अञ्जिला बायोपिक : संघर्षदेखि सफलतासम्म

फुटबल खेलाडी अञ्जिला सुब्बाको बायोपिक फिल्म ‘अञ्जिला’ भन्छ– परिस्थितिले बाधा हाल्ला, तर दृढ इच्छाशक्ति भए सपना पूरा गर्न सकिन्छ

चैत्र ९, २०८१

तुलसीप्रसाद गौतम

Anjila Biopic: From Struggle to Success

नेपाली फिल्म ‘अञ्जिला’ अन्य नेपाली फिल्ममध्ये केही विशेष कारण फरक र उल्लेखनीय बन्ने सम्भावना छ । धेरै नेपाली फिल्म कल्पनामा आधारित हुन्छन्, तर ‘अञ्जिला’ नेपालकी राष्ट्रिय महिला फुटबल अञ्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनमा आधारित छ ।

नेपालमा खेलकुद (विशेषगरी महिला फुटबल) सम्बन्धी फिल्म बिरलै निर्माण हुन्छन् । यो फिल्मले महिला सशक्तीकरण र खेलकुद क्षेत्रमा महिलाले भोग्नुपर्ने चुनौतीहरूलाई प्रभावकारी रूपमा चित्रण गरेको छ । यसले महिला खेलाडीको सङ्घर्ष र सफलता देखाएको छ । धेरैजसो बायोपिक फिल्ममा वास्तविक व्यक्तित्वको भूमिका अन्य कलाकारले निभाउँछन्, तर ‘अञ्जिला’ मा अञ्जिला सुब्बा आफैँले आफ्नो भूमिका निभाएकी छन्, जसले फिल्मलाई अझ यथार्थपरक र प्रेरणादायी बनाएको छ । ‘अञ्जिला’ फुटबल जस्तो लोकप्रिय खेललाई केन्द्रमा राखेर निर्माण भएको छ, जसले नेपाली सिनेमामा नयाँ ट्रेन्ड ल्याएको छ ।

दयाहाङ राई जस्ता बहुप्रतिभाशाली कलाकारको संलग्नता फिल्मको अर्को आकर्षण हो । मिलन चाम्स जस्ता अनुभवी निर्देशकले यसलाई प्राविधिक रूपमा उन्नत र अन्तर्राष्ट्रिय स्तरको बनाउन मिहिनेत गरेका छन् । फिल्ममा फुटबल खेलका दृश्यहरूलाई यथार्थपरक रूपमा प्रस्तुत गर्न विशेष मिहिनेत गरिएको छ, जसको प्रमुख कारक निर्माता प्रेमकुमार श्रेष्ठ स्वयं खेलाडी हुनु हो । यसले खेलाडीहरूको मिहिनेत र मैदानको माहोललाई वास्तविक जस्तो बनाएको छ ।

धेरै नेपाली फिल्म प्रेमकथा, पारिवारिक नाटक वा हास्यप्रधान हुन्छन् । ‘अञ्जिला’ जस्तो प्रेरणादायी बायोपिकले नेपाली दर्शकलाई नयाँ प्रकारको कथावस्तु दिएको छ ।

यो फिल्मले केवल मनोरञ्जन होइन, युवाहरूलाई मिहिनेत, समर्पण र सफलता हासिल गर्ने प्रेरणा पनि दिन्छ । यो फिल्म विशेषगरी महिला खेलाडीका लागि मार्गदर्शन बन्न सक्छ, नेपाली फुटबलप्रेमी खेलकुद समर्थक र नेपाली महिलाका लागि विशेष प्रेरणाको स्रोत बन्न सक्छ ।

