भूपि शेरचनको बुँख्याःचा

अपराजिता (पारिजात),
एउटा नयाँ आदत पलाएछ ममा । विश्वास गर्नै नसकिने परिवर्तन । साँझपख दुई–तीन जना बच्चालाई लिएर टोलको मुख्य सडक एक चक्कर लाउने । दिनभर घरमा बसेर अल्छी भएका घुँडाले केही व्यायाम पाउने, मन पनि प्रफुल्ल हुने ।

गाउँबाट सहर भइसकेछ, हाम्रो टोल त, बाबै । एक जमानामा खेतैखेतले भरिएको, शान्त हाम्रो टोलको बीच खेतमा उभिएको गोदामजस्तो हाम्रो घरलाई ‘भूत नाच्ने घर’ भन्थे अरूले । टाढाटाढा रहेका दुई–चार घर र पश्चिमतिर दाहसंस्कार गर्ने घाट, आँगनमा सिमकुखुरा नाच्ने, स्यालले दिउँसै कुखुरा उडाउने । तर, यस टोलको आफ्नै मोहनी थियो । मौसमअनुसारका बालीनाली, लरक्क लर्किरहेका धानका बाला र चराचुरंगी तर्साउन उभ्याइएका बुँख्याःचा (स्केयरक्रो) ।
बुँख्याःचाको आकृति मनमा आउनासाथ पेटैदेखि हाँसो उठ्यो । बेस्कन हाँसें । किन हाँसे हुँला ? तिम्रो पनि त बुँख्याःचा नामले न्वारान भएको है । दुब्लो शरीर, लुरे हातखुट्टा, लामो गर्दन र ठूलो टाउको देखेर कवि भूपि शेरचन तिमीलाई ‘बुँख्याःचा’ भन्थे । कवितै लेखे ।
ल त बुँख्याःचा, तिम्रा समकालीन साहित्यकार साथीमा भूपि शेरचनको नाम अग्रणीमा आउँछ । तिम्रो माध्यमबाट म पनि उनको नजिक भएँ । साहित्यकारको नाताले न सही, श्रोताको नाताले, मान्छेको नाताले । चुम्बकीय व्यक्तित्वका धनी कवि भूपिलाई हाम्रो आफ्नै मायालु सम्बोधन थियो, ‘भूपि दाइ ।’ उनलाई मैले आफ्नै ढंगले चिनेकी छु । यस्ता चुम्बकीय व्यक्तित्व औंलामा गन्न पाइन्छ । कुनै पनि उमेर र श्रेणीमा उत्तिकै पपुलर । वृद्धवृद्धामाझ जमाएर बसेको देखेँ, समकालीनबीच त कुरै नगरौं, टीनएजरलाई नि लठ्याएको देखेँ । बालबालिकाबीच बालकै भएर घुलमिल गर्न सक्ने ।
तासका जादू, सलाईका सिन्का र रुमालका जादू देखाएर रम्नसक्ने । हँसाउँदा एउटा पेट मात्रै हाँसो थाम्न पर्याप्त नहुने । ढोकाबाट भित्र पस्नासाथ वरिपरिका साराले घेरिहाल्ने । सानाहरूलाई केही किन्न पठाउँदा उब्रेका पैसा फिर्ता नलिने । यतिले मात्र कहाँ पूरा हुन्छ र उनको लोकप्रियता ! मीठो र सुरिलो आवाज, अर्कै विशेषता । सुनेको थिएँ, बनारस स्कुलमा पढ्दा उनी र उनको दाइको आवाजले स्कुल एसेम्ब्लीमा सारा विद्यार्थीको आवाजलाई लिड गर्थ्यो रे ।
धेरै वर्षअघिको सम्झना कोट्याउँ । इन्द्रचोकको हल, स्टेजसहितको कोठा, कवि गोष्ठी थियो । तिमीले मलाई पनि लिएर गएकी । त्यहीबेला उनको प्रथम दर्शन पाएकी । बनारसबाट आएको भन्थे । उनले ‘निर्झर’ कविता पाठ गरे । अति मीठो, झरर झरना बगिरहेको आभास दिलाउने । मुग्ध भएर सुन्नेमा म मात्र होइन, सारा श्रोता थिए । उत्कृष्ट कवि मात्र ठानिन, जुझारु व्यक्ति पनि ठानें । केही तत्त्व पसेका रहेछन्, गडबड गर्न । स्टेजमा उभिएर उनले कड्केर ललकारे, ‘गुन्डागर्दी नै गर्ने मनसाय भए इन्द्रचोकका अरू गल्लीमा गुन्डागर्दी गर्नुहोला । यस शान्त कवि गोष्ठी बिथोल्ने प्रयास नगर्नोस् ।’ ठाडै चुनौती दिने कस्तो बेजोडको आँट । मुरीमुरी प्रशंसा गरेँ ।
