कथाजस्तै गुरुप्रसादको वक्रजीवन

गुरुप्रसाद मैनालीले कथाहरूमा नेपाली जीवनको विरह, शोक र पीडा लेखे । कथाजस्तै उनको जीवन पनि विरहपूर्ण थियो । गुरुप्रसादको जन्मदिवस (भदौ २३) मा उनको सम्झना :
ऋषिराम शर्मा

बोल्दिनौ जालिम, रिसाइ हिँडिरह्यौ आँखा तरी
जिन्दगीको हौसला सब मेरो बरबाद भो
छैन क्यै चाहना प्रेमको धोका पुग्यो
मतलबी संसारको रीत बल्ल क्यैक्यै थाहा भयो
आधुनिक नेपाली कथाका सर्वस्वीकार्य र निर्विवाद आदिगुरु हुन्– गुरुप्रसाद मैनाली, तर उनी गजलकार पनि हुन् भन्ने तपाईं/हामीमध्ये क–कसलाई थाहा छ ? थाहा नभए माथिको अंश पढेपछि अवश्य थाहा हुनेछ– मैनाली कथाकार मात्रै होइनन्, गजलकार पनि रहेछन् । थोरै संख्यामा लेखिएका किन नहुन् ! गजल, निबन्ध, आलोचना, नियात्रा र दैनिकीजस्ता विधामा पनि उनले कलमको कमाल देखाएका रहेछन् ।

कथाजस्तै गुरुप्रसादको वक्रजीवन

भेट्नेहरू भन्छन्– मझौला कद, दोहोरो डम्म परेको जीउडाल, हृष्टपुष्ट शरीर, गहुँगोरो रङ र फुर्तिलो हिँडाइको पोजमा देखिन्थे गुरुप्रसाद मैनाली । उनै मैनालीका कुनै न कुनै कथा नपढेको अहिलेको जीवित पुस्ता को पो होला ! अझ एसएलसीसम्म उक्लेर हुर्के बढेको पुस्ताले त गुरुप्रसाद पढ्यो–पढ्यो । बाजे पुस्ताले ‘नासो’ पढे होलान्, बाबु पुस्ताले ‘छिमेकी’, काका पुस्ताले ‘सहिद’ ! उहिलेको एसएलसी अहिलेको एसईईवाला नाति पुस्ताले चाहिँ कक्षा १० मा ‘कर्तव्य’ पढ्दै छ ।

मैनालीका धेरै कथा केवल कथा होइनन्, क्वान्टिटेटिभ फिल्ड रिसर्च हुन् झैं लाग्छ । किनभने रिसर्च अर्थात् अनुसन्धानमा तथ्य हुन्छ । गुरुप्रसादका कथामा तथ्य–सत्य छ, गफ छैन । प्राकृतिक रूपमा कलकल बगेको सङ्लो भाषा छ, कठिन शब्दको ड्याम बाँधेर भाषाको लद्बदे नहर बगाइएको छैन । उनका दुई/चार कथा भने क्वालिटेटिभ रिसर्चजस्तै छन् किनभने तिनमा लेखकको भावनाको छाप पनि छ । ‘नासो’ कथासंग्रहको भूमिकामा मैनालीले लेखेका छन्, ‘धेरैजसो कथाहरू मैले स्वयम् देखेका अथवा निकटबाट सुनेका सामाजिक दृश्यहरूलाई लिएर लेखेको छु । २–४ वटा मेरा कल्पित भावनाका भरमा पनि परेका छन् ।’

मैनालीले आफ्ना पात्रले देखेको दुःख लेखे, भोगेको पीडा लेखे ! उनले समाजका पात्रहरूमध्ये पीडकलाई नैतिक दण्ड र पीडितलाई नैतिक–काव्यिक न्याय दिन लेखे । नदेखेको, नभोगेको प्रायः लेखेनन् । उनी अदालतमा न्यायाधीश थिए । थुप्रै मद्दा कानुनी रूपमा छिनोफानो गर्थे । सामाजिक कथाका पात्रहरूबीचको विवादमा पनि सामाजिक न्यायाधीशै बनेर फैसला गरिरहे अर्थात् निरन्तर पोइटिक जस्टिस गरिरहे ।

