कविता : 'भावना ट्राभल्स'

फाल्गुन ३, २०८१

विमल आचार्य

Poem: 'Emotional Travels'
news-wrap-sec

पहिलो प्रहरऊ सधैं गमिरहन्छ-यार तँ ठोस कुरा गर्

भावनामा नआ

जिन्दगी तरलताले चल्दैन ।

दोस्रो प्रहर

ऊ प्रायः भनिरहन्छ—

एक बारको जुनीमा

तँ दिलदेखि बाँच्

दिमागलाई दिमागैदेखि हटाइदे ।

तेस्रो प्रहर

‌आफैंलाई सुनाइरहन्छ—

तँ कुनै ग्रहभन्दा ठूलो होइनस् 

काम होस् या नहोस्

आफ्नो अक्षमा घुमिराख् । 

चौथो प्रहर

ऊ सोच्छ—

मान्छे किन जन्मिँदो हो 

news-wrap-sec

किन दौडिँदो हो 

जबकि एक दिन ‌त ऊ

रोकिनेछ थाहै नपाई ।

पाँचौं प्रहर

ऊ देख्छ—

निहुरिएको बोट 

र त्यसमा पलाएका पालुवा

अनि ऊ दौडिन्छ—

सडकमा तुफान ।

छैटौं प्रहर

‘मान्छे हुँ, पत्याइदेेऊ’ प्लाकार्डहरूको भीड

बढिरहेछ माइतीघर जंगलदेखि सिंहदरबार–सर्वोच्च अदालततिर

अचानक आउँछ याद उसलाई बच्चामै पढेको कथा

जहाँ डुबेको थियो कुवामा सर्वोच्च सिंह ।

news-wrap-sec

सातौं प्रहर

अँध्यारो छ संसार

लाग्छ दिन निस्सार

अबेरसम्म एक्लो चल्छ

भावनाहरुको ओसारपसार ।

आठौं प्रहर

सदाझैं आउँछिन् उनी सपनामा

नाउँ उनको भावना

ठेल्दिनन् कुनै धारणा

किनकि, उनी एक भावना ।

पहिलो प्रहर—

भावनाले चल्दैन

अन्तिम प्रहर—

भावनाले छोड्दैन ।

भावनादेखि भावनासम्मको

यो तरल भावनामाथि

हर दिन, आठै प्रहर 

कल्पेर पनि 

निर्माण गर्न सकिनँ मैले

news-wrap-sec

कुनै ठोस धारणा 

हे भावना !

मलाई यो तरलता प्रवाहबाट बचाऊ । 

विमल आचार्य आचार्य साहित्य, अनुसन्धान र पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully