कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भानुको चुँदी रम्घामा मौनताको आवाज

अघि भानुभक्तको जन्मस्थल गुलजार थियो, आज उजाड छ । भानुभक्तको घर पाताल भयो । त्यहाँ जंगल छ आज । रुखहरुले मात्रै रामायण सुसाउँछन् हावामा । पातहरु बरर्र झर्छन्- लंकाको अशोक वनमा सीताजीको आँखाबाट झरेका आँसुझैँ ।
जयराज आचार्य

५० वर्षपछि भानुभक्तको जन्मस्थल तनहुँ, चुँदी रम्घा फर्किएँ— त्यो मेरो पनि जन्मस्थल हो । तर, गाउँमा अब बस्ती छैन । त्यो सब बेंसीतिर सरेको छ, बेंसीबाट पनि मधेस सरेको छ, विदेश सरेको छ । खाडी मुलुक, अमेरिका, अस्ट्रेलिया, जापान, कोरियातिर पुगेको छ । तैपनि मेरो मनले भनिरहन्छ-जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !

अघि त्यो ठाउँ गुलजार थियो, आज उजाड छ, सुनसान छ । त्यहाँ बाहुन, छेत्री, सार्की, कामी, दमाइँ, सुनार, घर्ती, मगर, गुरुङ सबै थिए । अहिले ती तितरबितर भए । भानुभक्तको घर पाताल भयो । त्यहाँ जंगल छ आज । रूखहरूले मात्रै रामायण सुसाउँछन् हावामा । पातहरू बरर्र झर्छन्— लंकाको अशोक वनमा सीताजीको आँखाबाट झरेका आँसुझैँ ।

म गाउँतिर लाग्छु— कोही भेटिन्छ कि भनेर होइन, त्यहाँको मौनताको आवाज सुन्न । त्यही बाटोमा पहिले हजारौं पदचाप पर्थे, अहिले त्यो पतिङ्गरले पुरिएको छ, मेटिएको छ । उकालोका सिँढीका ढुंगा खलबलिएका छन्, कतै पल्टिएका छन् । ती ढुंगामा हामी केटाहरूले हँसियाको चुच्चोले आफ्नो पाइला खोपेका थियौं । ती पनि मेटिएका छन्— लेउ लागेको छ । भत्किएको बाटो लम्पसार छ— रावणले पखेटा काटिदिएको जटायु पछारिएजस्तो ।

उकालोमा वर–पीपलहरूले कसैलाई पर्खिरहेझैं लाग्छ । तर, तिनको छहारीमा भारी बिसाउन, पसिना पुछ्न कोही आउँदैन । गाउँलेहरूले चैत–वैशाखमा चौतारोमा माटोका घैंटामा चिसो पानी राखेका हुन्थे, बटुवाका लागि । आज न बटुवा छन् न पानीका घैँटा । छहारीमुनि मौन ढुंगा मात्र छन् । रम्घा डाँडामाथि भानुभक्त अब ढलोटमा ढलेर धुमधुम्ती एक्लै बसेका छन् । भानु जयन्तीका दिन पनि त्यहाँ कोही पुग्दैन । वरिपरि बुटा उम्रेर बढेका छन् ।

मेरो बाल्यकालमा बाटोका दायाँबायाँका रूख, बुटाहरूको फूलबाट मिठो बास्ना आउँथ्यो– अहिले पनि आइरहेछ । तर, त्यो त्यसै खेर गइरहेछ । म त्यो सबै सुगन्ध पोको पारेर घर ल्याउन चाहन्छु, सक्दिनँ । अनि म आफूले पढेको प्राथमिक विद्यालय पुग्छु तर त्यसको नामोनिसान छैन, पूरै बिर्सिएको पाठजस्तै भएको छ । मलाई नै प्रतीक्षा गरिरहेजस्तो विद्यालय–प्रांगणमा म उभिन्छु । पाती उम्रिएको छ । चारैतिर हेर्छु— परपरका डाँडाकाँडाबाहेक केही देखिन्न । मेरो शिरमाथि मौन आकाश मात्र छ ।

