समोसामा आधाभन्दा बढी अंश आलु भएझैं यो किताबमा आलुजस्तै समाजको वर्णन छ
केही समययता अपराह्न ४ बजेपछि हामीलाई समोसाको याद आउन थालेको छ । दिनभरि कम्प्युटरअघि बसेर देश–विदेशका नेपाली लेखकका रचना ओल्टाइपल्टाइ गरिरहँदा थकान र भोकले मज्जाले गालेको हुन्छ । यस्तैबेला एउटा स्नेहपूर्ण पाको आवाज आउँछ, ‘लौ कामबाट उठ, एकछिन फुर्सदको लामो सास तानौं र समोसा खाऔं ।’
आफ्ना कुर्सीहरूबाट हामी सबै जर्याकजुरुक उठ्छौं । मानौं, यही आवाजको प्रतीक्षामा छौं । सम्पादकज्यू हातभरिका केही पोकाभित्र राखिएका तात्ताता समोसा टेबलमा भाग लगाउँछन् । हामी एक–एक भाग टपाटप टिपेर खान थाल्छौं । समोसाले अघाएपछि जब एक–एकवटा रसवरी वा बर्फी हात पर्छ, तब मात्रै हामीलाई धन्यवाद भन्ने साहस पलाउँछ ।
‘साहित्यपोस्ट’ कार्यालयमा बेला–बेला समोसा लिएर झुल्कने मानिस रहेछन्– लेखक/गजलविज्ञ डा. सनतकुमार वस्ती । भोकले आलसतालस भएका बेला हाम्रो खुवाइ देखेर उनी ढुक्कसँग समोसाको यसरी वर्णन गर्छन्, मानौं, यो संसारकै सर्वोत्तम परिकार हो । बर्मामा भारतीय रेस्टुराँबाहेक अन्यत्र समोसा पाइँदैन । त्यसैले समोसा–स्वादसँग म परिचित थिइनँ । समोसाको नाम सुनेकी थिएँ, तर सम्झिल्याउँदा त्यसको स्वाद चखाउने र महिमा बुझाउने पहिलो मानिस डा. वस्ती नै रहेछन् ।
आलेखको सुरुमै समोसा आउनुको कारण छ, ‘साहित्यपोस्ट’ कै माउसंस्था ‘शब्द मिडिया’ ले प्रकाशन गरेको गैरआख्यान (संस्मरणात्मक निबन्ध) ‘मार्केट अफ स्वीटहार्ट’ मा समेटिएको करिब २ हजार शब्दको समोसा–महिमा । त्यो पढेपछि बल्ल वस्तीले वर्णन गरेको समोसाको भौगोलिक फैलावट, सुगन्ध र स्वाद एकैपटक सम्झिएँ ।
तारा भट्टराईको ‘फ्रि–राइटिङ’ शैलीमा लेखिएको ‘मार्केट अफ स्वीटहार्ट’ फरक स्वादको किताब हो । समाजशास्त्रका विद्यार्थीले यसलाई ‘साहित्य होइन, समाजशास्त्रकै किताब’ भन्न सक्छन् । किताबको सफलता यही होला, पाठकले आफ्नो सुविधाअनुसार बुझ्नु–महसुस गर्नु । किताब पढ्दा थाहा हुन्छ, लेखक ताराको पृष्ठभूमि पत्रकारिता हो । किताबको लेखन सरल र सहज छ । लेखकले फिचर शैलीमा विषय बुनेकी छन् । कुनै पनि विषयमा त्यत्तिकै लेख्नुभन्दा पर्याप्त सूचना र दाबीका साथ आफ्नो कुरा भन्नु उनको विशेषता हो । सामान्य पाठकले आफ्ना कुरा बुझुन् भन्ने उनको चाहना छ ।
तारा भट्टराईले छान्ने विषय र त्यसभित्रका केही निर्भय वाक्यले मलाई ‘अहो, कस्तो आँट’ भन्ने भाव दिन्छ । उनका विषय तात्तातो हुन्छन्, पात्रहरू उनीसँगै हिँडडुल गर्ने, खाना खाने र बाटोमा भेटिनेहरू छन् । जो जस्तो छ, त्यसलाई त्यस्तै लेख्ने र केही परे भिडौंला भन्ने भाव पनि उनको लेखनमा देखिन्छ । तारा आँटिली लेखक हुन् भन्नेमा दुई मत छैन । उनी सत्यमा तथ्य घोलेर लेख्छिन्, कलात्मक लेखन उनको रुचि होइन । काल्पनिक कविता जस्तो उनी पर कतै हराउँदिनन्, आँखाअघिका पात्र, घटना जस्ताको जस्तै लेख्छिन् ।
