हेपाहा पुरुषमाथि प्रहार

नारीलाई कसिङ्गर ठानेर कुचोले बढार्न चाहने पुरुषमाथि लेखकले बुल्डोजर चलाएकी छन्

श्रावण २६, २०८१

रमण घिमिरे

Attack on Hepaha men

पछिल्ला केही वर्ष नेपाली साहित्यमा आत्मकथाबाहेक आख्यानहरूकै बाढी चलेको छ । आख्यान चाहे कथा होस् या उपन्यास, सम्बन्धहरूको उतार–चढावकै फेहरिस्त हुन्छ । यहाँ चर्चा गर्न लागिएको लेखक सानु शर्माको कथासंग्रह ‘अर्को देशमा’ पनि विविध सम्बन्धहरूका पोयाहरूद्वारा नै बाटिएको डोरी हो ।

तर, यस संग्रहमा सानुले सम्बन्धहरूलाई पात्रगत, घटनागत वा विषयगत रूपमा समाहित गरेर कथाहरूलाई जसरी यात्रा गराएकी छन्– पाठकलाई पढिरहँदा कुनै समथलमा यात्रारत मध्यमगतिको रेलगाडीमा नहल्लिई यात्रा गरेको अनुभव हुन्छ– प्रस्तुति, शैली र कथात्मकताको आकर्षणले डोरी बाँधेर राखिरहन्छ । तर, कथापिच्छे आउने आरोह–अवरोहहरूले भने बाक्लो बादलभित्र पसेको जहाजले जसरी मथिङ्गल हल्लाइरहन्छ ।

चर्चामा कहिल्यै आउन नचाहने र समीक्षकको पनि हातमा किताब टक्य्राए र विशेष आग्रह गरेपछि मात्र प्रचारप्रसारको बाटो खुल्ने मौजुदा प्रवृत्तिको सिकार भएर– ‘पूर्णविराम’, ‘जितको परिभाषा’, ‘अर्थ’, ‘विप्लवी’, ‘उत्कर्ष’, ‘एकादेशमा’, ‘फरक’, ‘ती सात दिन’ र यो ‘अर्को देशमा’ गरी नौवटा किताब प्रकाशित भइसक्दा पनि उनी छायामा पर्नुको कारण यसबाहेक अरू नहुन सक्ला । हरेक पात्रहरूलाई पठनीय र न्यायोचित तबरले परिभाषित र स्थापित गर्न सक्नु समर्थवान् आख्यानकारको विशेषता भएकी एउटी लेखिका प्रचारप्रसार दुनियाँबाट विमुख भए पनि लेखकीय सशक्तताका कारण उनका किताब जीवन्त रूपमा पाठसमक्ष पुगिरहेका छन् । यस मानेमा पनि उनी समर्थ लेखक हुन् ।

पात्रको मन चिहाउन सक्नु सफल आख्यानकारको अर्को विशेषता हो । ‘अर्को देशमा’ भित्रका यस्ता बयान पढ्दै जाँदा वेदनाले कतै आँखा रसाउँछन् भने कतै हर्षले छाती ढक्क फुल्छ । उनी मानवीय संवेदनालाई अनुभूत गरेर कथामा पोखिने सर्जक हुन् । अथवा यसरी भनौं, एउटा पारंगत चालकले जसरी विभिन्न घुम्ती, मोड, कुइनेटाहरू छिचोल्दै फराकिलो राजमार्गमा निस्फिक्री सवारी चलाउँछ, त्यसरी नै सानु शर्मा पनि कथानकताका विभिन्न रोचक, विषाक्त, सुखद धरातलमा यात्रा गराउँदै बिनाकुनै संकट गन्तव्यमा अवतरण गराउँछिन् कथाहरूलाई, जसरी चलचित्र या रंगमञ्चमा अभिनेता–अभिनेत्रीहरू चरित्रभित्र पसेर अभिनयमार्फत पात्रहरूको अन्तर्य प्रकट गर्छन् । त्यसभन्दा पनि अझ साहित्यकारहरू त पात्रहरूका सर्जक नै हुन् । उनीहरूले नै पात्रहरूको चरित्र र भूमिकाको सुष्टि गरी निर्जीव पात्रहरूमा जीवन सञ्चार गर्छन् । त्यसैले एउटा सिद्धहस्त कथाकारले पात्रको सम्पूर्णतालाई मन्थन गरेर प्रस्तुत गर्न सक्नुपर्छ । यस पृष्ठभूमिमा सानुको ‘अर्को देशमा’ को मूल्यांकन गर्ने हो भने उनी वास्तवमै पाठकलाई रुमानी मोडहरू हुँदै यात्रा गराउने आख्यानकार हुन् । 

