डोटीको कथा : कहाँ हराए राजा ?

विगतको शक्तिशाली डोटी राज्य अहिले राज्यको कमजोर र पिछडिएको क्षेत्रमा कसरी परिणत भयो ? कहाँ हराए यहाँका राजा र सामाजिक अगुवा ? इतिहास मौन छ । तर, डोटेली राजा र तिनका भाइभारदारहरुले खैरिगढ तथा लखनउ र लखिमपुर आसपास देखाएको वीरताको प्रभाव सो क्षेत्रमा कायमै छ ।

कार्तिक १७, २०८१

जनक रसिक

Dottie's story: Where did the king go?

‘पृथ्वीनारायण शाहको मावली घर कुन राज्यमा थियो ?’ शिक्षक सेवा आयोगले पछिल्लोपटक लिएको माध्यमिक तहको परीक्षामा सोधिएको पहिलो प्रश्न थियो यो । सरकारी सेवाका लागि योग्य प्रमाणित गरिदिने लोकसेवा आयोग, शिक्षक सेवा आयोग, विश्वविद्यालय सेवा आयोग लगायत निकायले आफ्ना हरेक परिक्षामा कम्तिमा एक प्रश्न पृथ्वीनारायण शाहका बारेमा सोध्ने गरेका छन् ।

ती निकायले आजसम्म लिएका परीक्षाहरुका प्रश्नपत्रहरू संकलन गरी हेर्ने हो भने पृथ्वीनारायण शाह र उनका दरपुस्ताबारे यथेष्ठ प्रश्नहरु सोधिसकिएका छन् । सरकारी सेवामा प्रवेश गर्ने हरकोहीले पृथ्वीनारायण र उनका मावली, ससुराली, सम्धीघर नातागोता सबैका इतिबृत्तान्त बुझेकै हुनुपर्छ भन्ने नजिर यी निकायहरुले स्थापित गरेका छन् ।

पृथ्वीनाराण शाहकोलाई सदा पुज्य बनाइराख्ने राज्यको पुरानो नीति र विभिन्न रणनीति अनुरुप नै हाल पनि यी निकायहरुले पृथ्वीनारायण शाहलाई ज्ञान, सीपको महत्त्वपूर्ण विषयको रुपमा स्थापित गरेका छन् ।

पृथ्वीनारायण शाहले तत्कालीन बाइसे चौबिसे राज्यहरु एकीकरण गरी वर्तमानको नेपाल राज्य निर्माण गर्ने अभियानको सुत्रपात र नेतृत्व गरेका हुन् भन्ने कुरामा सायदै कसैको विमति होला । तर राष्ट्र भन्नु राज्य मात्र हैन । राज्यको महत्वपूर्ण अंग समाज र सामाजिक सभ्यता हो । पृथ्वीनारायण शाहले राज्यहरु एकीकरण गर्नु पूर्व पनि यहाँ थुप्रै राज्यहरु थिए, तिनमा थुप्रै समाज र सामाजिक सभ्यताहरु थिए । तिनको निर्माणमा पनि कुनै राजा, कुनै विद्वान या कुनै सामाजिक अभियन्ताहरुको योगदान अवश्य थियो होला । तर इतिहासमा गोर्खाली राजा पृथ्वीनाराण शाहको मात्र देवत्वकरण गरिएको छ । बाँकी अन्य राज्य र राजाहरुलाई यसरी हेय भावले हेरिएको छ कि मानौ उनीहरुले राज्य निर्माण गरेर, राजा बनेर र शासन चलाएर ठूलो अपराध गरेका हुन र पृथ्वीनाराण शाहले समाजलाई तिनका अपराधबाट मुक्त गरिदिए ।Dottie's story: Where did the king go?