‘अञ्जिला’ फिल्मको सिनेमाटोग्राफी उच्चस्तरको छ । यो स्पोर्ट्स बायोपिक भएकाले खेलकुदका गतिशील दृश्यलाई वास्तविक र प्रभावशाली रूपमा प्रस्तुत गरिएको छ । फिल्ममा मुख्यगरी ड्रोन सट्स, स्लो मोसन फुटेज, लोकेसन चयन, रङ्ग संयोजन जस्ता विषयमा बढी ध्यान पुर्‍याइएको छ, जसले मुख्य पात्र अञ्जिलाका सङ्घर्षका दृश्यहरूलाई प्रभावशाली बनाउन मद्दत गरेको छ । यसमा खेल मैदानको बृहत् दृश्य देखाउन ड्रोन क्यामराको प्रयोग गरिएको छ, जसले स्टेडियमको माहोललाई जीवन्त बनाएको छ ।

गोलकिपिङ, डाइभिङ, गोल गर्ने क्षण र खेलाडीको खेललाई प्रभावशाली बनाउन स्लो–मोसन सट्सको प्रयोग गरिएको छ । त्यसैगरी फिल्ममा नेपाली फुटबल स्टेडियमहरू, ग्रामीण परिवेश र सहरी क्षेत्रहरूलाई देखाइएको छ, जसले अञ्जिलाको जीवन यात्रालाई यथार्थपरक बनाएको छ ।

यसमा थोपा ड्रामेटिक टोन राखिएको छ, जसले पात्रका कथन, संवाद आदिलाई नाटकीय बनाएको छ । पात्रका कथन र संवादहरू नाटकीय प्रभाव झल्कने भए पनि ती ओभरड्रामाटिक छैनन् । त्यस्तै कथाअनुसार रंग संयोजनमा पनि ध्यान दिइएको छ जसले फिल्मको कथा, भाव र पात्रको मनोवैज्ञानिक अवस्थालाई प्रभावशाली बनाएको छ । यसरी हेर्दा मुख्य पात्र अञ्जिलाको स्कुल पढ्दा र खेल्दाका ड्रेसहरू, खेलाडी हुँदा चयन गरिएका ड्रेस आदि रंग संयोजनका उदाहरण हुन् । 

अञ्जिलाको सङ्घर्ष, परिश्रम, असफलता र सफलतालाई राम्रोसँग उजागर गर्न क्लोज अफ सर्ट्स र सटल लाइटिङको प्रयोग गरिएको छ । प्रेरणादायी दृश्यमा वाइड एङ्गल सर्ट्स प्रयोग गरेर चरित्रको भावना र परिवेशलाई बलियो बनाइएको छ । यसले पात्रका भूमिकाअनुसारका दृश्यहरूलाई संवेदनशील बनाउन मद्दत गरेको छ ।

खेलकुद चलचित्रहरूमा विशेष गरी सिनेमाटोग्राफी प्रविधिहरू प्रयोग गरिन्छ, जस्तै– गो–प्रो, स्टडी क्याम्प, हाई स्पिड क्यामरा आदिको प्रयोगले खेल दृश्यहरूलाई प्रभावशाली बनाउँछ । निर्देशकले सिनेमाटोग्राफीमा विशेष ध्यान दिएका छन् । 

फिल्म मुख्य रूपमा फुटबल खेलको यथार्थपरक दृश्यमा केन्द्रित छ । नेपाली फिल्ममा नाचगानको कोरियोग्राफीलाई धेरै महत्त्व दिइन्छ, तर यो खेलकुद प्रधान भएकाले यसको कोरियोग्राफी मुख्यतः फुटबल खेलको अभ्यास र मैदानमा भएका गतिशील दृश्यहरूमा केन्द्रित छ ।

फुटबल खेलका एक्सन दृश्यहरूलाई वास्तविक बनाउन विशेष मिहिनेत गरिएको छ । खेलका मुभमेन्टहरू (पासिङ, डिफेन्स, गोलकिपिङ र गोल गर्ने दृश्यहरू) लाई नेचुरल र एथलेटिक लुक दिन पेसेवर फुटबल खेलाडीहरू संलग्न भएका छन् । अञ्जिला सुब्बा आफैँ खेलाडी भएको हुनाले उनको फुटवर्क, डाइभिङ र रिलेक्सहरू वास्तविक देखिन्छन् । रिलेक्सका कारण दबाबपूर्ण परिस्थितिमा पनि संयम कायम राखी गोलकिपर अञ्जिलाले सही निर्णय लिन सफल भएकी छिन् । 