उनले यस कथासंग्रहमा नारीका थरीथरी रूप, स्वभाव, चरित्र र प्रवृत्तिहरूको सटीक बयान गरेकी छन् । फरक–फरक पात्र, परिवेश र घटनाक्रमलाई सानुले आफैंभित्र निलेर सर्लक्क निकालेको आभास गराएकी छन् । 

उनका हरेक कथामा भोगाइ, अनुभूतिको विस्तारित सम्मिश्रण पाइन्छ । यिनैको फेरो समाएर कतै कथाका खोल्छाखोल्छी, कतै महानदी र सागर पार गर्नुपर्दा पात्र–पात्राले हिँडेको बाटो पाठक स्वयम्ले हिँडेको अनुभूति हुन्छ, भोगाइ समान लाग्छन् । र, यस्ता बाटामा हिँड्दा मनमा कहिले रोमाञ्चित त कहिले अभिशप्त भाव मूल फुटेर निस्केको निर्झरीजस्तो छताछुल्ल भएर परपरसम्म आफ्ना बाछिटा छ्याप्दै फैलिन्छ । त्यसैले कुन कथामा सानुले कुन विचार र मान्यताको मियो ठड्याउँछिन् भन्ने अनुमान गर्न कठिन पर्छ । 

यति भनिसक्दा सानु खालि महिलावादी धारलाई मलजल गर्ने कथाकार हुन् भन्ने अनुमान गर्‍यो भने त्यो नितान्त गलत ठहरिन्छ । किनभने ‘बन्द खाम’, ‘बकाइनाको बोट’ जस्ता कथाहरू पढ्दा एउटा नारी कलमजीवीले पुरुषबारे यति गहिरोसँग कसरी बुझेर लेख्न सकेकी भन्ने प्रश्न उठ्ला, तर उनले नारी र पुरुष अनुभव र अनुभूतिलाई तराजुको पल्ला तलमाथि नहुने गरी न्यायोचित ढंगले विश्लेषण गरेकी छन् । कुनै समय रुद्रराज पाण्डेको ‘रूपमती’ पढ्ने पाठकले पुरुष लेखकले नारीबारे कसरी यति भित्री कुरा लेखे भन्ने सवाल उठ्थ्यो । अहिले ठीक यसरी नै सानुमाथि प्रश्न उठ्न सक्छ– एउटी नारी आख्यानकारले पुरुषलाई प्रथम पुरुष बनाएर लेखिएका कथामा पुरुष स्वभाव, प्रवृत्ति र चरित्रको जुन सूक्ष्म, वास्तविक र आकर्षक बयान गरेकी छन्, यसले उनलाई नारी भएकीले नारीबारे मात्र गहिरो अनुभव छ भन्नु मिथ्या ठहरिन्छ । सानु महिलामाथि कथा बुन्दा जसरी महिलाप्रति संवेदनशील भएकी हुन्छिन्, पुरुष पात्रमाथि कथा लेख्दा पनि त्यति नै घनीभूत रूपमा पुरुषप्रति संवेदनशील भएकी छन् । उनले आमपुरुषको भोगाइ, अनुभव र प्रवृत्तिलाई भित्रबाटै उधिनेकी छन् । यसले पनि उनलाई लैंगिक विभेदमुक्त कथाकारको श्रेणीमा राख्दा फरक पर्दैन । 

