पहिलो फिल्म ‘आमा’ (२०२२) देखि २०७९ सम्मको अवधि हेरौं । नेपालमा अहिले बर्सेनि ९० वटासम्म फिल्म बन्न थालेका छन् । नेपाली बजारमा त नेपाली फिल्म छाएकै छन् । तर, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फिल्मको उपस्थिति कस्तो छ ? आउनुस् विमर्श गरौं ।
नेपाली फिल्मले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पाइला चालेको ‘कुमारी’ (०३५) बाट हो । ०३४ मा बनेको नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’ लाई तत्कालीन शाही नेपाल चलचित्र संस्थानले उज्वेकिस्तानको तासकन्द अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पठाएको थियो । महोत्सवमा चैत्यदेवी सिंह, नीर शाह र निर्देशक प्रेमबहादुर बस्नेत सहभागी थिए ।
चैत्यदेवीका अनुसार, अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘रेड कार्पेट’ मा नेपाली चलचित्रकर्मी हिँड्न पाएको त्यो पहिलो घटना हो । महोत्सवमा पठाउनकै लागि ‘कुमारी’ लाई केही छोटो बनाई अंग्रेजीमा सबटाइटल राखिएको थियो । अंग्रेजी सबटाइटल राखिएको पहिलो नेपाली फिल्म त्यही हो । एक वर्षपछि ०३६ सालको ‘सिन्दूर’ लाई पनि सोही महोत्सवमा पठाइएको थियो । महोत्सवमा ‘सिन्दूर’ की अभिनेत्री मीनाक्षी आनन्दसहित शाही नेपाल चलचित्र संस्थानबाट चेतन कार्की, लक्ष्मीनाथ शर्मा र प्रदीप रिमाल सहभागी भए । ‘सिन्दूर’ लाई तिब्बत टेलिभिजन (एक्सजेड टीभी) ले तिब्बती भाषामा स्वरारोपण गरी लगातार प्रदर्शन गर्दै आएको छ । यो फिल्म कहिले र कसरी उक्त टेलिभिजनसम्म पुग्यो ? त्यो सूचना सरकारी रेकर्डमा छैन ।
सरकारी निकाय ‘चलचित्र विकास बोर्ड’ ले हरेक वर्ष राष्ट्रिय पुरस्कार विजेता तथा विशेष चलचित्र घोषित फिल्मलाई अन्तर्राष्ट्रिय महोत्सवहरूमा पठाउँछ । बोर्डले भूषण दाहाल निर्देशित ‘कागबेनी’ लाई ०६५ मा चीनको प्रतिष्ठित सांघाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पठाएको थियो । सांघाईमा त्यसअघि अरू कुनै पनि नेपाली चलचित्रले अवसर पाएका थिएनन् । भारतका मुम्बई र हैदरावाद अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत यसले भाग लिएको थियो । २०३६ को ‘सिन्दूर’ पछि नेपाली चलचित्रले विदेशी महोत्सवमा प्रवेश पाउन २०५९ सालसम्मै पर्खिनुपर्यो । छिरिङरितार शेर्पाको ‘मुकुन्डो’ ले उक्त वर्ष सनफ्रान्सिस्को, फ्रिबर्ग, फुकुओका, गोटेवर्गजस्ता केही अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रवेश पायो । यसले ७३ औं ओस्कार अवार्डको उत्कृष्ट विदेशीभाषी फिल्मको प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्वसमेत गर्यो । यो चलचित्रको पटकथाले जापान ब्रोडकास्टिङ कर्पोरेसन (एनएचके) को नगद पुरस्कार जितेको थियो । सोही पुरस्कारबाट चलचित्र निर्माण गरिएको थियो । विदेशी फन्डिङ जित्ने नेपालको पहिलो फिल्म ‘मुकुन्डो’ नै हो ।
‘मुकुन्डो’ पछि २०६० मा नवीन सुब्बा निर्देशित ‘नुमाफुङ’ ले विदेशी मञ्चमा दरिलो उपस्थिति जनायो । विदेशी कम्पनीले वितरण गरेको पहिलो नेपाली चलचित्र हो यो । यसलाई स्विट्जरल्यान्डको ट्रिगन फिल्मले युरोपका विभिन्न देशमा रिलिज गरेको थियो । लिम्बू समुदायको सुनौली–रूपौली प्रथामा आधारित यो चलचित्रले फुकुओका, गोटेबर्ग, सनफ्रान्सिस्को, सिंगापुर, बंगलादेश, भारत, फिनल्यान्ड लगायतका विभिन्न ४५ वटा अन्तर्राष्ट्रिय महोत्सवमा राम्रो प्रभाव छोड्यो । ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट रनरअप र फ्रान्सको भिजुअल फिल्म फेस्टिभलमा पब्लिक च्वाइस अवार्ड पनि जित्यो ।
सुब्बाको अर्को चलचित्र ‘गुडबाई काठमान्डु’ ले २०७४ मा मात्रै अन्तर्राष्ट्रिय महोत्सवमा प्रवेश पायो । एसियाको प्रतिष्ठित बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा आधिकारिक रूपमा प्रतिस्पर्धाका लागि मनोनयनमा परेको यो पहिलो नेपाली चलचित्र थियो । त्यसअघि चलचित्र ‘सुन्तली’ बुसानमा प्रदर्शन भएको थियो, तर त्यो मनोनयनमा नपरी ‘वर्ल्ड पानोरमा’ अन्तर्गत थियो ।