समाज निर्माणमा पृथ्वीनारायण शाहको जति भूमिका छ, अन्य थुप्रै राजारजौटाहरुको पनि कम भूमिका छैन । तर युद्धमा पृथ्वीनारायणले जिते, अरुले हारे । इतिहास जित्नेहरुका पक्षमा लेखिन्छ । पृथ्वीनारायण शाहले जिते । इतिहास उनकै पक्षमा लेखियो । आज पनि लेखिएकै छ । तर सामाजिक सभ्यता निर्माण गर्ने र सुन्दर राज्य निर्माण गरेर पृथ्वीनारायण शाहलाई सुम्पने अन्य दर्जनौं राजा रजौटाहरु कहाँ हराए ? जवाफ इतिहासमा भेटिँदैन ।

०००

तत्कालीन बाइसी चौबिसी राज्यहरुमध्ये सुन्दर र सबल राज्य थियो- डोटी । अधिकांश राजा रजौटाहरुले गोर्खाली फौज सामु आत्मसमर्पण गरेका बेला कडा प्रतिकार गरेका थिए डोटेली राजाले । तर नेपालको इतिहासमा डोटी राज्यको आदि इत्यादिबारे कुनै चर्चापरिचर्चा भएको पाइँदैन ।

इतिहासमा डोटी राज्यका बारेमा जेजति लेखिएको छ त्यो सिंजा दृष्टिकोणबाट लेखिएको छ । सिंजा राज्यलाई बलियो र विशाल राज्यको रुपमा स्थापित गर्ने मनसायले तथ्यहरु निर्माण गरिएका छन् । जुम्लाकै राजघरानाहरु डोटी गएर राज्य सञ्चालन गरेका कथ्यहरु केही इतिहासकारहरुले निर्माण गरेका छन्, जुन सर्वथा गलत छ ।

प्रचीनकालमा भारतवर्षमा विशाल कत्युर राज्य थियो । अयोध्याबाट आएका वसुदेव नामक पात्रले त्यसको स्थापना गरेका थिए । त्यही राज्यबाट टुक्रिएर उत्तरमा कुमाउ र डोटी राज्य निर्माण भएका हुन् भन्ने तथ्यहरु भारतीय, ब्रिटिस तथा चिनियाँ इतिहासकारहरुका अध्ययनले देखाएका छन् । तत्कालीन समयमा निर्माण भएका धेरै राज्यहरुमध्ये यी राज्यहरु बलिया थिए । 

सन् १२७९ तिर अजय पालले विशाल डोटी राज्यको स्थापना गरेका थिए । डोटी राज्यको सिमाना पश्चिम कुमाउ, पूर्व कर्णाली, उत्तर हिमाल र दक्षिण शारदा नदीसम्म फैलिएको थियो । जुन आजका विकसित राष्ट्र कतार, सिंगापुर, इजरायल लगायत तीन दर्जन स्थापित मुलुकभन्दा ठूलो क्षेत्रफल हो । जुन आँफै एक सबल राष्ट्र बन्न सक्ने हैसियतमा थियो । यसको राजधानी वर्तमान डडेल्धुराको अजयमेरुमा थियो । जुन महाकाली नदीबाट नजिक पर्‍थ्यो । दिल्लीका बादशाहसँग डोटेली राजाको नियमित सम्बन्ध सम्पर्क हुने गर्दथ्यो । डोटेली राजा अर्जुन मल्लले दिल्लीका बादशाहलाई बक्सिस दिएवापत् शाह उपाधी पाएका थिए ।Dottie's story: Where did the king go?

०००

डोटेली राजा पालबाट मल्ल कसरी भए भन्ने स्पष्ट तथ्य हालसम्म कतै भेटिएको छैन । डोटेली राजाहरुको शृंखलामा नागी मल्ल नामक एक सन्की राजाको उपस्थिति भएको देखिन्छ । यही तथ्यलाई आधार बनाएर केही इतिहासकारहरुले जुम्लाका मल्ल राजाका सन्तान डोटी गएर शासन गरेको कथ्य निर्माण गरेका छन् । तर यसमा सत्यता छैन । नागी मल्ल निरय पालका सन्तान हुन् र उनका देवता मोहन्याल हुन् भन्ने तथ्यहरु उपलब्ध शिलालेख र इतिहासमा भएकाले उनी जुम्लाबाट आएको भन्ने कथ्य सर्वथा गलत रहेको इतिहासका अध्येता वासुदेव पाण्डेय बताउँछन् ।