म पाँच वर्षको हुँदा विद्यालय जान थालेको थिएँ । ढुंगा–माटोको गाह्रो भएको एककोठे गोठजस्तै झुपडीलाई रम्घा पाठशाला भनिन्थ्यो (पछि भानु माध्यमिक पाठशाला भनियो आदिकविको नाममा) । पूर्वपट्टिबाट भित्र पस्ने काठको सानो ढोका र स्थानीय कामीले बनाएको फलामका साङ्ला र मुड्का थिए, इतिहासजस्ता । झुपडीमा अग्राखका गरालाहरूको तेर्सो तरेली थियो । त्यसबाट उज्यालो पस्थ्यो र हिउँदमा घामको किरण पनि । पाठशालाको उत्तरतिर भिरालोमा चिलाउने, सालका रूखहरू, धँगेरी र अन्य बुटाहरू थिए । मजस्ता साना केटाकेटीको त्यस संसारमा कुनै सुर्ता थिएन । देवकोटाले भनेजस्तै – उफर सानु शावके सानु स्वर्ग थियो त्यो ।

पाठशालाको पूर्वपट्टि इँटाको गाह्रो र टायलको छाना भएको एउटा सानो देवल थियो । तर, किन हो त्यहाँ देवताको मूर्ति थिएन । त्यसले मलाई मूर्तिहीन देवत्वको अनुभव गराउँथ्यो– सदैव अज्ञात रहस्य– बुद्धले भनेको शून्यता । त्यसले कतै त्यो गाउँको बस्ती पनि कुनै दिन शून्य हुनेछ भन्ने पूर्वसंकेत गरेको त थिएन ?

पाठशालाको केही पर चौरमा रोटेपिङ थियो । त्यो पिङ चलेको मैले कहिल्यै देखिनँ । त्यसका दुई खम्बा, मानी र चारवटा बाहाँ सुनसान झुन्डिरहेका हुन्थे– थाकेर विश्राम लिएझैं । विद्यार्थीहरू त्यसका बाहाँलाई त्यसै घुमाइदिन्थे– अनि त्यो घ्वाँइँइँय्यँ आवाज गथ्र्यो– मलाई डिस्टर्ब नगर भनेजस्तो गरी ।

पाठशालाअगाडि सानो आँगन थियो । त्यसभन्दा तल एउटा पुरानो चौतारो थियो, अझै छ । चौतारामा वर र पीपलका बूढा रूख उभिएका छन्– बिदेसिएका सन्तानले छोडेका बाबुआमाजस्ता । तिनका केही हाँगा मक्किएर जमिनमा खसेका छन् । सायद त्यस चौतारोमा बसेर भानुभक्तले पनि कविता लेखेका थिए । केही तलतिर एउटा पोखरी थियो– रामायणमा वर्णित किष्किन्धाको पम्पा तलाउजस्तो । त्यहाँको पानीमा एक रहस्यमय सौन्दर्य थियो । पौराणिक कथामा वर्णित वातावरणको यथार्थ थियो त्यहाँ ।

स्कुलबाट देखिने हिमालतिर एकटक हेरेर म आधा घण्टा बसिरहेँ । हिमालले भन्यो— तिमी र म पहिले पनि टाढै थियौं । अहिले त झन् टाढा भयौँ । तिमी कता गयौ ? पहिले मेरो कम्मरभन्दा तलसम्म हिउँ थियो । अहिले छातीमाथि मात्र हिउँ छ । तिमीले देख्यौ ? केही वर्षपछि टाउकोमा मात्र होला । पृथ्वी तात्दै गएको छ । थाहा छ ?

पहिले स्कुलबाट मेरो घर पनि देखिन्थ्यो । अब त्यो ढलेर पाताल भइसक्यो । तैपनि म त्यतै लागेँ । बाटोका रूखले मलाई भने— धेरै वर्षसम्म तिमी यही बाटो स्कुल आए–गएको हामीले हेर्‍यौं । तर तिमी कता गयौ ? धेरै पछि आयौ । धेरै पढ्यौ रे— अब तिमी हाम्रो भाषा बुझ्ने भयौ त ? रूखहरूको पनि भाषा हुन्छ— मौन भाषा, थाहा छ ?

