अन्टार्कटिकाको हिउँको सेताम्मे संसार हजुरआमाले सुनाउने रहस्यमय कथाजस्तै थियो, जहाँ पुग्नुको रोमाञ्चकता शब्दमा वर्णन गर्न कठिन हुन्छ
काठमाडौँ — पेसा–व्यवसायकै कारण मैले विगत २५ वर्षका दौरान ६०—६५ देश घुम्ने अवसर पाएँ । ती देशको भूगोल–संस्कृति नजिकैबाट नियाल्न पाउनु एक अनुपम सौभाग्य हो । प्रकृति साँच्चै विचित्रको रहेछ, जहाँ करोडौं प्राणी र वनस्पतिको पर्यावरण चक्र छ । यो यात्रा थालनी गर्नुअघि मैले ५ वटा महादेशको यात्रा गरिसकेको थिएँ । र, अब यात्रा गर्न बाँकी दुई महादेश थिए– दक्षिण अमेरिका र अन्टार्कटिका । यसपाला यी दुवै महादेश पुग्ने अवसर मिल्यो ।
मेरा एक नर्वेजियन साथीले २० वर्षअघि नै अन्टार्कटिका भ्रमण गरेर नेपाल आएका थिए र त्यहाँको रहस्यमय सौन्दर्यको बयान गर्दा अचम्मित भएको थिएँ । मनमनै एकदिन समयले साथ दियो भने पक्कै त्यस्तो अनौठो ठाउँ जाउँला भन्ने सोचेको थिएँ । पेन्गुइनको घर, हिउँले ढाकिएको पर्यावरण चर्चाले मलाई ‘एकपल्ट पुग्नुपर्छ’ भन्ने लागिरहेकै थियो ।
त्यो ड्रेक प्यासेज
अन्टार्कटिका, जो संसारकै सबैभन्दा जोखिमयुक्त समुद्रिक यात्रा हो । अन्टार्कटिका जान पहिले अर्जेन्टिनाको भिसा लिनुपर्छ, त्यसपछि त्यहाँको राजधानी ब्युनोर्स आयर्स पुग्नुपर्छ र त्यहाँबाट ४ घण्टाको अर्को फ्लाइटमा पृथ्वीकै दक्षिणी गोलार्द्धमा रहेको मानव बस्तीसहितको उसाया सहर पुग्नुपर्छ ।
हामी उसायाबाट क्रुज चढ्यौं । लगभग ७ घण्टापछि अन्टार्कटिकाको सीमा क्षेत्रको पानी सुरु भयो । अब सुरु हुन्छ त्यो सबैभन्दा खतरनाक सामुद्रिक बाटो ड्रेक प्यासेज ! त्यो संसारकै अति कठिन अनि खतरनाक समुद्री बाटो हो । यो स्थानमा एकातिरबाट एटलान्टिक महासागर, अर्कोतिरबाट प्यासिफिक महासागर र अन्टार्टिक महासागर जोडिएको छ ।
एटलान्टिक र प्यासिफिक महासागरको पानी तातो र नुनिलो छ । अन्टार्कटिकाको अत्यधिक चिसो पानी एकआपसमा मिसिँदा करोडौं गुना शक्तिको प्रेसर पर्दोरहेछ, त्यसबाट अति ठूल्ठूला छाल बन्दारहेछन् । अन्टार्कटिका पुग्न यो खतरनाक ड्रेक प्यासेजको बाटो झन्डै ४८ घण्टाजति हिँड्नुपर्छ क्रुजमा । २० औं शताब्दीसम्म आउँदा ठूलो संख्यामा जहाज यहाँ डुबेर मानिसको निधन भएको तथ्यांकले बताउँछ ।
मानिसले अन्टार्कटिका जान कम रुचि देखाउनुको कारण यो खतरनाक बाटो नै हो । यात्रामा मानिसलाई पनि ‘सि–सिक’ हुन्छ भनेर औषधि खानुपर्छ । लगभग ४—५ सय मानिस बसेको १० तल्ले क्रुज मज्जाले हल्लिन थाल्छ । हावाको वेग २ सयदेखि ३ सय किलोमिटर प्रति घण्टाको स्पिडमा हुन्छ । वर्षा पनि हिउँका रूपमा बर्सिरहेको हुन्छ । मानिसलाई बान्ता हुने, चक्कर लाग्ने, निद्रा लाग्ने, दुविधा हुन हुन सक्छ । कतिपयले अल्कोहल सेवन गर्छन् ।
