बदलिए कथा, फेरिए हिरोइन

नेपाली सिनेमामा ‘स्टारडम नै फ्लप’ हुन थालेको छ । परम्परागत ‘सौन्दर्य–मानक’ भत्किँदै गएका छन् । दर्शकले रुचाउन थालेका छन्, विभिन्न समुदायका कथा । 

आश्विन ५, २०८१

अनिल यादव

The story has changed, the heroine has changed

निर्देशक नवीन सुब्बाले २०७३ जेठमा नेपाली फिल्मप्रति चिन्ता दर्साउँदै एउटा लेख लेखेका थिए, ‘जनजाति नायिका किन अस्वीकृत ?’ शीर्षकमा ।

‘बजारका कारण दयाहाङजस्ता कलाकार सक्रिय देखिए पनि जनजाति पृष्ठभूमिबाट आएका महिला कलाकारहरू अस्वीकृत जस्तै नै छन् र नायिका हुन खस–आर्य नै हुनुपर्छ,’ उनको लेखले भन्छ, ‘यसको मुख्य कारण भनेको अहिले स्थापित सौन्दर्य चेतना नै हो । नेपाली चलचित्रका नायिकाहरूको अनुहार अबोध, घरेलु, धार्मिक र सतीसावित्री प्रवृत्तिको हुनु अनिवार्य छ । त्योभन्दा फरक अनुहार भए खस–आर्य नै भए पनि नेपाली सौन्दर्य चेतनालाई स्वीकार्य छैन । यस्तो स्थितिमा भिन्न अनुहार र स्वतन्त्र छवि बोक्ने जनजाति महिला नेपाली चलचित्रमा अट्ने कुरै भएन ।’

तर अहिले दृश्य फेरिएको छ । अन्तर्राष्ट्रिय मञ्चमा बलियो उपस्थिति जनाउनेदेखि युवा स्टारहरूसँग प्रमुख भूमिकामा ‘स्क्रिन सेयर’ गर्ने जनजााति अभिनेत्रीको सूची बढ्दो छ । 

सात वर्षअघिसम्म थिन्ले ल्हामो तिब्बती ओपेरा संगीतमा मात्रै सक्रिय थिइन् । केही म्युजिक भिडियोमा अभिनय गर्नुबाहेक उनको मूल सक्रियता ओपेरा संगीतमै थियो । त्यही बेला निर्देशक अमित श्रेष्ठ नेपाल र चीन जोड्ने तातोपानी नाकामा अवैध व्यापार र गुन्डागर्दीको कथामा फिल्म बनाउँदै थिए– ‘नाका’ । 

फिल्मका लागि विपिन कार्कीसँगै प्रमुख महिला कलाकारका रूपमा मंगोलियन अनुहारको खोजी हुँदै थियो । त्यही बेला निर्देशकको नजरमा परिन् थिन्ले । लगत्तै अर्को वर्ष अर्को फिल्म पाइन् ‘हरि’ । विपिन नै मुख्य कलाकार रहेको यो फिल्ममा उनको भूमिका छोटो थियो । तर, दुवै फिल्मको कामबाट तारिफ पाउँदापाउँदै थिन्लेलाई लामो समयसम्म तेस्रो फिल्मको अफर कसैले गरेन । अभिनयमै करिअर बनाउने सोच बनाएकी उनी यसकारण बेचैन नभएकी होइनन्, तर हार खाइनन् । 

अन्ततः अघिल्लो शुक्रबारदेखि नेपालमा रिलिज भएको मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’मा ‘लिड–रोल’मै काम पाइन् । हिमाली गाउँको कथा बोकेको यो फिल्म बहुप्रतिष्ठित बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म मात्रै बनेन, स्विट्जरल्यान्डमा हालै सम्पन्न प्रतिष्ठित लोकार्नो फिल्म फेस्टिभलमा थिन्लेले उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डीओर’ अवार्ड पनि जितिन् । नेपालको मात्रै होइन, दक्षिण एसियामै यो अवार्ड जित्ने थिन्ले पहिलो कलाकार थिइन्, जो नेपाली सिनेमाले लामो समयसम्म प्रमुख भूमिकाका लागि ‘अस्वीकृत’ गर्दै आएको जनजाति समुदायको प्रतिनिधित्व गर्छिन् । ‘शाम्बाला’ नेपालबाट अस्कर अवार्ड प्रतिस्पर्धाका लागि समेत छनोटमा परेको छ ।


