एक पन्छी, एक कल्पना

श्रावण २३, २०७८

मुंशी विजयकुमार सक्सेना

भारतीय काव्यजगत्का त्रिमूर्ति– पन्त, प्रसाद र निरालाका हाराहारीका कवि मानिन्थे– गोपालसिंह नेपाली । उनको गद्य कविताको पुस्तक ‘कल्पना’ राणाकालमै नेपालबाट छापिएको थियो । र, लामै समयसम्म आईएको कोर्समा उनको ‘भ्रान्ति’ कविता पढ्नुपर्थ्यो । उपल्लो हारका कवि भए पनि ‘नेपाली’ भएकाले भारतले बिस्तारै उनलाई बिर्संदै गयो । अनि हिन्दीमा बढी कविता लेखेका र भारतमै जीवन व्यतीत गरेकाले पञ्चायती राज्यले उनलाई अपनाएन । फलतः उनी नेपाल–भारत दुवैतिर बिर्सिइँदै गए । प्रस्तुत छ, ११० वर्षअघि (अगस्ट ११, १९११) जन्मिएका कवि गोपालसिंह नेपालीको जन्म–दिवसको सन्दर्भमा उनको जीवन–वृत्त :

कविवर गोपालसिंह नेपालीको जन्म ११ अगस्ट १९११ मा विहारको चम्पारन जिल्ला, बेतियामा भएको थियो । उनका पिता आरबी सिंह त्यतिखेरमा फौजमा थिए । उनको शिक्षा–दीक्षा बेतियामै भयो । बहुधा देखिएको छ— जो संसारमा केही गर्न भनेर आएका हुन्छन्, उनीहरू सांसारिक उहापोहमा त्यति पर्दैनन् । गोपालसिंह पनि जन्मसिद्ध कवि थिए । यो तथ्य प्रेमचन्द स्वयंले प्रयागमा सन् १९३२ मा आयोजित द्विवेदी–मेलामा गोपालसिंहलाई धाप मार्दै भनेका थिए— ‘के आमाकै पेटबाट कविता सिकेर आएका थियौ !’ गोपालसिंहले वाचन गरेको कविता ‘हरी घास’ (हरियो घाँस) ले त्यतिखेर सबै दिग्गजहरूको हृदयलाई झंकृत गरेको थियो ।

प्रवेशिका परीक्षासम्मको शिक्षा पाउँदा–नपाउँदै गोपालसिंहले आफ्नो प्रतीभा–पुञ्ज फिँजाउन सुरु गरिसकेका थिए । राज–स्कुल बेतियाका प्राचार्यको उत्साह पाएर गोपालसिंहका कविता पल्लवित हुन थालेका हुन् । त्यसो त उनको कण्ठ मसुरीबाट खुलेको हो । सन् १९२८ सम्म उनी उर्दँमा कविता लेख्थे, अनि कहिलेकाहीं हिन्दीमा । ‘पीपल’, ‘पन्छी’, ‘सरिता–जल’, ‘निर्झर–गान’, ‘हरी घास’, ‘देहरादून के बेर’लगायत सैकडौं रचना उनले किशोरवयमै लेखिसकेका थिए, जो अहिले बीएसम्मका कक्षाहरूमा पढाइन्छन् । 

थोरैलाई मात्र थाहा छ, गोपालसिंह जति राम्रा लेखक, पत्रकार र कवि थिए, उत्ति नै राम्रा हाजिर–जबाफ, हंसमुख, उदार, परिश्रमी, प्रतिभा–सम्पन्न, स्फूर्तिवान पनि थिए । उनी फुटबलका पनि उस्तै राम्रा खेलाडी थिए । तर, जहिलेदेखि उनका भाइ बमबहादुर सिंह नेपाली (जो आजकाल इन्डो–नेपाली–फिल्म्स–प्रोडक्सन्सका मालिक र निर्माता छन्) ले फुटबलमा नाम कमाउन सुरु गरे तहिलेदेखि उनले त्यो क्षेत्र भाइलाई छाडिदिए । जहाँसम्म उनको प्रत्युत्पन्न मतिबारे मलाई जानकारी छ, उनले एक पटक बीपी कोइरालालाई पनि कुकुरमुत्ता शब्दलाई लिएर निकै बेरसम्म हँसाएका थिए । उनका चुट्किलाहरू त आजकल सबैतिर छरिएका छन् । 

