डेढ दशकमा कर्णालीमा रंगमञ्चको हुरी नै चल्यो । प्रायः सपना सरुवा रोगजस्तै सर्दा रहेछन् । त्यो सपना कर्णाली रंगमञ्चको प्राणवायु हो, जसको धिपधिपे सासमा रंगमञ्चको जीवन बाँचिरहेकै छ ।
यहाँ हामीले देखेको ‘सपना’ लाई ‘ऊ’ सम्बोधन गरिएको छ । ‘ऊ’ अर्थात् एउटा सपनाको ऐतिहाासिक काम आइलाग्यो गत महिना– कर्नालीमा नाटकको इतिहास लेखन । अहो ! त्यो थियो, धेरैले लठारो मानेर छाडेको काम ।
आजभोलि सरकारी एकेडेमीहरूबाट रंगमञ्चमा, लोकनाट्य लेखनमा, आख्यान र गैरआख्यानमा समेत केही प्रचारबाजीवाला कामहरू भइरहने गर्छन् ।
रछ्यानदेखि ओछ्यानसम्म, गाउँदेखि संसद्सम्म एउटा जमाना छ, जो भाइरलहरूको छ । यस्तोमा गम्भीर लेखन, सोच र कलाको अर्थ के ? वर्षौंको मिहिनेत र धेरैजनहरूको सहभागिता भाँडमे जाओस् ! सरकारी एकेडेमीको काम त सजिलै छ । एकठिक्काको पार्टी समात्यो, जनताले पत्याउन छाडिसकेको कुहिगन्धे राजनीति गर्यो, प्राज्ञको पगरी गुथ्यो, मालिकका हातको टीका थाप्यो र बौद्धिक पल्टियो ।
अनि रंगमञ्चलाई नचिनेरै रंगमञ्चमाथि वाद र प्रतिवाद गर्यो । र, आफ्ना सस्ता साहित्यलाई ‘खत्रा’ भनेर फेसबुकमा पोस्ट्याइदिन उस्तै खाले ‘बौद्धिक’ लाई अह्रायो, नाक र छाती एकै पटक फुलायो । बस् कामै खतम !
कर्नालीमा नाटकको इतिहास लेख्दै जाँदा फेरि पल्टाउनुपर्ने भयो मनको स्मृतिमा संग्रहित पुराना खुसी र पीडाका पल, सफलता र असफलताका चुली र नियाल्नुपर्ने भयो– सपना र यथार्थबीचको संघर्षमय कुस्तीका चाङ, कुनै साठीवर्षे वृद्धको नागरिकताको प्रतिलिपि खोजिरहेको कुनै जिल्ला प्रशासन कार्यालयको बूढो खरिदारजस्तै ।
कर्णाली थिएटरका कागजे ढड्डाहरू पल्टाउँदै जाँदा सबैभन्दा पहिले देखियो– एक पत्रिकाको टुक्रो । टुक्रामा थियो– मुगुमा नाटकघर निर्माणका लागि मनमा अनेकौं आशा र अपेक्षासहित राजधानीको एक प्रख्यात नाटकघर बाहिर उभिएका एक हुल मुगाली युवाको तस्बिर । ‘नयाँ पत्रिका’ ले २०६४ पुस ४ का दिन छापेको उक्त लेखको शीर्षक थियो– सपना एउटा नाचघरको ।
अहिले ऊ बुझ्दछ– वास्तवमा कर्णालीको कुनै एक ध्यानी, ज्ञानी र राष्ट्रिय रंगमञ्चको कुनै साधुबीचको लोभको साइनोबाट जन्मेको थियो कर्नालीमा नाटकघर निर्माणको दुर्लभ सपना ।
कर्णालीमा रंगमञ्चको हुरी कस्तो छ ? यसको ग्राफ हेरौं । दर्जनौं मञ्च नाटकहरूको प्रदर्शन, दर्जनौं राष्ट्रिय–अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागिता, सयौं एनजीओसँगको साझेदारी, सयौं पटकको आन्तरिक खिचातानीको दोधार, सयौं कलाकारको आवतजावत, नाटकका दर्जनौं अन्तर्राष्ट्रिय रूपहरूको स्थानीयकरण, सयौं लोककथामाथिको अनुसन्धान र संग्रहीकरण, कलाका अन्य माध्यमहरू (चित्रकला, कथ्यक नृत्य, पर्फमेन्स् आर्टस्, फोटो कथा, रेडियो नाटक) को कर्णालीमा चिनापर्ची र तिनीहरूको रंगमञ्चमा संयोजन ! कर्णालीका अति दुर्गम करिब पाँच सय गाउँका करिब पाँच लाख दर्शकमाझ तीन हजार पाँच सय प्रस्तुति ! त्यसपछि काठमाडौंमा जन्मेको त्यो नाचघरको सपना आज सोह्र वर्षपछि पनि नाटक घर निर्माणकै दोधारमा अल्झेको छ ।
