एउटा क्रोधित जुत्ता

चैत्र २, २०८१

मुनाराज शेर्मा

An angry shoe

जब म कलिला नानीहरुसँगै हुन्छु प्रार्थनामा एउटा क्रोधले अशान्त जुत्ताको आत्मा उभिएको हुन्छ सँगै 

कति हजार वर्षअघिको शासकको छाला होला यो

जो चिहानबाट उधिनेर लगाए होलान् जुत्ता मजदुरहरुले

र, रिसलाई आवेगको फित्ताले कसेर माटोमा ठोक्दै बजारे होलान् सडक सडकको छातीमा 

पाँच सय वर्षअघि कुल्चिएको कोलम्बसको पाइतालाले 

एब्रोजिनहरुको छाला होला यो 

भर्खरै जिद्दी ट्रमसँगै ढलेपछि अजम्बरी कोलम्बस

आइपुगेको होला मुन्धुमको पवित्र श्लोकबाट स्वच्छता प्राप्त गर्न एब्रोजिनहरुको आत्मा

हुन सक्छ पहिलो दास सहिद कृसपस अटुकको आत्मा

जसको अघोर स्वच्छ–सुन्दर कालो छालाले बनेको 

असीमित दमनको फोसिल यो कालो जुत्ता 

कथित गोरोहरुको क्रूर कालो मनको अजय यात्रालाई 

टुक्रा टुक्रा गरेपछि 

आइपुगेको होला नानीहरुको विजय यात्रामा 

हुन सक्छ निर्भीक जयन्त रानाको यो जिउँदो छाला 

जो जीवित छालाको लाएर जुत्ता शासकहरुले

सवार भए अधिनायकवादको यात्रा 

चह्राइरहेको होला नुनचुक अपमानको 

र, उभिरहेको छ एउटा आाधीअघि

दुई सय वर्ष पुरानो विद्रोही नाङ्गेलीको स्तनको छालाले निर्मित हुन सक्छ यो जुत्ता, 

जसको अपमान र करको वासलत लिएर प्रश्न गरिरहेको हुन सक्छ शासकलाई

एउटा समूल सुनामीअघि

हुन सक्छ यो गंगालालको विद्रोही छालाको जुत्ता

जसको भयले रफ्तारमा दागेको हुन सक्छ आफ्नै खुट्टामा गोली शासकहरुले

हुन सक्छ यो प्रथम या दोस्रो विश्वयुद्ध लड्ने आदिवासी सिपाहीहरुको आत्मा 

जो भट्किरहेछ मुक्तिको लागि

हुन सक्छ यो पूर्ण तयारीमा छ अन्तिम न्यायका लागि 

हुन सक्छ यो जनयुद्धको असिम आत्मा 

जो हजारौं सहिदहरुको छालाले बनेको एक काँचो आत्माको लोकतान्त्रिक पहिरन 

जो खोजिरहेछ हजारौं अथक पाइतालाहरु 

जसले दौडाउन सक्छ एउटा आँधी 

जसले स्थापना गर्न सक्छ इमानको विशाल 

स्तम्भ 

जसले निर्माण गर्न सक्छ सर्वसम्मत न्याय

जसले मात्रै बोकेर उभिन्न सक्छ हाम्रो नवीन नवीन विचारहरुको आकाश

जसको शिरमा उभिन सक्छ एक अत्याधुनिक विवेकशील दिमाग 

जसलाई छ आवश्यक एक जोडी अद्भुत बलवान् 

निरपेक्ष खुट्टाहरु 

अहिले म देखिरहेको छु– एउटा क्रोधित जुत्ता 

नानीहरुसँगै प्रार्थनाअघि ।।

मुनाराज

Link copied successfully