सन् १९३०/३१ मा उनको कविता ‘भारत–गगन के जगमग सितारे’ रामवृक्ष बेनीपुरीद्वारा सम्पादित ‘बालक’ हिन्दी मासिकमा छापिएको थियो । उनका प्रकाशित कवितामध्ये यो पहिलो थियो । त्यसपछि ‘सुधा’, ‘आर्यावर्त’, ‘विशाल भारत’, ‘सरस्वती’, ‘कर्मवीर’, ‘प्रताप’, ‘युवक’, ‘विश्वमित्र’ आदि सबै प्रतिष्ठित पत्रिकामा उनका रचना छापिए । उनलाई पहिलो पटक सन् १९३१ को कलकत्ताको विराट–सम्मेलनमा कवितावाचन गर्ने मौका मिल्यो । अनि त्यहीँबाट उनको सुकीर्ति फैलन थाल्यो । सन् १९३२ मा उनी काशीमा चम्किए र त्यही वर्ष द्विवेदी–मेला, प्रयागमा पनि । उनको प्रगतिको द्वार खुल्यो । हुन त आफ्नो प्रतिभा र सुकण्ठको बलमा उनी बडा–बडा मूर्धन्य साहित्यकार र विद्वान्को पनि सराहनाको पात्र बनिसकेका थिए । र, प्रेमचन्द, जयशंकर ‘प्रसाद’, सुमित्रानन्दन पन्त, हरिवंशराय बच्चन, श्यामशरण पाण्डेय तथा सोहनलाल द्विवेदी आदिको माया पाएर अगाडि बढिरहेका थिए । प्रारम्भमा छोटो समयका लागि जीविकोपार्जन–हेतु गोपालसिंहले देहरादूनमा ‘सिग्नलिङ ब्याय’ को रूपमा पनि काम गरेका थिए । त्यसबखत पनि उनी केवल साहित्य सेवा गरिरहेका थिए र एक–दुई हस्तलिखित पत्रिकाका सम्पादन/सञ्चालन गरिरहेका थिए । उनको ‘स्वर्ण–युग’, ‘उमंग’ आदि प्रकाशन भइसकेका थिए । 

सन् १९३२ मा प्रयागमा द्विवेदी–मेला भइरहेको थियो । प्रयागकै सबैभन्दा ठूला रइस, सिनेमा सञ्चालक निरञ्जनलाल भार्गवले मेलामा भाग लिन आएका सबै कवि, साहित्यकार र विद्वान्हरूलाई कवि–कुटीर, गोविन्द भवन इलाहबादमा एउटा विशाल प्रीति–भोज आयोजन गरेका थिए । निरञ्जनलालका साला एवं सुधा तथा माधुरीजस्ता सर्वश्रेष्ठ साहित्यिक पत्रिकाहरूका प्रधान सम्पादक, गंगा–पुस्तकमालाका सम्पादक–संस्थापक–सञ्चालक, लखनवी हिन्दीका जन्मदाता, दुलारे–दुहावलीका प्रणेता, व्रज–भाषाका श्रेष्ठतम कवि तथा पहिलो देव–पुरस्कार विजेता (जुन उनलाई पछि मिलेको थियो) दुलारेलाल भार्गवले यो सबैको प्रबन्ध गरेका थिए । मेलामा गोपालसिंहले सुनाएको ‘हरियो घाँस’ कविता उनलाई सम्पूर्ण दृष्टिले उत्कृष्ट लागेको थियो । त्यसैले उनले बृहत् प्रीति–भोजको बेला विशाल छतमा भएको जमघटमा गोपालसिंहको हरियो घाँस पुनःश्रवण गर्ने इच्छा जताए । त्यसपछि गोपालसिंहले यसरी त्यो कवितावाचन गरे कि उपस्थित सबै जना मन्त्रमुग्ध भए । दुलारेलाल त गोपालसिंहबाट यति कायल भए कि उनले आफूले सम्पादन–प्रकाशन गर्ने सुधाको सम्पादकीय विभागमा उनलाई निम्त्याइहाले । त्यसपछि, गोपालसिंह आफ्ना भाइ मगन (बमबहादुर) का साथ कवि–कुटीरमा अन्य लब्ध–प्रतिष्ठ साहित्यकारसँग रहन लागे । महिनाको तीस रुपैयाँ तनखा पनि उनले पाउन थाले । 

