म बूढो रे ? त्यत्रो ठूलो अमेरिकाको त्यति ठूलो लोकतन्त्रलाई असीवर्षे बूढा कति मजाले हाँक्दै छन् ! असीवर्षे जो बाइडेन र असी नै वर्षे डोनाल्ड ट्रम्पले क्या ! यति सानो नेपालको यति सानो लोकतन्त्र म असीवर्षे बूढाले हाँक्न किन नसक्नु ?
काठमाडौँ — जसको कथा यहाँ कहिँदै छ, जगत्को एक अजीवको जीव हो त्यो लोकमान । निज लोकमानले आफैंलाई छाम्दै मनमनै कुरो खेलायो- ‘उमेरको हिसाब जमाना हेरी हुन्छ । आजको जमानामा कति नै हो र असी वर्षको उमेर ? म त भन्छु- यहाँ पनि र जहाँ पनि, अहिले पनि र जहिले पनि उमेरले मान्छे किमार्थ बूढो हुँदैन ।
मान्छे बूढो हुन्छ कि त आकांक्षा मरेर कि सपना देख्न बिर्सेर । तर के लाग्छ, जगत्का मूर्खहरू कुराको भित्री चुरो मैले जसरी बुझ्दैनन् । त्यसैले त मलाई ताकेर ती धारे हात लाउँछन् । र, कर्कश बोलीमा ती बकबक गर्छन्— ‘तँ बूढो भइस् । पाखा लाग्, र तँ हाम्रो बाटो छाड् । यिनको कुरो सुन्दा मलाई झनक्क रिस उठेर आउँछ । हेर त, मलाई आजै तँ बाटो छाड् रे ! बाटो म यत्रो पनि छाड्दिनँ ।’
लोकदृष्टिमा हुनलाई लोकमान बूढै भयो, साँच्ची नै जर्जर बूढो । उसका आँखीभुइँ लगभग फुलिसके । उसका गाला चाउरिँदा छन् । उसका मुखमा सक्कली दाँत एउटै बाँकी छैन । उसको कुभिन्डे टाउकोमा केश कताकती एकाध मात्र छन् । उसका आँखा धमिलिँदै गएका छन् ।
उसको ढाड कुप्रिँदो छ । उसको स्वर लर्बरिन थालेको छ । उसको स्मृति–शुङ्खला खल्बलिँदो छ । तैपनि हठी लोकमानको जब्बर जिद्दी अतृप्त आकांक्षामा एकाग्र छ । लुब्ध आकांक्षाको त्यान्द्रोमा तुन्द्रुङ्ग झुन्डिएर ऊ भन्छ— ‘मलाई फेरि प्रधानमन्त्री हुनु छ । म बाटो यत्रो पनि छाड्दिनँ !’
एकबारको जुनीमा लोकमान एक पटक होइन, चचार पटक प्रधानमन्त्री भइसक्यो । प्रधानमन्त्रीको गद्दीको आस गर्दागर्दै कति तृषित आत्मा निराश भई गलेर सकिए । रोलमा उभिएका कति दुःखी जनहरू उभिँदाउभिँदै खिएर सकिए । पालो नपाउँदा कति कुरुवाहरू डाहाले जलेर सकिए । तर, लोकमानको रहर भने अझै पुगेको छैन । आफ्नै अनुभवले ऊ राम्ररी जान्दछ— सत्ताको उच्च पदमा त्यही तहको सोख हुन्छ, सान हुन्छ, मोज हुन्छ, मान हुन्छ र स्तुतिगान हुन्छ । यी पञ्चतत्त्वमा गाँठ्ठे, भयंकर नशा हुन्छ ।
सम्मोहक नशा, मादक नशा, कहिल्यै तृप्त नहुने नशा । विवेकको बध गर्ने नशा ! नशामा झुम्दै लोकमानले गम खायो— ‘कौडा हान्ने अखाडा नभए बाह्रमासे जुवाडेको हालत के हुन्छ ? घोडा नभए नित्य घोडचढीको दशा के हुन्छ ? अनि सत्ताको गद्दा नभए खली सत्तापारखीको मनोदशा के हुन्छ ?’ आफैंलाई छाम्दै लोकमान भित्रभित्रै रोयो— ‘कठैबरा म ! चित्तमा उखर्माउलो तुष्णा छ, नितम्बमुनि हाल सत्ताको गद्दा छैन । सत्ताको उच्च पदबिनाको यो जिन्दगी, खै के जिन्दगी !’
यसो घोरिएर मुक्का कसेर दाह्रा किट्दै बूढो लोकमानले संकल्प गर्यो— ‘फेरि एकबाजी प्रधानमन्त्री नभई म मर्दै–मर्दिनँ ! कुनै अहारिसेले भन्दैमा त्यसै छाड्छु म कत्रा ध्याउन्नले पाएको बाटो !’