०००

डोटी राज्यको पूर्वमा सिंजा राज्य र पश्चिममा कुमाउ राज्य थियो । यी दुवै राज्य तुलनात्मक रुपमा बलिया थिए । यी दुवै राज्यसँग डोटी राज्यको निरन्तर संघर्ष चलिरह्यो । कुमाउँसँग त साना ठूला युद्धहरु निरन्तर नै चलिरहे । कुमााउँसँगको अन्तिम युद्ध लगातार बार्‍ह वर्षसम्म चल्यो । असुरक्षा बढेपछि राजधानी डोटी दिपायल स्थीत गनैरगौंडा सारियो । उता अजयमेरु सम्म पुगेको एक कुमाउनी फौजले दरर्बार ध्वस्त गरेर फर्कियो भन्ने तथ्य स्थानीय इतिहासका जानकारहरु बताउँछन् ।

०००

दक्षिणमा आफ्नो प्रभाव बढाउँदै उत्तरतर्फ बढेका शक्तिशाली मुगल राज्य आगराका राजा अकबरले पनि डोटी राज्यमाथि आक्रमणको प्रयास गरेका थिए । दुईतीन पटक भीडन्त भयो । अन्तिमपटक निगासनाको जंगलमा भएको भीषण युद्धमा अकबरका सैनिक कमाण्डर मारिए, मुगल फौजलाई डोटेली फौजले नराम्रोसित पराजित गर्‍यो । तत्पश्चात मुगलहरुले उत्तर फर्किने हिम्मत गरेनन् । डोटी राज्यको सिमाना शारदा नदीसम्म सुरक्षित रह्यो । तर अंग्रेजहरु आएपछि भने यो क्षेत्रमा उनीहरुको प्रभाव बढेको देखिन्छ ।  

००० 

डोटी राज्यमा कति पुस्ताले शासन गरे भन्ने यकिन तथ्य पत्ता लागेको छैन । पश्चिमतर्फ राज्य विस्तार गर्ने क्रममा गोर्खाली फौज वि. सं १८४० को दशकमा डोटी राज्य नजिक पुगेको थियो । बलियो राज्य जुम्लासँगै पश्चिमका सबैजसो राज्य जितेपछि गोर्खाली फौजले डोटी राज्यमाथि धावा बोलेको थियो । अधिकांश बाइसे चौबिसे राजा तथा रजौटाहरुले गोर्खाली राजासामु आत्मसमर्पण गरे तर डोटेली राजाले गरेनन् । उनले गोर्खाली फौजको कडा सामना र प्रतिकार गरे । त्यसबीचमा भएका दुई पटकका मुठभेडमा गोर्खाली फौजलाई डोटेली फौजले सहजै पराजित गर्‍यो । सामान्य तरिकाले युद्ध जितिने सम्भावना नदेखिएपछि गोर्खालीहरुले पश्चिम कुमाउ राज्यसँग सुमधुर सम्बन्ध बनाए ।

कुमाउ राज्य समेतको सहयोगमा डोटीमाथी दोहोरो घेराबन्दी गरियो । सेती नदी किनारमा गोर्खालीहरुको ठूलो फौज तैनाथ गरियो । गोर्खाली राजाका शक्तिशाली कमान्डर अमरसिंह थापा आफैंले फौजको नेतृत्व गरे । नारीदाङ भन्ने स्थानमा भीषण युद्ध भयो । सुरुबीर रुपा शाही लगायत थुप्रै डोटेली योद्धाहरुले युद्धमा ज्यान गुमाए । उता राजा दीप शाहका भाइ लगायत केही व्यक्तिहरु गोर्खालीहरुको प्रलोभनमा परेर आफ्नै राजाविरुद्ध लागेपछि डोटेली फौज झनै सकसमा पर्‍यो ।

