परदेशका आँसु शृंखला

गाउँका पुरुष मात्रै होइन, महिला पनि बिदेसिने लहर चल्यो । सावा अक्षर चिनेका/नचिनेका सबैले किस्तामा होस् वा साहु–महाजनसँग ऋण लिएरै, विदेशतिर लम्किरहे ।

फाल्गुन २४, २०८१

सञ्जु साम्पाङ

Foreign tears series

अचानक आयो आवाज– पाँच रुप्पे छ भने लेउन हौ बैनी, निधि खाम् ! एकनासले गुडुप् गुडुप् बजिरहेको पाइलाको गतिलाई तुरुन्तै रोकेर आवाज आएतिर आँखा सोझ्याएँ । ठाडो बाटोको पश्चिमपट्टिको सानो चित्रे घरको सिकुवामा अधबैंसे महिला उभिइरहेकी थिइन् । उनको तिख्खर स्वरले झसंग भएको थिएँ म । 

झन् चिनजानै बिनाको त्यो अनुरोधले बडो अचम्मित भएँ । अनि क्षणमै दिमागमा विभिन्न कुरा ओहोरदोहोर गर्न भ्याइहाले, त्योभन्दा पनि अझ ताजा प्रश्न मनमा उब्जिगयो । ‘के हो कसो हो, किन होला यसरी बोलेको उनले ?’ त्यत्तिकैमा छेउमै रफ्तार मिलाएर हिँडिरहेकी प्रातः भ्रमणकी साथीेले पो तत्काल कानमा खुसुरखुसुर गरिहालिन् ‘विदेशबड आउँदा एस्तो भा’को अरे हौ’ ।

ओहो ! एक मुठी नमिठो हावा मेरो मुखबाट फोक्सोतिर हुत्तियो । अब गति त बढ्यो हाम्रो हिँडाइको, तर मेरो मगजमा छरिए असरल्ल प्रश्न र विरक्तिहरू ! अगाडि उनै महिलाबारे कुरा गर्दै हिँड्यौं । वैदेशिक रोजगारीले निम्त्याएको यो समस्या ज्यादै घातक छ । जसोतसो मान्छे त आइपुग्ने रहेछ आफ्नो घर, तर त्यस्तो अवस्थामा ? सबैभन्दा महत्त्वपूर्ण भनेकै मानसिक स्वास्थ्य हो, त्यही नै बिग्रिएको अवस्थामा घर फर्किनु चाहिँ जिन्दगी तबाहको स्थिति होइन र ?

त्यो घटनाको केही दिनपछि ती महिलाका छिमेकी एक जना दाजुसँग उनको विषयमा जिज्ञासा राख्दा अझै विस्तृतमा थाहा लाग्यो– उनी आफ्ना बालबच्चा सानासाना हुँदै विदेश उडेकी रहिछन् । नानीहरू ठूला भइसकेपछि फर्कंदा उनमा मानसिक समस्या सुरु भइसकेको रहेछ ।

उनका एक आफन्तले डाक्टरसँगको सबैकुरा सुनेका रहेछन्, जहाँ ती महिलाले आफूलाई विदेशमा भएको र गरिएको व्यवहार सबै भनेकी रहिछन् । अब सम्झनुस् न, कल्पना मात्रै गर्दा पनि आङ सिरिङ्ग हुन्छ । भनेपछि उनले त त्यस्तो शोषण र ज्यादती प्रत्यक्ष भोगेर आइछन्, जसले उनको बाँकी जिन्दगी तहसनहस बनाइदियो । सायद थप उपचारले पनि नभएर हो या घरको आर्थिक अवस्थाले ? उनी विक्षिप्त थिइन् ।

...

मेरी फुपूकी छोरी सानैदेखि हाम्रैमा बसेर पढी, उसको आफ्नो घरको भाइबहिनीभन्दा धेरै निकटतम सम्बन्ध हामीसँग कस्सियो । पछि सानै उमेरमा आफ्नै रोजाइको केटासँग छिमेकी गाउँमा बिहे गरी । गाउँको चालचलन, भएको जग्गामा खेतीपाती, मेलापात गर्दैमा उसको जीवन बितिरहेथ्यो । अब केटाकेटी बिस्तारै हुर्कंदै थिए, लालनपालन र शिक्षामा पहिलेको खर्चले धान्ने स्थिति रहेन । यत्तिकैमा एक दिन उसले गाउँ छाडेर बिदेसिने संकल्प गरिछे । त्यसबेला म कामको सिलसिलामा दमक बस्थें । पछि घर आउँदा आमाको मुखबाट थप कुराहरू सुनें । भारतीयभूमि प्रयोग गरेर विदेश जान लागेको अघिल्लो साँझ दिदी हाम्रोतिर बिदा माग्न आइछे ।

