पुरानै हो वर्तमानको हाँगामा झुन्डिरहेकोझुत्रेझात्रे कालो झोला
कहिले शालिग्राम, कहिले तुलसी
र, कहिले जालन्धर बनेर सैपालको फेदमा उदाउने
शासक पनि पुरानै हो
पुरानै हो
हाम्रा खुट्टाहरुमा बिझ्ने अपिको आयतन
कुनै पाठ्यक्रममा समावेश नभएको
त्यो नालापानीको कथा पनि पुरानै हो
हरेक दिन छाउपडी गोठमा पसेर
हाम्रा चेलीबेटीहरुको घाँटी च्याप्ने
देवी–देउताहरु सब पुरानै हुन्
news-wrap-secफूलमाया थरूनीलाई
तराईमा पटक–पटक बलात्कार गरिरहने
औलो पनि नौलो होइन
पुरानै हो
युगौंदेखि क्रान्ति गरिरहेको
देशराम डगौराको ढकिया
असाक्षर
पण्डित भगिराम पाध्यको शरीरमा झुन्डिएको
गरिब जनै पुरानै हो
पुरानै हुन्
हलोको ओघमा छापिएका
भीमदत्त पन्तका हत्केलाहरु
हलोको फालीसँग
युगौंदेखि अंकमाल गरिरहेका आँखाहरु पनि
पुरानै हुन्
दस्तखतमा बेचिएको आयु
र, तमसुकले काटिएका औंलाहरु पुरानै हुन्
news-wrap-secपुरानै हुन्
दर्नाली राजाका उत्परिवर्तित श्रीपेचहरु
सुर्मामा कैद गरिएको
बाँकावीरको रगत पनि पुरानै हो
पुरानै हो
हावाको लयसँग पैतल मारिरहने सुदूर झोलुङ्गो
र, झोलुङ्गोभित्र
भात, स्नेह र ओखतीको अभावले
बूढो हुँदै गरेको बालक पनि पुरानै हो
पुरानै हो
खानीडाँडाको फेदबाट
एम्बुस बोकेर हिँड्दै गरेको रात्रिबस
छातीमा कात्रो तेर्स्याएर
मृत्युलाई जिस्क्याइरहने राजमार्ग पनि पुरानै हो
news-wrap-secपुरानै हो
बम्बै भासिएका बुबाले
पच्चीस वर्ष पहिले पठाएको चिठी
बुबाको स्मृतिमा
आमाको अनुहारमा कोरिएका रेखाहरु पनि पुरानै हुन्
पुरानै हो
गोबघाटतिर बास बसिरहेको
बम्बैवालाको स्वर्णिम साँझ
क्यासेटका रिलहरुमा छुटिगएका
सेटिनीका सम्झनाहरु पुरानै हुन्
देउकीले ईश्वरको आँगनमा छोडिगएको
निद र भोकको रङ पनि पुरानै हो
हुड्के दाजुले चोकमा छाडिगएको
उमंग पनि पुरानै हो
news-wrap-secभर्खर नयाँ साइजको पेपरमा सुदूर प्रवेश गरेका छन्
पुरानै नारा लेखिएका केही पर्चाहरु
भर्खर गाउँ पसेको हो रेमिटेन्स
भर्खर गाउँ पसेको हो पर्यटनको नारा
तर,
स्याउले बजारमा ओखर बेचिरहेका नानीहरुले
अझै लड्न बाँकी छ कापी र कलमका लागि
नयाँ शैलीको एउटा पुरानो युद्ध ।
