३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

अभिभावकलाई बालसाहित्य

हामीले छोराछोरीका निम्ति पुस्तक पढेर सुनाएका छौं ? कसरी पढेर सुनाएका छौं ? पढेपछि सम्बन्धित विषयमा छलफल गरेका छौं ? अब यस विषयमा घोत्लिनुपर्छ 
भवसागर घिमिरे

राजधानीको थापाथलीमा चलेको पुस्तक बिक्री कक्ष  । एउटी आमा आफ्नो ९ वर्षे छोरालाई मनाउने प्रयासमा थिइन्— नेपाली बाल पुस्तक किन्नका लागि  ।

अभिभावकलाई बालसाहित्य

उनको हातमा छोराले नै छानेका तीन अंग्रेजी बालपुस्तक पहिल्यै थिए । बजारमा के–कस्ता पुस्तक आएका छन् ? जान्नका लागि केही घण्टाअघिदेखि र्‍याकहरू चहार्दै गरेको मेरो ध्यान त्यो दृश्यमा पुगेर अडियो । आखिरीमा एउटा मात्रै नेपाली बालपुस्तक जबरजस्ती किनेर उनी छोरासहित बाहिरिइन् ।

उनीहरू बाहिरिएपछि मेरा आँखामा पुस्तक कम र प्रश्नहरू बढी नाँच्न थाले— किन त्यो बालकलाई नेपाली पुस्तक मन परेन ? के हामीले मन छुने सिर्जना पस्कन सकेनौं ? कि अभिभावकले नै नेपाली बालसाहित्यलाई बुझ्न सकेनन् ? वा छोराछोरीलाई बुझाउन् सकेनन् ? प्रकाशन गृहको लगानीमा कमजोरी रह्यो कि ? यी प्रश्नबारे छलफलको ढोका उघार्ने प्रयत्न
यहाँ गर्नेछु ।

हामी कस्ता लेखक ?
चालीसको दशक । दिदी र दाइ कक्षा चढेपछि । किताबको गाता झरेपछि मात्र मेरो हातमा स्कुले पाठ्यपुस्तक पर्थे । बाल साहित्य भनौँ वा विश्व–विज्ञान । हाम्रा निम्ति ती सबथोक थिए । पछिल्लो एक दशकमा भने बाल साहित्यमा पुस्तकको संख्या ह्वात्त बढ्यो । अहिलेसम्म तीन हजारभन्दा बढी संख्यामा प्रकाशित भैसकेका बाल पुस्तकमध्ये प्राथमिक तहका चित्र–कथाको संख्या बढी छन् । माथिल्लो कक्षाका लागि उपन्यास र च्याप्टर बुक कम छन् । मातृभाषाका पुस्तक नगण्य छन् ।


बाल शिक्षामा कार्यरत ‘रुम टु रिड’ ले संस्थालाई प्राप्त २ हजार हाराहारीका बाल साहित्यका पुस्तकमाथि एक अध्ययन गरेको थियो । अध्ययनअनुसार, कुल पुस्तकमध्ये स्वैरकल्पनामा ३४ प्रतिशत र गैरआख्यानमा ३२ प्रतिशत पुस्तक प्रकाशित रैछन् । २८ प्रतिशत लोककथाका अनि एक प्रतिशत मात्र विज्ञानका रहेछन् । विज्ञानका कथाले बाल मनमा नयाँ खोजी गर्न भोक जगाउँछ । ‘प्रयोग र प्रमाणमा’ विश्वास गर्ने विज्ञानका विषयमा लेखकका कलम कम चलेको छ । ह्युमर तथा एडभेन्चरस विधाको हातल पनि उस्तै छ । हामी अर्तीउपदेशका कथामा बढी रुमल्लियौं कि भन्ने प्रश्न यस नतिजाले उब्जाउँछ ।


कहिलेकाहीं फर्केर हेर्छु । मेरा पुस्तकमा पनि कमजोरी छन् । रुम टु रिडबाटै केही वर्षअघि ‘माछा र बकुल्ला’ पुस्तक प्रकाशित भयो । कसरी माछाहरू बकुल्लाबाट बच्न सफल भए भन्ने चित्रकथा छ यसमा । थोरै विज्ञान, थोरै स्वैरकल्पनाको समिश्रण भएको कथाको अन्त्यमा माछाहरूको जित हुन्छ ।

