सहर निदाइरहेछ 

मंसिर २२, २०८१

खुपेन सुनुवार

The city is sleeping

चमेरो झैं उधोमुन्टो झुन्डिएको छ घाइते समय

साँघुरो गल्लीको आध्यारो कुनामा 

झोक्रिएको पुरानो ल्याम्पपोस्ट

खोजिरहेछ आफ्नै हराएको प्रतिबिम्ब 

कलिला निर्दोष सपनाहरु गर्भमा तुहिनु 

भोको पेटभित्र ढुङ्गा चपाएर पसिना पिउनु

शरीरका अङ्ग–अङ्ग तराजुमा तौलेर आफैंलाई बेच्नु 

यो बागमती किन उल्टो बगिरहेछ ?

सगरमाथाको उचाइ किन घटिरहेछ ? 

बुद्धको आँखामा उदासी किन छाइरहेछ ? 

किन आगो सर्प झैं नाचिरहेछ ?

कसलाई पोल्छ यो आगोले, 

मनलाई कि छालालाई ? 

चेतनाशून्य प्रलयको समाधिमाथि

भावनाको हत्या र उत्तेजनाको मृत्यु 

एउटा आध्यारो रात–

तानाशाही भएर उभिएको छ 

एउटा उधारो लास–

अस्पतालबाट आर्यघाट पुगेको छ 

एउटा निर्दोष बिहानी–

चिसो बगरको टुकुचामा चुपचाप निभेको छ 

गुहार–गुहारको चर्को आवाजले आकाश छुादा 

जााडले मातेको यो सहर भने 

किन लट्ठ निदाइरहेको छ न्यानो खाटमा !

खुपेन

Link copied successfully