गैंडा गणना गर्दागर्दै विनोद श्रेष्ठ भयावह क्षणको साक्षी बने, जंगली हात्ती ध्रुवेको आक्रमणमा परी गम्भीर घाइते भए, जीवनलाई नै प्रकृति संरक्षणमा होमेर जिउँदो सहिदमा दर्ज भए ।
काठमाडौँ — हालैको एक शनिबार म काठमाडौं गुर्जुधारास्थित विनोद श्रेष्ठको घरमा पुगेको थिएँ, साथै थिए– लेखक प्रवास गौतम । दुई महिला एक अधबैंसे पुरुषलाई झ्याइँकुटी पार्दै शयन कक्षबाट बैठक कोठातिर लैजाँदै थिए ।
यो आजको मात्रै दृश्य थिएन, दिलमाया श्रेष्ठ (६०) र सृष्टि श्रेष्ठ (३१) को दैनिकी थियो । त्यसरी झ्याइँकुटी पारेर बोकिएका मानिस थिए– विनोद श्रेष्ठ, राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षण अधिकृत । दिलमाया हुन्– विनोदकी आमा र सृष्टि श्रीमती ।
सृष्टिले विनोदलाई दुई काखीतिर उचालिन्, दिलमायाले दुई खुट्टाका घुँडामुन्तिर । र, दुवैले जुरुक्क उठाएर उनलाई शयन कक्षको बिछ्यौनाबाट बैठक कोठामा ल्याई सोफामा राखे । ‘अलि माथि’, ‘अलि तल’, ‘होइन त्यता,’ ‘टाउको अलि माथि’, ‘हात अलि यसो’ – विनोद यस्तै यस्तै भन्दै गए । र, सोही अनुसार सृष्टि–दिलमायाले उनको शरीर सोफामा मिलाउँदै गए । पाँच मिनेटको यो प्रयासपछि मात्रै उनले आफूलाई सजिलो भएको महसुस गरे । बल्ल विनोद हामीसँग कुरा गर्न तयार भए ।
विनोद श्रेष्ठ कोषका संरक्षण अधिकृत हुन् । उनी नेपालको प्रकृति संरक्षणमा जोडदार योगदान दिने सपना बोकेर यस क्षेत्रमा होमिएका होनहार युवा पनि हुन्, संरक्षणमा सक्रिय सहभागी भएका बखत जीवन–मरणको दोसाँधमा पुगेर फर्केका । तर, त्यो दोसाँधबाट उनी घाँटीमुनि नचल्ने शरीर लिएर फर्किए ।
उमेरले ४ दशक पनि नकटेका विनोदको कम्मरमुनिको भाग चल्दैन, न हातै चल्छ । केवल उनी बोल्छन् । खाना अरूले नै खुवाइदिनुपर्छ । दिसा–पिसाबका लागि अर्काकै सहारा चाहिन्छ । अझ पिसाबका लागि त स्थायी रूपमै पिसाब थैली झुन्डाइएको छ । उठ्न, पल्टन केही गर्न सक्दैनन् । यो अवस्थामा अब निको भइहाल्लान् भन्ने आशा पनि छैन ।
‘नेपालमा सम्भव भएसम्मको आधुनिक प्रविधिसहितको उपचार गरियो । तर पूरा निको भएन । धन्न यतिको भयो, अनुहार भए पनि हेर्न त पाइयो, बोली सुन्न त पाइएको छ,’ विनोदकी आमा दिलमाया भन्छिन्, ‘अब पूरा निको हुने कुनै छाँटकाँट छैन ।’ विनोदलाई यस अवस्थामा पुर्याएको हो– २०७७ सालको राष्ट्रिय गैंडा गणना कार्यक्रमले । यसको पृष्ठभूमितर्फ लागौं ।
संवत् २०७७ चैत २०, शुक्रबार । म राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव थिएँ । वन तथा वातावरण मन्त्रालय र सिंहदरबारस्थित सरकारी अड्डा गइरहनु मेरो दैनिकी थियो । त्यो दिन पनि म करिब २ बजेतिर लेखा प्रमुख विदुर पोखरेलसहित सिंहदरबारबाट कोषको केन्द्रीय कार्यालय खुमलटार फर्कंदै थिएँ ।