म केही नबोली निहुरिएको अनुहारले अघि बढिरहें । रम्घा पाठशालाबाट मेरो घर पुग्न मलाई बीस मिनेट जति लाग्थ्यो । म घरबाट गुरुको पछिपछि लागेर पाठशाला जान्थेँ । पाठशालामा एक मात्र गुरु हुनुहुन्थ्यो रुद्र शंकर, बनारसबाट संस्कृत मध्यमा पास गरेका पण्डित । उहाँ बितेको त करिब साठी वर्ष भयो । हामी विद्यार्थीहरू भुइँमा परालको थर्कटीमा या मकैको खोसेल्टाले बुनेको चकटीमाथि भित्तामा अडेस लगाएर लहरै बस्थ्यौं । ठूला विद्यार्थी गुरुको नजिकमा । मजस्ता साना केटाकेटी अलिक टाढा । सायद त्यहाँ विद्यार्थीको अघोषित रोलक्रम थियो, तर हाजिरी लिइँदैनथ्यो ।

पाठशालामा बेन्च, ब्ल्याकबोर्ड हुन्छन् भन्ने कुरा हाम्रो कल्पनामा थिएन । बस्ने कुर्सी त गुरुलाई पनि थिएन । गुरुका लागि माटाको चौकी बनाएको थियो । उहाँ त्यसमाथि एउटा गुन्द्रीमा पूर्व फर्केर बस्नुहुन्थ्यो, कुनै धर्मकार्य गर्न बसेको पुरोहितजस्तै । पाठशालामा एक जना पियन थियो, उसको नाम पहलमान, ऊ हाम्रो हनुमान् । धेरै तल पँधेराबाट माटाको घैंटोमा पानी ल्याएर कुनामा राख्थ्यो— तिर्खाएका हाम्रा लागि ।

रम्घा पाठशालामा बाह्र–तेह्र जना विद्यार्थी थियौं— पाँच वर्षदेखि चौध–पन्ध्र वर्षसम्मका केटाहरू थिए । तीन–चारओटी केटीहरू पनि पढ्थे, तिनले सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी घोकेको मैले सुनें । मलाई पनि कण्ठ भयो । को कति कक्षामा पढ्ने हो थाहा थिएन, कक्षा असान्दर्भिक थियो त्यहाँ । कुनै फाइनल जाँच पनि हुन्नथ्यो । जसलाई जे पढ्न मन लाग्यो वा अभिभावकले जे पढ्न पठायो त्यही पढ्थे । कोही अमरकोष घोक्थे, कोही रुद्री, चण्डी, लघु कौमुदी र रघुवंश पढ्थे, उमेरअनुसार । केही गुरुङ, नेवार, मगर र घर्ती केटाहरू ‘ठूलो वर्णमाला’ भन्ने किताबबाट अक्षर चिन्ने र केही जोडघटाउ हिसाब सिक्ने गर्थे । दुई एकान दुई भन्दै दुनोट सबैले घोक्थे ।

म पाठशालामा सबैभन्दा सानो उमेरको विद्यार्थी । मेरो एक मात्र किताब थियो— अमरकोष (पद्यात्मक संस्कृत शब्दकोश) । त्यसका श्लोकहरू नबुझीनबुझी कण्ठ पार्नु दिनभरको मेरो सफलता । मेरो पढाइलाई कसैले सिरियस रूपमा लिएको थिएन । मबाट कुनै पढाइको अपेक्षा पनि गरिएको थिएन । म पढ्नभन्दा रमाइलोका लागि पाठशाला जान्थें । आफ्नो पाठमा होइन, अरूको पाठमा ध्यान दिन्थेँ । म पढेर भन्दा सुनेर सिक्थेँ ।