पुस्तकमा लेखक विश्वराज अधिकारीले भूमिका लेखेका छन् । उनी लेख्छन्, ‘प्रकृति, जीवन र जगत्प्रति भट्टराईको एक किसिमको धारणा छ । त्यसैगरी विवाह, प्रेम, यौन, समाज र परिवारप्रति पनि खास किसिमको धारणा छ । यस्ता विषयमा लेखक सामान्य मानिस जस्तो द्वविधामा हुनुहुन्न । अमेरिकी यौनजीवन त्यसमा पनि न्युयोर्क सहरको यौनकुण्ठा, उकुसमुकुस भेटिन्छ । भट्टराईका कथामा मैले चिन्ता र चिन्तन दुबै भेटेको छु ।’
भूमिका पढेपछि मात्रै मैले थाहा पाएँ– तारा नेपाल होइन, अमेरिका बस्ने लेखक हुन् । आजको लेखक डुलिहिँड्छ । ऊ जहाँ–जहाँ पुग्छ, त्यहींको विषय लेख्छ । यो किताबमा पनि संसारभरिका घटना र पात्र छन् ।
पुस्तकमा ३१ वटा सिर्जनात्मक गैरआख्यान छन् । ३१ वटै लेखमा कतै न कतै लेखक देखिन्छिन् । तर, उनले भेटेका पात्र, देखेका घटनालाई आफूअनुकूल बनाउने प्रयास गरेकी छैनन्, आफ्नो विचार लादेकी छैनन् । बरु पात्र र घटनाका माध्यमले आफू के चाहन्छु, किन यस्तो विचार पाल्छु भन्ने बुझाउने प्रयास गरेकी छन् ।
नेपालमा गाँजा खेती गैरकानुनी हो । यसको व्यापार–व्यवसाय अपराध मानिन्छ । यस्तो बेला उनी पूर्वी नेपालमा बितेको बाल्यकाल सम्झिन्छिन्, जहाँ उच्चस्तरको गाँजा जताततै फलिरहेको हुन्छ । गाउँमा एकादुईले त्यस्तो गाँजा पिउँथे, जसलाई समाजमा ‘गँजेडी’ नामले बदनाम गरिन्थ्यो । तर, त्यही गाँजा अमेरिकामा रोगीको औषधि हुँदोरहेछ । डाक्टरले नै धेरै पीडा हुने रोगीलाई गाँजाको औषधि सेवन गर्न दिने रहेछन् । नेपालको गरिबी गाँजाको वैधानिक खेती मात्रैले पनि धेरै कम हुने उनको आकलन छ ।
गाँजाजस्तै यौन र समाजले गलत भनेका अरू पक्षमा वकालत गर्नु गाह्रै विषय हो । तर, उनले किताबभरि आफूलाई बेमेल लागेका यस्तै विषयमाथि वर्णन गरेकी छन् । ती विषयलाई बाहिर ल्याउने प्रयास गरेकी छन् । अमेरिकी समाज र आधुनिक नेपाली सहरी समाजमा हुर्किरहेका गलत पक्ष देखाउने, तर आधुनिक समाजले अंगीकार गरेका कतिपय राम्रा विषय उजागर गर्ने प्रयत्न किताबमा छ । खानेकुरामा समोसा, कफी, चिया र रक्सीसम्मको वर्णन किताबमा पाइन्छ । प्रेम, विवाह, यौन र पारिवारिक सम्बन्धको विचलनका कथा पनि छ । अमेरिकी समाज, उसले अपनाएका व्यवहार पनि किताबमा पढ्न पाइन्छ । लेखक–पत्रकारले अपनाएका विसंगति देखाउनु उनको धर्मझैं प्रतीत हुन्छ ।
त्यसो भए यो किताबको मुख्य विषय के हो ? ३१ वटा विषय समेटिएको भए पनि यो किताबको मुख्य विषय ‘समाज नामको आलु’ हो । माथि नै समोसाको उल्लेख भएको छ । जसरी समोसामा आधाभन्दा बढी अंश आलुको हुन्छ, त्यसैगरी ‘मार्केट अफ स्विटहार्ट’ मा आलुजस्तै समाज छ । जसरी समोसामा आलुलाई नुन, मसला र मटर दानाले स्वाद बढाएको हुन्छ, त्यसैगरी मानव मनको अनेक भावनाले यो किताबलाई स्वादिलो बनाएको छ । आकर्षक डिजाइन र छपाइले समोसाजस्तै किताब पनि आकर्षक बनेको छ ।