उनका कथा जति मार्मिक छन् त्यति नै मार्मिक, रोमाञ्चक र वक्र छ उनको जीवन–कथा ।

गुरुप्रसाद मैनाली (विसं १९५७, भदौ २३) हालको धनकुटा जिल्लामा जन्मे । उनको मूल थलो काभ्रेको कानपुर हो । ओठ निचोर्दा दूध आउला–आउलाजस्तो ९ वर्षको बाला उमेरमा ७ वर्षकी बालिका जगतकुमारीसँग गुरुप्रसादको बिहे भयो । दुई दिदीको मृत्यु भइसकेपछि जन्मेका थिए, गुरुप्रसाद । परिवारका सबैबाट जति पाउनुपर्ने हो त्योभन्दा कैयौं गुणा बढी प्यार पाए उनले । पुलपुलिँदो भाषामा मायापूर्वक उनलाई

‘नानीबाबु’ भनियो । ‘नानीबाबु’ का जीवनमा पारिवारिक वियोगका दुर्दान्त पीडा पालैपालो बज्रे । आठवर्षे उमेरमा हजुरआमा र तत्कालै आमालाई गुमाए । सोह्र–सत्र वर्षका छँदा उनका भाइ र बहिनीले संसार छाडे । आँसुले भिजेका परेला नओभाउँदै कलिली सुत्केरी पत्नी जगतकुमारी पनि नवजात शिशुकन्यासहित जगत्बाट अलप भइन् । फक्रँदो बैंस र फुल्दो वयका मैनालीका जुँगारेखी बसेका मात्रै त थिए होला, यस्तो बेला उनी विदुर हुनुपर्‍यो ।

गुरुप्रसादका पिताले यही बेला जन्मेको थातथलो छाडे । काकाहरूसँग छुट्टी–भिन्न भएपछि अंशमा पाएको जमिनबाट गुरुप्रसादका पिता काशीनाथले काभ्रेको कानपुरमा जीवनयापन सरल हुने देखेनन् । खेतीपाती हुने र पानीकुलो लाग्ने उर्वर ठाउँ खोज्दै मावली गाउँ (हालको नुवाकोट) कविलासको रिट्ठेचौरमा काशीनाथको सम्पूर्ण परिवार बसाइँ सर्‍यो । गुरुप्रसाद पनि बासँगै बसाइँ सरे । काशीनाथले भव्य घर बनाए । जागिरकै सिलसिलामा पछि उनको परिवारले पकनाजोलमा घर बनायो र पूरै परिवार त्यतै सर्‍यो ।

बा सरकारी जागिरे ! बाको जताजता सरुवा हुन्छ, गुरुप्रसाद पनि त्यतैत्यतै जानुपर्‍यो । उतिबेला गाडी गुड्ने सडक थिएनन्, मान्छे हिँड्ने साँघुरा गोरेटा र चौपाया घोडासम्म हिँड्न सक्ने घोडेटा बाटा मात्रै थिए । कैयौं दिन पैदलै हिँडेर बाको पछिपछि लाग्दा गुरुप्रसादले मुलुकभरका कैयौं गाउँ देखे, कैयौं गाउँले देखे र गाउँलेका कैयौं दुःख पनि । बाको सरुवासँगै सरिरहनुपर्दा उनको औपचारिक पढाइ राम्रोसँग हुन सकेन । तैपनि धेरै अनौपचारिक र थोरै औपचारिक अध्ययन गरेर उनले (विसं १९७५) मध्यमा ११ कक्षा उत्तीर्ण गरे ।

कसैलाई कसैले थर्काउँदा भन्छन्– बाबुको बिहे देख्लास् ! तर, गुरुप्रसादले बाबु काशीनाथकै बिहे गराएपछि मात्रै आफ्नो बिहे गर्न राजी भए । बुहारी जगतकुमारीको देहावसानपछि १७–१८ वर्षको छोरो गुरुप्रसाद विधुर बनेको बाबु काशीप्रसादले सहन सकेनन् र उनको दोस्रो बिहे गरिदिन खोजे । ‘तपाईंको म मात्रै एक्लो छोरो छु । त्यसैले पहिले हजुरले बिहे गर्नु अनि मात्र म बिहे गर्छु’ भनी पहिले आफ्नै बाबुको बिहे गर्न मन्जुर गराए उनले । गुरुप्रसादका प्रौढ बाबुको बिहे (विसं १९७४) ११ वर्षे बालिका सत्यभामासँग भयो । १८ वर्षका जवान गुरुप्रसादकी दोस्री आमा बनिन् ११ वर्षे सत्यभामा । तिनै सत्यभामाबाट कालान्तरमा काशीनाथका चार छोरा र एक छोरी जन्मे ।