म मेरो घर पुगेँ । त्यहाँ खण्डहर मात्र थियो । घरका गाह्रोका राम्राराम्रा ढुंगा पनि कसैले लगिसकेको थियो । मेरो घर एउटा ढुंगा–माटोको थुप्रो बनेको थियो, आँगनमा घाँस उम्रेको र त्यो पनि बुढिइसकेको । आँगनले मलाई भन्यो— तिमी यहाँ भाइहरूसित खेल्थ्यौ । राज्य खेल्थ्यौ, पांग्रा खेल्थ्यौ, गुच्चा खेल्थ्यौ । हिउँदमा गुन्द्री ओच्छ्याएर घाम ताप्थ्यौ, अमरकोष घोक्थ्यौ । यहाँ तुलसीमठ पनि थियो । त्यो मौन आवाज मैले निहुरिएर दुवै हत्केलाले मुख छोपेर धेरै बेरसम्म सुनिरहें ।

अनि म घरमुनिको पानीको पँधेरो गएँ । बाटोका पर्खाल भत्किएका थिए । दुवैतिरका कटुस, चिलाउने र रिठ्ठाका रूखले भने— धेरै पछि आयौ, बूढै भएछौ । हामी त झन् बूढा भयौँ । तिमी भुइँमा झरेका कटुस टिप्थ्यौ । रिठ्ठा टिप्थ्यौ । फूलको सुगन्ध सुँघ्थ्यौ । तिमी कहाँकहाँ पुग्यौ ? हामी त यहीँ छौं । जिउँदै छौं— सायद अब केही समयका लागि मात्र ।

रूखहरूको सुसाहट सुन्दै पानीको कुवामा पुगें । कुवाले भन्यो— तिमी त्यो ठूलो ढुंगामा नुहाउँथ्यौ । तिमीले नुहाउँदा संस्कृतको स्तोत्र भन्थ्यौ— मात: शैलसुता–सपत्नि वसुधा.... । ओडारजस्तो मेरो छातीमा त्यो स्तोत्र प्रतिध्वनित हुन्थ्यो । म बुझ्निथेँ, तर मलाई राम्रो लाग्थ्यो । अहिले पनि म त्यसको रन्को सम्झिन्छु । कुवाले फेरि भन्यो— एक साँझ पानी उबाउँदा धागो चुँडेर तिम्री आमाले सुनका नौगेडीका सबै दाना कुवाभित्र खसाउनुभयो । गहिराइबाट नौगेडी झिक्न सक्नुभएन, पानी मात्र लिएर फर्कनुभयो । रातभर मैले ती दाना सुरक्षित राखेँ, भोलिपल्ट बिहान सबेरै बा आएर डाडु र ताप्केले उबाएर झिक्नुभयो । सम्झना छ तिमीलाई ? कुवाले अझै भन्यो— यस्तै कुवामा पानी खान गएका वनवासी पाण्डवहरूलाई यक्षले रोकेको थियो । युधिष्ठिरले उसका सबै प्रश्नको जवाफ दिएपछि मात्र उनीहरूले पानी खान पाएका थिए । मभित्र पनि एउटा महाभारत छ, प्राचीनकालको लामो कथा छ ।

अनि म कुवामाथि केही सिँढी उक्लेर शिवालय गएँ । शिवलिंगमाथि तामाको रित्तो जलहरी झुन्डिरहेको थियो, मौसमको प्रभावले हरियो भएको । म आफ्नो बाल्यकालमा झैं पूर्व फर्किएर ध्यानमुद्रामा पलेंटी मारेर बसेँ । अग्लो रूखको हाँगाबाट एउटा फूल खस्यो मेरो अगाडि । फूलले मलाई भन्यो— तिमी गाउँ छोडेर गयौ । तिमी कुवामा नुहाएर यहाँ आई शिवजीलाई पानी चढाउँथ्यौ र भन्थ्यौ, नमस्ते रुद्र मन्यव उतो त इषवे नम: । अब यहाँ पानी चढाउन कोही आउँदैन । कहिलेकाहीं बादलले पानी चढाउँछ । हामी रूखमाथिबाट शिवलिंगमा फूल खसाउँछौँ । यहाँ शिवजी मानिसको होइन, प्रकृतिको देवता बन्नुभएको छ । जंगलको जटा फिँजाएर धूर्जटि आफ्नो मौलिक स्वरूपमा विराजमान हुनुहुन्छ । तिमी यहाँ डमरुको मौन आवाज सुन । म त्यहाँ एक घण्टा ध्यानावस्थित भएर उठेँ । त्यताबाट फेरि बेंसीतिर ओर्लिन थालें । बाटोमा तिन्दूका फल पाकेर झरेका थिए । उहिले हामी टिपेर खान्थ्यौंं । अब चराचुरुंगीले खान्छन्— प्रकृति माताले उनीहरूलाई दिएको ।