यहाँबाट गोपालसिंहका लागि विभिन्न बाटा खुले । बडा–बडा साहित्यकार—चतुरसेन शास्त्री, भगवतीचरण वर्मा, प्रेमचन्द, सुमित्रानन्दन पन्त, मैथिलीशरण गुप्त, हरिऔध, डा. रामकुमार वर्मा, ‘निराला’, ऋषभचरण जैन, गिरिजाशंकर द्विवेदी आदिसँग उनको घनिष्ठ सम्बन्ध भयो । ‘निराला’ले त उनलाई आफ्नो भाइसरह मान्न थाले । ‘निराला’ सँग गोपालसिंहको मतो मिल्थ्यो किनकि उनी पनि गोपालसिंहझैं मस्त, निर्भीक र खेलाडी थिए, त्यो पनि फुटबलको ! प्रत्येक साँझ फुटबल खेल्नु र विश्वविद्यालयमा कविता पाठ गर्नु गोपालसिंहको दैनन्दिनीजस्तै भयो । यी दुवै (निराला र गोपाल) का आ–आफ्नै विशेषता थिए र कविताको ‘टेक्निक’ बारे उनीहरूका अलग–अलग विचार थिए । 

यिनै दिनमा गोपालसिंहले आफ्नो पुस्तक ‘पन्छी’ (खण्ड काव्य) सिर्जना गरे । सो पढेर ‘निराला’ यति प्रसन्न भए कि उनैले पन्छीको भूमिका पनि लेखे । सुमित्रानन्दन पन्तले गोपालसिंहको उमंगका लागि दुई शब्द कोरे । यी तीन महाकवि— भार्गव, ‘निराला’ र पन्त—को छत्रछायामा रहेर गोपालसिंहले थोरै समयमै निकै ठोस तथा तीव्र प्रगति हासिल गरे । साहित्यका धेरै नयाँ विधा पनि उनले यहीँ सिके । उनी यसैबाट हिन्दीका सर्वश्रेष्ठ, सुन्दर, लोकप्रिय तथा मौलिक गीतकार भए । यसरी आधुनिक युगमा सर्वाधिक लोकप्रियता पाउने कला सिकाउने तथा उनलाई सो स्थानमा उभ्याउने श्रेय उपर्युक्त साहित्यकारहरूलाई जान्छ । अझ त्यसमा पनि सबैभन्दा बढी दुलारेलाल भार्गवलाई । दुलारेलालले गोपालसिंहका कवितालाई आफ्नो पत्रिका सुधामा केवल शीर्षस्थान मात्रै दिएनन्, उनका दुई पुस्तक ‘पन्छी’ र ‘रागिनी’को संशोधन–सम्पादनसमेत गरे । आफ्नो पुस्तक पन्छी दुलारेलाललाई समर्पण गरेर गोपालसिंहले उनीप्रति सम्मान प्रकट गरे । 

जसरी अन्य नवोदित साहित्यकार/लेखकका कृतिलाई दुलारेलाल प्रोत्साहित गर्थे, त्यसरी नै गोपालसिंहका दुई प्रारम्भिक पुस्तक प्रकाशन गरेर उनलाई दुलारेलालले ठोस प्रगतितर्फ अगाडि बढाए । यो कवि–कुटीर (कवि–कोविद–क्लब एवं गंगा–पुस्तकमाला, ३६, गौतम बुद्ध मार्ग, लखनउ) को एउटा विशेषता थियो : यहाँ सधैं विभिन्न विचारधाराका र विधाका साहित्यिक, राजनीतिक, सामाजिक तथा धार्मिक विद्वान्हरूको जमघट भइरहन्थ्यो । सयकडौं साहित्यकारका अतिरिक्त आचार्य नरेन्द्रदेव, पं. गोविन्दवल्लभ पन्त, बाबु पुरुषोत्तमदास टन्डन, लालबहादुर शास्त्री, सीबी गुप्त, आचार्य कृपालानी, रफी साहेब, सुचेता कृपालानी आदि सयकडौं राजनयिक पनि कवि–कुटीर आउँथे र बस्थे । यहाँका हरेक कवि–कोविद आफ्ना मौलिक सुझ–बुझ राख्दाराख्दै पनि, अरूका विचारधारालाई खण्डन नगरी, परस्पर मैत्री र सहानुभूतिसाथ अरूलाई हरतरहको सहयोग/प्रोत्साहन आदि दिने गर्थे, र अद्यापि दिँदै छन् । सदैव यस्तो भइरहने सांस्कृतिक संस्था मैले अहिलेसम्म अन्यत्र कहीँ देखेको छैन ।