पुरानो नगरपालिकाको क्षेत्र, रणमुक्तेश्वर छेउछाउ हुन सक्छ, एउटा ठूलै हलमा विराट साहित्यिक कार्यक्रम थियो । पुरानो र नयाँ पुस्ताका साहित्यकारको ठूलै जमघट थियो । भूपि दाइ, वासु शशी, भवानी भिक्षु र अरू धेरै थिए । नाटककार बालकृष्ण समले नवरस अभिनय गरेर देखाए । तिमीले कुन कविता पाठ गर्यौ, सम्झना भएन । ‘जूनले वशीकरण गरेको रात’ यी चार शब्द याद छ । कवितामा हिन्दी शब्द बढी प्रयोग गर्ने भएकीले पारिजातका कवितामा कुनै महानुभवले कमेन्ट गर्न मानेनन् रे । अँ, एउटा उदेकलाग्दो तथ्य, भवानी भिक्षुले लय हालेर कविता पाठ गर्दा नयाँ पुस्ताका केही कवि मरीमरी हाँसे ।
लेघ्रो तानेर वाचन गरेकाले हो या कविता सुनेर । उनको कविताको एक लाइन अझै सम्झन्छु, ‘रस वर्षणमा अवरोध किन ?’वटुको डेरामा हुँदा भूपिका कतिपय उत्कृष्ट कविता जन्मे । उनकै मुखारविन्दबाट कतिपय कविताका रसास्वादन गरें । वटुमै बस्ने निर्मल लामा, लक्ष्मण राजवंशीजस्ता प्रगतिशील विद्यार्थी नेतासँग उनको घनिष्ठता थियो । यी नेताहरूका जोडदार प्रभाव उनमा नपरेको भन्न मिल्दैन ।
अपराजिता, तिमी र भूपि दाइको मित्रता पनि झ्यांगिँदै गयो । त्यस बखतसम्म हिँडडुल गर्न सक्थ्यौ । उनको डेरामा तिमीहरूको भेटघाट प्रायशः भइरहन्थ्यो । कहिलेकाहीँ म पनि तिम्रो साथ लागेर जान्थेँ । नजिकै गल्लीमा उत्तम रेस्टुराँ थियो, अति व्यस्त र चल्तीको । भेला भएका सबैका निम्ति उनी पाउरोटी, अमलेट र चिया अर्डर गरेर चिट रेस्टुराँमा पठाउँथे । हदभन्दा बढी फुर्मासी गर्थे ।
उनका कविताले मन छुन्छन्, चित्त बुझ्छ र माहोल जम्छ । ‘मैनबत्तीको शिखा’ पढेर रानी जगदम्बाका पनि आँखा रसाएका थिए रे ! उनका व्यंग्यात्मक कविता धेरैले अति रुचाए । साहित्यिक दृष्टिकोणले मूल्यांकन गर्न मेरो स्तर कसै गरे पनि पुग्दैन । त्यसैले साहित्यकार हरि अधिकारीको भाषा खुसुक्क चोरें ।
उनी लेख्छन्, ‘सानासाना, चुटुक्क परेका चुट्किलाजस्ता, व्यंग्यका पाइन हालिएका, सरल सहज बोधगम्य विम्ब प्रयोग गरिएका, समाजमा फैलिएका विकृति र विसंगतिमाथि कठोर प्रहार गर्ने उनका कविता प्रकाशमा आएको समयमा आधुनिक नेपाली कविताका मुख्य स्वर मात्र होइन, एक प्रकारले मानक नै ठानिएका थिए । नेपाली साहित्यका पाठक, अध्येता र समालोचक सबैले शेरचनलाई आ–आफ्ना ठाउँबाट स्वतःस्फूर्त किसिमले आधुनिक नेपाली कविताका सर्वाधिक मुखर हस्ताक्षरका मान्यता दिएका थिए ।’
‘सेन्स अफ ह्यूमर’ उनमा कुटीकुटी भरिएको पाएँ । एउटा रमाइलो घटना सम्झेँ । ‘आज भूपिलाई चाउचाउ खुवाउने !’ मलाई चाउचाउ बनाउने काम सुम्पियौ । हाम्रो घरका सबैले हरियो धनियाँ खुबै रुचाउने । म त धनियाँ मसिनोसँग काटेर भातमा छरेर खाने । त्यस दिन धनियाँको मात्रा निकै थियो । आफैंजस्तो ठानेर बेस्कन धनियाँ हालेँ । बढी भएका धनियाँ मसिनोसँग काटेर थालमा हालेर सर्भ गरेँ । खाइसकेपछि तिमीतिर फर्केर उनले भने, ‘पारिजात, तिमीले मलाई चाउचाउ खान बोलाएको कि घाँस ?’ बस्, के थियो, हाँसेर सब लोटपोट । हामी बेहाल भयौं ।