‘गुडबाई काठमान्डु’ १० हजार अमेरिकी डलर पुरस्कार राशि रहेको बुसानको किम जेसीओके अवार्डमा छनोट भएको थियो । किम जेसीओके अवार्डमा दुई फिल्मलाई पुरस्कृत गरिन्छ । बुसानमा ‘न्यु करेन्ट विधा’ पछि सर्वाधिक पुरस्कार राशि रहेको विधा हो यो । दीपक रौनियार निर्देशित २०७० को ‘हाइवे’ बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर भयो । बर्लिनमा प्रिमियर हुने पहिलो नेपाली चलचित्र बन्यो यो । यद्यपि ‘हाइवे’ ले बर्लिनको मुख्य प्रतिस्पर्धा नभई पानोरमा सेक्सनमा मात्रै प्रवेश पाएको थियो । रौनियारको ०७३ को चलचित्र ‘सेतो सूर्य’ ले पनि संसारकै सबैभन्दा पुरानो भेनिस फिल्म फेस्टिभलमा छनोट हुने अवसर पायो । भेनिसको ओरिजोन्ती सेक्सनमा ‘सेतो सूर्य’ छनोट भएको थियो । भेनिसको अफिसियल सेलेक्सन मानिन्छ यो सेक्सनलाई । ‘सेतो सूर्य’ ले त्यहाँ एउटा प्रायोजित पुरस्कार ‘इन्टरफिल अवार्ड’ जितेको थियो ।
यसले २७ औं सिंगापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘बेस्ट एसियन फिचर फिल्म’ को सर्वोत्कृष्ट अवार्ड जित्यो । उक्त फेस्टिभलको यो नै प्रमुख अवार्ड हो । यो फेस्टिभलबाट ‘सेतो सूर्य’ ले ५५ हजार ५ सय सिंगापुर डलर अर्थात् करिब ४२ लाख ५४ हजार रुपैयाँ पुरस्कारस्वरूप प्राप्त गर्यो । चलचित्रले १० हजार सिंगापुर डलर तत्काल प्राप्त गर्यो भने बाँकी रकम रौनियारले बनाउने अर्को चलचित्रको प्राविधिक कार्यका लागि उपलब्ध हुनेछ । यो चलचित्रलाई एकेडेमी अवार्ड ‘ओस्कार’ को ९० औं संस्करणमा नेपालबाट पठाइएको थियो ।
भेनिस फिल्म फेस्टिभलमा नेपाली फिचर फिल्मले पहिलोपटक सहभागिता पाएको मीनबहादुर भामको ‘कालो पोथी’ बाट हो । २०७२ सालमा बनेको ‘कालो पोथी’ भेनिसको इन्टरनेसनल क्रिटिक्स विकमा सहभागी भएको थियो । क्रिटिक्स विक अन्तर्गत यसले क्रिटिक्स अवार्ड जितेको थियो । क्रिटिक्स विक भनेको भेनिस महोत्सव परिसरमै हुने समानान्तर कार्यक्रम हो ।
यस चलचित्रमा नेपालसँगै जर्मनी, फ्रान्स र स्विट्जरल्यान्डका निर्माताको समेत लगानी थियो । यो चलचित्र बुसान, मस्को, सिंगापुर, टोकियो फिल्मेक्ससँगै नेपालबाहिरका अन्य ७८ वटा फेस्टिभलमा प्रदर्शन भएको छ । त्यस्तै यो चलचित्र ८९औं एकेडेमी अवार्ड ‘ओस्कार’ मा सर्वश्रेष्ठ विदेशी भाषा चलचित्र विधाका लागि नेपालबाट छानिएको थियो ।
फ्रान्सका विभिन्न सहरमा सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘सुनगाभा’ मा पहिलोपटक महिला समलिंगीको कथा उठाइएको थियो । सुवर्ण थापा निर्देशित ०६८ को यो चलचित्र हम्बर्ग, पाल्म स्प्रिङ तथा भारतका विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा छानिएको थियो । साथै फ्रान्सको योङ डाइरेक्टर फिल्म फेस्टिभल र सेटर साउथ एसियन फेस्टिभलमा चर्चित बनेको थियो ।
सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट हुने अर्को नेपाली चलचित्र हो । यो चलचित्र सन् २०२० मा आयोजना भएको उक्त फेस्टिभलको २५ औं संस्करणमा सबैभन्दा ठूलो पुरस्कार राशिको ‘न्यु करेन्ट सेक्सन’ मा छनोटमा परेको हो । यो विधाको पुरस्कार राशि ३० हजार अमेरिकी डलर छ । यो फिल्म नेपालबाट ‘ओस्कार’ का लागि पनि छानियो ।
निर्देशक सुजित बिडारी नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान बढ्यो भने समग्र चलचित्रकर्मीकै आत्मविश्वास बढ्ने बताउँछन् । निर्देशक मीन भामको बुझाइमा नेपाली चलचित्र अन्तर्राष्ट्रिय मञ्चमा पुग्नु भनेको उद्योगकै लागि उपलब्धि हो । ‘विदेशी भूमिमा नेपाली फिल्मको उपस्थिति सन्तोषजनक छ’, भाम भन्छन् ।