लगनखेलस्थित पाटन अस्पताल अगाडिमात्रै पुगेको थिएँ, आत्तिँदै कोषको जैविविधिता संरक्षण केन्द्र, चितवनका प्रमुख बाबुराम लामिछानेको फोन आएको थियो, ‘सर, बर्बाद भयो । विनोद चढेको हाम्रो हात्तीलाई ध्रुवे हात्तीले आक्रमण गर्दा विनोद लड्यो र घाइते भयो । सायद ढाड भाँच्चिएको हुन सक्छ । उद्धार गरी स्टेचरमा राखेर नवलपरासी, कावासोतीस्थित मध्यविन्दु अस्पताल लगिँदै छ ।’
मैले भनें, ‘ढिलो नगरी उद्धार गर्नुस् र त्यहाँ उपचार सम्भव हुन्न होला काठमाडौं ल्याउने प्रबन्ध गरौं ।’ बाबुरामको तारन्तार फोन आउन थाल्यो, ‘सर, मेरुदण्ड नै भाँच्चिए जस्तो छ । काठमाडौं लैजानुपर्ला जस्तो छ । नवलपरासीस्थित स्वास्थ्यकर्मी/प्राविधिकको सल्लाह त्यही छ ।’
विदुर र मैले तत्कालै एयरलिफ्ट गरेर विनोदलाई काठमाडौं ल्याउने सल्लाह गर्यौं । र, निजी क्षेत्र र नेपाली सेना दुवैको हेलिकोप्टर खोज्न थाल्यौं । नेपाली सेनाको हेलिकोप्टर मिल्यो । कोभिड–१९ को महामारीको मध्य थियो । अस्पताल जान–आउन पनि मुस्किल अनि त्रासको वातावरण थियो ।कोषको सिनियर व्यवस्थापनले विनोदलाई हयाम्स् अस्पतालम लैजाने निधो गर्यो । यो निर्णय गर्दागर्दै नेपाली सेनाको हेलिकोप्टर विनोदको उद्धार गर्न नवलपरासी, कावासोतीस्थित अस्पताल पुग्यो र उनलाई काठमाडौं, मण्डिकाटारस्थित ह्याम्स अस्पताल ल्याइयो ।
प्रधानमन्त्री थिए– केपी शर्मा ओली । ओलीको कार्यकालमा नेपालमा गैंडाको राष्ट्रिय गणना कार्यक्रम सम्पन्न भएको थियो । यसअघि माओवादी सशस्त्र द्वन्द्व र चोरी सिकारीका घटना व्यापक वृद्धि हुँदा गैंडाको संख्या घटेको थियो । यसबीच गैंडा संरक्षणमा सरकारले विशेष कार्यक्रम ल्याएको थियो । चोरी सिकारी नियन्त्रणमा कडाइ गरिएको थियो । त्यसैले सरकारले गैंडा गणनाको कार्यक्रम ल्याएको थियो । गैंडाको संख्यामा पनि उल्लेख्य प्रगति भयो ।
गैंडा गणना राष्ट्रिय कार्यक्रम चितवन राष्ट्रिय निकुञ्जबाट मिति २०७७ चैत ११ गते सुरु भएको थियो, जसको प्राविधिक संयोजन राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएको थियो । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेबाट गैंडा गणना औपचारिक रूपमा सरुवात भएको थियो । त्यसका लागि विभिन्न समूह बनेका थिए ।
त्यहीमध्ये एउटा टोलीमा सामेल थिए विनोद । गैंडा गणनाको काम चितवन राष्ट्रिय निकुञ्जको पूर्वी भागबाट सुरु भएको थियो । गणनामा झन्डै घरपालुवा ४० वटा हात्तीको प्रयोग गरिएको थियो । विनोद चढेको हात्ती थियो, सिताष्माकली । बिहानैदेखि गैंडा गणनाको काम हुन्थ्यो, २१/२२ दिनमा सक्ने योजना थियो ।
विनोद त्यो दिन सम्झिन्छन्, ‘त्यो गैंडा गणनाको ९ औं दिन थियो । टोलीले पार्कको पश्चिमतिर पर्ने टाइगर टप्समा पुगेर आराम गरेको थियो । बिहानै जिम्मेवारी पूरा गर्न जाँदा जंगली हात्ती ध्रुवेको ‘पव मार्क’ अर्थात् पाइला देखिएको थियो । गैंडा गणनाको काममा लाग्दा सय मिटर अगाडि ध्रुवे हात्ती रूखमा छेलिएर लुकेर बसेको रहेछ । बिहान ६ बजेको हुँदो हो, मैले टिमलाई खबर गरें, ध्रुवेले दुःख दिन सक्छ । ७/८ वटा हात्ती जम्मा पारेर ध्रुवेलाई पछि पारेर अगाडि बढियो । ध्रुवेसँग पटक–पटक ‘इन्काउन्टर’ भइरहेको छ । ध्रुवे बदमास र उद्दण्ड जंगली हात्ती थियो ।
