मधेश–कांग्रेस सम्बन्ध सेतु

व्यापारको सिलसिलामा दरभंगा पुग्दा महेन्द्रनारायण निधिले गान्धीको भाषण सुन्ने मौका पाएका थिए, त्यसपछि उनी गान्धीबाट प्रभावित भए

मंसिर २९, २०८१

रामजी दाहाल

Madhesh-Congress relationship bridge

नेपालको प्रजातान्त्रिक आन्दोलनमा मधेशका मूर्धन्य व्यक्तिको उल्लेखनीय भूमिका छ । मधेशमा प्रजातन्त्रको कुरा गर्नासाथ महेन्द्रनारायण निधि, सरोजप्रसाद कोइराला, रुद्रप्रसाद गिरि, रामेश्वरप्रसाद सिंह, रामनारायण मिश्र, बोधप्रसाद उपाध्याय जस्ता हस्तीको नामको लस्कर आउँछ, जसले देशका लागि बिर्सन नसकिने गुन लगाएका छन् ।

तर, तिनका योगदानबारे ज्यादै कम लेखिएको छ । यी नाम इतिहासको पानामा मात्रै सीमित नहुन् र तिनका योगदानबारे भविष्यको पुस्तालाई पनि जानकारी होस् भन्ने हेतुले पत्रकार किशोर नेपालले महेन्द्रनारायण निधिबारे लामो अध्ययन, अनुसन्धानपछि ‘नेपालका निधि’ पुस्तक लेखेका छन् । कांग्रेस पार्टी स्थापनाका नायकमध्येका एक महानायक निधि मिथिला क्षेत्रमा प्रजातान्त्रिक आन्दोलनको जग बसाल्ने योद्धाबीच सर्वमान्य भएको पुस्तकमा लेखिएको छ । 

खासगरी कांग्रेसको राजनीतिमा चासो राख्ने नयाँ पुस्ताको मनमा प्रश्न उठ्न सक्छ, त्यसोभए महेन्द्रनारायणको पुर्ख्यौली विरासत नै राजनीति थियो त ? जनकपुरधामबाट १४ किलोमिटर दक्षिण–भारतीय सीमाछेउको नगराइन गाउँका प्रतिष्ठित समाजसेवी उनका पिता राजेश्वर निधि राजनीतिमा नभई नगराइनका जमिनदार थिए । जतिबेला शासकहरूले सरकारी असुली, कर संकलन, दण्ड जरिवाना जस्ता प्रशासकीय कामको जिम्मा जमिनदारहरूलाई नै लगाउँथे । त्यसैले शासकसँग जमिनदारले राम्रो सम्बन्ध राख्नैपर्ने बाध्यता थियो । लेखक नेपालले लेखेका छन्, ‘सम्भवत: त्यसैबाट प्रेरित भएर हुन सक्छ राजेश्वर निधिले आफ्नो माइला छोराको औपचारिक नाम राखे, महेन्द्रनारायण ।’ निधि जन्मनुभन्दा पौने दुई वर्षअघि राजा त्रिभुवनका जेठा छोरा महेन्द्रको जन्म भएको थियो । 

व्यापारको सिलसिलामा एक पटक दरभंगा पुग्ने क्रममा युवावस्थाका तिनै महेन्द्रनारायण निधिले गान्धीको भाषण सुन्ने मौका पाएका थिए । भाषण सुनेपछि निधिको व्यक्तित्व गान्धीबाट प्रभावित भएको थियो । त्यसपछि उनले गान्धी विचारधाराको थप अध्ययनसमेत गरे । आजीवन अहिंसात्मक आन्दोलनका पक्षपाती निधिलाई नेपालका गान्धीवादी नेताका रूपमा समेत चिनिन्छ । निधि २००३ सालको असारमा व्यापारको सिलसिलामा पटना पुगेका थिए । व्यापार र जमिनदारीका सिलसिलामा बीपी कोइरालाका पिता कृष्णप्रसादसँग निधिका पिता राजेश्वरको सम्पर्क थियो । बीपीसँगको सम्पर्कमा आएपछि निधि र डा. राममनोहर लोहियाबीच घनिष्ठता थप प्रगाढ भयो । निधिको जीवन–बाटो र लक्ष्य परिवर्तन गर्ने प्रस्थानबिन्दु बन्न पुग्यो, बीपी र डा. लोहियासँगको भेट । यसरी डा. लोहियाको प्रेरणाबाट निधि राजनीतिमा आकर्षित र उन्मुख भएका थिए । 

