सरल कविका जब्बर कविता

कविता कुनै अलौकिक वा इन्द्रजालिक वस्तु होइन, यो कविको सामाजिक कर्मको कलात्मक दस्ताबेज हो

माघ २६, २०८१

रेशम विरही

Simple poet's jabbar poetry

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, कवि विमल निभाको ‘सत्र भोका काग’ कवितासङ्ग्रह नेपाली साहित्यको बजारमा आएको छ । उनले गम्भीर र लाक्षणिक रूपमा ‘कवि कुनाका कमरेड कविहरूलाई मेरो कविताको पाँचौं किताब’ भनी समर्पण गर्दै स्पष्टसँग प्रगतिवादी–प्रगतिशील धारको कविता भएको सन्देश दिएका छन् । 

उनको कवितासङ्ग्रह ‘सत्र भोका काग’ को विमोचन पनि यस्तै प्रतिनिधि पात्रद्वारा सन्देशमूलक ढङ्गबाट गरिएको थियो । समकालीन नेपाली कविता लेखनमा प्रगतिशील धारमा सशक्त हस्तक्षेप गरिरहेका र उमेरले सात दशकको वारिपारि रहेका उनका घनिष्ट सात मित्रहरूको हातबाट अत्यन्त अनौपचारिक रूपमा विमोचन भएको कवितासङ्ग्रहमा पचास थान कविताहरू सङ्ग्रहित छन् ।

यसअघि चार कविताकृति प्रकाशन गरिसकेका कवि निभाको यो पाँचौं कवितासङ्ग्रह हो । ‘आगोनेर उभिएको मानिस’, ‘एउटा बाहुला नभएको बुर्सट’, ‘जोकरको बन्दुक’ र ‘डेकेन्द्र राजवंशीको आत्महत्या’ लगायत बहुचर्चित कवितासङ्ग्रहहरूको लहरमा यो किताबले थप कलात्मक र वैचारिक आभूषण थपेको अनुभूति गर्न सकिन्छ ।

उनका यस सङ्ग्रहमा सङ्ग्रहित कविताका बारेमा कवि तथा आख्यानकार राजव लेख्छन्– ‘साना मसिना अत्यन्त सरल बिम्बमा सचेतनापूर्वक उनिने उनका कविताले आफ्नो समयका छली राजनीति, बेइमान चरित्रमाथि कतै कडा प्रहार, कतै मारक र कतै मन्दमन्द सुस्वादु व्यङ्ग्य दाग्छन् ।’ समकालीन वर्तमान पुस्ताका बलशाली युवा कवि विनोदविक्रम केसीले पनि ‘कवि निभा जनवादी, जनका जीवनवादी र जनका मुक्तिवादी कवि भएकाले उनको काव्य साधनाको पर्यावरण सदा प्रतिरोधी रह्यो’ भन्ने मत जाहेर गरेका छन् ।

मानिसले सृष्टिदेखि नै प्रकृतिसँग संघर्ष गर्दै सकारात्मक सहकार्य गरिरहेको छ । आफ्ना भौतिक आवश्यकता र ऐतिहासिक विकास प्रत्रक्रियामा मानिसले सौन्दर्यको परख र समाजशास्त्रीय दर्शनका आधारमा वर्गीय सौन्दर्यको बोध गरिरहेको छ । प्रगतिचेतना भनेको प्रगतिशील सोच अथवा मार्क्सवादी सौन्दर्य दृष्टिका आधारमा गरिने अनुचिन्तन नै हो । त्यसकारण कवितामा होस् वा साहित्यका कुनै पनि बिधामा मार्क्सवादी साहित्य सौन्दर्यको आधारभूत सैद्धान्तिक धार आवश्यक हुन जान्छ । 

साहित्यका अनेक विधागत प्रयोगहरूमा अन्तर्वस्तु र रूपको खँदिलो द्वन्द्वात्मक एकता देखिनुपर्छ । कवितामा त झन् रचनाको अन्तरवस्तुले सामाजिक मनोविज्ञानमा पार्न सक्ने गम्भीर प्रभावप्रति ध्यानदिनु पर्छ । कुनै पनि विषयको सौन्दर्य भनेको उसको आन्तरिक गुण हो । आन्तरिक गुणले बाह्य रूप, आकृति वा आवरणको सौन्दर्यमा निखार ल्याउँछ । यति मात्र पनि प्रगतिशीलताको खास परिभाषा होइन । मूलतः अन्तरवस्तु र रूपको संघटनाका पक्षहरू अविभाज्य हुन्छन् । यिनै यथार्थको समायोजन तथा कलात्मक अभिव्यक्तिको ठोस आधारमा मार्क्सवादी साहित्य सौन्दर्यको पहिचान हुन्छ र प्रगतिशील कविता रचनाको मूल धर्म पनि यही हो ।