‘लु अलिकति खर्च बोक भन्दै आपाले पैसा दिँदा उत्ता फर्केर रुयो नि जसी त,’ आमाले यो कुरा मलाई सुनाउँदा हुरुक्कै भइगएँ ! सानैदेखि एउटै कोखको जस्तो गरेर हुर्केका हामी, उसको विदेश यात्राको सुरुवाती क्षण सुनेर सुनसान रातमा घुँक्क घुँक्क गरिरहें ! त्यसबेला हाम्रो समाजको फेरिँदै गरेको आर्थिक चरित्र र महगिँदै गएको संस्कार–संस्कृति मनाउने चलन सम्झेर रुने ज्ञान ममा आइसकेको रहेनछ, सिर्फ आफ्नासँगको आत्मीयता दुखेको रहेछ ! त्यसबेला म नियमित दैनिकी लेख्ने गर्थें, त्यो कुरा त्यहाँ पनि उतारेको छु ।

एवंरीतले दिनहरू बितिरह्यो । बर्खा लाग्यो, हात्तीको हुल र पानी भेल बराबर आउने ठाउँमा रातको निद्रा पनि पूरा नसुती गाउँलेले फसल लगाए । अब फुकोफालो समय आउँदै थियो, दसैं आएछ । म भने ज्यादै थोरै दिनको छुट्टीमा घर पुग्थें ।

टीकाको भोलिपल्ट हो क्यार, उनै बिदेसिएकी दिदीका श्रीमान् र छोरी आइपुगे । मोटरसाइकलमा बाबुको पछिल्तिर बसेर आएकी ती सानी छोरीले पछाडि भिर्ने ब्यागमा रक्सीको बोतल र अरू केही सामान दसैंको कोसेली बोकेकी रहिछन् । अब म अर्को पटक भावुकताको पराकाष्ठामा पुगें ! कुन्ताको मन मेरो, त्यहीमाथि त्यस्तो दृश्य ! हुनसम्म संवेदित भएँ, कमलो मन निचोरिएर घाँटीसम्म आएर अड्कियो । खस्नै लागेका तरल बुँदहरूलाई जबर्जस्ती आँखाको डिलडिलमा थुनिबसें ।

के सम्झिएँ होला मैले त्यसघरि ? सायद उनकी आमा यतै हुँदी हो त सपरिवार मावली मान्न आउँथे होलान् । सानी नानीले कोसेलीपात बोकेकी हुन्थिनन् होला । या छोरीलाई अझै कोरीबाटी गरी चिटिक्क पारेर ल्याउँदी हो ।

यता गमिहेरें, कुनै दिन आमाबिना दुई जना पाहुना पनि नटारेको म, आमा बजार जाँदाधरि कतिबेला आउँछिन् होला नि जस्तो लाग्ने, या कतै आफन्तकहाँ जाँदा कहिले आउँछिन् होला भन्दै पर्खिबस्ने म, त्यसरी घरमा आमा नहुनुको कल्पनै गर्न नसक्ने म ! मेरो र उनको बाल्यकाल दाजाइ हेरें, नमीठो महसुस भयो ! अनि अझै नानीेले आमा विदेश जाँदै गर्दा आपाले बोकेर मेची खोला तारेको कहानी सुनाउँदा त झन् साह्रो छ्याप्छ्याप्ती भिज्यो मेरो मन भित्रभित्रै ! दिदीको सम्झनामा छाती छियाछिया पारेको त्यो दसैं मेरा लागि जीवनमा अमिट भएर बसेको छ ।

चाहे दक्षिण भारत गएकी छिमेकी साथीकी नानीहरू स्कुल जानेबेला असरल्ल छरिएका सरसामानबीच जुत्ता–मोजा, पोसाक कता खोजिरहेका देखिउन्, चाहे दुबई गएकी आमाको सानो छोरा स्कुल धेरै साथीहरूको हुलमा पनि एक्लै टोलाइरहेको दृश्य देखुँ...! यस्ता कुराहरूले मलाई विदेश जानबाट सधैं रोकिरह्यो ।

अलि पछि श्रीमतीको नियास्रोले हो या त गाउँका केही महिलाहरू विदेशमै बेपत्ता भएको सुनेर डरले हो उनका श्रीमान् (जसलाई म भेना हैन दाजु सम्बोधन गर्छु) ले दिल्ली गएर, तीन महिना बसेर, अनेक ताकेता गरेर दिदीलाई स्वदेश फर्काउन सफल भए ।

...