२००२ सालमा आफ्नै गाउँ नगराइनमा विद्यालय स्थापनाको स्वीकृति माग्न काठमाडौं आएका बेला सिंहदरबारबाट पुतलीसडकस्थित डेरा जाँदै गर्दा ‘हिँडडुलको नियम नजानेको’ भन्दै सिपाहीहरूको बेस्सरी कुटाइ खाँदादेखि नै महेन्द्रनारायणले शासकहरूबाट अपमानित हुनुपरेको अनुभव गरेका थिए । पटनामा बीपी र डा. लोहियासँगको भेटपछि उनको मनमा सेलाएको अपमानको आगो अचानक दन्कियो । त्यसपछि बीपी र डा. लोहियाले राजनीतिमा आउन गरेको आग्रह स्विकार्दै उनी राजनीतिमा हाम फालेका हुन् । 

महेन्द्रनारायणले मिथिलाको माटोमा कांग्रेसलाई स्थापित–परिचित गराउने काम मात्रै गरेनन्, देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था राणाले कसरी बिथोलेका छन् भन्ने यथार्थसँग स्थानीय जनतालाई परिचत गराउन गाउँगाउँमा अभियान पनि चलाए । त्यसक्रममा १ माघ, २००७ मा मुक्तिबाहिनीले नेपाली सेनाको ब्यारेक, मुख्य बजार र बडाहाकिम कार्यालय एकैसाथ आक्रमण गरेर कब्जामा लिएपछि निधि जनसरकारका प्रधानमन्त्री नियुक्त भए । ७ फागुन, २००७ को परिवर्तनपछि राजा त्रिभुवनले उनलाई सल्लाहकार सभा सदस्य नियुक्त गरे । २००८ सालमा उनकै अग्रसरतामा महोत्तरी जिल्ला कांग्रेस गठन भयो । पार्टीको नवौं महाधिवेशन १०–११ जेठ २००९ मा जनकपुरमा गराउन उनले गरेको आग्रहलाई बीपीले स्विकारे । जतिबेला मातृका–बीपीबीचको मतभेद थप बढेको थियो । मातृका खेमामा रहेका निधिले महाधिवेशनमा बीपीलाई साथ दिने सोच बनाएका थिए । त्यसैअनुसार उनले मातृकालाई पार्टीबाट निष्कासन गर्ने बीपीको निर्णयलाई बन्दसत्रमा औपचारिक प्रस्तावका रूपमा प्रस्तुत गरे । त्यसपछि नै मातृका कांग्रेसबाट निष्कासित भएका हुन् । 

२०१५ सालको पहिलो संसदीय निर्वाचनमा १०९ मध्ये ७४ सिटमा कांग्रेसले जितेको थियो । त्यसमा मधेशका ३५ मध्ये २४ सिट कांग्रेसले जितेको थियो । निधि क्षेत्र नं ४३ जनकपुरबाट निर्वाचित भएका थिए । मधेशमा निधिको परिपक्व संगठन कौशलबाट प्रभावित भएर बीपीले उनलाई उम्मेदवार बनाएका थिए । चुनावपछि उनी प्रतिनिधिसभाको उपसभामुख भए । जतिबेला संसद्का सभामुख कृष्णप्रसाद भट्टराई थिए । 

२०१७ सालमा विवाह पञ्चमीको मेला भर्न जनकपुर पुगेका राजा महेन्द्रको निम्तोमा निधि उनलाई भेट्न गए । महेन्द्रले निधिलाई आफ्नो पक्षमा तान्ने आशयले भनेछन्, ‘हामी दुवैको नाम पनि एउटै र काम पनि एउटै । हामी दुवै राजनीतिमार्फत जनताको सेवामा लागेका छौं । त्यसैले आउनुस् हामी मिलेर देशका लागि काम गरौं । हाम्रो नाम एउटै भएकाले तपाईं हामी मित लगाऔं ।’ महेन्द्रको प्रस्तावलाई निधिले सुनेको नसुन्यै गरी टारिदिए । किशोर नेपालले लेखेका छन्, ‘महेन्द्रलाई लागेको थियो अरू नेताजस्तै सत्ताको भोक लागेको होला । तर, निधिले त्यसलाई गलत सावित गरिदिए ।’ 

