सम्पत्ति नै नभएपछि सपनाको हिसाब हुने कुरै भएन, भोकले खनिरहने पेटका लागि अन्न जुटाउनै नसकेपछि अचेल बाबुरीलाई साँझ–बिहान भएको मन पर्दैन
मध्य हिउँद । शीतका फूलहरू वर्षिरहेछन् । हुस्सुको रजाइँ ओढेर नेपालगन्ज सुस्ताएको छ । बाक्लो कुहिरोले टालिएको आकाशलाई छिचोलेर सूर्यका किरणहरू धर्ती टेक्न असमर्थ छन् । मध्याह्न भइसकेको छ, तर अर्धअन्धकारले छोपिएका छन् साँघुरा गल्लीहरू ।
चोकहरूमा देखिन्छन् छिटफुट सवारी, अटोरिक्सा र पहेँलो हेडलाइट बालेर हिँड्दै गरेका मोटरसाइकलहरू । फाटफुट मानिसहरू काखीभित्र हात घुसाएर हतारहतार गन्तव्य छोट्याउँदै छन् । आँखैअघिको आकृतिसमेत ठम्याउन मुस्किल छ । असारे झरीले जस्तो भिजेका छन् सडकहरू, आँगन र घरका छानाहरू । शीतले नुहाइरहेका निमका बोटहरू सिंगो हिउँद थामेर उभिएका छन् । जिरिङजिरिङ परेको छाला ओढेर झोक्राइ रहेछन्, छाडा चौपायाहरू । साता–दस दिनदेखि शीतलहर चलिरहेछ सहरमा ।
रामअचलको मृत्युपश्चात् उसको घरलाई आराम छैन । तीनवर्षे छोरो पनि बेमारले गलेको छ । झिङ्गटीले बारेको बुकुरो घरभित्रबाट बिरामी बालकको क्रन्दन फैलिरहेछ । त्यो उदास चिच्याहट घरबाहिर जमेर बसेको चिसो कुहासासँग ठोक्किएर विलीन हुन पुग्छ । बुढिया सासूको काखमा सुकेर चाउरी परिसकेको छोरोले सधैंजस्तै बिहानैदेखि रोदन गाइरहेछ ।
बाबुरीले चुल्होमा घुर सल्काउँदै छे । एकतमासले फुकिरहेकी छे, तर उसको श्वासमा अग्नि उत्पन्न गर्न सक्ने शक्ति छैन, किनकि पेट रित्तो छ । पछिल्लो पटक डम्म पेट अघाउने गरी खाएको उसलाई याद छैन । ऊभित्र सिर्जित अनेक भयहरूले बाबुरीको भोकको भोग गरिसकेको छ । चिसो घुरमा ताप बसिसकेको छैन, धूवाँका बुट्टेदार बादलहरू झिङ्गटीको छानो छेडेर आकाश उक्लिरहेछन् ।
बुढिया सासूका आँखाहरू बन्द भएको वर्षौं भयो । नातिको मानवाकृति काखमा छ । स्पष्ट अनुहार उनको आँखामा छैन, भौतिक स्पर्श र अनुभूतिले सबसे प्यारो छ नाति । मृत छोराको अन्तिम स्मृति अब त्यही रोगी नातिमा पुगेर अडिएको छ । तर, दृष्टिविहीन बज्यैको स्पर्शभन्दा परसम्म दौडिन सक्ने तागत नातिले जुटाउन सकेन ।
दुई वर्षअघि मात्रै कोरोना सङ्क्रमणले रामअचलको सम्पूर्ण लीला लिएर गएपछि बाबुरीको शिरमा आकाश आएर बस्यो । न हातले सीप सिक्न पाए, न आँखाहरूले कुनै अक्षरहरू देख्न । सम्पत्ति पनि छैन, सम्पत्ति नै नभएपछि सपनाको हिसाब हुने कुरै भएन । भोकले खनिरहने पेटका लागि अन्न जुटाउनै नसकेपछि अचेल बाबुरीलाई साँझ–बिहान भएको मन पर्दैन ।
घरमा लोग्ने मान्छेको बीउ जोगाउने कर्तव्य लिएर जन्मिएको छोरो जन्मिएदेखि नै बिरामी छ । मर्नुअघि लोग्नेले भनेको सम्झना छ बाबुरीलाई, ‘हम मरजाव तब्बो वेटाउवा कै बचायो, चाहे जैसे बचासो । लड्कवा मरीजाई तो तु जिकै का करवो ? तु हु मरीजायो ।’
काश, छोरो मर्यो भने बाबुरीलाई यही संसारमा बाँच्न अनुमति छैन ? जब सुक्दै गएको छोराको ख्याउटे अनुहार देख्छे, लोग्नेको त्यही कठोर वाणी कानमा रन्किएर आउँछ । संसारमा कुन आमाले आफ्नै सन्तानको मृत्युको कामना गर्न सक्दी हो !