यही वर्ष रिलिज भएको फिल्म ‘गाउँ आएको बाटो’ हेर्नुभएको छ भने पक्कै ‘राई माइली’ लाई सम्झिनुभएको हुनुपर्छ । त्यो भूमिकामा थिइन्, नेपाली रंगमञ्चमा उम्दा कलाकारको परिचय बनाएकी पशुपति राई । पशुपति यस्ती अभिनेत्री हुन्, जसको अभिनय यात्रा गुरुकुलमा विपिन कार्कीहरूसँगै सुरु भयो । समय यस्तो पनि थियो, पशुपति नाटकको ‘लिड–रोल’मा देखिँदा विपिन त्यसकै स–सानो भूमिकामा हुन्थे । 

यसबीच घडीको सुई यसरी घुम्यो, उनका समकालीन विपिन आज नेपाली फिल्मको व्यस्त अभिनेता भए । तर, पशुपतिले भने फिल्ममा ‘लिड–रोल’ पाउन १८ वर्ष कुर्नुपर्‍यो । यद्यपि वर्षौंदेखि हिरोइनको परम्परागत मानक बोकेर बसेको नेपाली सिनेमामाझ उनले डेब्युमै आफूलाई पुष्टि गरेर देखाइदिइन् । उनको जीवन्त अभिनयले चौतर्फी तारिफ त बटुल्यो नै, सँगसँगै टोरोन्टो, बुसान, बेइजिङलगायत विश्वका चर्चित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेर नेपाली सिनेमालाई विश्वमाझ चिनायो पनि । 


नेपाली फिल्मको नियमित दर्शक हो भने मिरुना मगरलाई नचिन्ने कुरै आउँदैन । भर्खरै उनको प्रमुख भूमिका भएको ‘घरज्वाइँ’ ले नेपाली सिनेघरमा प्रदर्शनको ५१ दिन मनायो । चाहे अत्यधिक कमाउने नेपाली फिल्मको सूचीमा नाम लेखाएका रामबाबु गुरुङको ‘कबड्डी–४’ होस् या उपेन्द्र सुब्बाको ‘जारी’, त्यहाँ पनि ‘लिड–रोल’मा उनी नै थिइन् । यी सबै फिल्ममा उनको ‘अपोजिट’का पुरुष कलाकार भने दयाहाङ राई थिए । यतिखेर नेपाली फिल्मवृत्तमा दया र उनको जोडी अत्यधिक हिट त छँदैछ, सँगसँगै फिल्मको प्रमुख भूमिकाका लागि मिरुनाको माग पनि उत्तिकै बढिरहेको छ । 

पछिल्लो समय नेपाली सिनेमामा जनजाति अभिनेत्रीहरूले कसरी वर्चस्व जमाइरहेका छन्, त्यसको प्रतिनिधि प्रमाण हुन्, यी तीन अभिनेत्री । उनीहरू मात्रै होइन, अहिले थुप्रै जनजाति अभिनेत्री नेपाली सिनेमाको प्रमुख भूमिकामा देखिन थालेका छन् । तर, १० वर्षअघिसम्म दृश्य कहाँ यस्तो थियो र Û

राजेश हमाल युगमा जनजाति कलाकार हिरोइनका रूपमा ‘वर्जित’जस्तै थिए । तर, अहिले जसिता गुरुङहरू नेपाली फिल्मका ‘चकलेटी हिरो’ हरूको ‘अपोजिट’मा टक्कर दिइरहेका छन् । चाहे ‘लिलीबिली’मा प्रदीप खड्कासँग होस्् या ‘फर्की–फर्की’मा अनमोल केसीसँग नै किन नहोस्, जसिताले ‘लिड–रोल’मा ‘स्क्रिन सेयर’ गरेकी थिइन् । थकाली समाजको कथामा बनेको फिल्म ‘कबड्डी’ सिरिजमा पनि प्रमुख भूमिकामा जनजाति मूलकी रिश्मा गुरुङ नै थिइन् । 

जनजाति समुदायबाटै आएकी अभिनेत्री गौमाया गुरुङ पनि आफूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन सफल छिन् । हालै विश्वचर्चित भेनिस फिल्म फेस्टिभलमा छनोट भएको फिल्म ‘पूजा, सर’ मा अभिनय गरेकी उनी गत फेब्रुअरीमा बर्लिनाले ट्यालेन्टका रूपमा समेत छानिइन् । विश्व प्रख्यात बर्लिन फिल्म फेस्टिभलअन्तर्गतको ट्यालेन्टमा एक्टर विधामा १ सय ३१ देशभरबाट आवेदन दिएका ३८ सय ३२ प्रतिस्पर्धीबीच उनी छानिएकी थिइन् । उनले ‘कबड्डी–४’, ‘फूलबारी’, ‘१९१५ ः लिजेन्ड अफ गुर्खाज’ लगायत फिल्ममा अभिनय गरेकी छन् । 

