पारिजात र सुकन्या खोलापारि हेर्थे । ती देख्थे– जीर्ण झुपडीका लहर, जसले उपत्यकामा भर्खरै आएका गरिब परिवारलाई आश्रय दिइरहेको थियो । तिनलाई थाहा थियो– ती झुपडीका बालबालिकाले पढ्न पाउने छैनन् । त्यसपछि खुल्यो– अमृत स्कुल ।
डा. बारबरा निम्री अजिज योगमाया र उनको महिला मुक्तिको आन्दोलनमाथि अध्ययन गर्ने अमेरिकी मानवशास्त्री हुन् । योगमायाका अलवा तिब्बत र नेपालको हिमाली भेगको मानवशास्त्रीय अध्ययनका लागि कहलिएकी उनी पारिजात र उनकी बहिनी सुकन्यासाग आत्मीय रूपले नजिकिएकी थिइन्, जसबारे उनीसाग अनेकन् स्मृति छन् । समाजवादी आदर्शको दृष्टिकोण राख्ने साहित्यकार दिदी–बहिनीले गरिब बालबालिकाका लागि विद्यालय पनि खोलेका थिए, जसबारे बारबराले अंग्रेजीमा लेखेको संस्मरण घनश्याम खड्काको अनुवादमा :
अचेल जे अमृत सेकेन्डरी बोर्डिङ स्कुल भनेर चिनिन्छ, त्यो एक साधारण प्राथमिक विद्यालय थियो विक्रम संवत् २०३६ सालताका, जतिखेर यसलाई सुकन्या वाइबा र उनकी दिदी पारिजातले स्थापना गरेका थिए । काठमाडौं उपत्यकाको त्यस कुनामा यो एक मात्र विद्यालय थियो । पातवाला अग्ला रूख र धान खेतले घेरिएको यो अनकण्टार विद्यालयलाई हम्मेसी फेला पार्न सकिन्नथ्यो । नयाँ बजारको कुनो राजधानीको किनारमा अवस्थित म्हेंपीनिर ठडिएको थियो यो । म्हेंपी आज आफैंमा घना आवादी भएको भीडभाडपूर्ण लोकप्रिय बस्ती भइसक्यो । रिङरोड र सुस्त बागमती छेउछाउ नयाँ बस्तीहरू फैलिएकाले म्हेंपी वरपर गाडीको लस्कर लागिरहेकै हुन्छ अचेल । त्यस विद्यालय र खोलाबीचको अहिलेको मोटर चल्ने बाटोलाई पारिजात मार्ग भनिन्छ । त्यहाँ तीस वर्षअघि लेखिकाको सम्मानमा निर्माण गरिएको पारिजात स्मृति केन्द्र पनि छ, जो आज काठमाडौंको एक सक्रिय साहित्यिक स्थल हुन पुगेको छ ।
अहिले नेपालमा टोलटोलमा खुलेका हजारौं निजी विद्यालय छन् । यसरी निजी विद्यालय छ्यापछ्याप्ती बढ्नुको एउटा कारण सरकारी विद्यालयमा शिक्षाको स्तर खस्किँदै जानु पनि हो । राज्यले विद्यालय र शिक्षकहरूमाथि मनग्यै पैसा खन्याउँदा पनि सरकारी शिक्षाको गुणस्तर गिर्दो क्रममै छ । त्यस बेला (पारिजातका दिदी बहिनीले स्कुल खोल्दा) यस्तो थिएन निजी विद्यालयहरू ज्यादा थिएनन् ।
जहाँसम्म मलाई याद छ, सरकारीको स्तर खस्केकाले सुकन्याले निजी विद्यालय खोलेकी थिइनन् । उनी र पारिजात आफ्नो छिमेकका बालबालिकाका लागि पढ्ने ठाउँ उपलब्ध गराउन चाहन्थे । ती बालबालिकालाई विद्यालयको साह्रै खाँचो पनि थियो । किनभने केही परिवार यस्ता थिए, जो आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पनि पठाउन अक्षम थिए । यो तथ्यसँग पारिजातका दिदीबहिनी भलिभाँति जानकार थिए । आखिर, नेपालमा सबैका लागि सरकारी विद्यालय खुल्न थालेको पनि धेरै भएको थिएन तिनताक ।
आफ्नो घरछेउ खोलाको पारितिर हेर्दा उनीहरू जीर्ण झुपडीका लहर देख्न सक्थे, जसले उपत्यकामा भर्खरै आएका गरिब परिवारलाई आश्रय दिइरहेको थियो । सहयोग नगरे ती झुपडीका बालबालिकाले पढ्न पाउनेछैनन् भन्ने उनीहरूलाई लाग्यो । त्यसपछि, दिदीबहिनीको समाजवादी आदर्शमा शैक्षिक लक्ष्य पनि थपिन पुग्यो । नेपालको शासन सत्ता सम्हालिरहेको राजतन्त्रले विद्यालय खोले पनि सुकन्या र पारिजातजस्ता अभियन्ता त्यसमा जोडिन सक्दैनथे ।