गोर्खालीहरुको सामना गर्न मुश्किल परेपछि राजा दीप शाह आफ्ना केही फौज, भाइभारदार साथमा लगेर दक्षिणतर्फ लागे । यता गोर्खाली फौजलाई सघाएका राजा दीप शाहका भाई केही महिना डोटीको राजा बनाइए । अन्ततः वि सं १८४७ मा डोटी राज्य गोर्खालीहरुले बिस्तार गरिरहेको नेपाल राज्यमा गाभियो ।

०००

डोटी गनैरगौंडाको राजकाज छोडेर दक्षिण तराईतिर लागेका राजा मोहना नदी पारी धनगढी भन्ने स्थानमा पुगे । त्यहाँ स्थानीय बञ्जारा समुदाय बसोबास गर्दथ्यो । बञ्जाराहरुले उत्तरबाट आएका राजा र तिनका भाइभारदारहरुलाई रोक्न खोजे । बञ्जारा समुदाय युद्धकौशलमा बलियो मानिन्थ्यो । तर उनीहरुलाई डोटेली फौजले सहजै पराजित गर्‍यो । राजाले धनगढीमा दरबार निर्माण गरे । जुन आज पनि दुधुवा नेशनल पार्कभित्र देख्न सकिन्छ ।

डोटेली फौजबाट पराजित भएका बञ्जाराहरु भागेर दक्षिणतर्फ गए । दक्षिण लखिमपुरमा मुगलहरुको सानो राज्य थियो । त्यहाँ उनीहरुले मुगल राजासामु ‘डोटीबाट आएका ब्राह्मण क्षत्री र ठकुरीहरुले लुटपाट मच्चाइरहेका छन्’ भन्ने कुरा लगाए ।

०००

पहाडबाट बलियो समूह आएको छ भन्ने हल्ला चलेपछि मुगलहरुले खैरीगढ क्षेत्र स्थानीय पासी समुदायलाई दिए । उनीहरुलाई पाहाडिया राजासँग युद्ध गर्ने र उनीहरुलाई धपाउने जिम्मेवारी पनि दिइयो । पासी समुदाय जंगली समुदाय थियो । जंगलमा बस्ने तीर धनुष चलाउने, सिकार खेल्ने र हिंस्रक स्वभावका थिए उनीहरु । पासी समुदायसँग मुकाबिला गर्न पहाडियाहरु अवश्य सक्दैनन् भन्ने अनुमान मुगलहरुको थियो । तर डोटेली राजाको फौजले पासी समुदायलाई पनि पराजित गर्‍यो । उनीहरु तितरवितर भए । आज पासी समुदायलाई दलित समुदायको रुपमा चिनिन्छ । उनीहरु मध्यबस्तीहरुमा छैनन् । बरु छेउछाउका बस्तीहरुमा बसोबास गर्छन् । पासी समुदाय पनि पराजित भएपछि मुगलहरुको ठूलो लस्कर आयो । निगासनको जंगलमा अर्को भीडन्त भयो । तर उनीहरु पनि पराजित भए । त्यसपछि डोटेली फौज अघि बढ्यो । केही महिना दुर्गौलिया भन्ने स्थानमा बसे । तर गोर्खाली फौजबाट त्यहाँ पनि असुरक्षा बढेपछि डोटेली फौज अघि बढे । 

त्यस लगत्तै डोटेली राजाले खैरीगढ राज्यलाई एक मजबुत राज्यको रुपमा स्थापना गरे । सिंह ,हात्ती लगायत हिंस्रक जंगली जनावरहरुको बिगबिगी रहेको स्थानमा जंगल फडानी गरेर राजधानी निर्माण गरियो । नाम राखियो सिंगाहीमा । सिंगाहीमा व्यवस्थित छाउनी निर्माण गरी डोटीबाट गएका ब्राह्मण क्षेत्रीहरुलाई सुन्दर र सुरक्षित बसोबासको व्यवस्था गरियो । कलाकृतिले भरिपूर्ण भवन मन्दिर र अन्य संरचनाहरु निर्माण गर्न लगाए । वि.सं १८९० को दशकमा अनुपम कलाले भरिपूर्ण नयाँ दरबार निर्माण गरियो । जुन आज पनि पर्यटकिय आकर्षणको केन्द्रको रुपमा रहेको छ । डोटी डडेल्धुरा बझाङ लगायत स्थानबाट थुप्रै परिवारहरु बोलाएर डोटेलीहरुको ठूलो बस्ती निर्माण गरियो । आज पनि सिंगाही छाउनीमा करिब दुई सय बढी परिवारको नेपाली समुदायको व्यवस्थित बसोबास छ । 