लोकमानका कान मन नपर्ने मान्छेका मन नपर्ने स्वरले गाँज्न थाले । अहो ! स्वर कति धेरै र ती स्वर कति कर्कश ! सुन्दैमा मथिङ्गलमा झनक्क रिसको रन्को छुट्ने । मन नपर्ने एउटाको मन नपर्ने स्वरले भन्यो, ‘मरीजाने जुनी हो । मर्ने बेलाा कम्तीमा प्रधानमन्त्री बन्ने रहर त त्याग गर ।’
मन नपर्ने अर्को स्वरले भन्यो, ‘थाहा छ तिम्ले कतिको पालो मिच्यौ ? यही चाल हो भने बुझ, मर्ने बेलाँ तिम्रो सास जान सकस पर्छ ।’ अझ अर्को मन नपर्ने स्वरले भन्यो, ‘तिमी जर्जर बूढो भयौ । तिमीमा त्यो थोरै मात्र पनि थियो भने तिम्रो कल्पनाशीलता भुत्ते भो, तिम्रो सिर्जनशीलता शून्य भो । तिमीमा न एक थोपो दूरदृष्टि छ, न छ एक पित्को स्वप्नदृष्टि । तिमीमा न इमानको चेत बाँकी छ न लज्जाभाव नै बाँकी छ । तसर्थ कि तिमी बाटो छाड, कि तिमी लखेटिन्छौ ।’
यस्ता जुलुमै जङ चल्ने कुरा सुन्दा लोकमानका कन्पारा तातेर आए । र, धम्कीको भाषामा उसले मनमनै भन्यो, ‘म बूढो रे ? ए रात्तै ! जो पनि मैसँग डाहा गर्ने ? ए रात्तै !’ लोकमानले नाक निमोठ्यो, कन्सिरी कन्यायो, हाई काड्यो र पिच्च थुक्यो । ‘मलाई मात्रै भन्ने ?’ लोकमान सनक्क सन्क्यो ।
‘तेङ छिरिङ सगरमाथाको चुलीमा दसपल्ट चढिसक्यो । उल्लाई किन कोही ‘पुग्यो, चुलीमा तँ अब नचढ्’ भन्दैन ? फुटबले रोनाल्डो चालीस वर्ष पुग्न लाग्यो । उल्लाई किन कोही ‘पुग्यो, तँ अब फुटबल खेल्न छाड्’ भन्दैन ? राजेश हमालले साठी टेक्यो होला । उल्लाई किन कोही ‘पुग्यो, तँ अब अभिनय गर्न छाड्’ भन्दैन ? खालि मसँग मात्र त्यागको माग गर्ने ? यत्रो पनि त्यागस्याग ?’
न नपर्नेहरूका मन नपर्ने स्वर लोकमानका आजित कानमा गुन्जिन छाडेनन् । ‘बाटो छाड् ! त्याग गर् ! मर्दा सास जान सकस पर्ला ! भावी पुस्ताले पदलोलुप लम्पट भन्ला ! न बुद्धि छ, न दृष्टि छ, न चतुर्याइँ छ, न हैकमकारी सामर्थ्य छ । मर्ने बेलामा पदका लागि किन यो लाजमर्नु हत्ते ? किन यो जग हँसाइ ?’
कर्कश स्वरहरूको प्रहार लोकमानलाई असह्य भयो । यसो कुरा गर्यो, ‘बूढो’ भन्यो ! उसो कुरा गर्यो, ‘बूढो’ भन्यो ! जसो कुरा गरे पनि ‘बूढो’ भन्या छ, भन्या छ । लोकमानको ब्रह्माण्ड क्रोधाग्निले हुर्हुरी जल्न थाल्यो । साउतीको स्वरमा उसले आत्मालाप गर्यो- ‘म बूढो रे ? यिनका फुटेका आँखाले अमेरिका देख्दैनन् कि ? त्यत्रो ठूलो अमेरिकाको त्यति ठूलो लोकतन्त्र असीवर्षे बूढा कति मजाले हाँक्दै छन् ।
असीवर्षे जो बाइडेन र असी नै वर्षे डोनाल्ड ट्रम्पले क्या । अनि यति सानो नेपालको यति सानो लोकतन्त्र म असीवर्षे बूढाले हाँक्न किन नसक्नु ? यी डाहिलाहरूलाई म हाँकेर देखाइदिन्छु ।’ नाकका पोराबाट रिसको राग फाल्दै लोकमानले चुरोट सल्कायो । उसका चित्तको आह र औडाहा चुरोटको धूवाँमा मिसिएर फुसफुस उड्यो ।
भित्रभित्रै मुर्मुरिँदै लोकमान बुदबुदायो— ‘त्यसै भइन्छ प्रधानमन्त्री ? प्रधानमन्त्री हुने योगदानले हो । क्षमताले हो । व्यक्तित्वले हो । जनमतले हो । देश–देशावरको पत्यारले हो । आफूमा दम भए भएर देखाइदिए भैगो नि, खालि मलाई बाटो छाड् भन्ने ? आफू प्रतिस्पर्धामा हार्ने, अनि मसँग गनगन गर्ने ? म छाड्दिनँ, लजा । तिमीहरू गनगन गरिराख । तिमीहरू रोइराख । डाहाले जलेर तिमीहरू मरिराख । भिखारीले भिख मागेर कहीं, कहिल्यै, कतै पाएको छ प्रधानमन्त्री पद ?’