बितेका दुईवटा वर्ष त्यही रोगाहा छोरोको प्राण जोगाउने रनाहामा बाबुरीले केकेसम्म गरिन । तर, बच्चोको देह मासुले भरिएन । बरु हेर्दाहेर्दै कपडाको थाङ्नाभित्रै हराउने भइसक्यो, सुकेको दाउराजस्तो । उचाल्दा पनि हत्केलामा बिझाउने हाडहरू देखेर बाबुरीका आँखाहरू विरक्तिन्छन् ।
श्रीमतीलाई सामर्थभन्दा गह्रौँ भारी बोकाएर रामअचल संघर्षको मझधारबाटै अचानक बिदा भएर गयो । बाबुरीले केही दिनदेखि क्यारिङमा जाने समय पाएकी छैन । झन्झन् निस्लोट हुँदै गइरहेको छोरोलाई कसरी छोड्नु ? सन्तापले उसको मुटु खाइरहेको छ, तर अस्पताल लैजाने सुको छैन । नाम लेखाउन मात्रै बीस रुपैयाँ लाग्छ । त्यही पैसो नभएपछि अस्पताल पुर्याएको छोरालाई हिजै फरक्क फर्किएर घर ल्याएकी थिई बाबुरीले । च्याख्ला मिसिएको गहुँको पिठो पनि हिजै सकिएको थियो ।
त्यसपछि भर्खरै सल्किएको घुरको आगोले एकाएक बाबुरीको मनलाई टिप्यो । अन्नविहीन घरभित्र उसको मन अडिएर रहन मानेन । पिठोको रित्तो थैलो चुल्होकै छेउमा फ्यात्त फाली । परालमाथि ओछ्याइएको पुरानो च्यादर ओढेर हतारहतार बजार निस्किई । पुरानो च्यादरले शीतलहर छेक्न सकेन, उसको शरीर कक्रक्क भएर आयो ।
‘कहाँ हराएकी थिइस् रे तँ ?’ बाबुरीले दर्शन चढाउन नपाउँदै पसलको साहुजीले पान निख्रिएको रातो जिब्रो चलाइहाल्यो, ‘चिनी सकिएको दो दिन भइसकेछ, ग्राहकहरू भड्किइरहेछन्, तिमीहरू लापता भैरहेछौ, अरे कमसेकम फोनओन तो बोक्ने गर ।’
बाबुरीको अध्यारा आँखाहरू साहुले हेरेन ।
शीतलहरले बाहिर निस्की नसक्नु छ, मर्नु न बाँच्नु भइसकेको छोरालाई दबाई गर्ने एक पैसो छैन, घरमा खाने अन्न पनि सकिएको छ, कुन समस्या पहिले बताउने भन्ने बाबुरीले कुनै अड्कल लगाउन सकिन । त्यतिञ्जेल पसलको साहुले हतारहतार कागजको चिर्कटो बाबुरीको हातमा थमाइदियो, ‘तँ रुपैडिया गइहाल्, फटाक से, दो लम्बरी चिनी र दस प्याकेट सोडा र दो दर्जन वर्तन धुने साबुन लिएर आइहाल् ।’
साहुले गल्लामा हात हाल्यो र पैसा निकालेर दियो । बाबुरी स्थिर भई । अचानक छोराको रोदनले बाबुरीको कान भरिए । बलिरहेको चुल्हो र रित्तो थैलोको दृश्य उसको आँखामा आइपुग्यो । मधेशको सम्पूर्ण चिसो पैतालाबाट शरीरमा उक्लिएजस्तो नराम्रोसँग झङ्क्रित भई बाबुरी । क्षणभरमै उसको स्मृतिबाट गायब भयो, कि साहुको पसलसम्म कुन दुःखको भारी बिसाउन आइपुगेकी थिई !
