‘हरि अधिकारी कुनै नाम नभए पनि’ कुरूप सत्ताको ‘सडान्ध लास बोकेर’ बाँचिरहेका टोले नेता होइनन्
एउटा कवि झ्वास्स देख्दा अकविजस्तोसरल र जटिलदुवै भन्न मिल्ने,
कवि हरि अधिकारीले कवि ‘मोहन कोइराला’ शीर्षकको कवितामा यही लेखेका छन् । एक वर्षअघि ‘कवितासँग पाँच दशक’ प्रतिनिधि काव्यकृति प्रकाशित गरेका कवि हरि अधिकारी स्वयम् पनि यस्तै लाग्छन् । झ्वास्स देख्दा कुनै नेताजस्तो देखिन्छन् भने, गहिरिएर कुरा सुन्दै जाँदा एउटा निवृत्त प्रशासकजस्तो पनि लाग्छ । तर, वास्तवमा उनी आधुनिक नेपाली कविता विधाका एक प्रसाद गुण सम्पन्न कवि हुन् । हरि अधिकारी कुनै नाम नभए पनि कुरूप सत्ताको ‘सडान्ध लास बोकेर’ बाँचिरहेको टोले नेता वा घूसको चक्का भएको घुम्ने मेचमाथि बसेर थाकेको निवृत्त प्रशासक पनि होइनन् ।
उनी दुवै होइनन् र फरक पहिचान बोकेका नेपाली काव्यजगत्का एक अथक साधक हुन् । उनका दर्जनजति सिर्जनाहरू प्रकाशनमा आएपछि हालै ‘कवितासँग पाँच दशक’ कवितासंग्रह प्रकाशनमा आएको छ । उमेरले सात दशकको डाँडो काटेको भए पनि चेतना, विचार र साधनोत्सर्गले उनको काव्य सामर्थ्य र परिशीलनको चमत्कार यस ग्रन्थमा टड्कारोसँग देख्न सकिन्छ । ‘कविता यात्रा प्रारम्भ’, ‘कविता यात्राको एक बिसौनी’ र ‘कविताको संसारमा निरन्तरता’ गरी तीन खण्डमा विभक्त उनको काव्यग्रन्थमा सय थान बढी कविताहरू संगृहीत छन् ।
साहित्य र कला समाजको आर्थिक चरित्रको जगमा उभिएको उपरिसंरचनाको विशिष्ट बिम्बात्मक रूप हो । कविता पनि यसै सिद्धान्तको एउटा विधागत प्रवृत्ति हो । सामाजिक सत्ताबाट निर्माण हुने चेतनाको विशाल क्षितिजमा कविताले महत्त्वपूर्ण भूमिकाको कलात्मक भाव पक्ष उजागर गरिरहेको हुन्छ । मानव समाज पनि प्राणीको एउटा स्थुल शरीरजस्तै हो, जसलाई चेतनाको विशाल फाकटमा निजी आकांक्षा र सौन्दर्यको आवश्यकता पर्छ । यसको गहन महत्ता र विशिष्ट कलादृष्टिमा संरचित काव्यको रसविधानले समाज परिपोषित भइरहेको हुन्छ । यस आधारमा पनि कवि हरि अधिकारीको ‘कवितासँग पाँच दशक’ ग्रन्थभित्रका कविताहरू उच्चकोटीका लाग्छन् ।
काठमाडौं विश्वविद्यालयका तत्कालीन रजिस्ट्रार, हाल उपकुलपति अच्युत वाग्ले र आफ्नै सुपुत्र आशुतोष अधिकारी प्रकाशक रहेको उनको प्रतिनिधि काव्यग्रन्थ समकालीन नेपाली कविता बजारका लागि एक ऐतिहासिक र नवीन आविष्कार हो । उनको कवितासंग्रहमा ‘हरि अधिकारीको अधिकाव्य’ शीर्षकमा भूमिकाको भूमिका निर्वहन गर्दै प्रा.अभि सुवेदीले उनको काव्यिक शैलीमा उक्तिपद्धतिको कुशलता र कवितामा बिम्ब, भावना र विचारको सूक्ष्म रचना गर्ने सामर्थ्य छ, भनेका छन् । उनको कविता रचना गर्ने विशद् शैलीमा विविध मानसमूर्च्छनाका तिक्खर लय भेटिन्छ, जुन गेयता र गवेषणनीय भाव गहिराइ जो कोही कविको कवितामा पाइँदैन ।