यो डेढ दशकमा कर्णालीमा कलाका माध्यमबाट समाज रूपान्तरणका अनेकौं प्रयास भए । प्रायः सपनाहरू सरुवा रोगजस्तै सर्दा रहेछन् । एक व्यक्तिदेखि अर्को व्यक्तिसम्म, एक ठाउँदेखि अर्को ठाउँसम्म, एक पुस्तादेखि अर्को पुस्तासम्म र एक युगदेखि अर्को युगसम्म । यो सपना कर्णालीको रंगमञ्चको प्राणवायु हो, जसको धिपधिपे श्वासमा कर्णालीको रंगमञ्चको जीवन आजसम्म बाँचिरहेको छ ।
यो रुढिग्रस्त समाजमा यसै पनि एक कदम अघि बढ्ने सपना देख्नै बर्जित छ । अर्कोतिर सपना जन्माउनु र हुर्काउनु आफैंमा एउटा बच्चा जन्माउनु र हुर्काउनु भन्दा कठिन कार्य हुँदोरहेछ । यसो भन्नुको तात्पर्य कुनै आमाको संघर्षलाई अपहेलना गर्न खोजिएको होइन । तर, हरकोही आमा आफ्ना बच्चालाई प्रेमपूर्वक जन्माएर पाल्छन् पनि भन्न सकिँदैन । निर्दयी आमाहरूले आफ्नो इज्जत, धर्म र जात बचाउने नाममा आफ्नै मुटुका टुक्रालाई सडकका नालीहरूमा, जंगलका खोंचहरूमा मिल्काइदिएका कैयौं घटना असरल्ल छन् । हो त्यस्तै स्वप्नद्रष्टाका आँखाका नानीबाट मिल्काइएको एक सपना हो ऊ पनि । ‘ऊ’ अर्थात् सपना ।
जसरी अपराधबोधले मिल्काउने आमा मिल्काइएको बच्चानजिक जीवनभर पर्न चाहन्न र बच्चा अनेकन संघर्ष सहँदै, दुःखकष्ट झेल्दै आफैं पलाउँछ, आफैं टुसाउँछ त्यसैगरी विभिन्न हन्डर–ठक्कर खाँदै, ओइलाउँदै, पलाउँदै, हराउँदै, झुल्किँदै कर्णाली प्रदेशको राजधानी छिरेको छ ऊ– कुनै द्रष्टाको नानीभित्र पसेर । उसले देख्यो– आफूजस्तै कैयौंका सपनाका हत्यारा भोटको बाकस चढेर, डाक्टरका डिग्री लिएर, यार्चाका क्विन्टल लिएर, एनजीओका सुकिला रिपोर्ट लिएर, विदेश पठाउने म्यानपावरका दोकान लिएर, ठेक्काका लाइसेन्स र संस्कृति संरक्षक नामको हाउगुजी लिएर राजधानी छिरेका छन् ।
गाउँमा अचेल परदेशिएका श्रीमान्को सम्झनामा टोलाइरहेका अनिँदा आँखाहरू, केही थान भाइरल जनप्रतिनिधिहरू, कहिलेकाहीं झुल्किने झन्डावालाहरू, केवल डोजरको कर्कस आवाज र त्यो आजाव सुन्नै नसक्ने बालबालिकाहरू र वृद्धवृद्धाहरू मात्रै त छन् । केही वर्षअघि मुगुमा हुँदा उसलाई लाग्यो– आफ्नो संघर्षमय जीवनका योजनाकारहरूका खप्पर फोर्नुपर्छ, जसरी उसले ‘कर्नाली दख्खिन बग्दो छ’ नामको नाटकको घनले राजधानीमा राज गर्न्याहरूको शासनको जग हल्लाएको थियो ।
प्रदेश राजधानीमा पनि नाटकको जादुमय छडीद्वारा मानिसहरू जगाउँदै, जातीय तथा लैंगिक उत्पीडनविरुद्ध धारिला प्रश्नहरूले प्रहार गर्न सिकाउन अहिले ऊ सुर्खेतका खेत खलियानहरूमा, विद्यालयदेखि विश्वविद्यालयका प्रतिबन्धित पर्खालहरू बाहिर, अर्बौंको रंगशाला बाहिर, सांसद भवन बाहिर, मन्त्रीज्यूहरूका क्वार्टर बाहिर बास खोज्दै एक्लै बरालिरहेको छ । ती प्रतिबन्धित पर्खालभित्र पस्न कि भ्रष्ट र दलाल हुनुपर्छ कि दास र नोकर । भ्रष्ट र सामन्त, दास र नोकरहरू संगठित संसारमा प्रतिरोधको सपना एक्लिनु स्वाभाविकै हो ?
