यतिबेलाछातीमा आत्मघाती बम बोकेर मलाई विमानस्थलको छातीमै जीवनको अन्तिम नृत्य गर्न मन छ
कुनै रेमिटेन्स कम्पनीको विज्ञापन बोर्ड मुन्तिर उभिएर
जब जानेहरुको लर्को नियाल्छु
तब किन लाग्छ ?
मेरो देशको निधारमा उदाउँदै गरेको घाम – ओर्लंदै छ
तब किन लाग्छ ?
मेरो देशको आँखामा चढ्दै गरेको उज्यालो – डुब्दै छ
जानेहरुले
news-wrap-secओठै नखोली गाएका बिछोडका गीतहरु
पुर्याउनेहरुले
आँसुको मसीमा चोब्दै लेखेका कविताहरु
हृदयको तार चुाडिएपछिको विरही सारङ्गी
पखेटा काटिएका पन्छीको भ्याटभ्याट
र मेरै शिरमाथिको नीलो आकाशमा
काला बादलहरुको दौडधुप र बैठक
धमिला आँखा बोकेर म
धर्मरिँदै धर्मरिँदै
हिमालको फोटो टाँसिएको भित्तोमा अडेस लाग्छु,
त्यहीबेला
देशको नक्सा पोतिएको मजेत्रो ओढेर
थर्मसमा चिया बोकेकी एक वृद्धा आउँछे र भन्छे,
news-wrap-sec“बाबु, थाहा छ?
विमानको एउटा ढोका खोल्न कति घरका ढोका बन्द हुनुपर्छ?
थाहा छ,
एउटा विमान भरिन कति गाउँहरु रित्ता हुनुपर्छ ?”
युद्धताकाको तातो गोली हो कि ?
हो ती आमाको प्रश्न ?
म रगतको बान्ता भएको मुख छोप्दै
आँखामा रगतकै आँसु पुछेर
रगताम्य गुराँसे गाउँहरु सम्झन्छु,
अझै छन् गाउँमा
जाई फूल र त्यसको पहेंलो बास्नाहरु
news-wrap-secतर नाकहरु विमान चढिसके
छन्, बेलौती र खनायोका स्वादहरु
तर जिब्रोहरु विमान चढिसके
छन्, चराका गीतहरु
तर कानहरु विमान चढिसके
गाउँको भित्तामा
मादल झुन्डिरहेकै छ, खै त खरी ?
सम्साँझै उँघी रहेछ रोधी, खै त मुर्छन्ना ?
अहो,
को होला ? गाउँको रौकनातामा चिसो पोतेर
विमानस्थल छेउको होटलमा न्यानो पार्ने मान्छे
गाउँमा
खेतबारीका पाटाहरु छन्, पाखुरा पर्खिरहेका
news-wrap-secमेटिँदै गरेका बाटाहरु छन्, पाइताला पर्खिरहेका
घरहरु पनि छन्, यौवनको रङरोगन पर्खिरहेका
चस्मा लगाएका वृद्ध आँखाहरु पनि छन्
जवान छोराछोरीको हात पर्खिरहेका
बस, गाउँमा गाउँ छैन
खै त गाउँ ?
कोइलीको आँसुले भिजेको हाँगा बोकेर रुख भन्छ,
“गाउँ, विमानस्थल पुगेर विमान चढिसक्यो”
हो, यतिबेलै त हो
छातीमा आत्मघाती बम बोकेर
मलाई विमानस्थलको छातीमै
news-wrap-secजीवनको अन्तिम नृत्य गर्न मन लागेको
तर के गर्नु,
जानेहरु फर्किन पनि त विमानस्थल नै चाहिन्छ नि,
हैन र ?
