१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

के तपाईं सुन्दर हुनुहुन्छ ?

हामीले बाँचिरहेको यो सम्पूर्ण जीवन नै एउटा अघोषित ब्युटी पेजेन्ट हो, जहाँ प्रत्येक पाइलामा हामीलाई कसै न कसैले नापतौल गरिरहेको छ ! हामी पनि कसै न कसैलाई नापतौल नै गरिरहेकै छौँ । सुन्दर र असुन्दरको तराजुमा राखी लेखाजोखा गरिरहेका छौँ ।
सविना देवकोटा

‘ठूलो भएपछि के बन्छौ नि तिमी ?’
पत्रकारका प्रश्न त्यति रेडिमेड हुँदैनन्, जति हाम्रा आफन्तका हुने गर्छन् !
तर, रेडिमेड प्रश्नको उत्तर दिन म सधैँ रेडी भइहाल्थेँ ।
प्रश्न भुइँमा खस्न नपाउँदै बालसुलभ हाँसोको सहारा लिएर म आँखा ठूला बनाउँदै, थुक घुटुक्क निलेर गर्वका साथ भन्थेँ– मिस नेपाल !

के तपाईं सुन्दर हुनुहुन्छ ?

डाक्टर, इन्जिनियर, पाइलट सुन्न अभ्यस्त भएका कानहरू त्यसबखत छक्क पर्थे र तलदेखि माथिसम्म मलाई निमेषभर हेर्थे । हेरिरहन्थे ।

किनकि मेरो जवाफ रेडिमेड थिएन ।

हुन पनि नौ/दस वर्षकी बालिकाले रेडिमेड उत्तर दिनेबेलै भएको थिएन ।

‘मिस नेपाल त हुन्थ्यौ होला तर तिम्रो दाँत र हाइटले चाहिँ धोका देलाजस्तो छ,’ हाँस्दै उनीहरू मलाई मेरो नमिलेको दाह्रा निस्किएको दाँत र होचो कदप्रति इंगित गरिदिन्थे ।

नमिलेको दाँतले पनि मिलाएर हाँस्न जानेकै थियो । म फिस्स हाँस्थेँ र फोक्सोदेखिको बल लगाउँदै फ्योट्ट भनिदिन्थेँ, ‘दाँत जाबो त मिलाउन सकिहालिन्छ नि !’

कुरा अड्कन्थ्यो हाइटमा । म खिस्रिक्क पर्थेँ । मलाई लाग्थ्यो, म प्रश्नोत्तर राउन्डमै फालिएँ ।

सकेसम्म हार नस्विकार्ने स्वभाव भएकाले होला, म आफ्नो खस्केको अनुहार देखाउन सक्दिन थिएँ । बरु मनमनै प्रण गर्थें– चाहे जेसुकै होस्, म मिस नेपाल भएरै छाड्छु !

***

‘के छ त मिस नेपालको खबर ?’

भेट हुनेबित्तिकै आउने पहिलो प्रश्नले मलाई खुब आह्लादित बनाउँथ्यो । म लजाउँदै हाँस्थे । हाँस्दै लजाउँथेँ ।

यो त्यही प्रश्न थियो, जसको उत्तरमा म आफ्नो भविष्य देख्थेँ । तर, उनीहरू मेरो नमिलेको दाँत र हाइट देख्थे ।

‘यो संसारको सबैभन्दा सुन्दर मान्छे म नै हुँ’ भन्ने भ्रमको भारी बोकेर कहिल्यै नथाक्ने यी आँखा ऐनाअगाडि घण्टौं उभिन्थेँ । अनेकौं भावभङ्गीमा ऐना हेर्दै नाच्थेँ ।

२४ सै घण्टा ऐनामा यसरी झुन्डिएको देखेपछि ममीले एक दिन बाध्य भएर दराजको ऐना पत्रिकाले छोपिदिनुभयो । तर अहँ, त्यो पत्रिकाले मभित्रको भ्रम छोप्न सकेन !

***

पत्रिकाले छोप्न नसकेको भ्रमलाई एक दिन खोइ कुन्नि केले छोपिदियो ?

उमेर बढ्दै जाँदा मभित्रको भ्रम भत्किँदै गयो । मलाई लाग्न थाल्यो, संसारको सबैभन्दा असुन्दर मान्छे म नै हुँ !