यी त भए गनगने मगन्तेहरूलाई भन्न मिल्ने लोकमानका कुरा । अरूका कान छलेर आफूलाई मात्र सुटुक्क भन्न मिल्ने उसको एउटा गोप्य कुरा छ । पुनः प्रधानमन्त्री बन्न लोकमान मरिमेट्नुको खास कारण यो हो । ‘मृत्युपछि मेरो हैसियत के होला ?’ चिन्तातुर मुद्रामा लोकमान नित्य गम खान्छ ।
‘अँ, मृत्युपछि मेरो शान, मान र गौरवगानको हैसियत के होला ?’ प्रधानमन्त्री पदमा छँदै मरे उसको हैसियत के होला, त्यो त लोकमानलाई भलिभाँती थाहा छ ? पदबाहिर छँदा मरे उसको हैसियत के होला, उसको सघन चिन्ता त्यसमा छ । ‘तै तै मरेर मृत्युपछिको आफ्नो हैसियत यसो नियाल्न पाए...’ भावुक हुँदै लोकमानले गम खायो । नभन्दै सपनामा लोकमान मर्यो । अब मृत लोकमानको ध्यान एउटै कुरामा एकाग्र भयो । मलामीको लावालस्कर कत्रो होला ? सैनिक टुकडीबाट सलामी अर्पण होला–नहोला ? अनि तोपको लहरै गगनभेदी गर्जन होला–नहोला ?
मृत्युपछिको कर्मकाण्ड सुरु भयो । लोकको दर्शनार्थ लोकमानको शव खुला चउरमा राखियो । लोकमानको मृत देह काँचा बाँसका खटमा बाँधियो । शङ्खको एकोहोरो टुँ आकाशतिर उठ्यो, र मुर्दा घाटतिर चलान भयो । नाटकीय अभिनयमा मरेको लोकमान खुबै चनाखो भई कान थापेर पलप्रतिपल सुन्दो छ । उसको चाख मलामीको संख्यामा छ । मलामीले खुसखुस गरेको ऊ सुन्छ— ‘कत्ति न होलान् भन्या, मलामी त पातलो–पातलै भए है । यति नाथे मलामी त कुनै भूपू मन्त्री मर्दा पनि हुन्छन् ।’
मृत लोकमानका चित्तमा ती वचन शूलझैं बिझाए । लोकमानको मतमा जीवनका यावत् यत्नहरूको अन्तिम प्रयोजन खासमा मृत्युपछि मलामी बटुल्नु त हो । ‘त्यत्रो यत्न गरियो, यति नाथे मलामी ?’ मृत लोकमान सन्तापले मडारियो । उसले कान थापेर सुन्यो— न फौजी सलामी भयो, न आकाशले तोपको लहरे गर्जन सुन्न पायो । अर्को मलामीको खुसखुसले लोकमानका कान स्पर्श गर्यो— ‘बूढो त लास्टै अलोकप्रिय रहेछ यार् । हेर त मृत्युपछिको यो चाल !’ त्यो सुनेर मृत लोकमान मूर्च्छा पर्यो ।
‘अहो ! प्रधानमन्त्रीको पदबाहिर मर्नु नहुने रहेछ । हेर त मेरो यो दुर्गति !’ मृत लोकमानले मरेर बुझ्न मन गरेको कुरो राम्रैसँग बुझ्यो ।
दाहसंस्कारी घाटे पुरेतले भन्यो— ‘ल, दागबत्ती दिने को हो अघि सर ।’ मृत लोकमान चिताबाट हत्तपत्त जुरुक्क उठेर फुत्त बाहिर निस्क्यो । र, आश्चर्यचकित भएका मलामीहरूतिर फर्केर मुर्दा लोकमान ठिङ्ग उभियो । आफ्नै रहरले जिउँदो लास भएको लोकमान सर्वाङ्ग नाङ्गै थियो ।