यता (विसं १९७५) गुरुप्रसादको बिहेचाहिँ १० वर्षकी यशोदादेवी पाठकसँग भयो । उनै पत्नीबाट सुशील, राजेन्द्र, अम्बिका र माधव ४ छोरा, गंगा, कुमुद, मनोरमा, कनकप्रभा, शशिप्रभा र मीरा ६ छोरी गरी १० सन्तान जन्मे । सन्तानले डाँडाकाँडा ढाकून् भनेर दिइने आशीर्वादको फूल मैनालीको जीवनमा ढकमक्क फुल्यो । ‘आधुनिक कथा साहित्य’ लेखमा कथा लेखकले पात्रलाई अन्याय गर्नु हुँदैन भन्दै गुरुप्रसाद लेख्छन्, ‘पात्रहरू भनेका कथा लेखकका काल्पनिक जगत्का परिवार हुन् । त्यसो हुनाले बिचरा यिनीहरूमा कसैलाई साख र कसैलाई कुसाख गर्नु हुँदैन ।’

कथा लेखक मैनालीका काल्पनिक जगत्का कथामा आएका पात्र र उनको परिवारका केही पुत्री–पुत्रहरूको नाम मिलेको देखिन्छ । सुशील, माधव, गंगा, शशिप्रभा पात्रहरूको नाम कथा र जीवन दुवैतिर मिल्दोजुल्दो देखिनु एक प्रकारको संयोग मात्र होला ।

वास्तविक जीवनमा गुरुप्रसादकी दोस्रो श्रीमतीबाट जेठो छोराका रूपमा सुशील जन्मिए । उता उनको काल्पनिक परिवारको ‘नासो’ कथामा देवीरमणले दोस्रो बिहे गरेपछि बालक सुशील नै जन्म्यो । यी दुवै सुशीलमा एकअर्काको छाया देखिन्छ, जसका केही तथ्य सामुन्ने आउँछन् । विसं १९७५ मा मैनालीको दोस्रो बिहे हुनु, केही वर्षपछि सुशील जन्मनु र मैनालीले ‘नासो कथा विसं १९८३ मा लेखेको हुँ’ भन्नुले अनुमान गर्न सकिन्छ– ‘नासो’ लेख्दा उनका आँखाअघि सुशील नाचिरहेको हुन सक्थ्यो र उनैलाई काल्पनिक परिवारको पात्र चयन गरी बाललीलाको वर्णन गरिएको थियो ।

चन्द्रशमशेरका पालामा (विसं १९८३) मा लिइएको महाजाँचमा सम्मिलित भई प्रथम श्रेणीमा उत्तीर्ण भएपछि गुरुप्रसादको सरकारी जागिरे जीवन सुरु भएको हो । सुब्बा पदमा नियुक्ति पाएर बागलुङ अदालतको डिठ्ठाबाट उनको जागिरे जीवनयात्रा सुरु भयो । यो यात्राले पूर्व इलामदेखि पश्चिम डोटी हुँदै थुप्रै जिल्ला चहार्यो र विसं २०१७ सालमा काठमाडौंबाट उपसचिवसरहको न्यायाधीश पद हुँदै विश्राम लियो । जागिरे यात्रामै उनले तत्कालीन नेपाली समाजको गहिरो पर्यवेक्षण गरे, जसको पूर्ण प्रतिबिम्ब उनका कथामा देखिएको मान्छन् समालोचकहरू ।

विसं २००० मा उनलाई दुईवटा संगीन आरोप लगाएर जागिरबाट बर्खास्त गरिएको थियो । गौरमा लप्टन भएका बेला १९९७ सालमा डाँकाहरूलाई पक्रेर बयान गराउने क्रममा उनले धेरै पिटेका कारण एक डाँकाको मृत्यु भएको अभियोग पहिलो आरोप थियो । दोस्रो आरोप थियो– उनी विराटनगरमा हाकिम छँदा राणाविरोधी कृष्णप्रसाद कोइराला २००० सालमा गोप्य रूपमा विराटनगर आएर फर्केको र तिनलाई पक्रनुको सट्टा उल्टै भारत भाग्न सहयोग पुर्‍याएको ।