म एउटा काम गर्न उठिरहेको हुन्छु, तर तुरुन्तै बिर्सने र शून्यतामा पुगेजस्तो हुन्छ । ४८ घण्टासम्म केही खान मन नलाग्ने हुन्छ । त्यसअगाडि पुगेपछि आफूले परिकल्पना गरेको–देखेको सपनाको संसार छ । तर, त्यहाँ पुग्न बडो चुनौती मोल्नुपर्छ । त्यसपछि सेताम्ये हिउँ, नीलो कलरका आइसवर्ग, ग्लासियर देख्दा स्वर्ग पुगेजस्तो लाग्छ । पुराणमा हामीले स्वर्गको वर्णन जसरी सुनेका थियौं, त्यो यहाँ रहेछ भनेजस्तो लाग्छ ।
मानिसले अतिक्रमण गर्न नसकेको ठाउँ अन्टार्कटिका हो । यहाँ ९८ प्रतिशत भाग हिउँले ढाकिएको छ । २ प्रतिशत इलाकामा मात्रै ढुंगा, माटो वा त्यसमध्ये पनि केही ठाउँमा बिरुवासमेत छन् । संसारको ६०–९० प्रतिशतसम्मको स्वच्छ पानीको स्रोत अन्टार्कटिकामा छ । अन्टार्कटिका हिउँले बनेको एक सुक्खा मरुभूमि हो र पाँचौं ठूलो महादेश पनि । यहाँ गर्मी मौसममा रात पर्दैन र जाडोमा दिन हुँदैन, माइनस ८९ डिग्रीसम्म तापक्रम चिसो हुन्छ । यसको क्षेत्रफल १ करोड ४२ लाख वर्ग किलोमिटर छ ।
दोस्रो विश्वयुद्धपछि अन्टार्कटिकामा संसारका धनाढ्य देशले आफ्नो झन्डा गाड्ने लहर चल्यो । ती यहाँ आफ्नो सार्वभौमिकता स्थापित गर्ने अभियानमा थिए । यो प्रतिस्पर्धा दौरान सन् १९५९ मा आएर एउटा सन्धि भयो । अन्टार्कटिकामा त्यतिबेला झन्डा गाडेका १२ देश (अर्जेन्टिना, अस्ट्रेलिया, बेल्जियम, चिली, फ्रान्स, जापान, न्युजिल्यान्ड, नर्वे, दक्षिण अफ्रिका, सोभियत युनियन, बेलायत र अमेरिका) बीच यो सन्धि भएको थियो । सन्धिअनुसार, यस महादेश स्वतन्त्र रहनेछ र जसले झन्डा गाडे पनि कसैको भूभाग हुनेछैन । शान्तिपूर्ण प्रयोजनका लागि मात्रै प्रयोग गर्न पाइन्छ, कुनै सैन्य अखडा खोल्न वा हतियारको परीक्षण गर्न पाइँदैन ।
अन्टार्कटिकामा अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान गर्न र त्यसरी गरिएको अनुसन्धान निष्कर्ष सबै देशबीच साझा गर्न यो सन्धिले प्रेरित गर्छ, जसअनुसार सबै देशका वैज्ञानिकहरूलाई अन्टार्कटिकामा अनुसन्धान गर्ने स्वतन्त्रता छ । सन्धिले अन्टार्कटिकाको वातावरण संरक्षण गर्न जोड दिएको छ । यहाँको पवित्रतालाई सम्मान गर्नुपर्छ र पर्यावरण चक्र बिथोल्ने गतिविधि गर्न पाइँदैन ।
आज यहाँ लगभग ८० देशका अनुसन्धान केन्द्र छन् । तर, सबैले यहाँको पर्यावरणलाई सम्मान गरेका छन् । सन्धिको मर्मविपरीत चीनलगायत कतिपय देशले यहाँ ग्यास वा तेलको अनुसन्धान पनि थालेका थिए । माछा मार्ने काम पनि गरेका थिए । तर, अहिले तिनमा पनि रोक लागेको छ ।
अन्टार्कटिकामा करोडौं वर्षदेखिको हिउँ छ । अध्ययन भन्छ– यति धेरै हिउँ छ कि सबै हिउँ पग्लिने हो भने पृथ्वीमा समुद्रको सतह १४० फिट माथिसम्म आउन सक्छ । यहाँ जति जीव छन्, सबै मांसाहारी हुन् । पेन्गुइन, सिकल (माछा खाने चरा), सिल, ह्वेलजस्ता जीव पाइन्छन् । हामीले ह्वेल, सिल, पेन्गुइन र विभिन्न प्रकारका चरालाई नजिकबाट देख्न पायौं । बाँकी दुनियाँमा प्राणीहरू अलग तरिकाले बाँचिरहेका छन् र यहाँका प्राणीको पनि बेग्लै संसार छ । यहाँ माइनस ८९ डिग्री सेल्सियस तापक्रममा पनि पेन्गुइन डुलिरहेका हुन्छन् । त्यस्ता केही चराहरू पनि छन्, जो गर्मीमा अन्टार्कटिकामा बस्छन् र जाडो छल्न विश्वका अन्य महादेशको चक्कर लगाउँछन् ।