खैर, यसरी गोपालसिंहलाई उच्चस्थान मिल्यो । दुलारेलालको सम्पर्कमा आएर उनले नूतन प्रयोगहरू गरे । गोपालसिंहको किशोरावस्थाको कुशाग्र बुद्धिलाई यहाँ एउटा सुन्दर विकास–क्षेत्र मिल्यो, जहाँ उनले दार्शनिकको महान् पद पनि ग्रहण गरे ! उनलाई उजिल्याउनका लागि दुलारेलालले धेरै नै सहयोग गरे र लखनउको साहित्यिक वातावरण एवं आफ्नो प्रतिभाको समुच्चयले गोपालसिंहले कीर्ति आर्जन गरे ।

हिन्दीमा महान् योगदान दिएका मूर्धन्य विद्वान् दुलारेलालले अनेक लब्ध–प्रतिष्ठित साहित्यकारलाई प्रोत्साहन दिएर यसरी योग्य बनाए कि आज उनीहरू लोकप्रिय मात्र होइन, शीर्षस्थ स्थानमै छन् । मेरो विचारमा यदि त्यतिखेर उनले यो काम नगरेका भए ती तमाम कवि–सर्जकहरूको प्रतिभा या त यथेष्ट संरक्षणको अभावमा कुण्ठित हुन्थ्यो या तात्कालिक उच्छृंखल भव–धारामा बगेर जान्थ्यो । यो कति अनुचित कुरा हो— महल त सबै देख्छन्, तर महलको जग हाल्ने वा महल बनाउनेलाई कुनै वास्ता गर्दैनन् । सायद यसैकारण आज ६५–७० वर्षको आयुमा दुलारेलाल गर्वले भन्छन्, ‘कवि–कुटीरमा जो बसे, आनन्दले बसे । बाहिर गएपछि उनीहरूले केही न केही कठिनाइ भोग्नुपर्‍यो । मैले गोपालसिंहको यथाशक्य समुचित सेवा गरेँ । उनलाई अगाडि बढ्न र साहित्य–सृजनमा सहायता दिँदैरहेँ ।’ दुलारेलालको कवि–कुटीर, लखनउमा गोपालसिंह ६–७ महिना बसे, त्यसपछि उनी ऋषभचरण जैनसँग दिल्ली गए । दिल्लीमा उनले ‘चित्रपट’को सम्पादन गरे । 

सन् १९३३ देखि सन् १९४२ सम्म गोपालसिंहले क्रमशः ‘चित्रपट’, ‘रतलाम–टाइम्स’ र ‘योगी’को सम्पादन गरे । पछि उनी बेतियामा राज–प्रेसका व्यवस्थापक बने । तर, त्यहाँ एउटा सैद्धान्तिक कुराले गर्दा झगडाजस्तो भयो । राजेन्द्रप्रसाद (जो पछि भारतका प्रथम राष्ट्रपति बने) को सुझावमा गोपालसिंहले त्यो जागिर छाडिदिए । यसबीच कवि–वासर नामको एउटा संस्था उनले बेतियामा स्थापना गरेका थिए । ‘बिहारका बुलबुल’ उपाधि पनि उनले पाए । अनेक संस्था र सम्मेलनका सभापति, सञ्जालक र संस्थापकसमेत बने उनी । 

