लालाबाला थिएटर

नाटकले बालबालिकालाई जीवनका रङहरू सिकाइरहेको छ

वैशाख २७, २०८२

रिमा केसी

Lalabala Theatre

पछिल्लो समय विद्यालयहरूमा ‘अतिरिक्त क्रियाकलाप सिकाइ’ अन्तर्गत नाटक पनि वैकल्पिक सिकाइ पद्धति बन्दै छ । विभिन्न स्कुलले विद्यार्थीलाई दक्ष नाट्यकर्मीद्वारा औपचारिक नाटक मञ्चन गराउने, प्रशिक्षण दिने क्रम बढेको छ ।

राजधानीका धेरै विद्यालयमा नाटक पढाइँदै, सिकाइँदै छ । यसको सकारात्मक प्रभाव देखिएको छ । बाल सहभागिता, प्रतिभा प्रस्फुटनसँगै उनीहरूको सामाजिकीकरण अभ्यास बढिरहेको छ । नयाँ आगन्तुक, आफन्त, सरसंगतका मान्छेसँग कसरी परिचय गर्ने ? कस्तो व्यवहार गर्ने ? नाटकमा अभिनय र अन्य संलग्नताका आधारमा सहजै कार्यान्वयन गरिरहेका छन् । 

Lalabala Theatre

हालै राजधानी र देशभरिका केही थिएटरमा ‘अन्तर्राष्ट्रिय नाटक महोत्सव’ चल्दै गर्दा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले पनि ‘काठमाडौं प्रज्ञा कुञ्ज नाट्य महोत्सव–२०८१’ आयोजना गरेको थियो । यस महोत्सव बालबालिका केन्द्रित नाटक महोत्सव हो । ‘लालाबाला’ अन्तर्गत आयोजना गरिने विद्यार्थी केन्द्रित नाटक शिक्षण पद्धतिअनुरूप नाटक महोत्सव आयोजना गरिएको थियो । ‘लालाबाला’ नियमित रूपमा बालबालिकालाई अभिनय सिकाउने मञ्च हो । २०१६ देखि सुरु भएको यस मञ्चले ६ महिनाको कोर्स आयोजना गर्छ । करिब २ महिना रिहर्सल गरी बालबालिकामार्फत नाटक मञ्चन गर्छ । यस मञ्चका संस्थापक हुन्– चर्चित रंगकर्मी तथा लेखक टंक चौलागाईं, जसले नेपाली नाटकलाई स्कुल र विद्यार्थीमाझ परिचित गराउने उद्देश्यले यसको सुरुआत गरेका हुन् । नाट्य क्षेत्रमा नाटक सिर्जना, मञ्चन, अभिनयजस्ता पक्षबाटै बालबालिकाका लागि पनि केही गर्न सकिन्छ भनेर उनी नाटकलाई स्कुल–स्कुलमा पुर्‍याएको बताउँछन् । नाटक र रंगमञ्च बालबालिकाका लागि सर्वाङ्गीण विकासको आधार बन्न सक्छ भन्ने हेतुले उनी विद्यालयहरूमा पुगेका थिए । उनीसँगै दर्जनौं नाट्यकर्मी, सहकर्मीले विभिन्न स्कुलमा नाटक शिक्षण, प्रशिक्षण गराइरहेका छन् ।

Lalabala Theatre

यसअन्तर्गत १० वर्षदेखि निरन्तर बालबालिकाबीच ‘काठमाडौं प्रज्ञा कुञ्ज नाट्य महोत्सव’ आयोजना भइरहेको छ । यो वर्ष पनि कक्षा ३ देखि ९ सम्मका विद्यार्थीले विभिन्न विषयवस्तुमा आधारित भई करिब १७ वटा नाटक मञ्चन गरे । चैत १७ देखि सुरु भएर २२ सम्म चलेको नाट्य महोत्सव नेपाल फिल्म क्याम्पस पिंगलास्थानमा भएको थियो । 