बीपीसँगको निकटताका कारण निधिको राजनीतिक व्यक्तित्व निखारिएको थियो । त्यही व्यक्तित्व देखेरै निधिलाई पञ्चायतमा तान्न महेन्द्रले बाँचुन्जेल प्रयास गरिरहे । १ पुस, २०१७ मा संसद् र सरकार दुवै विघटन गरेर पञ्चायती व्यवस्था सुरु गरेका राजा महेन्द्रले एक दिन पुन: निधिलाई फकाउने प्रयास गरे । राजदरबारबाट आएको एउटा घोडसवार रिसल्लाले पुतलीसडकस्थित निवासमा रहेका निधिलाई राजा महेन्द्रको एउटा पत्र थमाइदियो । पत्रमा राजाले ‘आफ्नो कदमको समर्थन गरेर मन्त्रिपरिषद्मा सहभागी हुन’ निधिलाई निम्तो दिएका थिए । प्रतिक्रियामा निधिले जवाफ लेखे, ‘त्यो सम्भव छैन, संसद् तुरुन्त पुन:स्थापित गर्नुपर्छ, संसदीय व्यवस्था खलल गर्नु हुँदैन ।’ पुस २२ मा दलहरूमाथि प्रतिबन्ध लगाएपछि निधि गृहनगर जनकपुरतिर लागे । तर, घर पुग्न नपाउँदै राजा महेन्द्रको आदेशमा प्रहरीले निधिलाई जनकपुर विमानस्थलबाटै पक्राउ गर्‍यो । उनले १० वर्ष जेल जीवन बिताए । उनी जेलमै रहँदा पिता राजेश्वरको निधन भयो । 

राजाको त्यो कदमपछि बीपी र उनका सहयोगीहरू सुन्दरीजल जेलमा नजरबन्दीमा रहे । नजरबन्दमुक्त भएपछि बीपीले नेपालमा प्रजातन्त्र पुन:स्थापनाका लागि हिंसात्मक आन्दोलनको विकल्प नभएको बताए । तर, विघटित संसद्का सभामुख भट्टराई र उपसभामुख निधिले त्यसमा असहमति जनाए । यसैबीच, स्वास्थ्य परीक्षण गराउन युरोप गएका बीपी स्वदेश फर्केपछि हतियार संकलनका लागि अर्थ संकलन अभियानमा जुटे । २८ जेठ, २०३० मा भएको विमान अपहरण त्यही प्रयोजनका लागि भएको थियो । त्यो काण्डमा निधिको सहमति थिएन । विभिन्न ठाउँमा भएका आक्रमणमा प्रजातन्त्रका पक्षपाती धेरै युवाको हत्या भयो । यसरी सशस्त्र संघर्षको अभियान असफल भएपछि बीपी निराश भए । भट्टराई र निधिले बीपीसँग हतियारबन्द संघर्ष त्यागेर देशभित्रैबाट अहिंसात्मक आन्दोलन थाल्न गरेको प्रस्ताव स्विकारेका थिए । २०४६ को आन्दोलनलाई शान्तिपूर्ण र अहिंसात्मक बनाउन कार्यवाहक सभापति भट्टराई र महामन्त्री निधिले नै रणनीति तयार पारेका थिए । 

महेन्द्रनारायण निधिसँग विद्यार्थी आन्दोलनमा जलेश्वर जेलमा लेखक किशोर नेपालको पहिलो भेट भएको थियो । त्यस अर्थमा लेखक नेपाल आफैं यी कतिपय घटनाका साक्षी हुन् । निधिबारे २० वटा विभिन्न शीर्षक १८४ पृष्ठको पुस्तकमा समेटिएका छन् । परिशिष्ट खण्डमा निधिको जीवनकालमा भएका कांग्रेस महाधिवेशन तथा निधिका केही महत्त्वपूर्ण विचार र तस्बिरसमेत समावेश छन् । भाषाविद् शरच्चन्द्र वस्तीले सम्पादन गरेको यो किताब रोचक बनेको छ । मधेश–कांग्रेस सम्बन्धका आयामहरू बुझ्न ‘नेपालका निधि’ महत्त्वपूर्ण सामग्री हुन सक्छ । 

रामजी

Link copied successfully