यही वर्ष रिलिज भएर व्यापारिक रूपमा सफल मानिएको फिल्म ‘पुजार सार्की’ बाट डेब्यु गरेकी अभिनेत्री परीक्षा लिम्बू हालै मात्र ‘होस्टेल–३’बाट अनुबन्धित भएको खबर अहिले छाइरहेको छ । उनी ‘जारी’ र ‘छक्कापञ्जा’ मा सहायक भूमिकामा थिइन् । यस्तै, निर्देशक नरेश केसीको ‘डाइङ क्यान्डल’ मा सिर्जना सुब्बाले ‘लिड–रोल’ मात्रै पाइनन्, त्यहाँ आफ्नो अब्बल प्रस्तुति देखाएर अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट अभिनेत्रीको अवार्डर्समेत जितिन् । रूपा राना, छुल्ठिम गुरुङ, शान्ति वाइबा, माला लिम्बू, पूजा लामा, पूर्णिमा लामा, आयुषा राई लगायतले पनि अभियनमा आफूलाई प्रमाणित गरिरहेका छन् ।

यसरी नेपाली फिल्ममा जनजाति अभिनेत्रीहरू पछिल्लो समय प्रमुख भूमिकामा स्वीकृत हुनुका पछाडि निर्देशक नवीन सुब्बा मुख्यतः तीन कारण देख्छन् । पहिचानको आन्दोलनको प्रभाव, नेपाली फिल्मको कथामा देखिएको विविधता र जनजातिको कथामाथि बनेका फिल्मको बढ्दो बजार । ‘जब पहिचानको आन्दोलन सुरु भयो, त्यसपछि नेपाली सिनेमामा पनि आदिवासी/जनजातिहरूले आफ्नो अनुहार खोज्न थाले । त्यसले पनि परिवर्तन ल्याएको हो,’ निर्देशक सुब्बा भन्छन्, ‘जनजाति मूलका फिल्म निर्माता/निर्देशकहरू बढे । उनीहरूले जनजाति कथामा फिल्म बनाउन थाले । मगर, गुरुङ, राई, शेर्पा, तामाङकै कथा भनेर फिल्म आउन थाले । जनजाति कथामा फिल्म बनेपछि त्यहाँ जनजाति अभिनेत्रीहरू प्रमुख भूमिकामा अनिवार्य बनेका हुन् ।’

जनजातिका कथामाथि बनेका फिल्मले देश तथा विदेशमा राम्रो व्यापार गर्न थालेपछि जनजाति कलाकारको प्रवेश बढेको उनको विश्लेषण छ । ‘बीचमा धेरै आदिवासी/जनजातिहरू विदेश गए, अमेरिका, बेलायत, हङकङ लगायतका देश पुगे,’ सुब्बा भन्छन्, ‘यसले पनि जनजाति फिल्मको बजार बढायो । त्यस्तै कथा चल्न थाले । पहिले त हिरो हुन्थ्यो तर को हो, कहाँ हो, के हो, केही थाहा हुन्थेन । पृष्ठभूमि नै प्रस्ट हुन्थेन । अहिले प्रस्टसँग आउन थालेपछि नै परिवर्तन ल्याएको हो ।’ सुब्बाले आफ्ना तीन वटै चर्चित फिचर सिनेमामा जनजाति अभिनेत्रीलाई प्रमुख भूमिकामा अभिनय गराएका छन् । ‘नुमाफुङ’ मा अनुपमा सुब्बा, ‘गुडबाइ काठमान्डु’मा माल्भिका सुब्बा र ‘गाउँ आएको बाटो’मा पशुपति राई । 

फिल्म विश्लेषकहरू समाज संशोधनको प्रक्रियामा रहेका बेला नेपाली सिनेमाले पनि परिवर्तनको फेरो समातिरहेको तर्क गर्छन् । नेपालमा २०६२/०६३ को परिवर्तनपछि राजनीतिक र सामाजिक रूपमा आएको समावेशीकरणको अवधारणालाई नेपाली सिनेमाले पनि आत्मसात् गर्न थालेको फिल्म निर्देशक मनोज पण्डितको विश्लेषण छ ।