कवि विमल निभा यही आस्था, धरातल, दर्शन र बिम्बविधानका सशक्त प्रयोगधर्मी कवि हुन् । उनका कविताले सामाजिक विषमताका अनेक धुरीहरूमा काव्यात्मक बज्र प्रहार गरेका छन् । आमूल परिवर्तन र समतामूलक राज्य प्रणालीका खातिर भएको समकालीन विद्रूप आतंकबाट प्रताडित तथा प्रत्युत्पादक बलिदानी खर्चेर निरपेक्ष बाँचिरहेको समयको आलो घाउप्रति कवि यसरी संवेदित हुन्छन् र वर्तमान समयमा प्रकट भएको अकर्मण्य भाष्यप्रति मिहिन र शालीन व्यङ्ग्य कस्छन् ।

अहिले अयोग्य

सिपाहीकी स्वास्नीका

आँखामा आँसु किन ?

देखेनौ, सँगसँगै

भोकले रोइरहेका

बच्चाहरू पनि

अयोग्य सिपाहीका

छोराछोरीहरू ?

(अयोग्य सिपाही)

‘मेरो कवितालाई थाहा छ, म जमिनको कतातिर उभिएको छु’ भन्दै आफ्नो रचनाधर्मिताको स्पष्टधार किटान गरेका कवि निभा कविताको सैद्धान्तिक अवधारणाका बारेमा भन्छन्, ‘कविता कुनै अलौकिक अथवा इन्द्रजालिक वस्तु होइन । यो कविको सामाजिक कर्मको कलात्मक दस्ताबेज हो ।’ उनको काव्यांशमा पनि इतिहासका इन्कलाव र तत्कालीन परिवेशका अनेक कथ्यहरू काव्यिक दस्ताबेज बनेर टड्कारोसँग उभिएका छन् । 

म गर्भवती 

भएको दिनमै

तिमी भएका थियौ

गिरफ्तार

र तिमी थियौ

राज्यको घोषित बैरी

समर्पित योद्धा, न्यायको

पक्षमा अडिग, एउटा

लडाइँ थियो खुलमखुला

विख्यात जर्मन कवि तथा नाटककार बर्तोल्त ब्रेख्तको ‘अँध्यारोमा पनि गाइएलान कि गीतहरू, हो अँध्यारोमा पनि गाइने छन् गीतहरू, अँध्यारोकै बारेमा’ जस्तै उनका कविताले पनि न्याय, समानता र भ्रातृत्वका लागि सहज प्रतीक र धारिलो बिम्बहरूको कुशल समायोजन गरेर उज्यालो प्राप्तिको उद्देश्य बनाएका छन् । तीसको अँध्यारो दशकमा नै धारिला विचारका धनी कविका रूपमा स्थापित कवि विमल निभाका कविताहरू सरल कविको जब्बर प्रतिरोधी लय हुन् । 

नेपाली कविता परम्परामा गोपालप्रसाद रिमालपछिको प्रगतिशील चेतना र मार्क्सवादी सौन्दर्य शास्त्रीय चिन्तनमा उनको कविताले उच्च परिपाक पाएको अनुभव हुन्छ । कविताको फर्मेटिक शास्त्रीय सीमा भत्काउँदै अमूर्तकलामा चित्रमय प्रस्तुतिजस्तै उनको कविताले रचना निर्माणमा गहिरो सामाजिक मनोविज्ञान र बिम्बात्मक कौशल कलाको बोध गराउँछ । कविताको लाक्षणिक भावमा प्रतिबिम्बनको ज्ञानमीमांसीय सिद्धान्त अनुसार पनि उनका कविताहरू सबै उच्चकोटीका छन् भन्दा अतिरञ्जित नठहर्ला ।