पेन्गुइनका अनेकौं अनौठो पनि देखियो । एउटा भालेले आफ्नो जीवनमा पोथी नमरेसम्म अर्को कोहीसँग पार्टनरसिप नगर्दो रहेछ । सिजनका बेला पोथीले अण्डा निकाल्ने गर्छ । यो प्रक्रियालाई ६५ देखि ७५ दिन लाग्दो रहेछ । ओथारा बसेर कोरल्ने ड्युटी भालेले गर्ने रहेछ । दुईमध्ये एकको मृत्यु हुँदा सिकार गर्नेको अभाव हुन्छ, बचेराहरू खानाको कमीले मर्छन् ।
समुद्री किनारमा रहेको क्रुजबाट मानिस दिनमा दुई पटक मात्रै बाहिर निस्कन पाउँछन् । जोडायिक नामका साना डुंगामा बसेर नजिकका आइल्यान्डको भ्रमण गरिन्छ– हावापानी नछिर्ने विशेष कपडा लगाएर एकदेखि डेढ घण्टासम्म विभिन्न डाँडामा डुल्ने अनि पेन्गुइन र सिल हेर्ने । यो भूमि निकै स्वच्छ र पवित्र छ । यहाँको हिउँमा बस्नसमेत पाइँदैन । सबैतिर सेताम्मे छ, लाग्छ– त्यो हिउँको तन्ना ओछ्याएको हो । त्यहाँ ठूलो आवाजमा बोल्न पाइँदैन ।
पेन्गुइनको लस्कर आइरहेको हुन्छ । पेन्गुइन आइरहेको छ भने बाटो छोड्नुपर्छ । पेन्गुइनबाट कम्तीमा १५ फिट टाढा बस्नुपर्छ भन्ने नियम छ । हामीले पोलार प्लंज भन्ने रमाइलो खेल खेल्यौं । हिउँको लेयर हटाएर माइनस १० डिग्रीको तापक्रममा डुबुल्की मार्ने यस खेललाई पोलार प्लंज भनिन्छ । प्रायः मानिस ८ देखि १० सेकेन्डभन्दा धेरै डुबुल्की मार्न सक्दैनन् । मैले ३३ सेकेन्ड डुबुल्की मारें, जो हाम्रो क्रुजकै रेकर्ड बन्यो । डुबुल्की मारिसकेपछि अनुभव भयो– यदि कुनै दुर्घटना भएर यो समुद्रमा परिने हो भने दुईदेखि तीन मिनेटभित्रै जमेरै मरिने रहेछ ।
...
अन्टार्कटिका घुम्दा हाम्रै देशका केही सुन्दर स्थान सम्झिए । सगरमाथा बेस क्याम्प यस्तै सुन्दर ठाउँमध्ये एक हो । तर, हामीले यसको पवित्रतालाई कत्तिको कायम राखेका छौं ? प्रश्न महत्त्वपूर्ण छ । बेस क्याम्पमा जम्मा भएको फोहोरले कतै हाम्रो राज्य व्यवस्थालाई गिज्याइरहेको त छैन ? रारा त्यस्तै भव्य सुन्दर स्थान हो, जहाँ थुप्रै सम्भावना छ । त्यहाँको पवित्रता कायम राखेर मात्रै पर्यटन व्यवसाय अघि बढाउनुपर्छ भन्ने लाग्छ । अन्टार्कटिका भ्रमणले त्यो सोच दियो ।
अन्टार्कटिका पुग्न निकै विलासी क्रुजहरू छन्, जहाँ ठूला सेमिनार हल पनि हुन्छन् । दिनैपिच्छे कुनै न कुनै रिसर्च सेन्टरको मान्छे आएर लेक्चर दिने गर्छन् । एक हिसाबले त्यो पढ्न गएजस्तो रहेछ । क्लास लिन कहिले भूगर्भविद्, कहिले चराविद् आएका हुन्छन् । फर्कंदा अन्टार्कटिकाबारे पर्याप्त जानकारी पाइन्छ । तर, यात्रा जोखिमपूर्ण छ अति खर्चिलो छ । एक जनाको खर्च कम्तीमा २५ देखि ३५ लाख हाराहारी हुन्छ । तर, त्यो यात्रा जीवनैभरि स्मरणीय रहन्छ ।
त्यो हिउँको सेताम्मे संसार हजुरआमाले सुनाउने रहस्यमय कथाजस्तै थियो, जहाँ पुग्नुको रोमाञ्चकता शब्दमा वर्णन गर्नु कठिन हुन्छ ।