उनको काव्यिक लयको वाचाल प्रवृत्ति भनेको भाषा र बिम्बहरूको सघनताले विचारलाई कलात्मक सुस्पष्टता दिनु हो । उनका प्रारम्भकालीन कवितादेखि वर्तमान सिर्जनासम्मका सबै रचनाहरूले एउटा फरक खालको शाब्दिक आर्किटेक प्रयोग गरेको अनुभूति हुन्छ । यस्तो कलाले कविलाई एक्लो बृहस्पतिजस्तो निकै टाढा राखेर चमचमाइरहेको चम्किलो तारा बनाएको छ । आफैंले वरण गर्दै योगदान दिएर झन्डै आधा युग कटाएको आस्था र वैचारिकीको शक्तिले सत्ता कन्डक्ट गर्दा पनि कुनै लालचको पासोमा नझुन्डिएको हरि अधिकारी कविता, निबन्ध वा आख्यानका लागि मात्र जन्मिएको हो जस्तो लाग्छ ।
यस संग्रहमा उनका अनेक प्रयोगधर्मी कविताहरू समावेश गरिएका छन् । ‘कविता यात्राको प्रारम्भ’ खण्डको पहिलो कविताले नै उनीभित्रको आलोचनात्मक चेत र समग्र सामाजिक दृष्टिबिम्बलाई चामत्कारिक ढंगबाट काव्यशालाको रसायन बनाएको छ । हरेक खण्डका हरेक कविताहरूको कुनै सिर्जनाकाल उल्लेख नभए पनि प्रत्येक कविताले समकालीन समयको चित्र उतारेको छ । ‘कविता यात्राको बिसौनी’ खण्डका एकाध कवितालाई छाडेर समग्र कविताहरू सामाजिक अन्तरचेत, यौन मनोविज्ञान र वैचारिक गहनताले सघन भावबोधी जँच्दछन् । ‘मट्टीकी पुतली’
(इँटा बनाउने रुकुमेली युवतीको कविता) यस्तै एउटा उदाहरणयोग्य कविता हो । ‘कविताको संसारमा निरन्तरता’ खण्डले रचनाकालीनताका दृष्टिले वर्तमान वयबोध गराउँदछ । तर, कविताहरूमा आजका चित्र मात्र छैनन्, हिजोका यातना पनि छ, समकालीनता छ र शाश्वत लाग्दछन् । ‘मासु पसलमा एउटी स्त्री’ उनको यौन मनोविज्ञान बिम्बित एउटा बहुचर्चित कविता हो । यस कविताले मानिसको मनमा जुन खालको झंकारमय रागको राप र ताप दिन्छ,
यसको मीठो अनुभूतिले खास कविताको शक्तिबोध गराउँछ ।
आगोको फिलिंगोजस्तो रातो मासुलाई
केस्र–केस्रा छुट्याएर भाग लगाउँछे
मानौं कामातुर ऊ सम्भोगका लागि
आफूलाई बिस्तारै–बिस्तारै छोडाइरहेकी छे ।
गद्य लेखनमा पनि खारिएका बहुविधाका साधक हरि अधिकारी कुनै नाम नभए पनि धेरै नाम हो र जति नाम भए पनि एउटै नाम हो, कवि हरि अधिकारी । एकताका प्रखर समीक्षकका रूपमा ख्याति कमाएर धेरै गलौजसमेत खपेका हरि अधिकारीलाई यस्ता अनेक प्रक्षेपणहरूले पनि हरि अधिकारी बनाएको छ ।