म एउटा झाडीमा पुगें । ध्रुवे पुनः देखियो । सैनिक टोली हाम्रो पछिपछि नै थियो । ध्रुवे हात्तीले म चढेको हात्तीलाई पिछा गरिरहेको थियो । यसैबीच मैले श्रीमती सृष्टिलाई फोन पनि गरें– ध्रुवेले लखेटिरहेको छ, तर काम पनि सकिनै लागेको छ । खासमा ध्रुवेले सिताष्माकलीलाई लखेटिरहेको थियो । किनभने म चढेको हात्ती फिमेल थियो । झन्डै साढे १ बजेतिर ‘हात्तीले लखेट्यो, लखेट्यो धपाउनुस्’ भन्दा म कतिबेला लडेछु थाहै पाइनँ ।’
सिताष्माकली भाग्दा रूखमा ठोक्किएर विनोद भुइँमा बजारिएका थिए । हात्तीले लखेट्दा लडेका विनोदको होस खुल्दा उनी अस्पतालको शय्यामा ऐया–ऐया गरिरहेका थिए । उनले थाहा पाउँदा ६५ दिन बितिसकेको थियो । स्थान थियो, काठमाडौं मण्डिकाटारस्थित ह्याम्स अस्पताल ।
कैयौं पटक ध्रुवे हात्तीको आतंक नियन्त्रण गर्ने कार्यमा पनि विनोद खटिएका थिए । तर, त्यस्तो कुनै अप्रिय घटना व्यहोर्नुपरेको थिएन । जंगली जनावरको आक्रमणबाट कसरी जोगिने भन्ने उनलाई राम्रो ज्ञान थियो । तर, त्यो दिन कहालीलाग्दो र भयानक क्षण व्यहोर्नुपर्यो ।
ह्याम्स अस्पतालमा ७५ दिन उपचार भयो । ६५ दिन आईसीयूमा उपचार गर्नुपरेको थियो । भन्छन्, ‘जे लेखेको छ, त्यो भोग्नुपर्छ । म भोग्दै छु ।’ उनी गीता, रामायणजस्ता किताब पढेर दिन बिताउँछन् ।
...
ठीक भएर ठमठमी हिँडेर जन्मस्थान धादिङ, ज्वालामुखीस्थित द्वार्थोक जाने ठूलो सपना छ– विनोदको, जहाँ उनले प्रारम्भिक शिक्षा लिएका थिए । स्कुल ठूलोचौर र पिपलको रूखमुनि थियो । पिपल र वातावरणको घनिष्ठ सम्बन्ध छ भन्ने उनले त्यहीं सिकेका थिए । पछि काठमाडौं आएर अध्ययन गरेको विश्व निकेतन पनि बागमती किनारमै थियो ।
विश्व निकेतनको झ्यालबाट एक बूढा मान्छे दिनहुँ बागमती सफा गरिरहेको देख्थे विनोद । तर, बागमती झन् फोहोर हुँदै थियो । त्यही बागमतीले उनलाई विद्यालयदेखि नै वातावरण संरक्षणमा रुचि बढाइदिएको थियो । र, उनले वातावरण विषयमा उच्च शिक्षा हासिल गर्ने निधो गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर उत्तीर्ण गरे ।
०७० मा विनोदले राष्ट्रिय प्रकृति संरक्षण कोषमा आबद्ध भएर काम गर्ने अवसर प्राप्त गरे । उनले काम गरेको पहिलो ठाउँ बाँके राष्ट्रिय निकुञ्ज थियो । कोषतर्फबाट पार्क व्यवस्थापन खासगरी जैविक विविधता संरक्षण कार्यमा सहयोग गर्न उनलाई त्यहाँ खटाइएको थियो । साढे ३ वर्षमा उनको सरुवा कोषको बर्दिया संरक्षण कार्यक्रममा भएको थियो ।
एक वर्षपछि बर्दियाबाट उनको सरुवा चितवनस्थित कोषको जैविक विविधता संरक्षण केन्द्र, सौराहामा भएको थियो । चितवनमा उनको काम अनुसन्धान गर्नु र तालिम सञ्चालन गर्नु थियो । बाँकेमा छँदै विनोदले गरेका केही अनुसन्धानका काममा वन्यजन्तुको अवस्थाबारे अध्ययन एक हो । चितवन, बाँके या बर्दिया, जहाँ गए पनि संकटमा परेका वन्यजन्तुको उद्धारमा खटिनु विनोदको दैनिकी थियो ।