धनगढी दरबारमा रहँदा र सिंगाहीमा स्थापित भइसकेपछि पनि डोटी राज्य पुनः फर्काउन यथेष्ठ प्रयत्न गरेका थिए डोटेली राजाहरुले । दिल्लीस्थित इष्ट इन्डिया कम्पनीसँग मिलेर पनि उनले आफ्नो राज्य फिर्ता गर्न प्रयत्न गरे । तर गोर्खाली राजालाई पहिलेदेखि नै  यस विषयमा शंक थियो ।

डोटी दरबार नियन्त्रणमा लिए लगत्तै उनले पश्चिममा आफ्नो ठूलो फौज तैनाथ गरेका थिए । दिपायल सिलगढी, डडेल्धुरा लगायत विभिन्न स्थानमा हतियार सम्पन्न गोर्खाली फौजहरु राखिए । गोरखाली फौजका शक्तिशाली कमाण्डर मानिने अमरसिंह थापा आफैँ आएर डडेल्धुरामा मजबुत किल्ला निर्माण गरेर बसे । कुमाउलाई पनि आफ्नो अधिनमा पारेपछि गोखार्ली फौज झनै शक्तिशाली बन्यो । यस्ता विविध कारणले डोटी राज्यको पुनर्प्राप्ति तथा पुनर्निमाण सम्भव भएन । 

०००

डोटीबाट भागेर खैरीगढ राज्यमा स्थापित भएका नयाँ राजा र पछिल्लो समयका नेपाली शाषकहरुबीच भने विभिन्न प्रकारका सम्बन्ध र व्यवहारहरु निर्माण भएको पाइन्छ । नेपालको राजपरिवार तथा राणा परिवारसँग खैरीडढ राजपरिवारको विहेवारी तथा अन्य नातासाइनो पनि जोडिएका छन् । खैरीगढका राजा प्रतापविक्रम शाककी रानी भुवन शाह नेपालका प्रधानमन्त्री चन्द्र शमशेरकी छोरी थिइन् । विहाहपछि चन्द्र शमशेरले भारतको लखनउ र देहरादूनमा जग्गाजमिन तथा सम्पत्ति दाइजो दिएका थिए । अहिले खैरीगढका राजाका सन्तानहरु ती स्थानमा बसोबास गर्छन् । उसो त कलकत्ता देहरादुन, लखनउ लगायत भारतका महत्वपूर्ण स्थानमा अहिले पनि राणाहरुको अथाह जमिन र सम्पत्ती छ ।

भारतीय विधान अनुरुप राजारजौटाहरुको वैधता समाप्त भएपछि पनि खैरीगढका राजखलकहरु विभिन्न सरकारी ओहोदामा रहे । प्रतापविक्रम शाह आफैँ पनि इलाहावाद हाइ कोर्टका न्यायाधीस बनेका थिए ।

प्रतापविक्रमका छोरा लव शाह र नाति आर्य शाह थिए । आर्य शाहका तीन रानीमध्ये पहिलोबाटबाट पहिलो सन्तान अक्षयविक्रम शाह जन्मे । बाँकी रानीहरूबाट तीन छोरी । यी चारै जना अहिले जीवित छन् । जेठी छोरी त्रिपुराको राजपरिवारमा,माइली राजस्थानको राजपरिवारमा र कान्छी हिमाञ्चलको राजपरिवारमा विवाहित छन् । आर्य शाहले पनि चारवटै सन्तानलाई अलगअलग ठाउँमा जमिन सम्पत्ति बाँडेका थिए ।