जंगलको बीच बाटोमा चौताराहरू, आँप र सालका रूखहरू थिए, आ–आफ्नो कथा भन्दै । राइनी बूढीले बनाएको चौतारोमा पुगेँ । गरिब भए पनि धर्मात्मा थिइन् रे भानुभक्तलाई अर्ती दिने घाँसीजस्तै । अलि तल लोहोरे आँपको रूखले भन्यो— म त पहिल्यै बूढो थिएँ— अहिले झन् बूढो भएँ । फल लाग्न छोड्यो । अब मलाई काटकुट गरेर तल बेंसीको इँटा भट्टामा पोल्छन् रे भन्ने सुनेको छु ।

अलि तल पोखरी डाँडामा पुगें । सम्भार नहुँदा पोखरी पुरिइसकेको थियो । अनि अझ तल साल चौतारा पुगें । सालको रूखले भन्यो— तिम्रा बा बाह्र–तेह्र वर्षको उमेरमा एक दिन अमरकोषको किताब घोक्दै बेंसी झर्दै हुनुहुन्थ्यो । पछिपछि आएकी तिम्री हजुरआमाले भेट्टाउनुभयो । बा ढिलो हिँडेकोमा रिसाउनुभयो । किताब खोसेर फ्याँकिदिनुभयो । लेउ लागेको ढुंगामा बज्रिएर किताबको पाना हरियो भयो तर बा रिसाउनुभएन । किताब टिपेर अघि बढ्नुभयो । बेंसी पुगेर गाईबस्तु फुकाई किताब पुछपाछ गरेर घाममा सुकाउनुभयो । लेउ लागेको अमरकोषको पंक्ति थियो— सम्पत्ति: श्रीश्च लक्ष्मीश्च विपत्यां विपदापदौ (सम्पत्ति र विपत्तिको लुकामारी हो जीवन) ।

अलि तल अमलाको रूख थियो— तर फल थिएनन् । अझ तल झरेर ज्यादै बूढो आँपको रूखलाई अँगालो हालेँ हजुरबुबालाई भेटेजस्तो गरी । उसले भन्यो— म त तिम्रा बाआमाकै पालामा बूढो भइसकेको थिएँ । तिमीहरूको बाल्यकालमा त झन् बूढो । मेरा बूढो शरीरमा एकाध फल लाग्थे । तिमीहरू खान्थ्यौं । बूढेसकालको फल हुनाले होला, मिठो भएन भनेर मलाई ‘फ्याल्ले’ आँप भन्थ्यौ । माथिको लोहोरे आँप र म वृद्ध जटायु र सम्पातिजस्ता भइयो, ढल्न मात्र बाँकी छ । तल ऊ पातली आँप हेर । त्यो मेरी छोरी हो । त्यसमा पनि आजकल फल लाग्न छोड्यो, बूढी भई ऊ पनि ।

म तल झर्दै गएँ । अम्बा, आँप र बेलका रूखहरूले पनि के–के भनिरहेका थिए । तल बेंसीमा पुग्दा खोलो कसैलाई नसोधी अविरल बगिरहेको थियो । खोलो अहिले धसिएर गहिरो खोंच बनेको थियो । खोलो तरेर अघि बढ्दा त्यही बूढो सिमलको रूख, तिनै बूढा अम्बाका रूख, तिनै बूढा आँपका रूख–बाटोका दायाँबायाँ । फरक यत्ति थियो कि त्यस बाटोमा मानिस हिँड्न छोडेका थिए । मेरो बाल्यकालमा मेरो बाले यही बाटो संस्कृत कविताहरू भन्दै हिँडेको मैले देखेको थिएँ । उहाँ भन्नुहुन्थ्यो-

