झन्डै तीन दशकअघि हामी पुग्दा मायादेवी मन्दिर उत्खनन तीव्र रूपमा जारी थियो । अहिलेको भव्य र सभ्य लुम्बिनीसँग तुलना गर्दा त्यतिबेला ऐतिहासिकताबाहेक भौतिक विकास केही थिएन भन्दा फरक पर्दैन ।
आहा ! कति मिठो बास्ना । सररर मिठो बास्ना आयो । गुइँठा, गोठका घुसान, अलिअलि काठ, धानको भुस र झिक्राझिक्री मिसाएर बालेपछि निस्कने धूवाँको सुगन्ध मलाई औधी मन पर्छ । यो मिठो सुवासले मलाई स्मृतिलोकमा पुर्याउँछ । मेरो बालापन, हुर्केको देहात, देहाती जीवन, समाज–संस्कृति र माटोलाई यसले बिछट्टैसँग जोड्छ ।
घुरको धूवाँबाट फैलिने सुवास कम्तीमा दुई/चार वर्ष लिनुभएको छैन भने यहाँलाई मन नपर्न सक्छ । कसैले पनि कुनै कुरा औधी मन पराउन त्यो जीवनको अंग बनेकै हुनुपर्छ ।
जाडो यामसँगै ‘घुर’ देहातमा प्रत्येक साँझ बालिन्छ । मेरो बालापन सम्झँदा घुरसँगै जोडिएर आउँछ । त्यसले मलाई सिधै बालापन स्मृतिको शिखरमा विचरण गराउँछ । बालसखा सुरेश चौधरी, कुञ्जबिहारी चौधरी, जोगीन्द्र चौधरी, रामनारायण चौधरी, विजय चौधरी, अनिरुद्ध चौधरी मेरो स्मृतिको भन्ज्याङमा सधैंसधैं घुर ताप्छन् । हामीले गरेका बचकना चकचक फनफनी स्मृतिको गर्तमा घुम्छन् । आखिर कहाँ गए ती दिन ! रौतहट भवानीपुर पिपराका अनेक साथीको डगरमा सँगै घुर तापेका कैंयौं पल, प्रहर र पर्वहरूका बालसखा स्मृतिबाट हट्न सक्दैनन् । सम्झें है सबैलाई– ‘दोसवा सब अखुनी बहुत याद अवैत हैइ । रहुवा सबके खुब याद करतानी । बुझ्ल ।’
मध्य माघ महिनाको रात । शीतलहर आफूसँग बाँकी रहेको अन्तिम आँसु तपक्क–तपक्क चुहाउँदै बिदा भएर आफ्नै मौसमी संसारमा फर्किसकिन । भन्नै नपर्ला हामी अहिले देहातमा छौं । सहिद दिवसको साँझ संसारभर शान्तिको सन्देश फैलाउने बुद्धको पवित्र चरण स्पर्श गर्न हामी यात्रारत छौं । नवलपरासीको बर्दघाटबाट दक्षिण लागेपछि परासीबाट लुम्बिनीतिर चिनियाँ केवाईसी अटो ५ इभी गाडीमा सरररर गुड्दा मेरो पुरानो मायालु घुरको सुवाससँग वर्षौंपछि प्रेमालाप भइरहेको छ ।
त्यसमाथि अर्को दंगदास पर्नुपर्ने कुरा पनि थपिएको थियो । ‘फोसिल फ्युल’ मा खर्बौं नेपाली पैसा सकेर त्यसको बदलामा गरिबी किनेका हामी आफ्नै विद्युत् खपत गरी सरररर गाडीमा हुइँकिनुको मजा छँदै थियो । डिजेल र पेट्रोलमा हुने पैसा जोगिएर नेपालमै रहनु अर्को आनन्दको कुरा थियो । शनैशनै आत्मनिर्भर हुने बाटोमा छौं हामी । तर पत्रु भइसकेका लिथियम ब्याट्री कहाँ थन्काउने होला ? यो संसारकै चिन्ताको विषय हो । त्यसबापत जति नेपालीको भागमा दुःख या सुख पर्ला । जो परेको, त्यो व्यहोरौंला ।
...