जितेपछि उनीहरूले बकुल्लाहरूको प्वाँख काटिदिन्छन् । अहिले लाग्छ, मैले किन कथाबाट बालबालिकामा प्रतिशोध सिकाएँ ? पराजितमाथि यस्तो व्यवहार सही हुँदै होइन । मानौं, विद्यालयमा दौड जितेकाले हारेको साथीको सर्ट च्यातिदिँदा उसको मनमा के गुज्रेला ? यसैले हामीले ‘कति कृति लेख्यौं भन्दा पनि कस्ता कृति लेख्यौं’ ले बढी महत्त्व राख्छ । हरेक कमजोरी परिमार्जन गर्ने तथा नवसिर्जना नयाँ शिराबाट सुरु गर्ने हुटहुटी जागिरहनु नै असली लेखक हुनु हो ।


मध्यप्रदेश भारतको एक कुनामा आधार बनाएर तयार पारिएको पुस्तक ‘द जंगल बुक’ ले विश्वको ध्यान खिच्यो । हाम्रो देशमा पनि सर्लाहीदेखि सोलुखुम्बु अनि जनकपुरदेखि जाजरकोटसम्म कथाको कमी त पक्कै छैन । लाग्ला, हाम्रो भाषा विश्वव्यापी भएन । ‘सिन्ड्रेला’, ‘स्नो ह्वाइट’ लेख्ने ग्रिम्स ब्रदरले ‘परिका कथाहरू’ सुरुमा जर्मन भाषामा जम्मा पारेका थिए । ‘द इम्पेरियर्स न्यु क्लोथ’ लेख्ने ह्यान्स क्रिस्चियन एन्डर्सनले यो पुस्तक डेनिस भाषामा लेखेका थिए । उनीहरूका पुस्तकहरू पनि विश्वव्यापी भए । यी सबै कथामा एउटै समानता छ, ‘मानवीय संवेदना’ । संसारको सबैभन्दा ठूलो भाषा नै यही हो ।

यही संवेदनाको चाबीले पुस्तक बिक्री कक्षमा भेटिएको बाबुजस्ता नयाँ पुस्ताको मनको ढोका खोल्नु नेपाली बालसाहित्य सर्जकका निम्ति अवसर र चुनौती दुवै हुन् । अवसर अँगाल्न अनि चुनौती सामना गर्न भोलिका दिनमा हामी कस्ता लेखक बन्ने ? यी प्रश्नको उत्तर खोज्न, हामीले आफ्नै अनुहार पनि ऐनामा हेर्नुपर्छ ।

हामी कस्ता अभिभावक ?
छोराछोरीलाई पुस्तकालय लगेर किताब छान्न सघाउने माथिकी आमाजस्ता अभिभावक हामीमाझ कम छन् । मध्यम र निम्नवर्गीयको वर्चस्व छ । पुस्तक गन्नुभन्दा पेट भर्नु उनीहरूको मूल प्राथमिकता हो ।

उनीहरूमध्ये पनि थोरै छन्, जसले पुस्तक किन्ने सोच्छन् । तर, पचासौंपटक सोच्छन्, ‘केटाकेटीका लागि किताब किन किन्ने ?’ यही प्रश्नको उत्तर हाम्रा पुस्तकहरूले धित मर्ने गरी दिन नसकेको तीतो यथार्थ हो ।
मार्था क्रिपेनको ‘द भ्यालु अफ चिल्ड्रेन लिटरेचर’ लेखका अनुसार, बाल साहित्यले बालबालिकालाई सहित्यबारे रुचि बढाउन मात्र नभई सम्बन्धित विषयमा आफ्नो धारणा विकास गर्ने मौकासमेत दिन्छ । पुस्तकले उनीहरूलाई आफू र अरूको समाज अनि संस्कृतिबारे सिक्ने र बुझ्ने बाटो खुलाइदिन्छ ।