‘त्यसपछि नेपाली सिनेमाले पनि समाजको वैकल्पिक दृष्टिकोणलाई समात्न थाल्यो,’ पण्डित भन्छन्, ‘फिल्ममेकर्सले नयाँ–नयाँ दृष्टिकोणमा काम गर्न थाले । प्रमुख पात्र जनजाति, दलित बनाउन थाले । विभिन्न समुदायको कथा भन्न थालियो । पहिलेझैं कथाको मूल आधारमा ब्राह्मण–क्षेत्रीलाई मात्रै हेरिएन ।’ 

यो परिवर्तनले प्रारम्भमा जनजाति मूलका पुरुष कलाकारलाई स्थापित गर्न मद्दत गर्‍यो, चाहे ती दयाहाङ राई हुन् या सौगात मल्ल । त्यसपछि पुरुषसँगसँगै महिला पात्रको पनि महत्त्वपूर्ण भूमिका बढ्न थाल्यो । पण्डितलाई यही कारण जनजाति अभिनेत्रीले पनि प्रमुख भूमिकामा काम गर्न पाइरहेका हुन् भन्ने लाग्छ ।

‘यो भनेको नेपालको चलचित्रले संविधान र राजनीतिक परिवर्तनको मर्मलाई आत्मसात् गर्न खोजेको हो,’ उनी भन्छन्, ‘राजनीतिक परिवर्तनका लागि भूमिका खेल्ने राजनीतिक चेतना बोकेका फिल्मकर्मीले यसमा भूमिका खेलेका हुन् । जसरी समाजको हरेक क्षेत्रमा इतर समुदायको खोजी र प्रवेश हुन थाल्यो, सिनेमा पनि त्यसको प्रभाव पर्‍यो ।’

‘शाम्बाला’ की अभिनेत्री थिन्ले नेपाली सिनेमाले समातिरहेको परिवर्तनको बाटोले हिरोइनको परम्परागत मानक भत्काइरहेको ठान्छिन् । ‘नेपाली सिनेमामा अहिले कथा, कथ्यशैलीदेखि प्रविधिको प्रयोगसम्ममा परिवर्तन भइरहेको छ,’ उनको बुझाइ छ, ‘हिरोइनको भनेको यस्तै हुनुपर्छ भन्ने मनोविज्ञान अब हट्दै छ । त्यही रुढीवादी सोच हट्दै गएकाले जनजाति अभिनेत्रीहरूले प्रमुख भूमिकामा काम गर्न पाउन थालेका हुन् भन्ने लाग्छ । मंगोलियन अनुहार पनि लिड–रोलमा देखिन सक्छन् भन्ने लागेर अब धेरै नयाँ कलाकार खुलेर यो क्षेत्रमा आउन सक्छन् ।’ 

हङकङमा जन्मिएर बेलायतमा हुर्किएकी मिरुनाले कहिल्यै पनि आफूलाई नेपाली सिनेमाको पर्दामा प्रमुख भूमिकामा काम गर्न पाइएला भन्ने सोचेकी थिइनन् । तर, जसै दर्शकले उनलाई पर्दामा रुचाउन थाले, उनको जीवनको बाटै मोडियो । अब अभिनयमै करिअर सोचेकी छिन् उनले । ‘ब्याक टु ब्याक’ फिल्ममा ‘लिड–रोल’मा काम पाउनु र दर्शकले रुचाउनुको पछि जनजातिको कथा र त्यसमा आफूलाई दर्शकले फिट देखेको हुन सक्ने उनको बुझाइ छ ।

‘म त हिरोइनभन्दा पनि कलाकार बन्न आएको हो । तर फिल्म खेल्नै नेपाल आएको भने होइन,’ उनी भन्छिन्, ‘म पहिल्यैदेखि नेपाल आउजाउ गरिरहन्थें । सन् २०१६ मा नेपाल आउँदा खाली समय सदुपयोग गरौं भनेर अनुप बरालकहाँ अभिनय सिक्न गएकी थिएँ । त्यो बेलासम्म पनि फिल्मै खेल्छु भन्ने लागेको थिएन । जब अनुप सरको एक्टर्स स्टुडियोबाटै नाटक गरें, त्यसबाट प्रभावित भएर ‘लालपुर्जा’ फिल्मको टिमले अडिसनका लागि बोलायो । छनोट भएँ । त्यहींबाट सुरु भएको मेरो अभिनय यात्रा यहाँसम्म आइपुग्यो ।’

