धनकुटामा बलेको मैन्टोल

५० वर्षअघि धनकुटाबाट ‘तुवाँलोले ढाकेको बस्ती’ लिएर काठमाडौं छिरेका अशेष मल्ल गाउँ फिरेनन्, सहरमा उनले स्थापना गरेको ‘सर्वनाम’ थिएटरले ४४ औं वार्षिकोत्सव मनाउँदै छ

चैत्र १६, २०८१

राज शाह

Menthol lit in Dhankuta

उनीहरूको मुखबाट कुरा फुत्कन नपाउँदै सडकमा प्रहरीको साइरन बजेको आवाज आउँछ, राजा गाडीहरूको लावालस्कारसहित प्रतिष्ठानको गेटबाट भित्र छिर्छन् ।

दृश्य एक

पहाडको बस्तीबीच एउटा सानो मैदान छ । मैदानको एकछेउमा छाप्रो छ, छाप्रोमा एउटा सानो मञ्च छ । मञ्च वरिपरि एक हुल दर्शक जम्मा भएका छन् । मञ्च पछाडिपट्टि कोही मैन्टोलमा मट्टीतेल भर्दैछन्, कोही कपडा मिलाउँदै छन्, कोही पर्दानेर पुगेर आफ्नो पालो कुर्दै छन् ।

यत्तिकैमा मञ्चमा मैन्टोलको उज्यालो आउँछ, पात्रहरू एकपछि अर्को गर्दै मञ्चमा आउँछन् । दर्शकदीर्घा पात्रहरूसँगै बहकिन्छन्– कहिले हाँस्छन्, कहिले भावुक हुन्छन् । पात्रहरूको चरित्र र भावनासँगै दर्शकहरू रमाउँछन् । नाटक सकिन्छ, जोडदार ताली र सिठी बजिरहन्छ । मञ्चको मैन्टोलको उज्यालो नेपथ्यतिर जान्छ । कलाकारहरू हतार–हतार आफ्नो सरसामान पोको पार्न तल्लीन हुन्छन् र दर्शकहरू लालटिन, टर्च बोकेर जुनकिरीका लस्कर जस्तै आफ्ना घरतर्फ लाग्छन् ।

त्यही समय कसैको मुखबाट निस्किन्छ ‘यो नाटक त काठमाडौं लानुपर्छ ।’ कसले भन्यो ? कसैलाई हेक्का हुन्न तर कलाकार, निर्देशक सबैको कानमा र मनमा त्यो आवाज गुन्जिरहन्छ । आकाशवाणी जस्तो गुञ्जिएको त्यो आवाज, जति सहजै गुञ्जियो त्यति नै कल्पनाको कौसौ कोस टाढासम्म असम्भव प्रायः थियो । सपना त आखिर सपना थियो, जसले देखे पनि जसरी देखे पनि त्यो पूरा गर्ने हुटहुटी सबैमा बिजारोपण भइसकेको थियो ।

अनि बुन्यो धनकुटामा सिर्जित नाटक ‘तुवाँलोले ढाकेको बस्ती’ ले राजधानीसम्म पुग्ने सपना । काठमाडौं जाने सम्भावना के, कहाँ, कसरी नाटक देखाउने ? कसलाई भेट्ने ? वा नाटक मञ्चन गर्न पाउने/नपाउने कुनै टुंगो र भरोसा थिएन । केवल एउटै सपना बन्यो, काठमाडौंमा नाटक देखाउने ।

दृश्य दुई

दर्के पानी भर्खरै बन्द भएको छ । मान्छेको लाइन राजकीय प्रज्ञा प्रतिष्ठानदेखि कमलादी गणेशथानसम्मै पुगेको छ । लाइनको एक जना भन्छ, ‘हिजो पनि लाइन बस्न मात्रै भयो, आज त टिकट पाइएला कि !’ यसैबीच लाइनमा बसेका अर्को एक जनाले जवाफ फर्काउँछ, ‘आज त राजा पनि नाटक हेर्न आउने रे ! टिकट पाउन गाह्रो छ ।’

उनीहरूको मुखबाट कुरा फुत्कन नपाउँदै सडकमा प्रहरीको साइरन बजेको आवाज आउँछ, राजा गाडीहरूको लावालस्कारसहित प्रतिष्ठानको गेटबाट भित्र छिर्छन् ।

आज कलाकारहरू अलिक नर्भस देखिन्छन् ।

नाटक सकेसँगै जोडदार ताली बज्छ । राजा वीरेन्द्र मञ्चमा आउँछन्, नाटकको प्रशंसा गर्छन् र तस्बिर खिचाउँछन् । धनकुटाको आकाशवाणी भएको आवाज र त्यो सँगै बुनिएको सपना साकार हुन्छ ।