संसारको सबैभन्दा नमिलेको मुहार मेरै हो ! नमिलेको उचाइ पनि मेरै हो !

खोइ कुन्नि, कुन दिनदेखि मलाई मानिसहरूले ‘मिस नेपाल’ भनेर नबोलाइदिए हुन्थ्यो भन्ने लाग्न थाल्यो ।

थाहा छैन, ठीक कुन दिनदेखि उनीहरूले मलाई मिस नेपाल भनेर बोलाउन छोडे र कुन दिनदेखि मैले म मिस नेपाल बन्छु भनेर भन्न छोडिदिएँ ?

‘मिस नेपाल बन्छु’ भन्ने बालिका हराएको यतिका वर्षपछि मनको एल्बम पल्टाएर हेर्दा स्मृतिले मन सरावरी भएकोमा मन यतिखेर भरंग भएको छ ।

त्यो बालिका खोइ कहाँ छुट्यो ? जसलाई मिस नेपालको ताज संसारको सबैभन्दा ठूलो ताजजस्तो लाग्थ्यो, जसलाई आफ्नो नमिलेको हाँसो र हाइटमा पनि मिलाएर आत्मविश्वासको उडान भर्न आउँथ्यो ।

यतिका वर्षपछि ती बालिकालाई अनायासै मैले गएको महिना गायिका समृद्धि राईको एक अन्तर्वार्तामा पो भेट्टाएँ । साथै भेट्टाएँ, मोडेल शिक्षा संग्रौलाको युट्युब भिडियोमा, जहाँ उनीहरूले बाल्यावस्थादेखि नै आफू मिस नेपाल हुन लालायित भएको आफ्नो कथा र अनुभव निर्धक्क सुनाएका छन् ।

यदि हाइटले साथ दिएको भए सम्भवतः मेरो नियति पनि समृद्धि र शिक्षाको जस्तै हुन्थ्यो होला । युवा उमेरको अधिकांश समय उनीहरूले जस्तै मैले पनि मिस नेपाल बन्छु भनेरै आफ्नो इच्छालाई मलजल गर्थें हुँला ! कसरी हिँड्ने, कसरी बोल्ने, कस्तो फेसन सेन्स राख्ने, कति खाने भन्नेलगायतका यावत् कुराहरू नै सायद मेरा चिन्ताका विषयहरू बन्थे होलान् !

धन्न ! मुस्किलले पाँच फिट पनि पुगनपुग मेरो हाइटले मलाई जोगायो ! र त म कहिल्यै मिस नेपालको ढोका ढकढकाउन गइनँ !

किनकि मलाई कलिलै उमेरमा थाहा भयो– म जे छु, अपुग छु । अपुरो छु ।

***

‘म असुन्दर छु,’ यो त्यही वाक्य हो । होइनहोइन, यो त्यही गह्रुङ्गो वाक्य हो, जुन अरूको मुखबाट सुन्दा तपाईं–हामी पचाउनै सक्दैनौँ । अझ ऐनाले नै भनिदियो भने त ! अहँ ! कल्पनै गर्न सकिँदैन !

‘म असुन्दर छु’ भन्ने लघुताभास लिएर हुर्किएको बच्चाको मनोदशा कस्तो हुन्छ भन्ने कुराको हेक्का हामी कति नै पो राख्छौँ र ? ऊभित्र कस्तो ‘सेल्फ स्टिम’ हुर्किँदै गर्छ होला ? सोच्ने फुर्सदै हुँदैन सायद !

दुई वर्षअघिको कुरा हो, भाइले चलाउँदै आएको बिग्रिएको मोबाइल कामविशेषले चलाउँदै गर्दा एकाएक युट्युबको भित्तामा एकै किसिमका ‘रिकम्मेन्डेड’ भिडियो देखेपछि छाँगाबाट खसेजस्तै भएँ म ।

युट्युब स्क्रोल गर्दै गर्दा थाहा भयो, १२ वर्षको मेरो भाइले अधिकांश समय हेर्ने गरेको भिडियो रहेछ– ‘हाउ टु रिमुभ डार्क सर्कल फ्रम योर आइज’ ! अर्थात् आँखाको डार्क सर्कल कसरी हटाउने !

म झल्याँस्स भएँ !