विद्यालय खोलेपछि वरपरका नानीबाबुलाई कक्षा कोठामा स्वागत गर्नुको अलावा, उनीहरूले राजतन्त्रको विरोध गर्ने आफ्नोजस्तै साहस भएका सहयोद्धाका छोराछोरीहरूलाई पनि भर्ना गरे । तीमध्ये कसैका आमाबाबु जेलमा थिए भने कसैका बाबुआमा भूमिगत थिए ।
दुवै दिदीबहिनी आफ्ना विद्यार्थीको आर्थिक र सामाजिक परिस्थितिबारे राम्रोसँग जानकार थिए । हामी सँगै बसेर कुरा गर्दा वा विद्यार्थीहरू हाम्राछेउ आइपुग्दा वा कुनै प्रसंगको सम्झना आउँदा सुकन्या ती बालबालिकाको व्यक्तिगत क्षमता र पारिवारिक जीवनका फेरिस्त प्रस्तुत गर्थिन्– बाबुआमा हराएको, टुहुरो, एक बालक जसको बाबु परिवारलाई खुवाउन एक्लै परिश्रम गर्ने आमालाई कुट्ने गर्छ, एक बालिका जसकी आमा भागेकी छ, एक किशोर जसको एउटै अविभावक पनि जेलमा छ्, काकीसँग बस्न सहर पठाइएकी केटी, इत्यादि ।
विद्यालयको निर्देशकले जब ६, ७ वा ८ वर्षका केटाकेटीलाई छुट्याए– मलाई अभिवादन गर्न तिनलाई उनले विद्यालय हातापारिबाटै बोलाइन् । केही खुकुलो तर सफा, नीलो लुगामा गर्वका साथ उभिएर भर्खरै सिकेका अंग्रेजी शब्दहरू प्रयोग गर्ने उत्सुकताका साथ प्रत्येक विद्यार्थी मुस्कुराए । विद्यालयको निर्देशक पदबाट हटेको केही वर्षपछि सुकन्या पाठशालाको प्राङ्गणपारि हेर्थिन् र कुनै बच्चालाई औंल्याउँदै तिनको शैक्षिक स्तर र पारिवारिक पृष्ठभूमि बारे मलाई बताउँथिन् (तिनको जातको होइन, घरको अवस्थाको) ।
पारिजात शिक्षकको सहयोगी वा क्यान्टिनको कामदारलाई इसारा गरेर कसरी मलाई चिनाउँथिन् भन्ने सम्झन्छु । केही खतराबाट उम्किएर आश्रय र सान्त्वनाको खोजीमा ती महिला कसरी आफ्नो ढोकामा आइपुगेकी थिइन् वा कसरी त्यहाँ केही वर्ष पढेपछि उनी राम्रो जागिर पाउन सफल भइन् भनेर उनी मलाई भन्ने गर्थिन् । विद्यालय अप्ठेरोमा परेका र अलपत्रमा परेकाका लागि आश्रय, आँधीबेहरीमा परेकाहरूका लागि अडिने ठाउँ, तिनले अस्थायी रूपले काम गर्न सक्ने सुरक्षित स्थल, अनि तिनले सुत्ने र खाना पाउने ठाउँ बन्यो । परिवार नभएका वा आमाबाबुबाट टाढा बस्नेका लागि यी दिदीबहिनीले बास दिन्थे । कहिलेकाहीँ त बच्चाहरू महिनौंसम्म बसिदिन्थे ।
उनीहरूको कुटीमा जाँदा म आफैं पनि प्रायः दुई दिदी–बहिनी र सुकन्या वाइबाकी छोरी निमासँग त्यस गृहस्थ विद्यालयमा बस्ने गर्थे । यो त्यहीँ ठाउँ हो, जहाँ मैले यी महिला र उनीहरूका विद्यार्थीहरूका बीचमा नेपालको राजनीतिक जीवनको असली यथार्थहरू बुझें ।
म भाग्यमानी थिएँ । सामान्यतया, भ्रमण गर्ने विद्वान् वा पर्यटकहरूलाई यस्तो अवसर कहिल्यै जुर्दैन । ती वर्षहरूमा विदेशी आगन्तुकहरू वामपन्थी राष्ट्रवादीहरूसँग संगत गर्न डराउँथे । हामीलाई राजतन्त्रको आलोचना गर्ने जो कोहीबाट टाढै रहन चेतावनी दिइन्थ्यो ।
२० औं शताब्दीको प्रारम्भतिरकी कवि तथा विद्रोही योगमायाप्रति हाम्रो साझा लगावका कारण म त्यहाँ पारिजातलाई भेट्न पुगेकी थिएँ सुरुमा । हामी उनको साधारण रूपले सजाइएको कोठामा धेरै घण्टा बातचित गर्दा केटाकेटीहरू यता–उता गइरहन्थे, तिनीहरूको पठन र हर्षोल्लासको आवाजले काठमाडौंको यो कुनाको आश्रयस्थलको परिदृश्यलाई उज्यालो बनाउँथ्यो ।