०००

ठूलो क्षेत्रफलमा फैलिएका भव्य, कलात्मक र अत्याधुनिक सिंगाही दरबार वर्तमानमाम भने दयनीय अवस्थामा छ । दरबार र आसपासको जमीनमा आर्य शाहका चार सन्तानको भागबण्डा छ । तर उनीहरुबीच मेलमिलाप छैन । माइली छोरी लखनउ स्थीत दाइजोको घरमा बस्छिन् । अरुभन्दा उनी चतुर र धुर्त छिन् । अरुभन्दा नजिक पनि भएकोले दरबारको हालिमुहाली उनकै छ । उनको छोरा मनुराजा सिंहले मूल दरबारको रखवारी गरिरहेका छन् । 

भारतीय संस्कृति नीधि, जिल्ला कार्यलय खिरीले दरबारको कला र पुरातत्वको संरक्षणको लागि जिम्मेवारी त लिएको छ तर यसमा उसले खास केही कार्य भने गरेको देखिँदैन । दरबार परिसरको उपयोग मनुराजले नै गरिरहेका छन् । दरबार क्षेत्रलाई उनले ऐतिहासिक तथा साँस्कृतिक विरासतको रुपमा भन्दा पनि व्यापारिक प्रयोजनका लागि उपयोग गरिरहेका छन् । विवाह, भोजभतेर, कार्यक्रम सञ्चालन आदि काममा भाडामा दरबार क्षेत्र उपलब्ध गराउने काम उनले गरिरहेका छन् । 

मनुराज सिंह भन्छन् 'यस्तो आकर्षक संरचना त्यत्तिकै छोड्नुहुन्न । यो होटेल सञ्चालनका लागि सबभन्दा उपयुक्त हुनसक्छ । कोही मान्छे भेटिए भाडामा दिने विचार छ । दिल्लीतिरका केही विजनेसम्यान सम्पर्कमा आएका छन् तर भाडादरमा कुरा नमिलेर रोकिएको छ ।'

मनुराजाको यो हालीमुहाली राजपरिवारका अरु सन्तानलाई भने मन परेको छैन । हानथाप र भागबण्डामै झैझगडा भएर अदालतमा मुद्दा चलिरहेको छ । धेरै वर्ष भैसक्यो, अदालतले मुद्दा किनारा लगाएको छैन ।

उसो त माइली छोरी र उनको छोराको गतिविधि सिंगाही छाउनीमा रहेका नेपाली समुदायलाई पनि मन परेको छैन । तर सम्पत्ति राजपरिवारहरुकै नाममा रहेकाले उनीहरु कानूनी रुपमा केही गर्न पनि सकिरहेका छैनन् । दरबार परिसरसँगै घर भएका पूर्व प्राधानमन्त्री डा केआई सिंहका छोरा भोगेन्द्रजीत शाह भन्छन् –'हाम्रो वीरताको इतिहास्, सभ्यता र सँस्कृतिको खिल्ली उडाएका छन अहिलेका हालीमुहालीकर्ताहरुले । मनुराजा आफु नेपाली हैन । ऊ राजस्थानी हो । उसलाई हाम्रो कल्चर र हिष्ट्रिसँग क्या लेनादेना ? दरबारभित्र हाम्रा अमूल्य ऐतिहासिक पुरातात्विक सम्पत्तिहरु थिए । तर तिनको अवसथा के छ, कसैलाई थाहा छैन । अदालतमा मुद्दा चलिरहेकाले हामीले केही बोल्न पनि पाउँदैनौं । राजपरम्परा अनुसार दरबारको मूख्य उत्तराधिकारी जेठो छोरा हुनुपर्ने हो । तर माइलीको धुत्र्याईंले दरबारमा झैझगडा बढ्यो । आफ्नो स्वाभिमानमा ठेस पुगेकोले जेठा सन्तान अक्षयबिक्रम शाह यो ठाउँ नै छोडेर हिंडे । उनी अहिले देहरादून बस्छन् । दर्बारको मुद्दा किनारा नलागेसम्म यहाँ नआउने भनेका छन् । अहिले त दरबारमा डोटेलीको हैन, राजस्थानी सन्तानको हालिमुहाली छ नि !'