‘आँखा हेर् त, कस्तो गडेको !’ कहिलेकाहीँ गाली गर्नुपर्दा हामी भाइलाई यसो भनेर चिढाउँथ्यौँ । र, ऊ रिसाउँदै हामीसँग तर्किने गर्थ्यो ।

यस प्रकारको हाम्रो संवेदनाविहीन प्रतिक्रियाले बालसुलभ मनलाई यतिसम्म बिझाएको रहेछ कि यति कलिलै उमेरमा मेरो भाइले युट्युबमा डार्क सर्कल हटाउने उपाय खोज्न थालेछ ! यति सानो उमेरमा नै मेरो भाइले आफ्नै आँखामुनिको छालासँग असन्तुष्ट हुन थालेछ !

मलाई निकै लज्जाबोध भयो ।

त्यसपछि म र मेरी बहिनीले प्रण गर्‍यौ, भाइलाई कहिले पनि उसको आँखा, छालाको रङलाई इंगित गरेर गाली नगर्ने ! बरु उसका सशक्त कुराहरू सुनाएर त्यसयता हौसला दिन थाल्यौँ ।

भाइलाई त्यसरी हौसला दिँदै गर्दा मलाई लाग्यो, मैले भाइलाई होइन, आफैँले आफैँलाई हौसला दिइरहेको हो !

त्यस दिन बल्ल मलाई महसुस भयो, जानीनजानी हामीले हाम्रा बालबच्चालाई कस्तो खालको सौन्दर्यचेत वितरण गर्दै आएका रहेछौँ त ? जानीनजानी हामी कस्तो सौन्दर्यचेत लिएर हुर्किएका छौँ वा भनौँ हुर्काइएका छौँ !

खुट्टाको लम्बाइले सुन्दरतालाई परिभाषित गर्दैन भनेर बुझ्न कति घोषित/अघोषित ‘बुलिङ’ सहन्छ होला एक जना मान्छेले ?

आफ्नो शरीरलाई, रूपलाई म जे छु, जस्तो छु, त्यही ठीक छु भन्ने कुरा स्विकार्न कतिऔँपटक कतिऔँ तहमा अवहेलना र हेय भावसँग पौंठेजोरी खेल्छ होला एक जना मान्छेले !

किनकि हामीलाई थाहा दिइएको छ– तिमी जे छौ, अपुग छौ । अपुरो छौ ।

***

एकाबिहानै उठेर ऐनामा आफूलाई असुन्दर करार गरेर दिनको सुरुआत गर्नुपरेको दिन कस्तो हुन्छ ?

संसारमा त्यस्ता लाखौँ, करोडौं सम्भवतः अर्बौं मानिस छन्, जसले एक दिन मात्रै होइन, प्रत्येक दिन आफैंले आफैंलाई असुन्दर नामको परिचयपत्र दिएर बिताउने गर्छन् । अझ अश्वेतहरू त हजारौँ वर्षदेखि यस्तै नियति भोग्न बाध्य छन् । तिनैमध्येकी एक हुन्, जर्जियाकी चार वर्षीया अश्वेत एरियोना ! एरियोनासँगको मेरो पहिलो चिनजान फेसबुकको भित्तामा भएको हो । आक्कलझुक्कल फेसबुकको भिडियो क्लिपमा झुल्किने गर्छिन् उनी ।

भिडियोमा स्थानीय र्‍यापर साब्रिया रेडमन्डले एरियोनाको कपाल कोरिदिँदै इन्स्टाग्राममा लाइभ आएकी हुन्छिन् । लाइभ भिडियोमा आफ्नै अनुहार हेरेर एकाएक विरक्त भएकी एरियोनाले विस्मृत भावमा अनायासै भन्न पुग्छिन्– ‘आई एम सो अग्ली !’ अर्थात् म त एकदमै कुरूप छु !’