‘अरे बबुरिया जल्दी कर न ।’
झस्किएर बाबुरीले साहुलाई हेरी । मस्तिष्कभित्र निसासिएर बसेका योजना सबै गाँठो पारी र त्यहाँबाट फटाफट दक्षिणतिर लागी । अटोरिक्सामा चढेर रुपैडिहा बोर्डरको गेटसम्म पुग्दा बाबुरीले हातको पैसा हजार पटक हेरिसकेकी छे । तर, पैसाको वैकल्पिक प्रयोगमा उसले हिम्मत जुटाउन सकिन, किनकि नैतिकता सजिलै मर्ने कुरा होइन रहेछ ।
शीतले भिजेर लगलग भएको छ शरीर । आँखाका परेलामा शीतका थोपाहरू आउँछन्, बस्छन् केहीबेर र खस्छन् । ओठहरू नीला भइसके । बाबुरी जतिजति दक्षिण पस्छे, छोराको चर्को चिच्याहट त्यति नै जोडले उसको कानमा गुञ्जिरहेछ । रोगी सन्तानको स्मृति आहातले हातहरू आफ्नै स्तनमा पर्छन् । हात परेका झुत्रा स्तनको स्पर्शले कुहिरो भरिएको आकाश आँखामा आएर घोप्टिन्छ । जमुनाहको बोर्डरमा जर्जर देखिन्छे बाबुरी ।
‘बबुरिया, ओ बबुरिया ? तँ कहाँ गायब थिइस् यतिका दिनसम्म ?’ परैबाट सजनीले आवाज फैलाई । उसले दुईवटा बोरामा सामान उठाइसकेकी छे ।
क्यारिङमा सामान उठाउनेहरू बाहेक रुपैडिहाको बजारमा अरू कुन ग्राहक आउँछ यस्तो ठण्डीमा निस्केर ? तर, सजनीको पुलिससँग राम्रै साँठगाँठ छ, भन्छन्, उसले नचिन्ने कुनै पुलिस छैन, रुपैडिया र जमुनाहमा । कृत्रिम मुस्कानमा सजनीका लागि सम्पूर्ण उत्तरहरू छोडेर बाबुरी साँघुरा ढोका भएर कतै प्रवेश गरी । रुपैडिया बजार आज उस्तो भीड छैन । भीड त ठण्डी मौसमको छ, जो बाबुरीको तनमन कोपर्न उद्यत देखिन्छ ।
बाबुरीलाई चटारो छ । हातगोडाहरू सधैंभन्दा तीव्र गतिले चल्मलाएका छन् । यस्तैमा अचानक सामुन्ने ठिङ्ग उभिन आइपुगी मंगली । नजिकै टाँसिएर खुसुक्क सोधी, ‘तैँले आज चेकिङमा थसुल्ले पुलिसलाई बसेको देखिस् ?’