समाज र विविध घटना–परिघटना आदिभित्र मिहिन ढङ्गले पसेर विचार र कलाको सुगठित एवम् सरल प्रस्तुति उनको काव्यिक सामर्थ्य हो । कवि निभाका सम्पूर्ण कविताहरू काव्यिक रसवादका दृष्टिले अत्यन्त व्यङ्गविनोदी र गवेषणात्मकताका दृष्टिले भुसको आगोजस्ता लाग्छन् । ‘सत्र भोका काग’ नामको उनको नवनीत कवितासङ्ग्रहका कविताहरूले देश र समाजको आवाज मात्रै बोलेको छैन, पर्याप्त मात्रामा द्वन्द्व, निरंकुशता र स्वेच्छाचारिताविरुद्ध तुमुलध्वनिबीच मुक्तिको विगुल पनि फुकेको अनुभूति हुन्छ ।

समकालीन समयका समकालीनता मुखर कवि निभाका कविताहरूले समयको अन्तर्विरोधलाई सही ढङ्गले ठम्याउँदै पृथक् मार्ग अवलम्वन गरेको छ । कतिपय प्रगतिशील नेपाली कवितामा भाव, विचार, लय र स्वरका दृष्टिले उस्तै–उस्तै लाग्ने गरेको सन्दर्भमा, विमल निभाको कविता बिना नाम कहींकतै पढियो भने, उनकै हो भनेर ठम्याउन सकिन्छ । यो उनको मौलिक काव्यकला हो । त्यसैले उनको कवितामा रचनाको कलात्मक अभिव्यञ्जनाभित्र अत्यन्त तीव्रभावको मधुर आक्रोश पनि पाइन्छ । 

कवितालाई कुनै इन्द्रजालिक वस्तुजस्तो अमूर्त कला नमान्ने कविको कतिपय रचनामा भावको सम्प्रेषणीय प्रवाहमा शिल्पगत दृष्टिले काव्यिक 

गेयता भङ्ग भएको अनुभव हुनु अस्वाभाविक पनि ठहर्दैन । तथापि प्रस्तुत सङ्ग्रहका अधिकांश कविताहरूले शिल्पको आफ्नै पद्धति बनाउँदै नेपाली कविता जगत्मा फरक र मौलिक चरित्र प्रस्तुत गरेका छन् । 

कतिपय छोटा, मझौला र एउटा लामो कविता समावेश भएको ‘सत्र भोका काग’ कवितासङ्ग्रहको किताब वैचारिक वैशिष्ट्यता वहन गरेकाले आफैंमा एक दस्ताबेज पनि हो । ‘एउटा प्रेम कविता’ शीर्षकको कविताले नेपाली वाम आन्दोलनको उद्भव र जरोकिलो खोतलेको दस्ताबेजजस्तो अनुभव पनि हुन्छ ।

स्वभावतः प्रेम अर्थात्

असमान दुनियाँलाई फेर्न

लाल विचारधारासँगसँगै

अघि बढ्यौ कवि तिमी 

स्वभावतः कविताले वैचारिक र शिल्पगत नवीनताको आग्रह राखेको हुन्छ । सामाजिक मूल्य–मान्यता, विचार–दर्शन र समाज–संस्कृति आदिमा स्वतन्त्र र नवीन दृष्टिकोणको निर्माण तथा रूढ परम्पराको विरुद्ध कविता निर्मम प्रहारको मन्दअस्त्र पनि हो । कवि विमलको यही मन्द हस्तक्षेप मुखर कविताको चोटले यथास्थितिवादी तथा कुटिल रूपमा जनतामाथि छल गरिरहेको समयका पाखण्डहरू मर्माहत पनि हुन्छन् ।

नेपाली समाज र राजनीतिमा मात्र होइन सिर्जनात्मक भनिएको पाखण्ड–मण्डलमा समेत उनले चोटिलो प्रहार गरेका छन्– 

आखिरीमा हल्ला के

चल्न थाल्यो भने

भ्रष्टाचारीको विशेष

आत्मकथात्मक पुस्तक हुनेछ

बेस्टसेलर

रेडपाण्डा बुक्स प्रकाशन गृहले प्रकाशन गरेको ‘सत्र भोका काग’ सुललित व्यङ्ग्यविनोदी र धारिलो वैचारिक स्पष्टताले खारिएको किताब हो । विश्वमा भइरहेको मानवताविरोधी हिंसा र हत्याका अनेक शृङ्खलाहरूप्रति कटाक्षपूर्ण भावमा उनको अन्तिम कविताको अन्तिम पंक्ति यसरी प्रतिरोध गर्छ— 

म आफ्नो मृत्युको

यो सिलसिला

जरुर रोक्नेछु अब नेपालमा ।

रेशम विरही

Link copied successfully