कविता : एकालाप

चैत्र ३०, २०८१

युमा

Poetry: Monologue
news-wrap-sec

उदासी रोइरहेकोयोएकलास एकान्तमा

चुपचाप

निस्तब्ध मौनतासँग

बात मारिरहेछु

एक्लै

कहिल्यै नफर्किने 

छोराहरुका 

पाइतालाका डोबहरु हुँ म

विरक्त आमाहरुका

गहबाट खस्न बाँकी

आँसुको थोपा हुँ म

कुनै गुमनाम छापामारको

त्यतै कतै छुटेको

डायरीको

अन्तिम शब्द हुँ म

कुनै अनाम प्रेमीको

बिछोडका

निष्ठुर सम्झनाहरु

नलेखिएको संस्मरण हुँ म

विभेदको

अभेद्य पर्खाल वारि उभिएको

news-wrap-sec

सीमान्तकृत

त्यो आदिम मानिसको

फुट्न बाँकी बोली हुँ म

तिम्रो शासनको

कोर्राले

युगौंदेखि

निर्मम चुटिएको

आदिवासी आवाज हुँ म

सारा सपनाहरुको

सामूहिक अन्त्येष्टि स्थलबाट

शोकसन्तप्त फर्किरहेको

सपनाहरुको

मलामी हुँ म

बिर्सिएको छैन

खिलझैं गढेका

घाउका कथाहरु

सुनाइदिनु –

अझै पनि बाँकी छ

आक्रोशको आँधी

हो, त्यही

बाँकी आक्रोश हुा म

news-wrap-sec

डुब्न लागेको

घामझैं नसम्झ मलाई

हुरी आउनु अघिको

चकमन्न सन्नाटा हुँ म

सुन्नु छैन

च्युत शासनको गीत

बुझ्न कठिन छैन

नयाँ बादशाहको

हुकुमी भाष्य

नबिर्स

तिम्र्रो नग्न शासनसित

आँखा जुधाइरहेको

एकजोर 

विवश आँखा हुँ म

रूनु छ

केहीबेर

रून देउ मलाई

तिम्र्रो ‘अप्रिल क्रान्ति’ सँगै

देखाउनु छ

पिठ्युँभरिको नीलडाम

र, सोध्नु छ

news-wrap-sec

अनगिन्ती अनुत्तरित प्रश्नहरु

ओ प्रिय मानिस !

हो, त्यही 

अनुत्तरित प्रश्नहरु हुँ म

देश नामको

यो

अभिशप्त अन्धकारमा

चुपचाप

निस्तब्ध मौनतासँग

एक्लै

बात मारिरहेको

एकालाप हुँ म 

मात्र

एकालाप हुँ म ।।

युमा

Link copied successfully