‘खै त, याद नै गरिनँ मैले ।’ बाबुरीका आँखाले केही सम्झिएजस्तो गरे ।
‘तँ पनि कति सोझी ! त्यो मर्न नसकेको थसुल्लेले सताउने भो आज पनि, के गर्ने होला ?’ दिग्दारले भरिपूर्ण प्रश्नहरू छोडेर मंगली पनि क्षणभरमै बजारभित्र कतै अलप भई ।
पसलको साहुले थमाएको चिर्कटोमा लिपिबद्ध भएको सूचीअनुसार बाबुरीले सामानहरू खरिद गरी । सबै सामानहरू एउटै बोरामा बाँधेर टाउकोमा चढाई । सामान धेरै नभएकाले आज थसुल्ले पुलिस भेटिए पनि त्यति सताउने छैन भन्ने उसको मनमा मसिनो आशा छ ।
साइकल, मोटरसाइकल हुनेहरू भित्री बाटोहरू भएर नेपालगन्ज छिर्छन्, तर आकाशबाट शीत खसिरहेको यस्तो बेला भित्री बाटोहरू त्यति सहज छैन । नजिकै त्यस्ता कुनै बाटोहरू पनि छैनन् । घुमेर लामो बाटो हिँड्ने बाबुरीलाई समय पनि त छैन ।
क्यारिङको एउटा हूल आफ्नै अघिअघि देखेपछि बाबुरी बोर्डर पारि नै केही समय टक्क रोकिई । कि अत्यधिक भीडमा सजिलो, कि एक्लै ! नत्र पुलिसले हैरान पार्छ । कहिलेकसो त सबै सामान नै गायब गर्न पनि पछि पर्दैन ।
सयौँ मानिसहरू छन्, जसले बोर्डर पारिबाट थोपाथोपामा समुद्र भित्र्याउँछन् । ससाना पोकाहरू बनाएर, टाउको, कोखिल्ला, झोला र साइकलमा खुलेयाम सामान भित्र्याउनेहरूको प्रत्येक दिन लस्कर चलिरहन्छ । नुनतेल र साबुनदेखि भाँडावर्तन, लत्ताकपडा र बोराका बोरा दालचामल बोक्छन्, पुलिसले सामान्य केरकारबाहेक केही गर्दैन, गर्न पनि सक्दैन । यसरी क्यारिङबाट भित्रिएको सामान बजारकै व्यापारीले नै किन्छन् र खुद्रामा बेच्छन् । खुला सिमानाको फाइदा उठाएर धेरैले अर्थोपार्जनको सहज बाटो बनाएका छन् ।
बाबुरीले क्यारिङ गर्न थालेको धेरै भएको छैन । पुलिसलाई छक्याउने, लोभ देखाउने र जसरी हुन्छ फकाएर धेरैभन्दा धेरै सामानहरू ओसार्न सक्ने मनोवृत्तिकी महिला पनि होइन ऊ ।
तर, लोग्नेको मृत्युपश्चात् घर कसले धान्ने ? किराना पसलका केही साहुहरूले सजिलो काम भनेर क्यारिङ गर्न बोर्डरतिरै पठाइदिए । यसैबाट साँझ–बिहान पिठो जुटाउन सहज भएको छ बाबुरीलाई । तर, सोचेजस्तो सजिलो छैन क्यारिङ । साहुले अर्डर गरेको सामान पुलिसको आँखा छलेर, झुक्याएर र फकाएर भित्र्याउनुपर्छ । उस्तै पुलिस परे मोलतोल हुन्छ, बार्गेनिङ चल्छ, आईमाई केटाकेटीलाई त झन् गाह्रो । पुलिसले सामान खोस्यो भने आफ्नै लगानी पनि डुब्छ । साहुको लगानी भए त झन् बर्बाद । साहुले छोड्दैन, कतिको त साहुको ऋण नै तिर्न बाँकी छ । बाबुरीका केही सहेलियाको त घरबारै पनि बिग्रिसकेको छ ।
आज पनि बाबुरीले सोचेजस्तो भएन ।
चेकपोस्टभन्दा वरै बाक्ला जुँगाहरू मठार्दै थसुल्ले हबलदार ठिङ्ग उभिएको छ । उसको छाया देखेरै बाबुरीको मुटु ढक्क भइसक्यो । थाहा छैन, आज उसलाई सधैंभन्दा किन डर लागिरहेछ ।
