१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फर्किए गंगालाल

 देहान्तपछि फेरि थिएटर फर्केका सहिद गंगालाल प्रश्न गर्छन्– मैले पौडी खेलेको वाग्मती कस्तो छ ? त्यो बालाजुको जंगल उस्तै छ कि फेरियो ? 
ईशान मैनाली

के हामीले चार सहिदका जीवन नजिकैबाट नियालेका छौं ? तिनका बलिदान–कथा पढेसुनेका त छौं, तर तिनका जीवनलाई निकै गहिराइबाट महसुस गरेका वा बुझेका छौं ? आउनुस् एकछिन शिल्पी थिएटर जाऔं र हाम्रा प्रिय सहिदका जीवन–कथामा पसिहेरौं । निर्देशक चे शंकरले नाटक ‘गंगालाल’ मार्फत चारमध्येका कान्छा सहिद गंगालाल श्रेष्ठको जीवन गहिराइमै बुझाउने प्रयास गरेका छन् ।

फर्किए गंगालाल

चे शंकरका नाटक प्रयोगात्मक हुन्छन् । ‘गंगालाल’ पनि प्रयोगपरक छ । नाटक सरल रूपले बुझ्न त सकिन्छ, तर नाट्य–पारखीले यसमा प्रयोग गरिएका रूपकको भरपुर आनन्द लिन सक्छन् । चेले बुझेका छन्– दर्शक एउटै शैलीभन्दा केही नयाँ र रोचक हेर्न उत्साहित हुन्छन् । उनी सोच्छन्, नेपाली थिएटर पनि फरक दिशातिर मोडिनुपर्छ । गंगालालबारे अनेकौं कथा भनिएका छन्, तर उनको चित्रण एक क्रान्तिकारी पात्रका रूपमा मात्रै हुन्छ । २२ वर्षको एक कलिलो ठिटो कसरी क्रूर राणाशासनको नजरमा खतरनाक पात्र बन्न पुगे ? त्यो बुझ्न उनको पारिवारिक जीवन, साथीसंगीका प्रभाव, समाज नियाल्नु पनि जरुरी हुन्छ । ‘गंगालाल’ यिनै विविध कथा वरिपरि घुम्छ । र, नाटकले चित्रात्मक रूपमा गंगालालको व्यक्तिगत इतिहास केलाउँछ ।

गंगालाल श्रेष्ठ केवल एक क्रान्तिकारी र सहिद थिएनन्, नाटक र साहित्यमा पनि उनको महत्त्वपूर्ण योगदान थियो । उनले नाटकहरूमा अभिनय पनि गरेका थिए । शेक्सपियरको नाटक ‘मर्चेन्ट अफ् भेनिस’ मा जेसिकाको भूमिकामा थिए उनी । उनले अभिनय गरेका नाटकले नेपाली थिएटरमा नयाँ दिशा प्रदान गरेको थियो । अब ‘गंगालाल’ नाटकमै फर्किऔं । चे शंकरका नाटकले नेपाली राष्ट्रियता, समाज, धर्म र साहित्यिक विषयमा विचार–अभिव्यक्ति प्रदान गरेका गर्छन् । उनका नाटकले दर्शकमा गहिरो राजनीतिक, सामाजिक र साहित्यिक संवेदना जागृत हुन्छन् । ‘गंगालाल’ यस्तै विषयमा केन्द्रित छ ।

नाटकमा गंगालाल र उनकी श्रीमती हसिनाको गहिरो सम्बन्ध अनि जीवनका भयंकर उतारचढाव प्रस्तुत गरिएको छ, भावनात्मक ढंगले । सँगै बुबासँग गंगालालको सम्बन्धलाई पनि स्थान दिइएको छ । नाटकमा परिवारबाहेक सिद्धिचरण श्रेष्ठ, गणेशमान सिंह, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीसँग गंगालालको निकट, भावनात्मक मित्रताको पनि वृत्तान्त चित्रण गरिएको छ ।

नाटकमा थुप्रै पात्र छन् । तर, प्रोटागोनिस्ट गंगालालको भूमिका निभाएका निर्भीक भट्टराईको अभिनय उत्कृष्ट छ । २२ वर्षका निर्भीकले नेपाली नाटकमा नयाँ जोस थपेका छन् । भावनात्मक दायराको फराकिलोपन उनको नाट्य प्रस्तुतिले छर्लंगै पार्छ । गंगालालको जीवनशैली, रहनसहन र सोचविचार उनले गहिरोसँग आन्तरिकीकरण गरेका छन् ।

नाटक ‘गंगालाल’ ऐतिहासिक विवरणले भरिपूर्ण छ । नाटकका कुनै–कुनै दृश्यमा दर्शक सोचमग्न हुन्छन् । जस्तै जब क्रान्तिकारीहरू रगतको छापले राणाशासनविरुद्ध लागिपर्ने अठोट लिन्छन्, नाटकको पृष्ठभूमिमा एउटा आगोको झिल्को देखिन्छ । नियालेर हेर्दा त्यो आगोको झिल्को श्री ३ सरकारको अतिरञ्जित तस्बिरको मुखबाट आइरहेको धूवाँ हुन्छ, उनले सल्काएको चुरोटको । नाटकको अन्तिम दृश्य निकै शक्तिशाली छ । गंगालालको देहान्तपश्चात् उनी दर्शकलाई केही प्रश्न गर्छन– मैले पौडी खेलेको वाग्मती कस्तो छ होला ? त्यो बालाजुको जंगल उस्तै छ कि फेरियो ? मैले पढाउने महावीर स्कुल कस्तो छ ? प्रश्नको जवाफ तिनै प्रश्नमा छ, तर प्रश्न असरदार छ ।

‘गंगालाल’ ले एक ऐतिहासिक पात्रको जीवनी मात्रै भनेको छैन, केही प्रयोगात्मक तत्त्वको सम्मिलनमार्फत इतिहासको एक समयको आकर्षक कथा पनि भिन्न शैलीमा प्रस्तुत गरेको छ । नाटकले प्रगतिशील विचारलाई प्रोत्साहन गर्दै कलात्मक चिन्तनमाथि पनि घोत्लिन दर्शकलाई प्रेरित गर्छ ।

‘गंगालाल’ ले नाटकको माध्यमबाट गंगालालको काव्यकला र समाजसेवाका महत्त्वपूर्ण पहलमाथि नयाँ प्रकारका समीक्षा र विमर्श गर्ने बाटो खोलिदिएको छ । यसले आधुनिक समयका मुद्दालाई नयाँ दृष्टिकोणबाट हेर्ने बाटो पनि देखाएको छ ।

प्रकाशित : फाल्गुन ५, २०८० १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?