एक समय यस्तो आयो– गाउँमा भएका पुरुष मात्रै होइन, महिलाहरू पनि बिदेसिने लहर चल्यो । सावा अक्षर चिनेका/नचिनेका प्रायः सबैले किस्तामा होस् वा साहु–महाजनसँग ऋण लिएरै, विभिन्न देशतर्फ लाग्न थाले । मेरी उनै दिदीको गाउँ, केही जनजाति, केही आदिवासी किसान अनि केही दलित परिवारका घर मिलेर बसेको समाज छ । त्यहाँ लगभग घरैपिच्छेका महिला बिदेसिने क्रम अकस्मात् चल्यो ।

तीमध्ये एउटी दिदी, जो तीन सन्तानकी आमा थिइन्, उनी अर्कैको कागजात, पासपोर्ट प्रयोग गरेर भारतकै बाटो हुँदै साउदी पुगिछन् अथवा भनौं दलालले उनलाई अवैध तरिकाले त्यहाँ पुर्‍याएछ । त्यसपछि उनी वर्षौंसम्म लापत्ता भएको खबर धेरैपछि सुनियो । कोमार्फत कुन देश पुगेको भन्ने यकिन चाहिँ मलाई त्यसबेला थाहा थिएन । तर, गाउँ पुग्दा कहिलेकाहीँ उनको चर्चा हुने गरेको थियो । धेरैले उनको उतै मृत्यु भइसकेको पो हो कि भनेर शंका गर्थे ।

निकै पछि एउटा राष्ट्रिय दैनिकमा ‘उनी साउदी अरबमा घरेलु बन्धक बनेको’ भन्ने बेहोराको समाचार प्रकाशित भयो । उक्त समाचार लेख्ने संवाददाता त्यही गाउँसँग सम्बन्धित थिए । उनै पत्रकार दाजुसँग त्यस घटनाबारे बुझ्दा अझै अरू कुरा प्रस्ट भयो ।

लगभग मेटिन लागेको एउटा नाम, परिवारको सम्झनामा विस्मृतिमा पुग्न लागेको उही पात्रले एकदिन एकैछिनका लागि मात्रै घरबाट फुत्किन पाएको समयको सदुपयोग गर्दै पत्रकारका भाइ (जो विदेशमै थिए) लाई फोन गरेर आफ्नो अवस्था बताइछन् । यता दाजु भने आफू सम्बद्घ प्रकाशन गृह छाडेर नयाँ कार्यथलोमा प्रवेश गर्न लागेको संघारमा रहेछन् ।

उनले त्यो खबर सुनेलगत्तै ट्विट गरेछन् । त्यसको मिनेटभरमै परराष्ट्र मन्त्रालयले उनलाई सम्पर्क गरेर विस्तृत रूपमा बुझ्ने उपक्रम सुरु भइगएछ । त्यसपछि साउदीको जेदा भन्ने ठाउँका गैरआवासीय नेपाली संगठनका पदाधिकारीहरू र परराष्ट्र मन्त्रालयको निरन्तरको प्रयासले अन्ततः उनी विक्रम सम्वत् २०७७ पुस १ मा नेपाल फर्कन सफल भइन् । तर, दुःखद पक्ष के थियो भने उनी घर आइपुग्दा जेठी छोरीले बिहे गरिसकेकी थिइन्, छोराको स्वास्थ्य अवस्था बिग्रँदो थियो र पतिले यो संसार छाडिसकेका थिए ।

...