यामेव रात्रिं प्रथमामुपैति

गर्भे निवासं नरवीरलोक: ।

तत: प्रभृत्यस्खलितप्रयाण:

स प्रत्यहं मृत्युसमीपमेति ।

(जुन रात मानिस आफ्नी आमाको गर्भमा प्रवेश गर्छ, त्यसै रातदेखि नै ऊ एक क्षण पनि नरोकिईकन हरेक दिन मृत्युको समीप गइरहेको हुन्छ ।)

म जाँदा उकालो चढेर गएको थिएँ । फर्किंदा ओरालो ओर्लेर फर्किंदै थिएँ । प्रकाशित : असार २७, २०७७ १०:३७

प्रतिक्रिया
पठाउनुहोस्

प्रयागराज : एक बोटानिस्ट

जहाँ पुगे पनि, जस्तै तालिम लिए पनि हामी नेपालमै फर्केर आयौँ किनभने यहाँ वनस्पति विभागजस्तो कार्यालय थियो र प्रयागराजजस्ता हाकिम थिए ।
तीर्थबहादुर श्रेष्ठ

विसं २०१७ सालमा त्रिचन्द्र कलेजबाट बीएस्सी (बायोलजी) पास गरेर वनस्पति अड्डा छिर्दा हाकिमबाजे प्रयागराज पाण्डेजस्तो ठूलो जीउको मान्छे मैले सायद देखेकै थिइनँ । उहाँले पनि मजस्तो दुब्लो केटा नदेखेको हुनसक्छ । मेरा प्राध्यापक समरबहादुर मल्लले ‘जागिर खान्छौ’ भनेर नयाँ सडकबाटै मलाई टिपेर लगेका थिए ।

भोलिपल्टैबाट जागिरे भएँ– असिस्टेन फर्मासिस्ट । महिनाको तलब रु. १८०/– (एक सय असी रुपैयाँ) । महिनाको तलब नथाप्दै एमएस्सी बोटानी पढ्न भारतको अलिगढ जाने छात्रवृत्तिमा नाम निस्कियो । वन मन्त्रालयले ‘जागिर छोडेर जाऊ’ भन्यो । प्रयागराज पाण्डेले मेरो लागि अध्ययन बिदा मिलाई छाडे । आधा तलब खाएर दुई वर्षपछि विभागमा हाजिर भएँ । त्यसपछि प्रत्येक वर्ष जडीबुटी र वनस्पति सर्वेक्षण गर्ने र वनस्पतिका नमुना संकलन गर्ने काममा मेची–महाकाली भ्रमण गर्ने अवसर आयो ।

अरूको सम्झनामा बाँचिरहने मानिसहरू नै पूजनीय हुन्छन् । यस्ता व्यक्तिहरूको स्मरण चिराग बोकेर समाजलाई सही बाटोमा डोर्‍याउन सकिन्छ । यसै सिलसिलामा आजभन्दा ३४ वर्षपहिले परलोक भएका स्वर्गीय प्रयागराज पाण्डेको शतवार्षिकी वर्ष (विसं १९७६–२०७६) को विभिन्न कार्यक्रमहरू पूरा गरेर यही असार १८ गते उहाँको १०१ औं वर्ष पूरा हुने जन्म दिवस मनायौं । नेपालका प्रथम बोटानिस्ट प्रयागराज पाण्डे फाउन्डेसन नामक संस्थाले नेपालको वानस्पतिक वैभवको संरक्षण, संवद्र्धन र विकासको फाँटमा नयाँ पुस्ता र पुराना पुस्ताका वैज्ञानिक, प्राविधिक एवं प्रतिष्ठित व्यक्तिहरूको अन्तरक्रिया र सहकार्यको सिलसिला अगाडि बढाउने काम भयो । संस्थापक अध्यक्ष श्री मधुसुदन विष्ट (पूर्वमहानिर्देशक वनस्पति विभाग) तथा सहअध्यक्ष श्री विमलराज पाण्डे (प्रयागराज पुत्र) लगायत कार्यकारी समितिका सबै सदस्यहरू बधाईका पात्र पनि हुन् ।