चार वर्षकी बालिकाको मुखबाट यो अप्रत्याशित वाक्य सुनेर कपाल कोरिदिँदै गरेकी साब्रिया एकाएक स्तब्ध हुन्छिन् । एरियोना उनलाई ट्वाल्ल परेर यसरी हेर्छिन्, मानौँ उनले बोलेको कुरामा आश्चर्य मान्नुपर्ने केही कुरै थिएन । हतास भएकी साब्रिया एरियोनालाई सम्झाउन थाल्छिन्, ‘के भनेको त्यस्तो ? त्यस्तो पनि भन्ने हो ? तिमी जे छौ, सुन्दर छौ ! ब्लयाक इज ब्युटिफुल ! तिमी डार्क चकलेटजस्तै सुन्दर छौ ।’

साब्रियाको वाक्यलाई पत्याउँलाझैँ गरेर एकोहोरो हेरिरहेकी एरियोना साब्रियाको कुराले झन् ड्वाँड्वाँ रुन पो थाल्छिन् । एरियोनालाई फकाइफुल्याइ गर्न साब्रियालाई निकै बेर लाग्छ । साब्रिया भन्छिन्, ‘भोलिपर्सि ठूलो भएपछि तिमीलाई जे हुनु छ त्यो हुन केही कुराले पनि तिमीलाई रोक्ने छैन । तिम्रो छालाले तिमीलाई रोक्ने छैन । तिमी सुन्दर छौ प्रिय ।’

भाषा पनि राम्ररी बुझ्ने बेला नभएको चार वर्षकी बालिकाले कति सहजै कसले बुझाएर बुझेकी होला, आफू असुन्दर छु भन्ने कुरा !

थाहा छैन, कतिऔँ वर्षदेखि पत्रपत्रिका, मिडिया, ‘फेयरी टेल’ का कथाका किताबमा छापिएका र व्यवहारमा छोपिएका मानक सुन्दरताको असर हो यो ?

सुन्दरताको समाजशास्त्र केलाउने हो भने सम्भवतः सजिलै बुझ्न सकिएला !

जब चार वर्षकी बालिकाले भाषा बुझ्नुभन्दा अगावै आफू असुन्दर छु भनेर बुझ्छ भने समस्या सम्भवतः हामीभित्रै छ ।

जब प्राथमिक कक्षाको किताबमा सुन्दर र कुरूप जनाउन रङभेदी चित्र छापिन्छ भने सम्भवतः समस्या हाम्रो सौन्दर्यचेतमै छ ।

जब सशक्तीकरणको नाममा सञ्चालन भएका मिस नेपालजस्ता पेजेन्टमा शरीरमा दाग धब्बा भएकै कारण तपाईं भाग लिन पाउनुहुन्न भने सम्भवतः समस्या हाम्रै वरिपरि छ ।

वास्तवमा सुन्दर हुनु भनेको के हो ?

आज विश्वमा शिक्षामा भन्दा कैयौँ गुणा बढी मानिस सुन्दर देखिनमा खर्च गर्छन् भन्ने थाहा पाउँदा सुरुमा त पत्यारै नलाग्न सक्छ ! सौन्दर्य प्रशाधनमा मात्रै वार्षिक खर्बौं खर्च हुने विश्वव्यापी अनुमानले नै हाम्रो बजार कति आवरणमुखी छ भन्ने कुराको राम्रो दृष्टान्त दिन्छ ।

संसारमा एउटा यस्तो देश पनि छ– भेनेजुयला, जहाँ अधिकांश युवती किशोरवयमा पुग्दानपुग्दै प्रतियोगितामा विजय हुनकै लागि तालिमप्राप्त बन्छन् र सुन्दर देखिन मिलेसम्मका अंग–प्रत्यङ्गको कस्मेटिक सर्जरी गर्ने गराउँछन् ।

अरू त अरू, सुन्दरताको परिभाषाभित्र अटाउन हामी जुनसुकै हर्कतसम्म पनि जान सक्छौँ भन्ने कुरा सामाजिक सञ्जालले पनि मज्जाले बुझेको छ । हामीलाई आफैँसँग बडो असन्तुष्ट हुन सिकाएको छ सामाजिक सञ्जालले !

उसले हामीसँग नबोलीकनै भनिरहेको छ– तिम्रो मुहारमा तेज छैन । फोटोको ब्राइटनेस बढाऊ ।

तिम्रो अनुहारमा ज–लाइन देखिँदैन । अनुहारको साइज घटाऊ । आँखाको आकार बढाऊ । नाकलाई धारिलो बनाऊ । शरीर पातलो बनाऊ । छाती चौडा बनाऊ । आदि, इत्यादि ।

समग्रमा उसले भनिरहेको छ– तिमी अपूरो छौ । अपुग छौ ।

र, यो रिक्तता पूरा गर्न उसले तथाकथित मापदण्डहरूमा हामीलाई अट्ने गरी त्यहीअनुसारका ‘फिल्टर’ उपलब्ध गराइदिएको छ ।