Lalabala Theatre

पहिलो दिन कक्षा ३ का विद्यार्थीबाट सुरु भएको नाटकमा आधा–आधा घण्टाका ३ वटा नाटक प्रस्तुत गरिएको थियो । अन्य दिन पनि विद्यार्थीले ३/३ वटा नाटक मञ्चन गरेका थिए । उत्सवमा विशेषगरी बालबालिकासँग केन्द्रित रहि बाल मनोविज्ञानमा आधारित सकारात्मक सन्देश र सिकाइसँग जोडिएका कथावस्तुमा नाटक प्रस्तुत गरेको थियो । नाटकमा नेपाली माटो, पहिचान, समाज, राजनीति, भूगोल, मौलिकता, धर्म, संस्कार, संस्कृति र विशेषगरी बाल अधिकारका मुद्दा उठाइएका थिए । आफ्ना साना नानीहरू मञ्चमा अभिनय गरेको देख्दा अभिभावक भावुक वा उत्साहित देखिन्थे ।

Lalabala Theatre

एक सप्ताह चलेको नाट्य महोत्सवमा मञ्चित नाटकमा ‘सोफिया र काले’, ‘दुःखी राजकुमारी’, ‘पाप–बुद्धि धर्मबुद्धि’, ‘बिसे नगर्ची’, ‘हीराको भोटो’, ‘लक्ष्मीपूजा’, ‘लालाबाला’, ‘उज्यालोतिर’, ‘खेल्ने बेला’, ‘फ्यामिली फोटो’, ‘रोल नं. चार’, ‘शिशिर वसन्त’ ले दर्शकको प्रशंसा पाएको थियो । यी नाटकको लेखन तथा निर्देशनको काम टंक चौलागाईं, प्रतीक दुलाल, बन्सरी पाण्डे, प्रकाश दाहाल र सौजन लिम्बूलगायतले गरेका थिए । यसरी अधिकांश नेपाली र केही विदेशी नाटकसमेत मञ्चन गर्दै स्थानीय तथा वैश्विक स्वादको विविधता चाख्ने अवसर जुर्‍यो । मिथकीय, ऐतिहासिक, राजनैतिक यी विविध क्षेत्रका विषय र पात्रलाई नाटकमार्फत जीवन्त बनाउनु साना नानीबाबुका लागि उति सहज थिएन । उनीहरू उमेर, अनुभूतिका हिसाबले विषयको गहिराइ बुझ्ने अवस्थामा पुगिसकेका छैनन् । तर, दक्ष नाट्यकर्मी र निर्देशकको समर्पण–लगावले गम्भीर विषय र घटनामा अभिनयमार्फत विद्यार्थी जोडिएका थिए । समयकाल, पात्र र परिवेशअनुरूपका भेषभूषा र बोली–बान्कीले उनीहरू अभिनय गरिरहेका थिएनन्, तत्कालीन जीवन बाँचिरहेका पात्र थिए भन्ने बोध गराउँथ्यो । 

Lalabala Theatre

‘विद्यार्थीहरूको भाषा शिक्षण, आत्मविश्वास वृद्धि, वाक्कलाको विकास, सामूहिक संयोजनमा काम गर्ने बानी विकास, भावानुवाद, सर्वाङ्गीण विकासलगायत धेरै किसिमका सीप अनि दक्षता विकास गराउने सोचले हामीले बालबालिकालाई प्राथमिकतामा राखेर १३ वर्षदेखि निरन्तर रूपमा नाटक प्रदर्शन गर्दै आइरहेका छौं,’ काठमाडौं प्रज्ञा कुञ्ज विद्यालयकी प्रिन्सिपल सुनिता पौडेल भन्छिन् । 

Lalabala Theatre

‘लालाबाला’ ले काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सव नेपाल– २०१६ आयोजना गरेको थियो । त्यसयता बालबालिका र स्कुल केन्द्रित भई निरन्तर काम गरिरहेको छ । त्यस अन्तर्राष्ट्रिय बालनाटक महोत्सवका निर्देशक पनि टंक चौलागाईं थिए । त्यसमा करिब १५ देशका बालबालिकासहित रंगकर्मीको संयुक्त आयोजनामा भिन्न भाषाका नाटक प्रदर्शन गरिएको थियो । कलाकार र नाट्य प्रशिक्षणका लागि छिट्टै नयाँ किताब ‘वर्णमाला’ ल्याउने तयारीमा छन् उनी । नाटक एक सशक्त दृश्य माध्यम हो । नाटक अभ्यासले विद्यार्थीलाई जीवनको रङहरू सिकाइरहेको छ । स्टेजमा तिनले आँसु, हाँसो, सुख, दुःख, तनावको अनुभव–अनुभूति गरिरहेका छन् । लाग्छ, थिएटर तिनका लागि जीवन बुझ्ने विद्यालय हो । 

Lalabala Theatre

Lalabala Theatre

रिमा

Link copied successfully