उनको डिभोर्स शान्त रूपले सम्पन्न भयो– बिनासंवाद, बिनाविवाद, बिनाबखेडा । श्रीमान्सँगै बसेर थप मानसिक पीडाको सिकार बन्नु नपरेकामा उनी खुसी छिन् ।
काठमाडौँ — नोभेम्बर अन्त्यतिरको फुस्रो दिन । घाम डुब्नै लागेको थियो । यो समय रूखबिरुवा पनि पात झरेर उराठलाग्दो देखिन्छन् । चिसोले सिरेटोको गति बढाएकै थियो । म घर फर्किन बिसौनीमा बस कुरिरहेको थिएँ । मौसमको ख्याल नगर्दा पातलो ज्याकेटले धान्न नसकेर शरीर चिसोले लगलग काँपेजस्तै थियो ।
विद्युतीय तालिका अनुसार, म चढ्नुपर्ने बस पाँच मिनेटमा आइपुग्ने सूचना आइरहेको थियो । यत्तिकैमा अस्टिनको न्यानोमा बस्ने मेरा एक घनिष्ट मित्रले फोन गरे, ‘यार, मसँगै हाइस्कुल पढेको एक साथी छन् यहाँ । सायद तिमी उसलाई चिन्दैनौ । उनी पनि यतैको एक सहरमा बस्छन् । त्यहाँबाट करिब २५/३० माइल टाढाको एक कलेजमा अध्यापन गर्छन् । यो कुरा अलिक नमिठो लाग्न सक्छ । अरू कसैको अनुपस्थितिमा कुरा काटेजस्तो पनि लाग्न सक्छ ।’
मित्रले कलेजमा अध्यापन गर्ने साथीको जीवन कहानीको एउटा प्रसंग सुनाए, जुन ताजा रहेछ । केहीबेर रोकिएर मित्रले फेरि लामो सास फेरे अनि पृष्ठभूमिसहित घटनाको बेलिबिस्तार लगाए, ‘कुरा एकदमै सामान्य हो, तर मैले बुझ्न सकिरहेको छैन किन त्यसले मेरो दिमागलाई अहिलेसम्म पनि घुमाइरहेको छ । कलेजमा अध्यापन गराउने साथीले अमेरिकाकै एक विश्वविद्यालयबाट सञ्चार र भाषाशास्त्रमा विद्यावारिधि गरेका छन् ।
आफ्नो विषयको अब्बल सहायक प्राध्यापक हुन् । सामाजिक सञ्जालमा उनले गरेका पोस्टहरू हेर्दा मात्रै पनि उनी अलिक परिधिभन्दा बाहिर रहेर सोच्न सक्ने खालका मानिस हुन् भन्ने महसुस हुन्छ । तिमी र म जस्तो उनी पिएर मात्तिँदैनन् । हामीले जस्तो हँसिमजाक शैलीमा ठट्टा पनि गर्दैनन् । उनका कुरामा बकाइदा स्पष्टता हुन्छ । तर, आफ्नै जीवनमा उनले खेपेका र भोगेका कुरालाई लिएर असहज भइरहेको छ ।’
म मित्रले अर्को मित्रबारे सुनाएका विषयमा घोत्लिइरहेको थिएँ । म वास्तवमै चिन्तित थिएँ । साथीको कथाले धेरै वर्षअघि ‘दि वासिङ्टन पोस्ट’ पत्रिकामा छापिएको उस्तै प्रकृतिको एउटा सोधमूलक आलेख याद दिलायो । त्यस रिपोर्टिङमा एक महिलाले आफ्नो पतिबाट पाएको मानसिक यातनाको भयानक वर्णन थियो ।
रिपोर्टिङका अनुसार, पतिले पत्नीमाथि हात उठाउने, चिच्याउने, भाँडा फुटाल्ने जस्ता असभ्य व्यवहार कहिल्यै देखाएनन् । कहिल्यै केही कुरामा विमति पनि राखेनन् । उनका कमजोरीका बारेमा अरूसँग कहिल्यै कुरा काटेनन् । घरभित्र र बाहिरका सबै काममा सधैं साथ दिए । तर, समय बित्दै जाँदा एकदमै सानो कुराबाट पति–पत्नीबीच बेमेल हुन थाल्यो । उनले पत्नीलाई यति मसिना कुराबाट मानसिक यातना दिए कि उनलाई त्योभन्दा बढी पीडा सायद सौता हाल्दा पनि हुन्थेन रे ।
पत्रिकाले पत्नीको भनाइलाई यसरी छापेको थियो, ‘मैले सधैं राखिदिने गरेको उहाँको चस्मा कसैले थाहा नपाउने गरी आफैं अर्कै ठाउँमा राख्नुहुन्थ्यो । अनि अर्को दिन बिहान कार्यालय जाने समयमा भन्नुहुन्थ्यो– स्विट हार्ट, मेरो चस्मा आज कसले माथिको सेल्फमा राखिदिएछ ? मलाई थाहा छ, तिमी त्यसो गर्दिनौ । तिमी र मबाहेक यहाँ अरू कोही पनि छैन । सायद मैले पो राखेछु कि क्या हो ? तर, मलाई मैले चस्मा त्यसरी माथिल्लो सेल्फमा राखेको सम्झना समेत छैन ।