‘रोटी खाने कि चाबल खाने तिमारू ?,’ हाम्रो गाउँका दुई साथीहरूलाई दिल्लीको कुनै कोठीका मालिकले पहिलो दिन यस्तो प्रश्न गरेका थिए रे ! हुन त उनीहरू परिवारकै सहमतिमा त्यहाँ पुगेका थिए । प्राथमिक तहको अध्ययन पनि नसकी गाउँघरमै अर्मपर्म–खेतालामा बान्की मिलाइरहेका उनीहरूलाई परदेशमा पाइने हन्डर र ठक्करबारे अर्थ्याउने, बुझाउने पनि कोही भएन । अहिले सम्झिँदा लाग्छ, त्यसबेला हाम्रो गाउँ शिक्षा र चेतनाको ज्योतिबाट छलिएकै रहेछ । नत्र अचेल विरलै त्यस्तो घटना हुन्छ । गाउँलेको हातहातमा इन्टरनेट छ, राम्रो/नराम्रो समाचार हेर्न पाउँछन्, कुरा बुझ्न पाउँछन् ।

उता त्यो पहिलो दिनको प्रश्नमा उनीहरूले ‘रोटी खाने’ भनेर जवाफ दिएछन्, त्यसपछि त त्यहाँ रहुन्जेल भातको अनुहार मरे देख्न पाएनन् रे ! फरक–फरक घरमा कामदारका रूपमा रहेका उनीहरूको घरमालिक ड्युटी जाँदा सधैं बाहिरबाट मूलढोकामा ताला ठोकेर जान्थे रे, अनि केटीहरूले चाहिँ घरभित्रै केटाकेटीको स्याहारसुसार, कपडा धुवाइ, जुठोभाँडा माझ्नुपर्ने रे ! लगभग तीन–चार वर्ष नै बन्दी जस्तो जीवन भोगेका उनीहरूलाई परिवारले अनेक प्रयत्नपछि गाउँ त फर्कायो । तर, गाउँमा, देशमा उसै पनि रोजगारीको समस्या छँदैथियो नै । एक जनाले त अहिले पनि दक्षिण भारतको सहज ठाउँमा काम गर्दै देशलाई रेमिट्यान्स पठाइरहेकै छिन् ।

...

अचानक कसैले कहिल्यै नसोचेको समय आँखैअघि आइपुगेको थियो । सन् २०१९ जाँदाजाँदै विश्वलाई एउटा अति नै क्षुद्र उपहार छाडेर गयो । त्यो कोरोना महामारी, सारा संसार आक्रान्त थियो नै, दिनप्रतिदिन नराम्रा खबर हेर्दै, सुन्दै, पढ्दै अनि देख्दै रह्यौं ! त्यत्तिकैमा देशका अनलाइन साथै छापा पत्रिकाहरूले छाप्न थाले– विदेशबाट फर्किएका गर्भवती महिलाहरूले विमानस्थल भरिएको खबर ।

त्यही भीडमा छिमेकी एउटी युवती पनि परिछन् । घर फर्कन सजिलो कहाँ थियो र त्योबेला ? १४ दिने क्वारेन्टाइन बसेर, चेकजाँच गराएर आफूलाई कोरोनामुक्त हो भन्ने प्रमाण बोकेर मात्रै गाउँ छिर्न पाइन्थ्यो । उनी आफ्नो दिनदिनै बढिरहेको पेट लिएरै सबै प्रक्रिया पूरा गरेर घर पुगिन् । खबर सुन्नासाथ उनलाई भेट्ने उत्कट इच्छा नभएको कहाँ हो र मेरो, तर कर्मथलोको जिम्मेवारी र कोरोने त्रासको अघि लाचार भएँ !

फेरि त्यो सालको पनि दसैं आयो । दिदीको घर जाँदा उनीबारे सोधखोज गरें, म पुगेकै दिन उनलाई प्रसव व्यथा सुरु भएर हस्पिटल लगिएको रहेछ । गाउँलेहरू भन्दै थिए, ‘तेसको दाजु मूर्ख छ, अहिले त इन्ड्यामा छ, पछि आएपछि मार्छ तेसलाई !’ मेरो मन बोल्यो ‘मारेर पनि समस्याको समाधान हुनेवाला छैन ।’

त्यही दिन म दिदीको घरमा बस्दाबस्दै हस्पिटलबाट उनीहरू नयाँ सदस्यसहित घर आइपुगे । केहीबेरमा हामी पनि पुग्यौं । विदेशको कहानी उनकै मुखबाट सुन्नु थियो मलाई । घरभित्रको नजारा कुछ यस्तै थियो ! सुत्केरी–काखमा लुटपुटिएर दूध चुसिरहेथ्यो शिशु, जसलाई भोलिको दिनमा समाजले गर्ने व्यवहार र कानुनी रूपमा आइपर्ने अड्चनहरूबारे के थाहा !