खेलकुद चलचित्रको कोरियोग्राफी सिनेमाटोग्राफीसँग जोडिएको हुन्छ र ग्राउन्ड लेभल क्यामरा एङ्गल प्रयोग गरी खेलका क्षणहरूलाई जीवन्त देखाइएको हुन्छ । यसमा खेलाडीहरूको तालमेल, कोचिङ सत्र र टिमवर्कलाई राम्रोसँग कोरियोग्राफ गरिएको छ । 

खेलकुद प्रधान भए पनि यस फिल्ममा प्रेरणादायी वा साङ्गीतिक दृश्यहरू मिलाइएको छ । प्रशिक्षण सत्रहरू, स्टेडियमको माहोल तथा अञ्जिलाको व्यक्तिगत जीवनका दृश्यहरूलाई सशक्त बनाउन फिल्म सफल छ ।

नेपाली फुटबल खेलको कोरियोग्राफीलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स फिल्महरूको स्तरमा पुर्‍याउन मिहिनेत गरिएको छ । ‘अञ्जिला’ को कोरियोग्राफी पारम्परिक गीत, नृत्य र सङ्गीतमा नभई फुटबल खेलका गतिशील दृश्य, खेलाडीको गतिविधि र सिनेमाटोग्राफीमा केन्द्रित छ । फिल्ममा फुटबल खेल्ने तरिका, कसरत, गोलकिपिङ र टोली भावना झल्काउने शैली विशेष छ ।

यस फिल्मको मुख्य सन्देश सङ्कल्प, मिहिनेत र सङ्घर्षबाट सफलता हासिल गर्न सकिन्छ भन्ने हो । यसमा अञ्जिलाको फुटबलर बन्ने सङ्कल्प, मिहिनेत र सङ्घर्षबाट सफलता हासिल गरेको देखाइएको छ । फिल्मले भन्छ– समर्पण, परिश्रम र आत्मबल भए महिलाले पनि ठूला उपलब्धि हासिल गर्न सक्छन् । 

अञ्जिला सुब्बाको जीवन सङ्घर्षबाट प्रेरित फिल्म भएकाले यसले देखाउँछ– परिस्थितिले बाधा हाल्न सक्छ तर दृढ इच्छाशक्ति भएमा सपना पूरा गर्न सकिन्छ । आर्थिक समस्या, लैंगिक असमानता र समाजको अवरोध हुँदाहुँदै पनि धैर्य, लगनशीलता र आत्मबलबाट सफलता सम्भव छ । फिल्मले खेलाडीको परिश्रम, सङ्घर्ष र खेलकुदको महत्त्व उजागर गरेको छ । फिल्मले युवा खेलाडीलाई खेलकुदमा मिहिनेत र अनुशासनको महत्त्व बुझाउँछ । 

फिल्ममा अञ्जिलाको चरित्र दृढ, मिहिनेती, प्रेरणादायी र आत्मनिर्भर रूपमा प्रस्तुत गरिएको छ । अञ्जिला एक सङ्कल्पशक्ति भएकी खेलाडी हुन्, जसले विपरीत परिस्थितिमा पनि आफ्नो लक्ष्य छाडिनन् । नेपाली महिला राष्ट्रिय टिमको कप्तान भएकाले उनले टिमलाई अघि बढाउने, प्रेरित गर्ने र हौसला दिने भूमिका निर्वाह गरेकी छन् । फिल्ममा अञ्जिलालाई नेतृत्व क्षमतायुक्त कप्तानको रूपमा देखाइएको छ ।

तुलसीप्रसाद गौतम

Link copied successfully