मैले पकाइसकेको मासुमा म भान्सामा नभएको मौका छोपेर उहाँ अलिक बढी नुन हाल्नु हुन्थ्यो । अनि खाना खाने समयमा भन्नुहुन्थ्यो– तिमीलाई सुप अलि चर्को हो कि जस्तो लागेन ? मैले त पिउनै सकिनँ । एक दिन उहाँ चुरोट सेवन गर्न घर पछाडिको बगैंचामा जानुभयो । म हतार–हतार माथि बेडरुममा गएँ र झ्यालछेउ लुकेर उहाँका क्रियाकलाप नियाल्नतिर लागें । सबैतिर आँखा डुलाएर कसैले देखेको छैन भन्ने कुरामा ढुक्क भएपछि उहाँले बगैंचामा फुलेका गुलाबका केही सुन्दर फूल टिप्नुभयो र विस्तारै जमिनमा खसाल्नुभयो ।
त्यसपछि आफूलाई मनपर्ने गीत गुन्गुनाउँदै चुरोटको ठुटो निभाउनु भयो र घरभित्र छिर्नुभयो । केही समयपछि चिया बनाएर मलाई डाक्नुभयो– प्यारी, मैले चिया बनाएको छु, आऊ सँगै पिउँ । हामीले सँगै बैठक कोठामा बसेर चिया पियौं । त्यसपछि उहाँ ढोका खुलै छोडेर घर पछाडि निस्कनुभयो । केही मिनेटपछि मेरो ध्यान खिच्दै भन्नुभयो– स्विटहार्ट, यति सुन्दर फूलहरू कसले टिपेर भुइँमा झारे होला ? अहिले त्यो क्षण सम्झँदा म रुन मात्रै सक्दिनँ । उहाँले मलाई कहिल्यै कुनै कुरामा प्रत्यक्ष दोष लगाउनुभएन, तर सबै दोष अप्रत्यक्ष रूपमा मलाई नै लगाउनुभयो ।’
पति–पत्नीका बेमेलबारे पत्रिकामा अझै थपिएको थियो, ‘फूल टिपेर जमिनमा झारेको घटना पछि पनि थुप्रै यस्ता घटनाक्रम थपिए, जसलाई मैले आफ्नै आँखाले देखें । सहने शक्तिले पनि विस्तारै सीमा नाघ्दै गयो । एक दिन उहाँ कार्यालयबाट फर्कनुअघि ममा परिपक्वता र साहस दुवै एकसाथ आएको अनुभूति भयो । तिनैमा टेकेर मैले घर छोड्ने निर्णय लिएँ । झोला बोकेर म माइत पुगें, जहाँ आमा हुनुहुन्थ्यो । तर, माइत गएको दुई सातासम्म पनि उहाँ (पति) ले मेरो सोधखोज गर्नु भएन ।
एक पटक पनि फोन गर्नु भएन । मलाई मनाउन ससुराली आउनु भएन । त्यसपछि मैले त्यहींबाट छोडपत्रको कागज पठाएँ । सायद उहाँ त्यही चाहनुहुन्थ्यो । आफ्नो गल्ती स्विकार्नुभएन, क्षमा माग्नु भएन । हाम्रो पारपाचुके पनि बिनासंवाद, बिनाविवाद, बिनाबखेडा सम्पन्न भयो । उहाँले सबै सम्पत्ति बडो इमानदारिताका साथ दुई भाग लगाउनुभयो र मलाई रोज्न दिनुभयो ।
मैले केही प्रतिवाद गर्ने ठाउँ देखिनँ । उहाँसँग बसेर थप मानसिक पीडाको सिकार बन्न नपरेकोमा म खुसी छु अहिले । तर, एउटा विषयले भने सधैं मेरो दिमाग खाइरहन्छ– आखिर मउपर उहाँले त्यो सब किन गर्नुभयो ? माइत आएको केही दिनपछि मैले शंका गर्न थालेकी थिएँ कि, मबाट मुक्त भएपछि उहाँले कुनै मन परेकी युवती बिहे गर्नु हुनेछ, तर त्यसो पनि गर्नु भएन । उहाँ आजसम्म पनि एक्लै हुनुहुन्छ ।’
मेरा मित्रले फोनमा सुनाए अनुसार, कलेज अध्यापन गर्ने उनका साथीले पनि ठिक त्यही व्यवहार गरेछन्– आफ्नी पत्नीमाथि, जुन कथा ‘वासिङ्टन पोस्ट’ मा छापिएको थियो । यी सबै कुरा सुनेपछि मेरो मथिङ्गलमा हलचल भइरह्यो । हाम्रो समाजको सम्बन्धका तार कसरी सञ्चालित छन् ? परिवारको बेमेलले समाज कसरी विखण्डित हुँदै छ ? यो समाधान गर्ने उपाय के हुन् ? के मानिसले आफैंलाई हानि गर्ने क्रोध, लोभ र अहंकार घटाउन सक्तैन ?
यी प्रश्नको जवाफ आफैंसँग खोजिरहेको छ ।
