कविता : 'दासहरु'

पुस २७, २०८१

सुर्यमा राई

Poem: 'Slaves'
news-wrap-sec

मैले थुप्रै दास देखेको छु सदियौंदेखियुग निर्माणको प्रत्येक सोपानमा, एकथरी दास

इतिहासको कुनै कालखण्डमा 

छल र बलद्वारा बन्धक बनाइए ।

र, अनिच्छापूर्वक मालिकहरुको उन्नयनमा 

जीवन–आहुति दिन अभिशप्त भए ।

ती दासहरु,

जो साङ्लाले बाँधिएको कायालाई 

अनि किला ठोकिएको हृदयलाई 

एक अठोट, संघर्ष र बलिदानीपूर्ण शक्तिमा ढालेर

अविराम लडिरहे अस्तित्वको लडाइा 

मुक्ति, स्वतन्त्रता र परिवर्तनको जुधाइ ।

World Cup 2026
news-wrap-sec

स्विकारेनन् दासत्वलाई ! लडिरहे 

किञ्चित थाकेनन् तिनीहरु 

बाँच्नुपरेको पशुसमान आफ्नो नियति 

बदलेनन् तिनीहरुले भाग्य र कर्म मात्रै 

बरू बदलिदिए सिङ्गो युगको कथा र गाथा 

इतिहास र समाज ।

 

अर्काथरी दास

जो म देख्छु मेरै वरिपरि 

खुल्लमखुला बिक्रीमा राखेर स्वाभिमान

गोबरले छोपिराखेर चेतना 

पुँजीकरण गर्न आतुर आफ्नो अस्तित्व र योग्यता

लिलाममा राखेर मान र मूल्य

news-wrap-sec

जड्यौरीमा साटेर निष्ठा र पहिचान

स्विकारेर दासत्व 

किनिदिन्छन् प्रेमिकालाई आइफोन र इयर–रिङ।

छोराछोरीलाई आइप्याड, डेरिमिल्क र किट–क्याट ।

रित्तिएपछि इमान बेचेर भरिएको खल्ती 

अनि बिहानीजस्तो जवानी 

फुङ्ग उडेको एक उदास सााझ 

बेसुरले गाउँछन् गीत– 

’जिन्दगी दुईदिनको चोला हो

मरेपछि के होला, बाँचुन्जेललाई मेला हो ।’

 

मैले बाँचेको युग साक्षी छ

ती दास, जो इतिहास रच्नमा गर्व गर्छन् 

news-wrap-sec

यी दास, जो इतिहास बेच्नमा मख्ख पर्छन् ।

त्यसैले, म ती दासहरुलाई सम्मान गर्छु 

र, यी दासहरुलाई निन्दा गर्छु । 

सुर्यमा

Link copied successfully