सन् १९४३–४४ मा केही व्यक्तिको अनुरोधमा गोपालसिंहले फिल्म क्षेत्रमा हामफाले । त्यहाँ पनि उनले ठूलो यश र नाम कमाए । ४०–४५ फिल्मका गीत लेखे, सबैमा लोकप्रियता पाए । फिल्मलाई उनले एक हिसाबले पहिलो पटक साहित्य र कविता दिए । ‘नागपञ्चमी’, ‘तुलसीदास’, ‘मजदुर’, ‘सती’, ‘नाग–कन्या’, ‘माया–बजार’, ‘नई राहें’, ‘जय भवानी’, ‘नरसी भगत’ आदि फिल्म यसका जिउँदा–जाग्दा उदाहरण हुन् । सन् १९४४ मा बंगाल–फिल्म–जर्नलिस्ट एसोसिएसनले उनलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड दियो । साधारणभन्दा साधारण शब्दमा गहनभन्दा गहन भावना पोख्नु गोपालसिंहको विशेषता थियो । उनका रचना सुन्नेहरू झुम्थे, र त्यो बोली उनीहरूको आफ्नै हो भन्ठान्थे, गोपालका गीतमा आफू सन्निहित भएको पाउँथे । हिन्दीमा यस्तो महान् गीतकार दोस्रो देखिएको छैन । प्रकृति वर्णनमा त उनी अद्वितीय नै थिए । नागेन्द्रप्रसादको शब्द सापटी लिएर भन्नुपर्दा, ‘प्रकृतिको यस्तो कवि कम्तीमा हिन्दीमा दोस्रो कोही छैन ।’ (पन्छीमा आउने यत्रतत्र प्रकृति–छटाको वर्णनबाटै पाठकले यसको अनुमान गर्न सक्छन् ।) जनताको आत्मामा बास गर्थे गोपालसिंह, उनको काव्यधाराबाट हर एक वशीभूत हुन्थे, आत्मविभोर तुल्याइदिन्थे हरेकलाई उनी । 

फिल्म क्षेत्रमा निर्माता, निर्देशक र गीतकार बनिसकेपछि उनी फेरि साहित्यको क्षेत्रमा आएर डटेका थिए । यद्यपि, फिल्म–क्षेत्रमा रहँदा पनि उनले साहित्यको सेवा गर्न छाडेका थिएनन् । आजकाल फिल्म क्षेत्र उनका भाइ बमबहादुरसिंहले सम्हालेका छन् । हालैका दिनमा गोपालसिंह भित्रको कवि बडो मुखर थियो, र राष्ट्रलाई उनले एक सूत्रमा बाँधेका थिए । मेरा देश बडा गर्विला, हिन्दुस्तान, जवाहरलाल, महात्मा गान्धी, बुद्ध, भारत माता की प्रभाती, गंगा की धार जवानी तथा चीनसम्बन्धी उनका कविताहरू यसका प्रमाण हुन् । गोपालसिंहका स्वर्ण– ‘युग’, ‘उमंग’, ‘पन्छी’, ‘रागिनी’, ‘नीलिमा’, ‘नवीन’, ‘कल्पना’, ‘पञ्चमी’ र ‘हिमालय ने पुकारा’ शीर्षकका पुस्तक अहिलेसम्म प्रकाशित भइसकेका छन् । ‘पन्छी’ तथा ‘रागिनी’ छाडेर बाँकी सबै पुस्तक र साहित्य चाँडै नै उनको मुख्य शिष्य, यो पंक्तिको लेखकले प्रकाशमा ल्याउनेछ । यसमा सहयोग गर्न चाहना हुनेले, या गोपालसिंहबारे थप जान्न चाहनेले कृपया पत्र–व्यवहार गर्नुहोस् (सी १०८०, सेक्टर ए, फैजावाद रोड, रेलवे–क्रसिङ, लखनउ) । गोपालसिंहको परिवार अझै पनि बम्बईमै छन् र उनीहरूको ठेगाना हो : श्रीमती वीणारानी नेपाली, चिंचोली, मलाड, बम्बई–६४ । 

भागलपुर (विहार) को रेलवे प्लेटफर्ममा गत १७ अप्रिल १९६३ बुधबारका दिन हृदयगति अचानक बन्द हुनाले यी महान् कविको दुःखद निधन भयो । आफ्नो देशलाई चिनियाँहरूको खिलाफ मोर्चा खोल्ने सन्देश दिएर गोपालसिंह कवि–सम्मेलनहरूबाट फर्किरहेका थिए । भारतका महान् कवि–सैनिक अब हामीसामु छैनन्, तर आशा छ उनका गीतले हामीलाई चिरकालसम्म जागरणको प्रकाश प्रदान गरी नै रहनेछन् । 

१९ अगस्ट १९६४ (उषा–काल, बुधबार)

अनुवाद :  लोकरञ्जन पराजुली

...