खाइसकेपछि भूपिले मुख पुछ्ने रुमाल मागे । एउटै सेतो भुवादारी रुमाल, त्यही पनि धेरै पुरानो । भुवा खसेर कागजजस्तै कडा भएको । मुख पुछ्दापुछ्दै मतिर हेरेर भने, ‘सुकन, यो तिम्रो मुख पुछ्ने रुमाल हो कि स्यान्ड पेपर ?’ हुन पनि स्यान्ड पेपर– खाक्सीजस्तै थियो रुमाल, मुखै खोस्रेर लाने । अर्को हँसोको फोहोरा छुट्यो । सबैलाई चिया पकाएर खुवाउने जिम्मा मेरो थियो । ‘अलिकति चियापत्ती, चिनी, दूध र पानी खाएर स्टोभमा पेट सेकाए त पेटमै पाक्छ नि चिया,’ उनी भन्थे ।
बनारसबाट आएलगत्तै शायर मजाजका अन्ध फ्यान थिए भूपि । यति डुबेर मजाजका ट्राजिक जीवनका कथा सुनाउँथे, म त उनमा मजाज नै देख्थेँ । पागलप्रेमी मजाज दुःख बिर्सन मदिरा पिउँथे । उनको अधिकांश समय मदिरालयमै बित्थ्यो । मध्यरातमा मदिरामा धुत्त परेर कोठामा फर्किंदा बाटोमा पर्ने साथीलाई, ‘...अभी से आ गए ?’ र, सखारै अँध्यारोमा कोठाबाट निस्किँदा त्यही साथीलाई, ‘अभी तक सो रहे हो ?’ भन्थे रे । उनी हामीलाई मन्त्रमुग्ध पार्नेगरी मजाजका शायरी कण्ठस्थ सुनाउँथे । ‘ए गम ए दिल क्या करुँ, ए बहस के दिल क्या करुँ ?’ यो शायरी सुनेको उनीबाटै । म्हयपीको घरमा आएर पनि हामी तलत महमुदको आवाजमा यो गजल सुन्ने गथ्यौं, अझै सुन्ने गर्छु । मन छुन्छ, एक किसिमको दुखाइको आनन्द मिल्छ । विचार र विचारले निर्देशित अनुशासनले मात्र भावनाको वेगलाई रोक्न त गाह्रै हुने रहेछ ।
अँ, भूपि दाइको अर्को मन छुने उद्गार । एक कवि बिरामी साथीलाई भेट्न गए रे ।
‘कैसे हँ, यार ?’
‘क्याँ करुँ, बिस्तर से उठा नहीं जाता ।’
भोलिपल्टै ती साथीको निधन भएको दुःखद घडीमा कवि साथीले भनेछ, ‘कल तक तो कहते थे बिस्तर से उठा नहीं जाता, आज इतनी लम्बी सफर को चल दिए ?’ यही उदगार भूपि दाइ मनको गहिराइबाट व्यक्त गर्थे । ‘यो उद्गार अति मूल्यवान छ, मेरा सारा कृतिले पनि यसको उचाइ भेट्न सक्दैन ।’
अर्को एक घटना याद आयो । पुतलीसडकमा सडकछेउकै हाम्रो कोठामा पुरानो शैलीको झ्याल थियो, भेन्टिलेशन नभएको । राति तिम्रो सिरानपट्टिको झ्यालका खापा आधा उघारेर राख्नुपर्थ्यो हावाका लागि । सडकको आवाज कोठाभित्र प्रस्ट सुनिन्थ्यो । आधा रातमा केही पुरुषको गाइँगुइँ आयो, हाम्रो नाम बोलाएको सुनियो । उनीहरूको मकसद निश्चय नै ठीक लागेन । त्यही कुरा हामीले भूपि दाइ, दया दिज्यु र ज्यानुलाई (दया दिज्युकी बहिनी) लाई सुनायौं । उनीहरू रिसले तात्तिए ।
त्यसो त दया दिज्यु र ज्यानु साँझ प्रायशः भेटघाट गर्न, दुख्ख–सुख्ख बुझ्न र सहयोगका हात बढाउन आउँथे र जमघटमा सामेल हुन्थे । ज्यानु एक अत्यन्त स्वाभिमानी, आत्मविश्वासी, निडर र तर्कशील महिला हुन्, जसलाई रानी लक्ष्मीबाई (झाँसीकी रानी) भन्ने गर्थें । उनीसमेत हाम्रो समस्या सल्ट्याउन लागिपरेका देख्दा ढुक्क भयौँ । त्यस घटनापश्चात् उनीहरू केही समयसम्म दिनहुँ आए र हामीकहाँ बिताउने अवधि लम्ब्याएर बसे, कथंकदाचित ती बदमासहरू आइहाले तह लगाउन । तर, यस्तो घटना फेरि दोहारिएन ।