प्रयागराज पाण्डेलाई नेपालका प्रथम बोटानिस्ट किन भनियो भन्ने प्रश्न उठ्ने गरेका छन् । किनभने जडीबुटी, वन–वनस्पतिका विशेषज्ञहरूको खोजीनिती गर्न थाल्यौं भने रामायणकालसम्म पुगिन्छ । लक्ष्मणबुटी श्री हनुमानले चिन्न सकेनन् । त्यसलाई वैद्य सुसेनाले चिने । यस्तै हाम्रा वैद्य, कविराज, आम्ची, धामी, झाँक्री, गुरुबा वा फेदाम्नाहरूलगायत पर्वतीय गोठालाहरू जडीबुटी विषयका ज्ञाता हुन् । पण्डित धननाथ देवकोटाले चन्द्रशमशेरको पालामा जडीबुटीसम्बन्धी निघन्टु तयार गरिसकेका थिए । वानस्पतिक सर्वेक्षणको इतिहासमा लालध्वज (सन् १९२९–३१) तथा खडानन्द शर्मा (सन् १९३२–३७) को विरुवा संकलन–अवधि कीर्तिमानी थियो ।

प्रयागराज पाण्डेको कथा बेग्लै छ । बोटानी (वनस्पतिशास्त्र) विधामा एमएस्सी (स्नातकोत्तर) परीक्षा उत्तीर्ण गरी सन् १९४२ मा इलाहावाद विश्वविद्यालयबाट प्रमाणपत्र थापे । नेपाल सरकारको वन मन्त्रालयअन्तर्गत स्थापित बोटानिस्ट पदमा बहाली गरे । औपचारिक शिक्षा र सरकारी पदको हैसियतले उहाँ नेपालको प्रथम बोटानिस्टको रूपमा परिचित हुनुहुन्छ । हामी उहाँलाई प्रथम बोटानिस्टको रूपमा स्मरण गर्छौं तर सम्मान भने उहाँको बहुआयामिक देनप्रति समर्पित छ । संस्थागत विकासको सफलतातिर लक्षित छ ।

मैले २०१७ सालमा वनस्पति फाँट नामक अड्डामा प्रवेश गरेदेखि नै उहाँ हामीलाई एउटा सपना बाँड्नुहुन्थ्यो । हिमाली जडीबुटीलाई चिन्ने, बेलैमा संकलन गर्ने, सफा गर्ने, सुकाउने र पिठयुँमा बोकेर निकासीका लागि साहुकहाँसम्म पुर्‍याउने गाउँले दिदीबहिनी, दाजुभाइका पसिनाको मूल्य कसरी चुकाउने ? रोग, भोक र गरिबीलाई जडीबुटीले कसरी पखाल्ने ? देशभित्रै जडीबुटी प्रशोधन र औषधि उत्पादन कसरी गर्ने ? भन्नुहुन्थ्यो– हाम्रो लक्ष्य ‘प्लान्ट्स टु प्रोडक्ट’ हो ।