अंग्रेजहरुको शाषनबाट मुक्त भएपछि भारतमा नयाँ संविधान निर्माण भयो । बल्लभभाइ पटेलले राजारजौटा एकीकरण अभियानलाई सशक्त बनाए । राजारजौटा एकीकरण गर्ने सम्बन्धि ऐन निर्माण भयो । सोसँगै खैरीगढ राज्यको वैधता समाप्त भयो । 

वर्तमानमा सिंगाही क्षेत्रमा बसिरिहेका नेपाली समुदायको अवस्था केकस्तो छ ? सिंगाहीका चर्चित फुटबल खेलाडी डां केआई सिंहका नाति पराक्रम शाह –'दरबारको अवस्था सन्तोषजनक नभए पनि नेपाली समुदाय भने यहाँ मान सम्मान र स्वाभिमानका साथ बसिरहेका छन् । सब जमिन्दार छन् । मालिक बनेर बसेका छन् । गोरखाको राजाले त आजसम्म शाषन ग¥यो, अहिलेसम्म उसको शाषन त छदैथियो नि ! त्यो पनि मोडर्न टाइममा शक्तिशाली विशाल देशको राजा ! उसले के गर्‍यो खै ? नेपाल बाहेक बाहिर कुन देशमा छ नेपालको मानसम्मान ? कुनै देशका मानिस डराउँछन् नेपालको नाम लिँदा ?

हाम्रो यहाँ राजकाज सकिएकै सय वर्ष पुग्नलाग्यो । तर आज पनि सिंगाहिमा हामी भनेपछि जोकोही डराउँछ । हामीलाई गोर्खाली हैन, डोटेली राजाका सन्तान भनेर चिन्छ ।यहाँ यो खैरिगरमा मात्र हैन, लखनउ र टाढासम्म पनि हाम्रो खानदान भन्यो भने मान्छे डराउँछ, हामीलाई बेग्लै सम्मान दिन्छन् ।

यता कतै हिंडडूल गर्नुभयो भने, हाम्रो नाम लिनुस्, उनका रिस्तेदार हो भन्नुस् तपाईंलाई कुनै कुराको समस्या पर्दैन, मान्छेहरुले ससम्मान तपाईंलाई सहयोग गर्छ, सेवा सत्कार गर्छ ......!” 

०००

गोर्खाली राजाले डोटी राज्यलाई आफ्नो राज्यमा त गाभे तर त्यसपछि यहाँको विकास निर्माण र सामाजिक आर्थिक सुधारका लागि भने कुनै पहल गरेनन् । लामो समयसम्म आफ्ना फौज डोटी राज्यका विभिन्न स्थानमा तैनाथ गरेर यहाँका महत्वपूर्ण सम्पत्तिहरु हडप्ने, स्थानीय बासीलाई दूख दिने महिलाहरुलाई बलात्कार गर्ने जस्ता दूव्र्यवहारहरु समेत उनीहरुले गरे । यसको निरन्तरता पछिल्ला राजाहरु महेन्द्र र वीरेन्द्रसम्मै रह्यो । समग्र डोटी क्षेत्रको दयनीय सामाजिक आर्थिक अवस्था र राज्यको विभेद आज पनि कायमै छ ।

विगतको शक्तिशाली डोटी राज्य अहिले राज्यको कमजोर र पिछडिएको क्षेत्रमा कसरी परिणत भयो ? कहाँ हराए यहाँका राजा र सामाजिक अगुवाहरु ? इतिहास मौन छ । तर, डोटेली राजा र तिनका भाइभारदारहरुले खैरिगढ तथा लखनउ र लखिमपुर आसपास देखाएको वीरताको प्रभाव भने सो क्षेत्रमा आजसम्म कायम छ । 

जनक रसिक प्राज्ञ हुन्

Link copied successfully