संस्कृतिहरूबारे सकारात्मक धारणको विकास गर्नु बालबालिकाको व्यक्तिगत तथा सामाजिक विकासका लागि निकै महत्त्वपूर्ण छ । अनओटा रिडिङ जर्नलमा प्रकाशित क्रिपेनको यो लेखमा बालसाहित्यले मनोरञ्जनसँगै बालबालिकामा संवेदनशीलता तथा नैतिकताको विकास गर्न सघाउने कुरा उल्लेख छ । यी क्षमता उनीहरूले साहित्यका पात्रबाट प्रभावित भएर नजानिँदो रूपले सिकिरहेका हुन्छन् ।


हामीसँग सन्तानले पढेनन्, नेपाली जानेनन् भन्ने गुनासोको भारी मात्र ठूलो हुन्छ । के हामीले छोराछोरीका निम्ति पुस्तक पढेर सुनाएका छौं ? कसरी पढेर सुनाएका छौं ? पढेपछि सम्बन्धित विषयमा छलफल गरेका छौं ? यसमा पनि घोत्लिनुपर्छ । बच्चाहरूले नेपाली भाषामा चासो नराख्नुमा हामी अभिभावक पनि उत्तिकै जिम्मेवार छौं ।

एक प्लेट मःमभन्दा कम पैसाको नेपाली बाल पुस्तक किन्न हामीलाई ज्वरो आउँछ । अन्य विधा र बाल साहित्यका पुस्तकबीचको भिन्नताबारे बेलायती उपन्यासकार रोल्ड डालको भनाइ यतिबेला सम्झनु उपयुक्त हुन्छ । उनका अनुसार, बालबालिकाले एउटै पुस्तक दोहोर्‍याई–तेहर्‍याई पढ्नु बाल साहित्यको सुन्दर पक्ष हो । उनीहरू धेरैपटक एउटै कृतिमा रमाउन सक्छन् ।

यसरी एकै खर्चमा बाल मनलाई धेरैपटक कल्पनाको संसारमा सयर गराउने पुस्तकमा लगानी गर्न चुकचुकाउने हामी कस्ता अभिभावक ?


हुन त पुस्तक किनेर नानीहरूलाई दिँदैमा अभिभावकको कर्तव्य सकिँदैन । बुझ्नुपर्छ, राम्रा बाल पुस्तकले सबै प्रश्नको उत्तर दिँदैन । बरु बालबालिकाको मनमा प्रश्नहरू उब्जाउँछन् । उत्तर खोज्दै गर्दा अभिभावक र सन्तानबीच छलफलको ढोका उघारिन्छ । उदाहरण मानौं, एउटा बाल पुस्तकको एउटा पृष्ठमा छ, ‘डम्म हुस्सुका बीच तराईको एउटा घर छ । घरअघि एउटा सानी नानी छिन् । नानीको काखमा सानो पाठी छे ।

पाठीले स्वेटर लगाएकी छे ।’ यो एउटा चित्रले बाल मस्तिष्कमा सयौं प्रश्न उब्जाउन सक्छ । नानीको काखमा के होला ? बाख्राको पाठीले पनि स्वेटर लगाउँछे र ? कसले लगाइदियो ? यो ठाउँ कहाँ हो ? तराई भनेको के हो ? यस्तै यस्तै । मात्र एउटा चित्रबाट जन्मेको छलफलले बाल मस्तिष्कमा हिमालदेखि तराईसम्म फैलिएको नेपालको विशाल नक्सा कोर्दिन सक्छ ।

थेप्चो नाक र राता गाला देख्दैमा ‘भोटे’ अनि कालो अनुहार देख्दैमा ‘धोती’ भन्न सिकाउने हाम्रो सामाजिक सोचबाट थोरै बाहिर निकालेर ‘नेपाल के हो र नेपाली को हो ?’ सम्म पनि बुझाउन सकिन्छ । मोबाइलको साटो पुस्तकै सही, यसले उनीहरूलाई नयाँ संसारबारे सोच्न र बुझ्न त मद्दत गर्छ । संसार बुझ्ने यो यात्रामा उनीहरूलाई समय दिएर सघाउनु, बालसाहित्यलाई नजिकबाट नियाल्नु, प्रश्न गर्नु र निखार्न सघाउनु सबै अभिभावकको कर्तव्य हो । किनकि बालसाहित्य, बालबालिकाको मात्र विषय हैन अभिभावकको पनि उत्तिकै हो ।