२०५१ सालको कुरा हो । मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो । हामी रेडियो नेपालबाट रिपोर्टर दुर्गा फुयाल र म बुटवल पुगेका थियौं, नेपाल चिकित्सक संघको महाधिवेशनको समाचार संकलन गर्न । त्यसैक्रममा प्रधानमन्त्री अधिकारीसँग लुम्बिनी भ्रमणको अवसर जुटेको थियो । त्यतिबेला मायादेवी मन्दिर उत्खनन तीव्र रूपमा जारी थियो । अहिलेको भव्य र सभ्य लुम्बिनीसँग तुलना गर्दा त्यतिबेला ऐतिहासिकताबाहेक त्यहाँ भौतिक विकास केही थिएन भन्दा फरक पर्दैन ।
त्यसको दुई वर्षपछि गर्मीयामको कुनै दिन नेकपा (एमाले) का तत्कालीन महासचिव माधवकुमार नेपालले निजी फोनमा कल गर्नुभयो । त्यो ल्यान्डलाइन मेरो नभएर ताहाचलका घरबेटी अशोक तुलाधरको थियो । त्यो फोन हामीले दुईतिर बाँडेर काम चलाएका थियौं । टेलिफोनको मासिक खर्च आधाआधा तिर्थ्यौ । पत्रकारले पाउने फोनका लागि आवेदन दिइसकेको थिएँ । तर व्यक्तिगत फोन जोड्न पाएको थिइनँ ।
तत्कालीन महासचिव नेपालको सोधाइ थियो, ‘हा त प्रज्वलजी के छ खबर ? म लुम्बिनी र कुशीनगर जाँदै छु । के छ त तपाईं जाने हो ? तपाईं जाने भए सबै तयारी गर्नुहोला ।’ नाइँ भन्ने कुरा नै भएन । त्यसमाथि देशभरिको एउटा मात्र रेडियो नेपाल । त्यतिबेला आमसञ्चारका लागि एकमात्र रेडियो नेपाल कति प्रभावशाली र शक्तिशाली थियो ! स्थलगत रिपोर्टिङ गर्नु र बेलाबखत घटना र विचारलाई सामग्री प्रस्तुत गर्नु मेरो प्रमुख काम थियो । महासचिव नेपालसँग कुराकानीपछि रेडियो नेपालमा प्रशासनिक चाँजोपाँजो मिलाएँ ।
टोयटा कम्पनीको एसयूभीमा काठमाडौंबाट हाम्रो यात्रा लुम्बिनीका लागि सुरु भयो । लुम्बिनीको अवस्था भने उस्तै थियो । झारा टार्ने गरी बनाइएको ग्राभेल सडक हुँदै मायादेवी मन्दिरको उत्खनन हेर्यौं । त्यसपछि हामी लाग्यौं भारततिर । कपिलवस्तुको ठ्याक्कै पारिपट्टि सिद्धार्थनगर । सिद्धार्थ यातायात । सिद्धार्थ भोजनालय । सिद्धार्थ आवासगृह । सिद्धार्थ गौतम बुद्धको नामबाट अनेकौं नामकरण गर्दै अन्तर्राष्ट्रिय रूपमा आफ्नो पर्यटन व्यवसाय बढाउन भारतले थालिसकेको थियो । २८ वर्ष अघिको कुरा न हो । त्यो देखेर म छक्कै परेको थिएँ ।
त्यसपछि हामी लाग्यौं, कुशीनगरतिर । शान्तिका दूत सिद्धार्थ गौतम बुद्धले भारतको बोधगयामा ४९ दिन लगातार तपस्या र ध्यान गरेपछि उनलाई संसारमै शान्ति फैलाउने ज्ञान प्राप्त भएको थियो । विश्वमा बौद्ध धर्मलाई अनुसरण गरेर त्यसलाई व्यवहारमा ठ्याक्कै लागू गर्ने मानिस ३५ करोडभन्दा बढी रहेको ठानिन्छ । २५ सय वर्षभन्दा अघि जन्मिएका गौतम बुद्धको निधन कुशीनगरमा भएको थियो । बुद्धले महाप्रस्थान गरेको कुशीनगरलाई सजाउन, फैलाउन, अन्तर्राष्ट्रियकरण गर्न र सक्दो पर्यटक भित्र्याउन भारतले के पो गरेको थिएन ?