योभन्दा पहिले उसको साधारण ज्ञानले सोच्थ्यो– यो बिरानो सहरमा कम्तीमा उसलाई विद्वान्ले ठग्ने छैन । पत्रकारले लुट्ने छैन । डाक्टरले हेप्ने छैन । कलाकारले पाखा लगाउने छैन । तर, ज्ञानको परिष्कृत परिभाषाअनुसार कुरो उल्टो पर्यो । उसले जस जसबाट सहयोगको आशा गरेको थियो, तिनैका चपाउने दाँत देख्यो । उनीहरूका पुस्तौनी शोषक चरित्रको बलमा निर्बलहरूका सपनाहरू चपाउने तिखा र खारिएका दाह्राहरू थिए ती ।
खासमा सुर्खेत, जो थारूहरूको आदिम भूमि थियो इतिहासमा वीरेन्द्र भन्ने पहाडिया, गोरो हिन्दु शासकले ‘वीरेन्द्रनगर’ नाम दियो र त्यही दिनबाट थारूहरूको कालो छालालाई अस्वीकार गर्दै उसैद्वारा परिचालित प्रधानपञ्चहरूलाई वीरेन्द्रनगरका खास मालिक बनायो । तिनै चरिचुच्चे र इज्जत बुच्चेहरूका थिए ती तिखा र हत्यारा दाह्राहरू, जसले उहिले नै चपाइसकेका थिए थारूहरूका आदिवासी सपना ।
हिजोआज तिनै सपनाका रैथाने हत्याराहरूले नै राजधानीमा सामाजिक न्याय र सुशासनका चर्का नारा लगाइरहेको देख्यो । तिनैका अल्छी श्रीमतीजीहरूले चपाइरहेको देख्यो– आरक्षणको सिटको मिष्ठान्न, जसलाई वास्तवमा अरूले पकाएर दिएको थालको भात चपाउनसमेत अल्छी लाग्छ । उनीहरूले नै विश्वविद्यालयमा माटो बनिसकेको शाही शासनको गुनगान पढाइरहेको देख्यो ।
आखिर जिउँदो न थियो ऊ ! उसको जिउँदो मस्तिष्कमा झन् ऊर्जा थपियो । ती सपनाका हत्याराका लुकेका सपना चपाउने दाँतहरू खुस्काउन, तिनका चाउरिएका खप्परका कुना कन्दराभित्र फैलिएको जातपात र लैंगिकताको दूरता शून्य पार्न, उनीहरूका सुकिला–महँगा पहिरनबाट निस्कने कु–संस्कारको कुहिगन्ध छताछुल्ल पार्नुपर्ने खाँचो महसुस गर्यो उसले ।
उसलाई आशा छ– यो बिरानो धर्तीले एक दिन चिन्नेछ उसका जराहरूको महत्त्व । यहाँका गरिब, आदिवासी, कमैया, कमलरी, वास्तविक भूमिहीन सुकुम्बासीले इतिहासदेखि दबिँदै, थिचिँदै र पिल्सिँदै जीवन बिताउन बाध्य दलितले काममा लगाउनेछन् उसको रंगमञ्चको जादुमय छडी ।
त्यस दिन यो धर्तीमा टेकेर ओकल्नेछ उसले तिनीहरूका काला कर्तुत र आफ्नै जीवन–संघर्षको तीतो कथा– रंगका रेखाहरूमा, पात्रका संवादहरूमा, संगीतका गुन्जनहरूमा, पहिरनका अर्थहरूमा, प्रकाशका किरणहरूमा । यही आशामा पर्खिरहेको छ अहिले ऊ त्यो बूढो पीपल चौतारीमुनि, जुन चौतारीमा आउँदा अहिले आफ्नो प्रतिष्ठा घट्ने डर छ तिनीहरूलाई ।
