहेको संघर्षभन्दा एकदमै फरक खालको संघर्ष गरिरहेको छ भन्ने कुराको बोध पनि छ । तर, समावेशी हुनकै लागि त्यो पुस्तालाई यहाँ मिसाउन खोज्नु भनेको उनीहरूको भोगाइमाथि अन्याय गर्नु हो ।

यो आइडेन्टिटी क्राइसिसको भावना व्यक्तिगत रूपमा मलाई सामाजिक सञ्जालले नै ट्रिगर गरिरहेजस्तो लाग्छ । सूचना र सञ्चारको प्रविधि यति छिटो विकास भयो कि हामीले त्यो सँगसँगै सूचनालाई कसरी प्रयोग गर्ने ? असंख्य डेटाबीच कसरी बाँच्ने ? भन्ने कुरा सिक्ने मौका नै पाएनौं । संसार यति सानो बनिसक्यो, सबैको जीवनका गतिविधिहरू मेरो स्क्रिनमै छन् । को के गर्दै छ ? कहाँ गइरहेको छ ? के खाइरहेको छ ? कोसँग प्रेममा छ ? सबै थाहा छ । तर, जब आफ्नै जीवनको हिसाब–किताब गर्न थाल्छु, के गर्दै छु भन्नेमा आफैं अन्योलमा पर्छु । सबै जना एक–अर्कालाई एउटै कुरा भनिरहेछन्– ‘तैंले त यति प्रगति गरिस् यार, मैले त केही गर्नै सकेको छैन !’ अस्ति सँगैको एउटा साथीले ‘मलाई त मिड–लाइफ क्राइसिस जस्तो भयो’ भन्यो । २३–२४ वर्षको उमेरमा कसैले यस्तो कुरा गर्दा ‘बकवास नगर् न’ भनेर मजाक उडाउनु नै स्वाभाविक प्रतिक्रिया हो । तर, कहिलेकाहीं मलाई पनि मिड–लाइफ क्राइसिस भएजस्तो महसुस हुन्छ । म जसको जीवन हेरेर क्राइसिसमा परेजस्तो अनुभूति गरिरहेको छु, उसलाई पनि मेरो जीवन हेर्दा त्यस्तै लाग्दो हो ।

जीवनमा जतिसुकै दुःख चलिरहेको होस्, फेसबुकमा हालिएको फोटोको क्याप्सन भने ‘ह्याप्पिनेस इज द बेस्ट मेकअप यु क्यान वेअर’ नै हुन्छ । यति कुरा थाहा हुँदाहुँदै पनि हामी आफ्नो अवस्थालाई अरूसँग तुलना गर्न कहिल्यै छोड्दैनौं । सारा संसार एउटा सानो गाउँजस्तै भइसकेको छ । अब त हामी आफ्नो जीवनशैलीको मापन पनि हाम्रोभन्दा पूर्ण रूपमा फरक देशका फरक परिवेशमा हुर्किएका मानिसलाई हेरेर गर्न थालिसकेका छौँ । कहिलेकाहीं हामी नेपालमा स्टारबक्स छैन भनेर पनि दुःखी हुने गर्छौं । सूचनाको अत्यधिक भार, वास्तविक र भर्चुअल संसारबीचको धमिलोपनले हाम्रो पुस्तामा साझा मानसिक तनाव सिर्जना गरिरहेको छ ।

हुन त जेन–जीलाई एउटा आरोप लागिरहन्छ, ‘आजकल त डिप्रेसन फेसन भइसक्यो ।’ हाम्रो पुस्तालाई भन्ने गरिन्छ– सानो कुरामा पनि अत्यधिक प्रतिक्रिया जनाउँछन्, केही कुरा पचाउन सक्दैनन्, पहिलेको जमानामा जस्तो सहनशीलता छैन । तर, म यो भनाइसँग सहमत छैन किनभने हाम्रो पुस्ताले सामना गर्नुपरेका परिस्थिति अघिल्ला पुस्ताको भन्दा धेरै फरक र जटिल छन् । आजको पुस्ताले एकै पटक धेरै चुनौती भोगिरहेको छ– आर्थिक अस्थिरता, जागिरको अनिश्चितता, अरूभन्दा केही फरक गर्नैपर्छ भन्ने निरन्तर दबाब, जलवायु संकट, सरकारप्रतिको निराशा अनि इन्टरनेटको कारण संसारभरका दुःखहरू आफूले बोकेको अनुभूति ! त्यसबाहेक व्यक्तिगत स्वतन्त्रता र पारिवारिक सुरक्षाबीचको द्वन्द्व, मानसिक स्वास्थ्यप्रतिको सचेतना र त्यसबारे खुलेर कुरा गर्न थालिएको वातावरणले पनि हामीभित्रको द्वन्द्वलाई अझ सतहमा ल्याएको छ । 