दृश्य तीन

बस्तीबीच एउटा खाली ठाउँ छ । सुन्तला रंगले पोतिएका घरहरू टक्क अडिएका छन् । सँगै उभिएको पौवामा दर्जनौं प्रहरी, नगर प्रहरी लाइनै उभिएका छन् । हाकुपटासी, राता, नीला, हरियो स्कुलको ड्रेस, केटाकेटी, बूढाबूढी, युवाले चारैतिरबाट घेरिएको चोकको बीचको खाली मञ्च छ । सबै मानिसबीच मञ्चतर्फ हेरेर एकटह प्रतीक्षा गरिरहेका छन् । मञ्चको एकतर्फबाट दुई जना पात्र अनौठो खालको बाजा बजाउँदै फिलिपिनो भाषामा गीत गाउँदै मञ्चमा छिर्छन् र भन्छन्– आरिवोवागां ।

ती गाउँछन्, नाटक गर्छन् । दर्शकले भाषा नबुझे पनि तिनैको तालमा ताल मिलाउँदै हाँस्दै उनीहरूकै भाषामा रमाउँछन् । सोही अनुसार भारतीय, कोरियन, बंगाली, चाइनिज र अंग्रेजी भाषामा नाटकहरू मञ्चन हुन्छन् र दर्शकहरू मुग्ध हुन्छन् । स्थानीय कुमारी नाच, नेवारी नाच प्रस्तुत गर्छन् र प्रस्तुतिबाट विदेशी कलाकार मोहित हुन्छन् । घण्टौंसम्म भाषा र भूगोलको सीमा नाघेर नेपाली–विदेशी कलाकार तथा दर्शक घरि हाँस्छन्, घरि रमाउँछन्, घरि भावुक हुन्छन् र आफैंमा हराउँछन् । दर्शकदीर्घाबाट तालीको गड्गडाहट बजिरहन्छ र बिस्तारै दर्शकदीर्घाको एक कुनाबाट एउटा पात्र खुलामञ्चभित्र छिर्छ भावुक हुन्छ र बोल्छ–

‘मलाई जिन्दगीमा सधैं एउटै कुराको पश्चाताप थियो कि, मैले मेरो आमालाई साथ दिने बेलामा म प्रजातन्त्रका लागि लड्दै थिएँ । त्यो समय आमाभन्दा प्रजातन्त्र महत्त्वपूर्ण लाग्यो । म रात–दिन नभनी प्रजातन्त्रको लडाइँ र आन्दोलनमा नाटक र नाट्य प्रस्तुति लिएर लडिरहें, तर कालान्तारमा आमालाई केही गर्न सकिन भन्ने कुराले सताइरहन्थ्यो । मैले आमाका लागि केही गर्न नसके पनि म जन्मेको धर्तीमातालाई आज केही गरेको अनुभूति भइरहेछ ।’

माहोलमा सन्नाटा छाउँछ र बोलिरहेका अशेष मल्ल भावुक हुन्छन् । सँगैका हङकङका मोक चियू उनलाई अँगालो हाल्छन् र बंगलादेशी मामुनूर रसिदले माइक समाउँछन्, ‘अशेष मल्ल धनकुटाका मात्र नभएका विश्व रंगमञ्चका तारा हुन’ भन्दै आफूले बोकेको दोसल्ला ओडाउँछन् ।

काठमाडौंमा एक साता, इटहरीमा तीन दिन हुँदै धनकुटा आएको ‘इन्टरनेसलन पिपुल्स थिएटर फेस्टिभल’ को बिट मारिन्छ ।

माथिका यी सबै दृश्यमा दोहोरिएका एउटै पात्र हुन्– नाटककार अशेष मल्ल, जो करिब ५० वर्ष पहिले यही धनकुटामा मञ्चन भएको नाटक ‘तुवाँलोले ढाकेको बस्ती’ का लेखक र मुख्य कलाकार थिए । धनकुटाबाट ५ दशक पहिले धरान, विराटनगर हुँदै काठमाडौंसम्म नाटक लिएर नाट्य–समूहसँगै काठमाडौं छिरेका थिए अशेष । काठमाडौंमा नाटक मञ्चन सकेपछि नाटकका सम्पूर्ण सदस्य गाउँ फर्किए, तर अशेष फर्किएनन् । मल्लले रंगकर्मको क्यानभास देखिसकेका थिए, त्यसैले धनकुटामा खुम्चिन चाहेनन् र काठमाडौं बस्ने निर्णय गरे ।

त्रिभुवन विश्वविद्यालयमा भर्ना भएसँगै मल्लले रंगकर्म र लेखनलाई झन् फराकिलो बनाए । आज उनै अशेषले विश्व रंगमञ्चलाई काठमाडौं, इटहरी हुँदै धनकुटा पुर्‍याए ।