धेरै निकट भइसकेका थिए भूपि दाइ हामीसँग । काम परेर सिंहदरबार गएको बेला होस् अथवा पुतलीसडकबाट हिँड्नुपर्ने बेला, हाम्रो डेरामा पसी मुख मात्र भए पनि देखाएर जान्थे । एक साँझ दस–बाह्र जना साथी लिएर आए, दुई वरिष्ठ सरकारी कर्मचारीसँगै । कोठा सानो भएकाले उनी मात्रै भित्र पसे । बाँकीचाहिँ ढोका र भर्याङभरि उभिएर बसे ।
त्यो दिन उनले साथीहरूलाई कुनै रेस्टुराँमा दावत दिएको भान हुन्थ्यो । हाम्रो कोठामा केही क्षणअघि मात्रै घरपतिबाट विशेष पर्वको उपलक्ष्यमा भोजको भाग आएको थियो । नेवारको भोजमा रक्सी नहुने त सवालै भएन । ठूलो लपेसमा भोजको परिकार देखेपछि रक्सीको प्याला टपक्क टिपेर उनले सोधे, ‘कोही छ पिउने ?’ एक जना वरिष्ठ कर्मचारी भित्र पसेर भुइँमा घुँडा टेकेर मुख ‘आँ’ गरे । रक्सी स्वाट्ट पिएर भूपि दाइ कड्किए, ‘लाज लाग्दैन तिमीहरूलाई यहाँ आएर रक्सी पिउँछु भन्न ? ल हिँड, म तिमीहरूलाई जति भने पनि पिलाउँछु ।’ नभन्दै फुत्त बाहिर निस्किए, अरू सबै पछि लागे । मलाई उनीहरूको मानसिक दरिद्रता देखेर दया लाग्यो । प्रश्न मनमा जाग्यो, भूपि दाइ किन यस्तरी पैसा उडाउँछन् ?
पुतलीसडककै भित्री डेरामा सरिसकेपछि तिमीहरूको भेटघाट पातलिँदै गयो । उनी औषधि गर्न भारततिर गए भन्ने सुनियो । एकपटक एक युवा गायक लिएर आए, जसको सुमधुर स्वरमा मीठामीठा गीत सुन्ने अवसर मिल्यो । म्हयपीको घरमा सरेपछि पनि त्यही गायकलाई लिएर आए । तिमी घरमा थिएनौ, मैले मात्र गीत सुनें । खुलेरै भनौं, त्यस बेलासम्म तिमीहरूको सुमधुर सम्बन्ध चिसिसकेको थियो, स्थानको दूरीले गर्दा मात्रै होइन, मनकै दूरीले गर्दा पनि ।
कोही भन्थे, भूपिले प्रज्ञा प्रतिष्ठानको जागिर खाए, राजाको जन्मदिनमा शुभकामना टक्य्राए, राजावादी भए । उनी आफैँले स्विकारेका थिए, ‘मलाई तीनवटा क, कविता, कम्युनिस्ट र क्रान्तिले बिगारे ।’ प्रतिरोधस्वरूप तिमीलगायत प्रगतिशील समकालीन साहित्यकारहरू उनीसँग चिढिए । ‘भूपि दिलले होइन, दिमागले लेख्छन्’ उनका अन्तरंग प्रगतिवादी मित्रहरू यसै भन्थे । मलाई यो पहेली बुझ्न धेरै गाह्रो भो ।
यस सम्झनाको तरंग टुंग्याउनुअघि फेरि एकचोटि हरि अधिकारीका महत्त्वपूर्ण वाक्य उद्धृत गर्न चाहन्छु । ‘शेरचनमा जुन उच्चकोटिको सिर्जनात्मक प्रतिभा थियो, त्यो उनले जानी वा नजानी अपनाएको असन्तुलित र आत्मपीडक जीवनशैलीका कारण राम्रोसँग उपयोग नै हुन नपाई खेर गएको कुराको सम्झनाले मेरो मन अमिलो भएको छ ।’ ‘जानी वा नजानी अपनाएको असन्तुलित र आत्मपीडक जीवनशैली’ ले मेरो दिमाग पनि चस्काउँछ । यी शब्दले गहन माने बाकेको भान हुन्छ मलाई । तिमीलाई कस्तो लाग्यो, अपराजिता ?
प्रकाशित : पुस १२, २०७६ ११:००