नेपाली फिल्म इतिहासलाई फर्केर हेर्दा २०२१ सालमा नेपालमै बनेको नेपालको पहिलो फिल्म ‘आमा’मा जनजाति मूलकी अभिनेत्री थिइन्, चैत्य देवी । नेवार समुदायकी उनी ‘आमा’मा सहायक भूमिकामा रहे पनि पछि २०३४ सालमा बनेको ‘कुमारी’मा प्रमुख भूमिका पाइन् । विजयबहादुर मल्लले लेखेको पुस्तक कुमारी शोभाबाट प्रभावित भएर बनाइएको यो फिल्म नेपालकै पहिलो रंगीन नेपाली चलचित्र हो । तत्कालीन शाही नेपाली चलचित्र संस्थानको लगानीमा बनेको यो फिल्मले काठमाडौंका नेवार समुदायमा प्रचलनमा रहेको जीवित देवी कुमारीको कथा बोकेको थियो । 

एउटा अनौठो संयोग के छ भने नेपाली सिनेमामा समग्र आदिवासी जनजाति मूलका अभिनेत्री प्रमुख भूमिकामा अस्वीकृत हुँदा पनि जनजातिभित्रै पर्ने नेवार समुदायका अभिनेत्री भने स्वीकार्य थिए । गौरी मल्ल, सारङ्गा श्रेष्ठ, मेलिना मानन्धर, नम्रता श्रेष्ठ, अशिष्मा नकर्मी, मलिना जोशी, मेनुका प्रधान, नविना श्रेष्ठ, शिल्पा मास्के, सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठलगायत थुप्रै नेवार समुदायबाट आएका अभिनेत्रीले सिनेमामा प्रमुख भूमिकामा काम गर्ने मौका पाए । 

‘पञ्चायतकालभरि बनेका नेपाली चलचित्रमा स्थापित सौन्दर्य संस्कृतिभन्दा इतर संस्कृति वा समुदायबाट आएकालाई कलाकारका रूपमा अवसर दिइएको थिएन,’ निर्देशक सुब्बा भन्छन्, ‘तर, कतिपय नेवार समुदायबाट आएका अभिनेत्रीहरू स्वीकार्य देखिए । खस–आर्य अनुहार नजिक वा मिश्रित अनुहारलाई नेपाली सिनेमाले स्विकारेको देखिन्छ ।’ लामो समयसम्म ‘फिल्ममेकर्स’ अधिकांश 

खस–आर्य समुदायकै हुँदा उनीहरूले प्रमुख भूमिकाका कलाकार खस–आर्य समुदायबाटै लिन्थे । जनजाति कलाकार त पुरुषमा कि युवराज लामाजस्तो भिलेन हुन्थे या महिलामा भट्टी पसल्नी या ‘आइटम डान्सर’ । 

निर्देशक सुब्बा जनजाति अभिनेत्री यति लामो समयसम्म प्रमुख भूमिकाका लागि वर्जित हुनुपछाडि नेपाली सिनेमामा परेको हिन्दी चलचित्रको प्रभाव र यसपछाडिको हिन्दु सौन्दर्य अवधारणालाई मूल कारण मान्छन् ।

‘हिन्दी चलचित्रको कथ्य संरचना, चरित्र चित्रण, मूल्य पद्धति, अभिनय विधान आदि भरतको नाट्यशास्त्रमा आधारित छ,’ उनको तर्क छ, ‘यसले हिन्दु सौन्दर्य अवधारणालाई पछ्याउँछ । नायक भनेको रामजस्तो धीरोदात्त, सर्वगुणसम्पन्न, शारीरिक रूपमा पनि बलिष्ठ हुनुपर्छ, नायिका भनेको सीताजस्तो शीलस्वभाव भएकी, कोमलाङ्गी, मृगनयनी सतीसावित्री हुनुपर्छ भन्ने धारणा यहाँ विद्यमान छ । त्यसैले नेपाली चलचित्रका नायिकाहरूको अनुहार अबोध, घरेलु, धार्मिक र सतीसावित्री प्रवृत्तिको हुनु अनिवार्य थियो । यो अवधारणा तत्कालीन राज्यव्यवस्थाले निर्माण गर्न चाहेको समाजसँग मेल खान्थ्यो ।’