त्यो समय धनकुटादेखिको काठमाडौं यात्रा चुनौतीपूर्ण थियो । काठमाडौंमा चिनेजानेका कोही थिएनन्, न त साथमा बाटो खर्च ! तैपनि मल्लले सांस्कृतिक समुदायका अध्यक्ष ओमकार श्रेष्ठलाई मनाए, निर्देशक उपेन्द्र दुःखीलाई उचाले, अन्ततः सबै कलाकारलाई मनाए । ओमकारको नेतृत्वमा, उपेन्द्र दुःखी, गोपी श्रेष्ठ, महेष अमात्यलगायत नाट्य–समूह तयार भयो, राजधानीको बाटो तय गर्न ।

पञ्चायतकालीन अवस्था थियो, अभिव्यक्ति स्वतन्त्रता थिएन, राजधानीमै नाटकको संवादहरूमा कैंची चल्थ्यो, बल्लतल्ल धनकुटाबाट काठमाडौं आए पनि नाटक मञ्चन हुने टुंगो थिएन ।

सपनाको गन्तव्यको कुनै भरोसा थिएन, तर मनमा राजधानी पुग्ने आशा र महत्त्वाकांक्षाले आकाश छोइसकेको थियो । अनि नाटक टोलीले लत्ताकपडा, नाट्यसामग्री पोको पार्‍यो र पैदल यात्रा धरानतर्फ ओर्लियो । दुई दिनको पैदल यात्राले लखतरान परेर सबै कलाकार बल्लतल्ल धरान आइपुगे । थकान, असहज बसाइँले काठमाडौं पुग्ने सपना टुटिसकेको थियो, तर धरान छिर्नेबित्तिकै ठूलो क्यानभासमा मुकेश मल्ल र उपेन्द्र पागलले नाटकको पोस्टर बनाइसकेका थिए, पोस्टर देख्नासाथ सबैका गलेका घुँडामा ताकत भरिए । 

पोस्टरमा लेखिएको थियो– नवकलाकार सांस्कृतिक समुदाय नाट्य समूहको प्रस्तुति नाटक ‘तुँवालोले ढाकेको बस्ती’, स्थान शिव टाकिज, धरान । धरानमा दुई शो मञ्चनपछि नाटकले दर्शकको भव्य माया र प्रतिक्रिया पायो । टिकटबाट उठेको पैसाले बाटो खर्चको थैली भरियो । गाउँमा देखाइएको नाटकले सहरमा पाएको प्रतिक्रियाले नाटक समूह हौसियो र फेरि पोकोपुन्तुरो बोकेर पिराटनगरतर्फ लाग्यो ।

विराटनगरमा एक शो गरेपछि गन्तव्य राजधानीतर्फ लम्कियो । एक दिन तराईको बसाइँपछि टोली राजधानी आइपुग्यो । हप्तौंको यात्राले लखतरान नाट्यटोली कहाँ बस्ने ? हेक्का थिएन । बल्ल न्युरोडको एउटा होटल पाइयो । संयोगले त्यो होटल नाटककार विजय मल्लको परेछ ।

दृश्य चार

कार्यालयको सुनसान कोठाभित्र कुर्सीमा सदस्यसचिव एकटह बेन्चमा बसेका तर्फ चिउँडोमा हात लगाएर घुरेर हेरिरहेका छन् । बिस्तारै चुइइय ढोका खुल्छ, ढोकाबाट पालेले चिया ल्याउँछन–टेबलमा राख्छन् र सदस्य सचिव पालेलाई ‘यिनीहरूलाई पनि चिया ल्याऊ’ आदेश दिन्छन् । नाटक टोलीका चारै जनाले लामो सास फेर्छन् । मुसुक्क मुस्कुराउँछन् र ‘साँच्चिकै धनकुटाबाट आएको हो ?’ प्रश्न गर्छन् । ‘हजुर हो’ हजुर भन्दै ख्याउटे अनुहार, लामो कपाल भएको एकजना बोल्छन् । उनले बाटो बेलिबिस्तार उत्साहपूर्वक लगाउँछन् । सदस्यसचिव उनको उत्साह देखेर चकित हुन्छन् र सोध्छन्, ‘तिम्रो नाम चैं के ? नाटकमा के भूमिका छ तिम्रो ?’