तपाईं कस्तो प्रकाशक ?
हामी बाँच्नका लागि लेख्छौं कि लेख्नका लागि बाँच्छौं भन्ने प्रश्न अरू साहित्यजस्तै बाल साहित्यमा ठूलो छ । ‘अब कस्ता पुस्तक लेखिनुपर्छ ?’ केही हप्ताअघि ‘रुम टु रिड’ ले यस विषयमा राजधानीमा छलफल डाकेको थियो । जम्मा भएका दस लेखक कोही विद्यालय छुट्टी लिएर आएका थिए, कोही कार्यलयबाट भागेर । खासमा घरको अन्नपानी आउने ठाउँलाई केही बेर बुझो लगाएर गएका थिए । एउटा बालपुस्तक बजारमा आउनुअघि लेखकले धेरै ठाउँमा यस्ता बुझो लगाएका हुन्छन्, जसलाई लेखकले मात्रै राम्ररी बुझ्न सक्छन् ।


तीन वर्षअघिको कुरा । म बेरोजगार थिएँ । एउटा प्रकाशन गृहमा मैले पुस्तकका निम्ति कथा बुझाएँ । ‘प्रक्रियामा जानुअघि छलफल गरौं ह,ै’ भनेको पनि थिएँ । केही महिनासम्म थाहापत्तो भएन । धेरैपछि फोन गर्दा ‘चित्र बन्दै छ चाँडै प्रेसमा जान्छ’ भन्ने खबर आयो । ‘मैले लेखकको रूपमा के पाउने ?’ कुनै सम्झौता भएको थिएन । यही प्रश्न राख्दा, उनीहरूले संस्थाको नियम सुनाए, ‘पुस्तक छापेबापत पाँचवटा पुस्तक अनि ५ हजारमा ट्याक्स काटेर जम्माजम्मी ४२ सय ५० रुपैयाँ पाउनुहुनेछ ।’


काठमाडौंको कहलिएको एउटा प्रकाशन गृहले बालसाहित्य सर्जकलाई गर्ने व्यवहारको एक उदाहरण हो यो । आफ्नो रचना छोराछोरीजस्तै प्यारो हुन्छ, सर्जकका लागि । आर्थिक पक्ष त टाढाको कुरा, आत्मसम्मान पहिला आउँछ । मौखिक नै किन नहोस्, स्वीकृति वा सम्झौताबिना नै पुस्तकलाई छाप्ने प्रक्रियामा लैजानु सर्जकको ठूलो अपमान हो । मैले तत्कालै कथा फिर्ता लिएँ । जुनीभर पुनः छाप्न र बेच्न पाइने एउटा पुस्तकका लागि सिर्जेको सिर्जना थियो त्यो । त्यसबापत लेखकले आर्थिक रूपले पाउने त्यत्ति नै हो भने बाल साहित्यकार किन लेख्नका लागि बाँच्छ ? यद्यपि सबैतिर अवस्था उस्तै भने छैन ।

उमेर र कक्षाअनुसारका पुस्तकको प्रकाशन गर्ने, डिजाइन, चित्र अनि मार्केटिङमा मिहिनेत गर्ने अभ्यास पनि अन्य केही प्रकाशकले सुरु गरेका छन् । पुस्तक विक्रेताबाट पैसा सजिलै नउठ्ने बाध्यता पनि छ प्रकाशकका । तैपनि केही वर्षयता रोयल्टी वा एकमुष्ठै भए पनि थोरै राम्रो रकम जुर्न थालेको छ बाल साहित्यमा । यसले ‘लेख्नका लागि बाँच्न’ सर्जकहरूलाई प्रेरित गरेको छ ।

लेखक, प्रकाशक र अभिभावक सबैले आफ्ना कमीकमजोरी निखार्नु नै बालसाहित्यलाई माथि उठाउने दह्रिलो काँध हो । यसो भएमात्र माथिको पुस्तक बिक्री कक्षमा भेटिएको सानो बाबुलगायत आम भाइबहिनीले नेपाली बाल पुस्तक आफैँ खोजी–खोजी पढ्न थाल्नेछन् ।

प्रकाशित : मंसिर २८, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?