उनी स्वच्छन्द जीवनवादी कवि पनि हुन् । उनका धेरै चर्चित कविताको लहरमा केही कविता बहुचर्चित पनि भएका छन् । ‘गार्मेन्टकी गायत्री’ उनको एउटा जीवन्त रचना हो । जुन कविताले सोलोडोलो रूपमा हरि अधिकारी र उनका रचनाहरूलाई मूर्धन्य बनाएको छ । यौनिक विषय तथा महिलाका देहांगको बिम्बात्मक चित्रणमा उनको भद्र, शालीन र कलात्मक प्रस्तुतिले नै उनलाई जीवनवादी कविका रूपमा खडा गरेको छ ।
नयाँ परिधानमा टाँक हालिरहेकी गायत्री राम्री देखिन्छे
तर उसको आँखामा टाँगिएको छ
टाँकघर खुकुलो भएको आफ्नै जीवनको धमिलो चित्र
एक कुशल कविको कविताले समकालीनतालाई जसरी सुमधुर रूपमा शल्यविधिको प्रयोग गर्छ, यो नै उसको काव्यिक सफलताको उच्च अभिलक्षणा हो । यसर्थ पनि कवि हरि अधिकारी नेपाली साहित्य फाँटका कुशल शब्दशिल्पी हुन् । नेपाली साहित्य साधनाका अनेक शिविरहरूमा विचारको धार र सिर्जनाको आधारमा अनेक रूपका विभक्तीकरण देखिन्छन् । यसमध्ये आफ्नो विचारको धारका हरि अधिकारी नायक कवि मात्र होइन, नेपाली कविहरूको लामो पंक्तिमा यस प्रकारको तीक्ष्णताबोध गराउने एकांकीय गणनाभित्रका कवि हुन् भन्दा अतिशयोक्ति नठहर्ला ।
हरि अधिकारी एक निष्ठा र आदर्शका कवि पनि हुन् । उनका समवयी कवि शैलेन्द्र साकार उनलाई ‘यस युगका स्पष्ट, निर्भीक र विश्वसनीय कवि र प्रखर आलोचक’ ठान्दछन् । यसैगरी अर्का युवाकवि रमेश क्षितिजले पनि हरि अधिकारीका कविताले ‘मानिसका पक्षमा बोलिरहेको काव्यिक आवाजले पाठकलाई सोचमग्न र तरंगित बनाउँछ’ भन्ने भाव व्यक्त गरेका छन् । पत्रकार तथा प्रखर समीक्षक राजकुमार बानियाँले ‘यिनले कविता केही समयका लागि होइन, सधैंभरिका लागि हो भन्ने दृष्टान्त प्रस्तुत गरेका छन्’ भन्ने समीक्षात्मक टिप्पणी गरेका छन् । उनको यस गहकिलो काव्यग्रन्थको ब्लरपृष्ठमा मुद्रित उपरोक्त मतहरू पनि उनीप्रति समुचित मूल्यबोध गरिनुका आधारहरू हुन् ।
नेपाली साहित्यको समकालीन समाजमा हरि अधिकारी एक उम्दा कविका रूपमा उदाएर एक परिपक्व, प्रखर र कटुआलोचनात्मक चेतले सम्पन्न कविका रूपमा स्थापित भएका छन् । आजभन्दा झन्डै पचपन्न वर्षअघिको वयस्कवयमा नै राष्ट्रिय कविता महोत्सवमा आयोजित कविता प्रतियोगितामा प्रथम भएर नगद रुपैयाँसहित स्वर्ण पदक प्राप्त गरेका कवि हरि अधिकारी वर्तमान समयले पाएको एक महत्त्वपूर्ण निधि हो ।
धेरै नाम होइनेहरूको हूलमा
कसैको सडान्ध लास बोकेर मुर्दाहरूको बस्तीबाट
उसको यात्रा जारी छ ।