पहिलो पटक बच्चाहरूका लागि खोलिएको अमृतको त्यो सानो इँटाको टहरामा मात्र चार कोठा थिए । नदीको छेउको त्यो ठाउँ आज पनि तपाईं फेला पार्नुहुनेछ । खासमा दिदीबहिनीको घरभित्र विद्यालय स्थापना गरिएको थियो । उनीहरूले सुरुमा एउटा कोठा विद्यालयका लागि छुट्याएका थिए, पछि अर्को छुट्याए । कक्षा कोठा बनाउन केही साधारण बेन्चहरू राखेका थिए, सुकन्या र पारिजातले । मलाई के लाग्छ भने उनीहरू आफैं अमृतका प्रथम शिक्षिकाहरू थिए । उनीहरू र अरू शिक्षकशिक्षिका पनि विद्यालयप्रति समर्पित मानिस थिए जसलाई सुकन्या र पारिजातले आफ्नो सम्पर्क सञ्जालबाट ल्याएका थिए । गरिबतम मानिसमा शिक्षाको जरुरत झन् बढी छ भन्ने उनीहरूलाई बोध थियो । त्यसैले उनीहरूले आफ्नो समाजवादी राजनीतिक दर्शनको ज्ञान पनि बाँडे ।
फोर्ड फाउन्डेसनमा काम गरेर कमाएको निजी रकमले शिक्षकहरूलाई ठिकैको तलब दिएर र कुपोषित बालबालिकाका लागि खाना उपलब्ध गराएर सुकन्याले विद्यालय सुरु गरेकी थिइन् । उनको परिवारमा आफ्नै आवश्यकताहरू न्यून थिएः साधारण चिया, विशेष अवसरहरूमा मात्र मासु अनि खाजा र अतिरिक्त आपूर्तिहरू शून्य । ती दिनहरूमा स्कुलमा पाले राख्ने चलनै थिएन । सरकारी कार्यालय जानुपर्यो भने उनीहरू कहिले हिँडेरै जान्थे कहिले बस चढ्थे । घरमा जे जति थियो, ती सबै उनीहरू बाँडीचुँडी गर्थे । काठका फलेकलाई सहयोगीहरूले डेस्कमा बदलिदिएका थिए । विद्यालय वरपरको जग्गा दिदीबहिनीहरूकै थियो, जसको कुनै व्यावसायिक प्रयोजन थिएन तिनताक । अमृतका विद्यार्थीहरूले धान खेतबीच उभिएका हरिया रूखको ताजा हावामा अध्ययन गरे । बिस्तारै–बिस्तारै विद्यालयको विस्तार हुँदै गयो र जब थप कक्षाकोठा, खेल मैदान, शौचालय र कार्यालय चाहियो, त्यसका लागि थोरैथोरै गर्दै ठाउँ खाली भर्नर् ेकाम भयो ।
कुन–कुन घरमा खाँचोमा परेका बालबालिका छन् भनी थाहा पाउन छिमेकीहरू र अरूहरूकहाँ पुगेजस्तै यी अग्रगामी महिलाहरूले आफ्ना मित्रहरूलाई यो स्कुल चलाउने प्रयत्नमा सघाउन आग्रह गरे । यसका लागि सञ्चालक समिति गठन भयो । उनका साथीहरूले व्यक्तिगत रूपमा एक वा बहुविद्यार्थीहरूको विद्यालय शुल्क, कपीकलम र सायद स्कुलको पोसाकको खर्च बेहोरिदिए ।
अचेल सुकन्या वाइबा २०, ३० र ४० वर्ष पहिले आफ्नो पढाइ सुरु गरेका धेरै तन्नेरीहरूबाट निरन्तर रूपले खबरहरू पाउँछिन् । यदि एक दर्जन, वा एक सय, वा एक हजार अमृत स्नातकहरूले आफ्नो विद्यालय र पारिजात तथा सुकन्या गुरुमाका सम्बन्धमा स्मृतिहरू लेखे भने तिनीहरूका शब्द नेपालको कथा बन्ने थिए– सफलताको रंगीन गुच्छाजस्तो । ती विद्यार्थीहरू आधुनिक नेपालीको नयाँ पुस्ताका गौरवशाली अभिभावक बनेका छन् । हामीले उनीहरूका लागि नेपालको राष्ट्रिय क्षितिज खोज्यौं भने, सयौं अमृत स्नातकहरू भेट्टाउनेछौं, जो आफैं शिक्षक बनेका छन्, व्यवसाय चलाएका छन्, जो कुनै समय प्रवासी मजदुर थिए, जो नर्स र दन्तचिकित्सक भएका छन्, जो निजामती कर्मचारी, राजनीतिज्ञ, पार्टी कार्यकर्ता, लेखक र पत्रकार भएका छन् । उनीहरूले जे गरे पनि र जहाँ गए पनि अमृतले ती सबप्रति गर्व गर्नेछ ।