त्यो बर्खास्तगीको घटनाले उनमा राणाशासकप्रति थप तीव्र आक्रोश उब्जियो । भनिन्छ– त्यो आक्रोश उनको ‘साँढे समस्या’ निबन्धमा व्यंग्यात्मक रूपमा मज्जैले पोखिएको छ, जसमा लेखिएको छ, ‘साँढेहरू मफतमा अर्काको कमाइ खान पाएकाले अटेसमटेस छन् । एक हात अग्लो जुरो, दुई हात चाक्लो पुट्ठा, अढाइ हात लामु (घाँटीमा हल्लने) माल लिएर बिस्तारै लम्किँदैलम्किँदै हिँड्छन् ।... यिनको जबर्जस्तीपना कहाँसम्म बढ्यो भने हिँड्दा बाटो छोड्दैनन् । आफैं पन्छिएर जानुपर्छ ।’

जति मुर्मुरिए पनि राणाकै चाकरी नगरी जागिर पुनर्बहाली हुने जमाना थिएन त्यो । आफूमाथि अन्याय भएको निवेदनसहित निरन्तर मोहनशमशेरकहाँ चाकरीका निम्ति धाइरहे उनी । बर्खास्तगीमा परेको ६ वर्षपछि र मोहनशमशेर प्रधानमन्त्री भएपछि उनलाई २००६ सालमा जागिरमा पुनर्बहाली गरियो ।

भनिन्छ, सरकारी जागिर खानुभन्दा पहिला उनले विद्वान् पण्डित हेमराजकहाँ काम गरे र त्यसबेला तत्कालीन मुमा बडामहारानीको तीर्थयात्रा सवारीमा सँगै जाने अवसर मिल्यो । उनले त्यस यात्रा अवधिभरि प्रत्येक दिनको रोजानाम्चा अर्थात् दैनिकी पनि लेखे, जसमा यात्रावर्णनका प्रशस्तै बाछिटा छन् । नेपाली नियात्रा–लेखनको इतिहास लेख्नेहरूले मैनालीको नाम कतै समावेश गरेको पाइँदैन । अब नियात्राकार मैनालीलाई पनि सम्झनुपर्छ ।

गुरुप्रसाद धार्मिक प्रकृतिका मान्छे थिए, कठोर राणाशासन र निरंकुश पञ्चायती शासनका निजामती जागिरे । रंगीन, रमाइला जमघट र रमझममा गुरुप्रसाद उति देखिएनन्, सुनिएनन् । साहित्यकार, पत्रकार जमघट हुने पीपलबोट र गल्ली–डबलीतिर उनी लर्बराउँदै हिँडेको कतै देखिएन । हरिभक्तसँगै न्युरोडतिर साँझमा हल्लिएको र भूपीसँग भद्र रूपमा पिएको गाइँगुइँ पनि कतै सुनिएन । लेखक, कलाकार लैनसिंह बाङ्देल र इतिहासकार बाबुराम आचार्यसँग भने मैनालीको पत्राचार, गफगाफ भने खुब हुन्थ्यो ।

समाचार र राजनीतिमा पनि निकै चासो राख्थे उनी । कलकत्ताबाट निस्कने ‘प्रभात’ पत्रिकामा बाङ्देल सम्पादक भएका बेला बाङ्देलकै आग्रहमा मैनालीले लेख छाप्न पठाए । लेखसँगै पठाइएको पत्रमा मैनालीले कलकत्ताबाट रेडियो मगाउने विषयमा चासो राखेको एक प्रसंग लेखेका छन् बाङ्देलले, ‘तपाईंलाई रेडियो लिने मन रहेछ । यो मोरफी रेडियोभन्दा अर्को असल रेडियो अरू छैन क्यार ! केटलोगसमेत खामी पठाएको छु । तपाईंलाई लिने इच्छा भए कृपया मलाई एक पटक लेख्नुहोला ।’

त्यस्तै बाङ्देललाई ००७ सालपछि मैनालीले एउटा पत्र लेखे । त्यसमा उनले एउटा राजनीतिक प्रसंगलाई यसरी प्रस्तुत गरेका छन्, ‘नेपालको समाचार सुन्न तपाईंको मन उत्सुक भैरहेको होला, कांग्रेस प्रेसिडेन्ट श्री विश्वेश्वरजी चुनिनुभो तर चुनावमा धाँधली भो भनेर तराईतिरका कांग्र्रेसीहरू जम्मै भनेजस्तो कोइराला गुटबाट फुटी श्री भद्रकाली गुटमा मिले भन्ने सुनिन्छ... ।’