विसं २०१७ सालमा पकनाजोलको कम्पुकोटभित्र रहेको सानो २/३ कोठे अड्डा २०१९ सालमा थापाथलीको ११/१२ रोपनीमा फैलिएर शाही औषधि अनुसन्धानशाला, औषधि उत्पादन केन्द्र, गोदाबरीमा शाही वनस्पति उद्यान, राष्ट्रिय हर्वेरिएम (वनस्पति संग्रहालय) एवं वनस्पति अनुसन्धान केन्द्र, विभिन्न क्षेत्रमा जडीबुटी फार्महरू जस्तै : शिवपुरी, मणिचुर, दामन, टिस्टुङ, हेटौंडा, धरान एवं व्यापार र प्रशोधन केन्द्र नेपालगन्ज तथा कोइलाबास स्थापना भएका थिए । यिनै संस्थाका गर्भबाट शाही औषधि लिमिटेड, जडीबुटी प्रशोधन तथा उत्पादन लिमिटेड कम्पनी एवं औषधि व्यवस्था विभागको पनि जन्म भयो । लगभग १० वर्षभित्र वनस्पति विभाग विज्ञान तथा प्रविधि क्षेत्रमा विशेषत: वनस्पतिशास्त्र, फार्मेसी (औषधि विज्ञान) एवं रसायनशास्त्र (केमेस्ट्री) मा नेपालका अगुवा संस्थाका रूपमा परिचित हुन पुग्यो ।

प्रयागराज पाण्डेको विकास रणनीति भन्नु नै जनशक्तिको विकास र उच्च शिक्षाको प्राथमिकता थियो । युवा शक्तिलाई तुरुन्त भर्ना लिने र उच्च शिक्षाको अवसर प्रदान गर्ने । वनस्पति विभागमा जागिर खाएपछि दुई वर्षभित्र बेलायत जान पाइन्छ भन्ने मान्यता नै स्थापित हुन थाल्यो । तर, नेपालको दुर्गम भ्रमण गर्छु भन्नेलाई मात्र प्रवेश मिल्थ्यो । त्यसो भए तापनि थुप्रै महिला वैज्ञानिकहरूले वनस्पति विभाग प्रवेश गरे र पैदलयात्रामा देशदर्शन गरे । त्यसका अतिरिक्त आफैंले प्रयोगशालामा उत्पादन गरेका औषधिहरू पनि बजारीकरण गर्न असन इन्द्रचोक चहारे । हाकिमबाजेले खटाएपछि महिला र पुरुष सबै उत्तिकै आज्ञाकारी । हाल बजारमा देखिने सिटामोल र सन्चोको पहिलो ट्याब्लेट वा सिसी वनस्पति विभागका महिला प्राविधिक कर्मचारीकै हातबाट विमोचन भएको मान्न सकिन्छ । संस्थागत विकासलाई गतिशील बनाउन नयाँ योजना र नयाँ कार्यक्रमहरूको आवश्यकता पर्छ । नयाँ दरबन्दी र उच्च पदको सिर्जना गर्न सरकारलाई वा दातृ संस्थाहरूलाई ठोस प्रभाव पार्न सक्ने विशेष क्षमता थियो उहाँमा । फलस्वरूप कर्मचारीहरूको वृत्ति विकासका अवसरमा पनि कमी थिएन ।

नेपालको वानस्पतिक वैभवको खोजी र अनुसन्धानमा बेलायत, जापान तथा फ्रान्सलगायत धेरै राष्ट्रहरू चासो राख्छन् । तिनलाई वनस्पति विभागको दायराभित्र ल्याउने काममा प्रयागराज पाण्डेको विशेष भूमिका रह्यो । विदेशका दक्ष वैज्ञानिकहरूसँग हाम्रा वैज्ञानिकहरूको सहकार्य प्रारम्भ भयो । नेपालको स्थलगत अध्ययन मात्र होइन विदेशका ख्यातिप्राप्त संस्थाहरूमा अध्ययन गर्न जाने सिलसिला पनि बस्यो ।

फलस्वरूप मैले पनि बृटिस म्युजियम, क्यु–गार्डेन, इडिनवरा गार्डेनमा हिमाली वनस्पतिबारे विशेष तालिम प्राप्त गरें । त्यसपछि फ्रान्सको ग्रनोवलबाट विद्यावारिधि पनि गर्ने मौका मिल्यो । जहाँ पुगे पनि जस्तै तालिम लिए पनि हामी नेपालमै फर्केर आयौँ किनभने यहाँ वनस्पति विभागजस्तो कार्यालय थियो र प्रयागराजजस्ता हाकिम थिए ।

प्रकाशित : असार २७, २०७७ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×