त्योभन्दा भिन्न अनुहार भए खस–आर्य समुदायकै भए पनि प्रचलित सौन्दर्य दृष्टिकोण हिरो–हिरोइन मान्न तयार थिएन । ‘यस्तो स्थितिमा भिन्न अनुहार र स्वतन्त्र छवि बोक्ने जनजाति महिला नेपाली चलचित्रमा अट्ने कुरै भएन । त्यसैले चलचित्रमा जनजाति पुरुषभन्दा महिला कलाकार कम देखिए,’ सुब्बाको मत छ । 

नाटकमा लगालग प्रमुख भूमिकामा अवसर पाइरहँदा पशुपतिलाई फिल्ममा पनि त्यसैगरी काम गर्ने रहर नभएको होइन । तर, उनलाई हिरोइनको परम्परागत मानकका कारण ‘लिड–रोल’मा काम पाउन आफूले १८ वर्ष कुर्नुपरेको आत्मबोध पनि छ । ‘फिल्मलाई अझै पनि मनोरञ्जनभन्दा टाढा हेरिएको छैन,’ पशुपति भन्छिन्, ‘बजारमा हिरोइन यस्तो हुनुपर्छ भन्ने जुन मापन छ, त्यसमा म कहीं पनि अटाउँदिनँ थिएँ । त्यही कारण लिड–रोलमा काम पाइनँ । एक त अहिले पनि महिलाको कथा पुरुषको तुलनामा निकै कम आइरहेका छन्, आए पनि २५ वर्षमुनिको बढी छ । जब विभिन्न समुदायका र उमेरसमूहका महिलाका कथा आउँछन्, त्यसपछि हामीजस्तो कलाकारले लिड–रोलमा काम गर्ने मौका पाउँछौं भन्ने लाग्छ ।’

आठ वर्षअघिसम्म जनजातिका कथा नै सिनेमामा मुस्किलले आउँथे । जतिबेला दयाहाङ राई मुख्य भूमिकामा चम्किन थालेका थिए, त्यतिबेला उनमा आदिवासी/जनजाति समुदायका कथामा काम गर्ने मोह नपलाएको होइन । तर, माहोल सहज थिएन । ‘म धेरै फिल्ममा सिकार हुन्छु,’ राईले आठ वर्षअघि यो पंक्तिकारसँग एक अन्तर्वार्तामा भनेका थिए, ‘मैले आफ्नो समुदायको कुरा गर्‍यो भने यसले जातीय कुरा निकाल्यो भन्दै निर्माता/निर्देशकले नाक खुम्चाइहाल्छन् ।’

फिल्म निर्देशक पण्डित नेपाली सिनेमामा रहेको एकात्मक सोच र पुरुषवादी चिन्तनका कारण नेपाली सिनेमा लामो समयसम्म समावेशी हुन नसकेको बताउँछन् । ‘एकदमै एकात्मक सोच थियो,’ उनी भन्छन्, ‘हिरोको आँखाबाट हेरिन्थ्यो हिरोइनलाई । फिल्मको हिरो कस्तो थियो भन्ने दृष्टिबाट हिरोइन फाइनल गरिन्थ्यो । पुरुषप्रधान मानसिकता हाबी थियो । हिरोलाई सुहाउने नायिका भनेर खोजिन्थ्यो । महिलाको सौन्दर्यलाई प्राथमिकतामा राखिन्थ्यो । ब्राह्मणवाद बढी नै हाबी थियो । खस–आर्यलाई नै हिरो–हिरोइन लिनुपर्छ भन्ने मनोविज्ञान थियो ।’

तर अहिले नेपाली सिनेमा ‘स्टारडम’, परम्परागत ‘सौन्दर्य मापदण्ड’ भन्दा पनि कथाको बलमा अघि बढ्न थालेको छ । ‘स्टारडम’ पनि बजारमा फ्लप हुन थालेपछि र विभिन्न समुदायका कथाहरूलाई दर्शकले रुचाउन थालेका छन् । सँगसँगै ‘फिल्ममेकर्स’को मनोविज्ञान पनि बदलिँदै छ । निर्देशक पण्डित पनि अहिले नेपाली 

सिनेमामा शारीरिक सौन्दर्यभन्दा पनि सामाजिक अस्तित्व, पहिचान र अधिकारका मुद्दाले प्राथमिकता पाउन थालेको बताउँछन् । ‘अहिले महिलाको आफ्नो अस्तित्व हुन्छ भन्ने चेतना विकास हुँदै छ । अब हिरोको वरिपरि नाच्ने दिन गए,’ उनले भने । 

अनिल

Link copied successfully