कथाहरूमाथि संक्षेपमा दृष्टिगोचर गर्दा ‘प्रारब्ध र म’ यस्तो कथात्मक विन्यासमा बुनिएको कथा हो, जहाँ घतलाग्दो रुमानी अनुभूति छ, अपत्यारिलो पटाक्षेप हुन्छ र प्रेम अर्कै स्वरूपमा प्रकट हुन्छ । उसो त ‘परी’, ‘म परी’ र ‘नयाँ मोड’ अनमेल सम्बन्धमाथि सिर्जना भएका कथा हुन् । ‘लकडाउन’ मा पुरुष मनलाई अर्कै कोणबाट प्रस्तुत गर्दै नौलो र सुखान्त मोडमा पुर्‍याएर कथालाई बिसाइएको छ । उनका कथामा सुखान्त र दुखान्तको निर्णय एक हरफ वाक्यांशले गर्न सक्छ । उनी धारमा अडिएर कथालाई विश्राम दिने कथाकार हुन् । जहाँ उनी जे वाक्यांश लेख्छिन्, त्यही सत्य हुन्छ । जस्तो ‘लकडाउन’, ‘सुरुवात’ र ‘निसाफ’ नै पनि उनले आफ्नो खुसीले अन्त्य गरेका कथा हुन् । 

अन्त्य मात्र होइन सानुका कथामा नितान्त नवीन विषयवस्तु र मोडहरू हुन्छ । ‘सौता’, ‘परी’, ‘ग्लानि’, ‘मेरो म’, ‘बन्द खाम’, ‘नयाँ सोच’, लकडाउन’, ‘ऊ अर्थात्’, ‘नयाँ मोड’, ‘म परी’, ‘सुरुवात’, ‘निसाफ’, ‘अस्तु’, ‘प्रारब्ध र म’ र बकाइनाको बोट’, यी १५ मा कथाहरूमा कुनै आपसी समानता र सामञ्जस्य पाइँदैन । 

प्रायः सबै कथा पश्चिम नेपालमा प्रचलित झर्रो भाषामा लेखिएका छन्– गाउँका कथामा । यिनमा उनकै मौलिक शब्दहरू पनि आउँछन् । ‘सौता’ र ‘बकाइनाको बोट’ यस धारमा लेखिएका सबैभन्दा मार्मिक कथा हुन् । यी कथाले यस पंक्तिका लेखकको हृदय हल्लाएको छ । ‘परी’ र ‘म परी’ कथामा नारी र पुरुष सोच, भावना र संवेदनालाई आ–आफ्नो पक्षबाट वकालत त नभनौं, तर ऐना देखाउने प्रयत्न गरेका छन् । यो अहिलेसम्म सम्भवतः पहिलो यस्तो प्रयोग हो । अधिकांश कथा नारीलाई केन्द्रमा राखेर बुनिएका हुँदा हरेकमा नारी पात्रको आवाज तुलनात्मक रूपमा आरोह सुरमा सुनिन्छ । तर, ती कुनै नारी पात्रले पुरुषमाथि अपमान र घृणा गर्दैनन्, सम्मान नै गर्छन् । हो, मन्द स्वरमा गुनासो भने सुनिन्छ । यसलाई सानु शर्माका कथाहरूमा पाइने चेतनागत संस्कार भन्दा हुन्छ । उनी पुरुषलाई ढालेर नारी–साम्राज्यको झन्डोत्तोलन गर्न चाहन्नन्, बरु पुरुषसँगै उभ्याएर नारीलाई शिखरारोहण गराउने अभीष्ट राख्छिन् कथाहरूमा । पुरुषबिनाको नारी संसार र नारीबिनाको पुरुष धर्तीको कसैले कल्पना गर्न सक्दैन नि ! यस्तो दुस्वप्न सानुले किन देखुन् ? तर, नारीलाई कसिङ्गर ठानेर कुचोले बढार्न चाहने पुरुषमाथि भने उनले ठाउँठाउँमा बुल्डोजर चलाएकी छन् । 

सानुको कथानक विशेषताहरूमध्ये एउटा विशेषता के हो भने उनी गाउँका कथा लेख्दा गाउँकै मान्छे भएर त्यहींको वातावरण, लवज, संस्कारलाई पचाएर लेख्छिन् भने सहरको कथामा उत्तिकै आधुनिक शिक्षित भएर प्रस्तुत हुन्छिन् । र, यस कथाको थप विशेषता पनि हो यो । 

रमण

Link copied successfully