बाबुको र आफ्नो जागिर हुँदा धेरै समय तराई बसे गुरुप्रसाद । त्यहाँ बस्दा उतातिर बहेको स्वतन्त्रता संग्रामको तातो हावाले पनि हान्यो । वीरगन्जमा बस्दा उनी भारतबाट निस्कने थुप्रै साहित्यिक पत्रिकाका ग्राहक बने । हिन्दीका प्रेमचन्द लगायत थुप्रै पाश्चात्य साहित्यकारका कृति पढे । मैनालीले प्रेमचन्दबारे लेखे, ‘मेरो विचारमा हिन्दी साहित्यको वर्तमान युगमा प्रेमचन्दजस्तो उच्चकोटिको कथाकार कोही भएन ।’ उता मैनालीबारे आख्यानकार दौलतविक्रम विष्टले लेखे, ‘प्रेमचन्दभन्दा मैनालीका कथामा चित्रण सशक्त छ ।’ यसरी उतातिरको साहित्यिक प्रभावको सुशीतल समीरले मैनालीलाई पनि स्पर्श गर्‍यो । गुरुप्रसादको ‘नासो’ कथासंग्रहका कैयौं पात्रसँग कथाका पाठकले निकै आत्मीय सम्बन्ध गाँसेका छन् । कथाका पात्र रुँदा पढ्ने पाठक पनि सँगै रोएका छन् । पात्र हाँस्दा पाठक पनि मुसुमुसु मुस्कुराएका छन् । त्यसैले त आफैंले राजीखुसी लोग्नेको बिहे गराइदिएर भित्र्याएकी सौताका कारण मुटुमा भक्कानु पारेर शुभद्राले मध्यरातमा घर छाडी भाग्दा शुभद्राभन्दा पनि ‘नासो’ का पाठक बेस्मारी रोए । ‘अभागी’ कथामा माधवले अर्को बिहे गरेपछि सौतेनी आमाले दिएको पीडा सहन नसकेर अबोध बालक कृष्ण घर छाडेर हिँड्यो । त्यो कारुणिक शब्द–दृश्य देखेर थुप्रै पाठकका आँखामा आँसुको भल बग्यो । मैनालीका कथाका पात्रसँग त्यसरी एकाकार भएका पाठक आज ती प्रिय पात्रहरूका सन्तानबारे पनि चासो राख्दा हुन् ।

पाठकलाई लाग्दो हो, आजभन्दा ९७ वर्षपहिलेको शिशु सुशील देवीरमणको छोरो अहिले बूढो भएर बितिसक्यो होला, तर उसका छोराछोरी, नातिनातिना जापानतिर वा यूकेतिर जागिर खाँदै होलान् कि ? छिमेकमा मारामार गर्ने धनजिते र गुमानेका सन्तति काभ्रेको त्यही पुर्ख्यौली थलोमै होलान् कि तराईतिर बसाइँ सरे होलान् ? चौतारामा बसेर मान्छे लडाउने धर्मानन्दको जिन (वंशानुगत गुण) उसको सन्तानमा सर्‍यो कि सरेन होला ? छोरो गुमाएकी र राम्ररी बैंस नफक्रँदै लोग्ने गुमाएकी वीरबहादुरकी डल्लीले अर्को बिहे गरिहोली कि पार्टीमा पसेर बार्गेनिङ गर्दै सहिदपत्नीको रोयल्टी पटकपटक खाइरहेकी होली ? ‘पापको परिणाम’ कथामा शोषक कान्तुले दिनुसम्म दुःख दिएर घरबास उजाड पारी उठीबास बनाएका सुकुम्बासी जुठे र सन्तेका सन्तानहरू शोषक–सामन्त मास्न भन्दै १० वर्षे विद्रोहमा लागेर कान्तुको खलकसँग बदला लिए कि लिएनन् होला ?

सम्भवतः नेपाली साहित्यमा सबैभन्दा बढी पढिने लेखक मैनालीले समाजको एउटा वर्ग र कालको जीवन्त, मार्मिक चित्र कथामा उतारे । तर, जसरी उनले समाजका अरूका कथा लेखे, उसैगरी आफ्नै वक्र जीवनको संस्मरण लेखेका भए नेपाली साहित्यलाई नै श्रीवृद्धि हुने थियो ।

(लेखक शर्माले ‘गुरुप्रसाद मैनालीका कथामा वक्रता’ शीर्षकमा विद्यावारिधि गरेका छन्)

प्रकाशित : भाद्र २३, २०८० १०:४०
प्रतिक्रिया
पठाउनुहोस्