थसुल्लेको वास्तविक नाम कुनै महिलालाई थाहा छैन, बर्दीको नेमप्लेट पढ्न सक्ने गरी कुनै महिलाहरूले पढेका छैनन् । तर, थसुल्ले हबलदार भनेपछि क्यारिङमा हिँड्ने सबै महिलाहरूले चिन्छन् । यस्तो नाम कसले राख्यो ? कहिलेदेखि रह्यो ? त्यो भने कसैलाई थाहा छैन । महिलाहरूले कुरा गर्थे, ‘जीउडाल मिलेको, रूपवती र अधबैंसे आइमाई ढुकेर बस्छ त्यसले, कम मति हराएको पुलिस छ त्यो ।’ बाबुरीले धेरै पटक सुनेकी थिई, ‘थसुल्लेले धेरै महिलाहरूलाई सताइसकेको छ ।’
‘मंगली खोइ ?’ बाबुरीलाई देख्नेबित्तिकै थसुल्ले पुलिसले सोध्यो र टाउकोमा बोकेको सामान भुइँमा झार्न इसारा गर्यो ।
‘हमका कछु नाहीं पता ।’ बाबुरीका ओठहरू कापे, टाउकोमा बोकेको बोरा बिस्तारै भुइँमा राखेर मलिन अनुहार देखाई ।
मंगलीको गोरो र हिस्सी परेको मंगोल अनुहारको पछाडि थसुल्ले खुब लाग्या छ भनेर महिलाले कुरा काट्थे । भन्थे, ‘मंगलीले जति सामान लिएर आए पनि छोडिदिन्छ, खुब फकाउन खोजेको छ ।’
‘तिमीहरूले एक दिनमा कति ट्रक सामान बोक्छौ हँ ?’ थसुल्ले पुलिसले मुसुमुसु गरेर व्यङ्ग्य छोड्यो ।
‘घरै के खरच बा साप !’ बाबुरीको आँत कापेर आयो ।
पुलिसले जेसुकै सोधे पनि फर्काउने पहिलो जवाफ यही हो । काश, यसरी बोकिएका सम्पूर्ण सामान बाबुरीको आफ्नै घरका लागि हुँदो हो त...!
‘त्यो मलाई थाहा छ । अनि के सामान हो यो ? कुन व्यापारीको पसलमा लैजाने हो भन् ?’ थसुल्लेको आवाज झनझन् बलियो हुँदै गयो, ‘तिमीहरूले नेपालगन्जको बजार सिध्याउने भयौ !’
‘दुई लम्बर चिनी मात्र छ साप !’ बाबुरीको आवाज लाचार भइसकेको छ, ‘यो पोकामा भएको सोडा ।’
‘घर कहाँ तेरो ?’
‘रानी तलाउको बगलमा, साप ।’ बाबुरीको मनमा चस्को पस्यो ।
‘अनि पोइले के गर्छ ?’ पुलिसको प्रश्नले बाबुरी एकाएक स्थिर भई । उसलाई यस्तो प्रश्नको अपेक्षा थिएन ।
‘हमार मरद् का गुजर गइल दुई बरिस होई गय, साप ।’ बाबुरीका दुवै आँखाहरू एकाएक भरिएर आए ।
‘हाँ... !’ थसुल्लेको आवाजमा किञ्चित् पनि विस्मय छैन, दुःखको एउटा बुँद पनि । बरु त्यसको लवजमा एक प्रकारको लालच लत्पतिएको छ । केहीबेर बाबुरीको शिरदेखि पाउसम्म नियालेपछि आफ्नो आवाजलाई नरम बनाएर बोल्यो, ‘तेरो फोन नम्बर कति हो ? नम्बर दे, छोड्दिन्छु ।’
‘हामी गरिबसँग कहाँ मोबाइल हुन्छ, साप ।’ बाबुरीको शरीर झन्झनायो ।
‘तिमीहरूलाई मैले चिन्दिनँ भन्ने सोचेका छौ ? सब थाहा छ, तिमीहरूले कहाँ कहाँ पुगेर, के–केसम्म गर्छौ भन्ने कुरा ।’ एकाएक चट्याङ परेजस्तो कड्कियो थसुल्ले । हप्काएर सातो लिन खोज्यो, ‘अब तिमीहरू एकएकले थाहा पाउँछौ, जेलको चिसो छिँडी कस्तो हुन्छ भनेर ।’