आज संसारभर हजारौं त्यस्ता एपहरू सञ्चालनमा छन्, जहाँ मानिसहरू पैसा तिरेरै आफ्नो तस्बिर सम्पादन गराउँछन् र प्रयोग गर्छन् । सुन्दरताको अर्थ राजनीति वास्तवमै भयानक छ ।

यतिखेर म ती साथीहरूलाई सम्झिरहेछु, जसलाई आफू असुन्दर छु भन्ने लघुताभासले फेसबुकमा प्रोफाइल पिक्चर राख्न पनि हिचकिचावट लाग्छ !

यतिखेर म ती साथीहरूलाई सम्झिरहेछु, जसलाई आफू सुन्दर छु भन्ने बुझाउन आँखाको परेला बढ्छ कि भन्ने अभिलाषाले प्रत्येक हप्ता आफ्नो परेला काट्ने गर्छन् !

त्यसो त मिस नेपाल बन्छु भन्ने बालिका हराएकोमा कुनै दुखेसो मनमा बाँकी छैन । ब्युटी पेजेन्टसँग पनि मलाई खास कुनै गुनासो छैन । यो मञ्चलाई प्रयोग गरेर संसारभर थुप्रै सामाजिक कार्यहरू नभएका होइनन् । तर, यस्ता ब्युटी पेजेन्टले जेजस्तो सौन्दर्यचेत बिक्री गरिरहेछन्, त्योसँग भने मेरो ठूलो आपत्ति छ ।

नपत्याए, यस वर्ष हालै सम्पन्न भइरहेको मिस नेपालको अडिसन हेरे पुग्छ, जहाँ ० दशमलव ३ सेन्टिमिटर हाइट नपुगेर केही युवती मिस नेपालमा भाग लिन नपाउने भएका छन् ।

र यो त्यही मञ्च हो जहाँ भन्ने गरिन्छ :

– सुन्दरता हरेक आकारप्रकारमा आउँछन् ।

– सुन्दरता हेर्ने मान्छेको आँखामा भर पर्छ ।

– सुन्दरता भनेको भित्री सौन्दर्य हो ! आदि, इत्यादि ।

शरीरलाई नापतौल गरेर मात्रै प्रतिस्पर्धामा उतार्ने मञ्चमा यस्तो दिव्य वाणीले हाम्रो विरोधाभास सौन्दर्यचेतको झंकार दिएको छ । यसले सशक्तीकरणको नाममा छद्म सशक्तीकरण गरिरहेको छ ।

खुसीको कुरा, हालै मात्र सो कुरालाई मनन गरेर मिस युनिभर्स नेपालले आफ्ना मापदण्डहरू फेरबदल गरिसकेको छ । जस्तो रूपरेखा भएका युवतीहरू मात्रै नभएर ट्रान्स महिलाहरू पनि अब मिस युनिभर्स नेपालमा भाग लिन पाउने भएका छन् । अब उसले शरीरलाई नापतौल नगर्ने प्रतिबद्धता जनाएको छ ।

मिस युनिभर्स नेपालले त आफ्नो मापदण्ड बदलेको छ । तर, के यति सजिलै वर्षौँदेखि लादिएको हाम्रो मनको मापदण्ड परिवर्तन गर्न सकिएला ?

यस्तो लाग्छ, हामीले बाँचिरहेको यो सम्पूर्ण जीवन नै एउटा अघोषित ब्युटी पेजेन्ट हो, जहाँ प्रत्येक पाइलैपाइलामा हामीलाई कसै न कसैले नापतौल गरिरहेको छ ! हामी पनि कसै न कसैलाई नापतौल नै गरिरहेकै छौँ । सुन्दर र असुन्दरको तराजुमा राखी लेखाजोखा गरिरहेका छौँ । कतै गायिका समृद्धि राईले भनेजस्तै केही व्यापारिक मानिसहरूको भीडले नै हामीलाई सुन्दर करार गरिदिनुपर्ने हो त ?

आउनुस्, एकपटक आफ्नै मनलाई साक्षी राखेर आफैँलाई सोधी हेरौँ, के तपाईं सुन्दर हुनुहुन्छ ?

प्रकाशित : पुस ११, २०७७ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?