चितवनमै हुँदा २०७५ फागुन १३ मा काठमाडौं, गुर्जुधाराकै सृष्टि श्रेष्ठसँग विनोदको विवाह भयो । सृष्टिको आवगमनले उनमा उत्साह बढेको थियो ।समय–समयमा सरकारले पार्कमा वन्यजन्तुको अवस्था के छ ? कति संख्यामा वन्यजन्तु होलान् भनेर अद्यावधि गरिरहेको हुन्छ । कोषले स्थापनाकालदेखि नै यो कार्यमा सरकारलाई सघाउँदै आएको छ । २०७७ मा नेपालमा गैंडाको संख्या गन्ने हेतुले गैंडा गणना राष्ट्रिय कार्यक्रम नै घोषणा गरेको थियो, जसमा विनोद सक्रिय सदस्यका रूपमा खटिएका थिए । उनी गम्भीर दुर्घटनामा परे, तर ज्यान सग्लो राख्न सफल भएनन् ।
नेपालको चिनारी एकसिंगे गैंडा पनि हो । नेपालको एकसिंगे गैंडालाई नेपालको पहिचानसँग गाँसेर विश्वव्यापी पहिचान बनाउनुपर्छ भन्ने प्रधानमन्त्री ओलीको मान्यता छ । तिनै गैंडा गोठाला विनोद श्रेष्ठजस्ता संरक्षणका जिउँदा सहिदलाई हेर्ने राजकीय पद्धति स्थापना गर्न सकिएको खण्डमा संरक्षण विधामा सकारात्मक पाइला हुनेछ, जुन हुन सकेको छैन ।
विनोद श्रेष्ठको उपचारमा झन्डै डेढ करोड जति राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट खर्च भएको थियो । अहिलेसम्म पनि कोषका तर्फबाट आंशिक तलब–सुविधा दिने प्रबन्ध गरिएको छ । विनोदलाई हेरचाह गर्न अटुट सहयोगीको आवश्यकता पर्छ । एक सहयोगीको प्रबन्ध र विनोदका लागि एउटा अक्षय कोष बनाउने मेरो चाहना थियो । तर, त्यो चाहना पूरा हुन सकेको छैन ।
यस्तो अवस्थामा नेपाल सरकारका तर्फबाट पनि आर्थिक सहायता प्राप्त हुन सके विनोदलाई केही सहज अनि राहत हुने थियो । विनोदकी श्रीमती सृष्टिका अनुसार, अहिलेसम्म नेपाल सरकारका तर्फबाट विनोद र परिवारले कुनै सहयोग प्राप्त गरेको छैन । सृष्टि भन्छिन्, ‘सरकार र संरक्षण क्षेत्रमा कार्यरत संघसंस्थाले आर्थिक सहयोग गरेको खण्डमा विनोदको नाममा एउटा छुट्टै कोष खडा गरौं कि भन्ने सोच छ, जसकारण विनोदको बाँकी जीवन सहज बनाउन सकियोस् । तर, गर्न सकिएको छैन ।’
विनोदले पनि ‘अब मेरो जीवन यस्तै हो’ भन्ने बुझिसकेका छन् । आफूलाई आध्यात्मिक साधनामा लगाएका छन् । भन्छन्, ‘म पक्षाघातको उपचारको क्षेत्रमा भएको विकासक्रमबारे निरन्तर अपडेट छु । आशा छ– एक दिन म फेरि हिँड्न सक्ने हुनेछु । तर हिँड्न सके पनि, नसके पनि संरक्षणको उच्च अध्ययनलाई निरन्तता दिनेछु । र, पीएचडी गर्नेछु ।’
गैंडा गणना गर्दैगर्दा विनोद भयावह क्षणको साक्षी बने । जंगली हात्ती ध्रुवेले टोलीमाथि आक्रमण गर्दा गम्भीर घाइते भए । जीवनलाई नै संरक्षण कार्यमा लगाएर बलिदानी दिए र जिउँदो सहिदमा दर्ज भए । यो दुःखद घटनाले नेपालको जैविक विविधता संरक्षण गर्न जीवनसमेत जोखिममा पार्ने संरक्षणकर्मीको बलिदान उजागर गर्छ ।
(लेखक राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वसदस्य सचिव हुन् ।)