बाबुरी नीलाम्य भई । थसुल्ले पुलिसको हप्काइ खप्न नसकेर उसका ओठहरू थर्थरर कापे । यस्तो दपसमा आजसम्म कुनै पुलिसले पारेको थिएन । बिहान सल्काएर हिँडेको घरको चुल्हो पनि यतिञ्जेलसम्म उसको मस्तिष्कमा निभिसकेको छ । शीतलहरको सम्पूर्ण सिरेटोले छोप्न आइपुगेको छ । बेमारले ग्रस्त छोराको चिच्याहट कानबाट क्रमशः मधुरो मधुरो भएर ओइलाउँदै गइरहेछ ।
तत्क्षण एउटा नयाँ स्कुटर थसुल्लेको अगाडि आएर टक्क रोकियो । फेन्सी र काँचो कपडाको झोलाले भरिएको छ, स्कुटर । हेलमेटको सिसाभित्र रातो लिपिस्टिक पोतिएका ओठहरू मुस्कुराए, थसुल्लेका कालाकाला आँखाहरू पनि एकाएक चम्किला देखिए ।
‘अरे, अस्ति पनि म्याडमले मासु खुवाउनु भएन, यसरी कहाँ हुन्छ हजुर ।’
‘हाम्र्रो सरलाई खुब मासुको लत लाग्या छ, अचेल ।’ हेलमेटभित्र चल्मलाएका ओठहरू झन् खुलेर आए ।
‘हा हा हा हा...।’
थसुल्ले हाँसेको बाबुरीले पहिलो पटक देखी, तर यस्तो डर लाग्दो हाँसोको अगाडि कसरी पर्न सकेकी होली त्यो स्त्री ? उसको मनमा तर्कना छुटे । भर्खरै त्यस हदसम्म रूखो बोलेको उसको आवाजमा एकाएक लालित्य छाएको छ । स्कुटरले बोकेको त्यत्रो सामानमा कुनै ध्यान छैन, आश्चर्य पनि लागेको छैन उसलाई । किनकि बाबुरी यस्ता अनेक दृश्यहरूले अभ्यस्त भइसकेकी छे, तर उसको मस्तिष्कमा प्रश्नहरू निर्माण हुन केले छेकिरहेछ ?
‘शनिबार बेलुका आउनुस् न,’ यति भनेर स्कुटरले नेपालगन्जको बाटो समात्यो । हुस्सुभित्र स्कुटर नहराउँदासम्म थसुल्लेका आँखाहरूले पछ्याइरहे ।
फेरि बाबुरीको नजिक आएर सोध्यो, ‘घर कहाँ भनिस् रे तैँले ?’
‘रानी तलाउको बगल, साप ।’ विनम्रतालाई कायमै राखेर बाबुरीले दोस्रो पटक आफ्नो ठेगाना बताई । ‘ल, बेलुका चट्ट मासु बनाएर राख्नु घरमा, म आउँछु, अहिले यो सामान लिएर जा, पक्का आउँछु नि फेरि ! सबै बन्दोबस्त मिलाउनु । ठीक छ ?’
थसुल्लेको आदेश सुनेर बाबुरीको टाउकोभित्र सिल्का हान्यो । रगत उम्लेर सिधै मस्तिष्कमा पुगेको हुनुपर्छ । जिरङ्ग भयो शरीर । निधारमा गाँठै पर्यो । खै, के गर्न खोजेको थिई, रिसले अनियन्त्रितजस्तो देखिएकी बाबुरीले अचानक सामानको बोरा जुरुक्क उठाएर टाउकोमा राखी र सरासर उत्तरको बाटो समाई । पैतालामा दम पर्यो, कालोपत्रे सडक पनि थलथलाएको अनुभूत भइरह्यो उसलाई ।
बाबुरीले जीवनमा गर्न सकेको प्रतिकार त्यति मात्र हो ? विद्रोहको रूप अनेक भए पनि उसले अस्वीकृति जनाउने उच्चतम तरिका त्यही मात्रै ? हरेक समाजले हैसियतअनुसारको विद्रोह सिकाएको हुने रहेछ, त्यो हद नाघेर प्रतिकार गर्न खोज्नेहरू महान् बन्न सक्दा हुन्, तर बाबुरीलाई महान् बन्न कसले रोकिरहेछ ?