पहिले जसरी मनको झोंक घरमा पोख्न पाइन्थ्यो, आज त्यो ठाउँ पनि छैन । अब न बच्चा पिटेर, न त चिच्याएरै तनाव कम गर्न पाइन्छ । त्यसैले हामी कमजोर होइनौं, हामीले मानसिक संघर्षलाई बुझ्ने र समाधान गर्ने नयाँ तरिका खोजिरहेका छौं । हामीले गरिरहेकै सामाजिक सञ्जालको प्रयोग पनि त्यो तरिकामध्ये एक होला । मानसिक स्वास्थ्यप्रतिको यो चेतनाले नै हामीलाई अघिल्लो पुस्ताभन्दा फरक र सायद अझ उन्नत बनाएको छ ।

तर, मानसिक संघर्षबारे बोल्न थाल्नु नै सबै समस्याको समाधान होइन, बरु त्यसपछि आउने द्वन्द्वहरू अझ गहिरा हुन सक्छन् । हामी न त पूरै धार्मिक भएर ‘सबै कुरा भगवान्को हातमा छ’ भन्ने विश्वास गर्न सक्छौं, न त नास्तिक भएर ‘भगवान् केही होइन, जे गर्नुपर्छ आफैंले गर्नुपर्छ’ भन्ने साहस गर्न सकिरहेका छौं । आफ्नै प्राथमिकता के हो भन्ने कुरा पनि प्रस्ट थाहा छैन । २८ वर्षको उमेरमा ४० लाख खर्च गरेर बिहे गर्ने कि त्यो पैसाले विश्व घुम्ने ? भीडमा छुट्टै देखिनुपर्ने हो कि त्यही भीडसँग मिसिएर बस्न जान्नुपर्ने हो ? वरपर यति धेरै मानिस छन्, तर किन कहिलेकाहीँ एक्लो महसुस हुन्छ ? सफलताको ठ्याक्कै परिभाषा के हो हाम्रा लागि ? अनि त्यो ‘सफलता’ प्राप्त गर्न नसके सारा संसार साँच्चिकै छुटेर हामीभन्दा अगाडि जान्छ ? सायद यही प्रश्नसँग जुध्ने तरिका नजान्नाले नै हामी आइतबार बेलुकी बानेश्वरको चिया पसल र शुक्रबार राति ठमेलको पबबीच कतै अलमलिइरहेका छौं– आफ्नै जीवनको अस्तित्व खोज्दै ।

यी सबै समस्याबीच एउटा राम्रो कुरा के भने हामी खुला रूपमा बोल्न थालेका छौं । चिया पसलहरू यही गफले भरिएका छन् । अघिल्लो पुस्ताभन्दा फरक हामी हाम्रो भावनात्मक संवेदनशीलता साथीहरूका अघि देखाउन डराउँदैनौं । हातमा बियरको बोतल बोकेरै भए पनि साथीहरूलाई दुःख सुनाउन नछोडौं, किनभने त्यो त सबैको साझा दुःख हो । गफैगफमा हल निस्किए राम्रो, ननिस्किए पनि मन त हलुका हुन्छ 

नि ! चिया पसल होस् या ठमेलको पब वा इन्स्टाग्राम स्टोरी, चहलपहल त दि’राख्नुपर्छ । आखिर लाइफ त हाम्रो नै हो ! ऊबेला बुवा–आमाको पालामा काँ यसरी चील हान्न पाइन्थ्यो र यार ?

प्रकृति गिरी

Link copied successfully