‘हजुर म अशेष मल्ल । म नाटकको लेखक र मुख्य कलाकार ।’ प्रश्न सोध्ने व्यक्ति थिए, तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सत्यमोहन जोशी । जोशीले समूहको जोस देखेपछि टिकटबाट उठेको रकम आधा प्रतिष्ठान र आधा नाटक टोलीलाई दिने गरी हल प्रबन्ध गरिदिन्छन् । तत्काल प्रचण्ड मल्ल र हरिहर शर्मालाई बोलाएर नाट्यटोलीलाई प्राविधिक सहयोग तथा सहजीकरणका लागि आदेश दिन्छन् । नाटक काठमाडौं पुर्‍याउने सपना देखेको यो टोलीलाई ‘सपना हो कि विपना ?’ पत्याउन गाह्रो लाग्छ ।

दृश्य पाँच

प्रतिष्ठानको ठूलो हलको ढोका खुलेको छ, ढोकाबाट बाहिरको प्रकाश हलमा प्रवेश गरेको छ । ढोकाबाट एकहुल मान्छे हलभित्र प्रवेश गर्छन् । सबैजना भित्र पसिसकेपछि मञ्चको बत्ती झ्याप–झ्याप्प बल्छ, कलाकार हेरेको हेर्‍यै हुन्छन् ।

धनकुटामा सानो मञ्चमा नाटक गरेको नाट्यटोलीलाई प्रतिष्ठानको मञ्च मैदानजस्तो लाग्छ । कलाकारहरू मञ्चमै हराउँछन् । मैन्टोलमा नाटक गरेका आँखाहरू तिरिमिरी हुन्छन् । अभावै अभाव र रहरमा नाटकमा रमाएका कलाकारहरू नाटकमा यति धेरै प्रविधि हुन्छ भन्ने देखेपछि चकित हुन्छन् ।

दृश्य छ

सहरमा एकप्रकारको हल्ला भइसकेको थियो । धरानमा साथी मुकेश मल्ल र उपेन्द्र पागलले क्यानभासमा बनाइदिएको पोस्टर न्युरोडको पिपलबोटमा झुन्डिसकेको थियो । आज नाटकको पहिलो दिन थियो सबै कलाकारहरू जति धेरै उत्साहित थिए, त्यति नै धेरै डर नाटक कस्तो हुनेमा थिए ।

प्रतिष्ठानको टिकटघर नजिकै ख्याउटे अनुहारका अशेष मल्ल उभिइरहेका थिए । एउटा कोट–पाइन्ट र कालो टोपी लगाएका अग्लो कदका व्यक्ति आए र सोधे, ‘खै धनकुटाबाट आएका कलाकार ?’ प्रतिष्ठानका कर्मचारीले अशेष मल्लतर्फ औंला तेर्स्याए । तिनले पैसा तिरेरै टिकट लिए र हलतर्फ गए । कर्मचारीले मल्लालाई हेर्दै मुस्कुराए, ‘भाग्यमानी रहेछौ, तिम्रो नाटकको पहिलो दर्शक बालकृष्ण सम भए ।’

धनकुटाबाट सपना र रहर बोकेर आएका अशेष मल्लले राजधानीमा धेरै संघर्ष गरे । नाटक–समूह ‘सर्वनाम’ स्थापना गरे । दरबार, प्रतिष्ठानको हलहरूमा मात्र सीमित नाटकलाई सडक नाटकको माध्यमबाट गाउँ–गाउँ पुर्‍याए । लेखन र नाटकबाट प्रजातन्त्र प्राप्तिका लागि अग्रणी भूमिका निर्वाह गरे । त्यो समय पार्टीहरू प्रतिबन्धित थिए, तर मल्लले नाटकबाटै सधैं सत्तालाई झक्झक्याइरहे । नाटकै गरेकैले तत्कालीन पञ्चायतबाट कुटाई खाए र जेल बसे । नाटक नगर्न चेतावनी पाए तर मल्ल अबिराम नाटक लेखिरहे, नाटक गरिरहे । 

धनकुटाबाट नाटक गर्ने मञ्च खोज्दै हिँडेका मल्लले राजधानीमा ‘सर्वनाम थिएटर’ बनाए– धेरै कलाकार–रंगकर्मी जन्माए, प्रशिक्षित गरे, देशमा मात्र नभई विदेशमा समेत नाटक र नाट्यप्रशिक्षण लिएर पुगे । 

अशेषकै नेतृत्वमा स्थापना भएको ‘सर्वनाम’ आउँदो सोमबार ४४ औं वार्षिकोत्सव मनाउँदै छ । जीवनको ७२ औं बसन्त हिँडिरहेका मल्ल अझै रंगमञ्चमा उत्तिकै सक्रिय छन् । धनकुटाको मैदानमा बलेको मैन्टोलले राजधानी मात्रै होइन, नेपाली र विश्व रंगमञ्चमै उज्यालो छर्दै छ । 

राज शाह

Link copied successfully