सन् २०१२–१३ मा म युनिभर्सिटी अफ इलिनोए एट सिकागोमा फेलोको रुपमा नेपालको शिक्षा–राजनीतिबारे अनुसन्धान गरिरहेको थिएँ । यसक्रममा मैले खास गरी राणाकालको उत्तरार्द्धका गोरखापत्रका अंकहरुको माइक्रोफिल्म केलाइरहेको थिएँ । गोरखापत्रका एक–दुई सामग्रीमा गोपालसिंह नेपालीको नाउँ देख्दा म अलि अचम्ममा परेको थिएँ । ‘ए, मानवशास्त्री गोपालसिंह त ठूलै कवि पनि रहेछन्’ —मलाई त्यतिखेर लागेको थियो । पछि, समयको हिसाब गर्दा मिल्न आएन र खोजीपस्दा यी छुट्टै गोपालसिंह नेपाली रहेछन्, अनि भारतमा सुविख्यात रहेछन् भन्ने थाहा लाग्यो । 

म साहित्यको विद्यार्थी होइन, न गतिलो पाठकै हुँ । तसर्थ, मैले उनीजस्ता साहित्य–सर्जकबारे नसुन्नु–नजान्नु कुनै ठूलो विषय थिएन । तर, यसो बुझील्याउँदा साहित्यबारे चासो–खाँचो राख्नेहरु नै पनि उनीबारे खासै जानकार पाइनँ । त्यसैले गोपालसिंहबारे खोजीपसेर केही लेख्नुपर्ला भन्ने मलाई लागिरह्यो, तर कहिल्यै त्यतातिर समय खर्चन सकिन । 

यसबीच गएका तीन वर्षमा पहिले ध्रुवचन्द्र गौतम (कान्तिपुर कोसेलीमा) र पछि रामेश कोइरालाले (नयाँ पत्रिकामा) कवि गोपालसिंहबारे लेख्नुभयो । उहाँहरुका लेखपछि मैले गोपालसिंहबारे लेख्ने विचारै त्यागिदिएको थिएँ । तर, हालैका दिनमा पुराना छापा–अभिलेख केलाउने क्रममा अरु केही सामग्री हात लागे, जसले गोपालसिंह र उनका भाइ बमबहादुर सिंहबारे थप जानकारी दिन्थे । यही क्रममा मैले कवि तीर्थराज वन्तसँग भेट हुँदा गोपालसिंहको प्रसंग उप्काएँ । उहाँसँग गोपालसिंहका तीनवटा पुस्तक रहेछन्, जुन मैले अध्ययनका लागि सापटी लिएँ । ती पुस्तकमध्ये ‘पन्छी’ का अन्तिम पातामा उनको छोटो जीवन–वृत्त छापिएको रहेछ, जुन नेपाली साहित्यका पाठकका लागि रूचिपूर्ण हुनेछ भन्ने लाग्यो । र, अनुवाद गरेँ । गोपालसिंहको यो जीवन–वृत्तमा मूलतः उनले भारतमा बिताएको जीवन र उनको सृजना–ट्राजेक्टोरीबारे वर्णन छ । 

नेपाली भाषामा पनि कविता कोर्थे, गोपालसिंह । उनीप्रति नेपालीहरुको र उनको नेपाल/नेपालीप्रति पनि उस्तै माया–मोह थियो । उनको गद्य कविताको संग्रह कल्पना १९९२ सालमा नेपाली भाषा प्रकाशिनी समितिबाट बालकृष्ण समले छापेका थिए । उनी र उनका भाइको नेपाल/नेपालीसँग जोडिएका प्रसंगबारे पछि चर्चा गरौंला, अहिलेलाई भने ‘पन्छी’ (१९६४) मा छापिएको मुंशी विजयकुमार सक्सेनाले लेखेको उनै सुविख्यात कवि गोपालसिंह नेपालीको जीवन–वृत्त पढौं ।

– लोकरञ्जन 

मुंशी

Link copied successfully