कुशीनगरमा संयोगवश भेटिएका एक जापानी युवालाई सोधेको थिएँ, ‘बुद्धले महाप्रस्थान गरेको ठाउँमा त आइपुग्यौं । थाहा छ, बुद्ध कहाँ जन्मेका थिए ?’ ती जापानी युवाको जवाफ थियो, ‘बुद्धको जन्म, ज्ञान प्राप्ति र निधन भारतमै भएको हो ।’
अन्तर्राष्ट्रिय रूपमा गरिएको गलत प्रचार सुनेर छक्क परें । र, उनलाई भनें, ‘सिद्धार्थ गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् । त्यहाँ घुम्नु झन् पवित्र हुन्छ नि होइन र ?’ ती युवाले सहमति जनाएका थिए, ‘म लुम्बिनी पक्का घुम्छु ।’
तेस्रो पटक लुम्बिनी भ्रमणको संयोग भने छोरी अवनिले जुराएकी हुन् । ओहो ! कहाँ ३० वर्षअघिको लुम्बिनी, कहाँ अहिले देखेको लुम्बिनी । क्यानडामा १० वर्ष बिताएकी, त्यतै हुर्किएकी र सोच्ने तरिकासमेत क्यानडेली भएकी छोरीलाई लुम्बिनी घुम्दै गर्दा सोधें, ‘कस्तो लाग्यो ?’
उनले जवाफ दिइन्, ‘असम !’
अब के चाहियो ? बाउको मन त्यसै फुरुङ्ग भयो । हो, त्यो तीन दशकअघिको लुम्बिनी र हालको लुम्बिनी तुलना गर्नै मिल्दैन । के छैन र ! अहिले लुम्बिनीमा ।
...
कम्बोडिया, थाइल्यान्ड, चीन, जापान, फ्रान्स, जर्मनी, बर्मा (म्यानमार), सिंगापुर, श्रीलंका, दक्षिण कोरिया, तिब्बत र नेपाललगायतका देशले विश्व शान्तिको सन्देश फैलाउने मनोहारी, चित्ताकर्षक, सुन्दर, कलात्मक र विभिन्न ढाँचा शैलीका गुम्बा बनाएका छन् । झन् विश्व शान्तिको पैगोडा त झनै औधी सुन्दर छ । चिनियाँ नयाँ वर्षको अवसर पारेर आमा–बुबासँग चीनबाट नेपाल घुम्न आएका २४ वर्षीय युवा जेप वुसँग संयोगवश भेट भयो । सोधें, ‘कस्तो लाग्यो लुम्बिनी ?’
उनको जवाफ थियो, ‘औधी रमाइलो लाग्यो । शान्त, आनन्द र पवित्रता महसुस गर्दै छु । चीनमा मैले चिनेका सबैलाई लुम्बिनी घुम्न जाऊ भनेर सल्लाह दिन्छु ।’
आहा ! मायादेवीको मन्दिर, जहाँ सिद्धार्थ गौतम बुद्ध जन्मिएका थि । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सन् १९९७ देखि सूचीकृत गरिएको छ । लुम्बिनीमा घुम्न र हेर्न लायक अनेकौं गुम्बा र स्तूपा छन् । त्यहाँ पुग्नेले आनन्दसँग घुम्न, मनभरि शान्ति–पवित्रता भर्न र मस्तिष्क स्थिर राख्न करिब ३ दिन खर्चिनै पर्छ ।
लुम्बिनीलाई संसारकै आस्था र धरोहरको केन्द्र बनाउने प्रमुख श्रेय जापानी वास्तुकलाविद् केन्जो टांगेलाई जान्छ । उनले बनाएको लुम्बिनी गुरुयोजनालाई नेपाल सरकार र संयुक्त राष्ट्रसंघले सन् १९७८ मै पारित गरेको थियो । तर कामको थालनी धेरै ढिलो भयो । सन् १९९५ मै गुरुयोजना पूरा गर्ने लक्ष्य राखिएको थियो । तर, काम समयमै हुने सकेन । पछि लुम्बिनी विकास कोषले गुरुयोजनाअनुरूप काम अघि बढायो ।
टांगेले बनाएको योजना र ढाँचाअनुसार लुम्बिनीलाई तीन खण्डमा विभाजन गरिएको छ । ती हुन्, पवित्र उद्यान, बिहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम । लुम्बिनीको दक्षिणी भागमा पवित्र उद्यान छ । यो खण्डको खाका र ढाँचाको मुख्य उद्देश्य आध्यात्मिकता, विश्व शान्ति, भ्रातृत्व र अहिंसाको वातावरण सिर्जना गर्नु हो । पवित्र उद्यानमा प्रशस्त ऐतिहासिक र पुरातात्त्विक धरोहर छन् । बगैंचा र सुन्दर पुष्करणी पोखरीले यस क्षेत्रलाई चित्ताकर्षक बनाएको छ ।