‘के थरी हो नानीको बाउ ?,’ मेरो जिज्ञासामा उनले ‘नेपाल भनेको के हो ?’ भनेर उल्टै सोधिन् । आफ्नो प्रेमी कुन जाति–समुदायको हो भन्नेसम्म बुझ्न नसकेकी ती अबलालाई ‘केटाको घर नेपालको पश्चिमतिर हो’ मात्रै थाहा रहेछ । अझै कुराकानी गर्दै जाँदा प्रेमीसँग खिचेको फोटो देखाइन् । त्यो फोटोलाई मेरो मोबाइलको क्यामेरामा कैद गरेर निस्किएँ । म अहिले पनि सोचिबस्छु, गोरो वर्णको लायकदार त्यस पुरुषलाई यादसम्म त आउँदो हो कि नाइँ आफूले गर्भवती बनाएकी प्रेमिका र उनको कोखबाट जन्मिएको नानीको ?

...

मेरा एक सहकर्मी भन्थे ‘वास्तवमा उहिले छोरी मान्छेलाई घर र केटाकेटी जिम्मा दिएर छोरामान्छे बाहिरफेर काममा जाने नियम नै ठीक रै’छ है ?’ त्यस विषयमा तत्कालै मैले केही पनि प्रतिक्रिया दिइनँ, तर अहिले म अलि फरक कोणबाट सोच्छु ।

पुरुष मात्रै घरबाहिर निस्केर व्यवहार थाम्ने युगको अन्त्य त कहिले हो भइसकेको । तर, हामीले अब महिलालाई उपयुक्त किसिमको कार्यस्थल बनाइदिने कि नदिने ? वैदेशिक रोजगारीमा जान चाहनेका लागि उचित शिक्षा, कक्षा, तालिम, जनचेतना प्रवाह गर्ने कि नगर्ने ? सुरक्षित रोजगार गन्तव्य चयन गर्न प्रेरित गर्ने कि नगर्ने ? यी विषयमा भुइँतहबाटै बहस सुरु गर्ने कि नाइँ ? बहस मात्रै नगरी व्यवहारमा सक्दो रूपमा उतार्नु छ अब । 

नारी दिवसमा कर्मकाण्डी पारामा एकदिन छुट्टी दिँदैमा र केही प्लेकार्ड बोकेर र्‍याली गर्दैमा नारीको हक–अधिकार सुनिश्चित हुन्छ भन्ने ग्यारेन्टी कसले दिन्छ ? पुरुष बराबर अर्थ–उपार्जनमा कदम मिलाउने महिलाको सुरक्षित रोजगारीका लागि समाजको सबै अंग गम्भीर हुनुपर्ने होइन र ?

...

समयक्रममा मेरो जीवनमा ठोक्किन आइपुगेका केही महिला पात्रहरूलाई सम्झँदै रहें म । लेख्छु भनेर टिपोट गरेका बुँदाहरू फोनको नोटभित्रै रहिरहे । आफ्नो पुरानै जिन्दगी घस्रिरहेकै थियो ! झन्डै पाँच वर्षपछि होला २०८१ को कात्तिकमा हो क्यार, मर्निङ वाकको रुट परिवर्तन गरी उही पुरानो बगाने बस्तीछेउ हिँड्दैथें ।

उनै पाँच रुप्पे माग्ने महिलाले फ्याट्टै भेटेर ‘दस रुप्पे देउन हौ भोला खाने’ भन्दै पक्डिहालिन् । नियालें उनलाई, दिनहरू बितेसँगै उनको जिङिग्रिङ्ग कपाल काटिएर ठुटे भएछ, अनुहारमा पोतोका धब्बाहरू बढेछन् । उनले इच्छाउने गुट्खाको प्रजाति बदलिएछ, तर मानसिक बिमार उस्तै रहेछ, सायद पहिलाभन्दा अझै धेरै ! 

‘भोलि दिन्छु ल, भनेर जबर्जस्ती फुत्किएँ’ म । निकै माथिसम्म आइपुग्दा पनि उनको आवाज गुन्जिरहेथ्यो ‘साँच्ची दिनु ल भोलि चाहिँ दस रुप्पे ?’

सञ्जु

Link copied successfully