यो कस्तो विडम्बना ! बाबुरीको त्यस ढाँचालाई थसुल्ले पुलिसले आफ्नो आदेशको स्वीकृति सम्झिरहेको हुन सक्छ, हुन सक्छ बाबुरीको रिस अचानक त्रासमा पुगेर टुङ्गिएको । संसारको सबैभन्दा ठूलो कमजोरी त्रास हो भन्ने बाबुरीलाई कहिल्यै थाहा थिएन ।
हुस्सुको मात्रा पातलिएको छ र बढ्दै छ अन्धकारको मात्रा । साँझमा पनि कुनै कमी आएको छैन चिसोको । रानी तलाउको रिङरोडभन्दा केही पर, अलिकति पर । झिङ्गटीले छाएको सानो घर अगाडि पुगेर बिस्तारै एउटा मोटरसाइकल रोकिन्छ ।
शीतका मसिना मसिना कणहरू हावामै लहराइरहेछन् । चिसो सिरेटो चल्छ पटक पटक । कठ्याँग्रिएको छ सहर । भिजेको सडक पूरै सुनसान देखिन्छ परपरसम्म । हुन सक्छ, मानिसहरू घरभित्र घुस्रिसकेका छन् । सहर नै मानवविहीन भएको कल्पना गर्न त्यति कठिन छैन, जस्तो यतिबेला आकाश हेर्दा सूर्यको अस्तित्व छ भनेर नमान्न पाउने ठाउँ छ । किनकि उपस्थितिको कुनै अंश छैन ।
बाबुरी लखतरान देखिन्छे, उसको विलापले भरिएको रोदनको अटुट लय थामिएको छ भर्खरै मात्र । भोक र सन्तापले खाइसकेको उसको शरीरको सञ्चित शक्ति पनि सम्पूर्ण रूपले सिध्याएर निस्लोट भएकी छे । थाहा छैन, उसको मस्तिष्कमा रामअचलको अभिव्यक्ति पुनर्ध्वनि भनेर आइरहेछ या छैन ।
दुई/चार जना सिवाय घरको आँगनमा कोही भेला भएका छैनन् । जति छन्, सबैले मौनताको प्रतियोगिता चलाइरहेछन्, उदास उदास छन् सम्पूर्णका आँखाहरू । त्यहाँ कुनै रुवाइ, रोदन या क्रन्दन छैन, बरु मान्छेहरू सुस्केरा हालिरहेछन् ।
र, अर्धचेत बनेर ढलेकी बाबुरीको ठीक अगाडि सुतेको छ एउटा सानो शव । एकाएक कुनै पर्फ्युमको वासना हररर फैलिएर स्तब्ध आँगनलाई छोप्यो, त्यसअघि नै मोटरसाइकलको आवाजले सबैको ध्यान तानिसकेको थियो ।
त्यो वासना अर्धचेत बाबुरीको नासिका भएर मस्तिष्कसम्म पुगेपछि आँखाहरू खोलेको हुनुपर्छ उसले । उसका शक्तिहीन आँखाहरू सडकछेउमा रोकिएको पुरानो मोटरसाइकलसँगै ठिङ्ग उभिएको त्यही थसुल्ले हबलदारका चम्किला आँखाहरूसँग जुधे ।
कुपोषणले मरेको बच्चालाई रुँघेर बसेकी शोकग्रस्त आमाको मासु खान अर्को एउटा भोको गिद्ध भर्खर आइपुगेको छ । र, बाबुरीका विक्षिप्त आँखाहरू चिम्म भएका छन् ।