बिहार क्षेत्रलाई केन्द्रीय नहरले दुई क्षेत्रमा विभाजित गरेको रहेछ । पूर्वी बिहार क्षेत्रमा थेरवादी सम्प्रदायका लाागि १३ वटा प्लट छुट्याइएको रहेछ । पश्चिम बिहार क्षेत्रमा महायानी सम्प्रदायका लागि २९ वटा प्लट छुट्याइएको छ । सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सूचना केन्द्र र संग्रहालय रहेका छन् ।
गुरुयोजनाको उत्तरी भागमा नयाँ लुम्बिनी ग्रामका रूपमा विकास जारी रहे । त्यस क्षेत्रमा तीर्थयात्री, उपासक–उपासिका तथा पर्यटकका लागि भोजनालय, आवास, चमेनागृह र अन्य सुविधा प्राप्त हुने रहेछ । यस क्षेत्रमा अग्लो र अत्यन्तै सुन्दर विश्व शान्ति स्तूप र कर्मचारीहरूको आवासगृह रहेछन् ।
आहा ! गज्जब छैन त लुम्बिनी । अतिरञ्जना र अत्यन्तै नकारात्मक भाव गलत हुन् । आलोचनात्मक हेराइ नै यथार्थको कसीमा सही ठहरिन्छ । लुम्बिनी जति सफा हुनुपर्ने हो, त्यति रहेनछ । बन्दै गरेका अनेकौं गुम्बा पनि लामै समयदेखि निर्माण कार्य जारी भएको जस्ता लाग्थे । लुम्बिनी जस्तो पवित्र स्थललाई फोहोरसँग मितेरी लगाइदिनेहरू गलत पात्र, प्रवृत्ति र आयामलाई पछ्याउनेहरू हुन् । आर्थिक, सामाजिक सम्बन्धले देशमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचार नेपाली समाजको संस्कृति बन्दै छ । त्यसको बाछिटा लुम्बिनीमा चाहिँ नपरेको होला र ? लुम्बिनी विकास कोष के गर्दै छ ? यो पवित्र रूपमा चलेको छ कि छैन ?
नेपालको दक्षिणी छिमेकमा पानी पर्दा राजधानी काठमाडौंमा छाता ओड्ने नेपालीहरूको संख्या उल्लेखनीय छ । त्यही छाता ओढ्नेहरू नै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गरिरहेका छन् । सरकारले लुम्बिनीमा बाँकी रहेको निर्माण कार्य अविलम्ब सम्पन्न गर्नुपर्छ । त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थललाई एकदमै व्यस्त हुने गरी चल्ने चाँजोपाँजो मिलाउन जरुरी छ । त्यसका लागि सरकारले आफ्नो बुद्धि, राजनीति, कूटनीति, व्यापार नीति सबै प्रयोग गर्नुपर्छ ।
संसारमा रहेका ३५ करोड हाराहारी बौद्ध धर्मावलम्बीमध्ये वर्षमा ३ लाख ५० हजार वैदेशिक पर्यटक भित्र्याउन सक्दो प्रभावकारी रणनीति बनाउन जरुरी छ । यो नै लुम्बिनीको विकास र विस्तारमा अन्तर्राष्ट्रियकरणको पहिलो पाइला हुनेछ ।
...
हामी बुटवल हुँदै फर्कियौं । बुटवलको थकाली होटलमा नेपाली पाराको खाना खायौ । त्यसपछि काभ्रे मंगलटारका कुशल चालक प्रदीप अधिकारीले इभी गाडी मजैले हुइँक्याए । तर बाटोमा ब्याट्री सकिनाले हामी यात्रीले झन्डै ५ सय मिटर गाडी धकेल्नुपर्यो । त्यसपछि गाडी चार्ज गर्ने स्टेसन लोकाहा पुल पुग्यौं । झन्डै ४५ मिनेट इभी गाडी चार्ज गरेपछि छोरी अवनिले मेरो कानमा खुसुक्क भनिन्, ‘बुबा नेपालमा त चालक, यात्री र आम मानिस नै लापरबाह हुन्छन् कि क्या हो ?’
जवाफ के दिनु थियो र ! लाजले भुतुक्क भएँ । त्यसपछि लगत्तै सम्झें– लुम्बिनी, पूर्ण विकास–विस्तार, निर्माण र विराट आम्दानीको बाटोमा कहिले हो टुंगिनी । अझै कति घस्रेला र लुम्बिनी ! एउटै आशा छ, लुम्बिनीको विराट विस्तार कहिले हो ? जति छिटो टुंग्यायो, उति छिटो नेपाल र नेपालीकै हित हुनेछ ।
