सुरुमै सुक्खा

प्रमोसनमा लाखौं खर्च गरिएका ‘स्टार’ का फिल्मसमेत रिलिजको पहिलो दिनबाटै दर्शकविहीन हुन थालेका छन् । नेपाली फिल्मप्रति यतिबिघ्न वितृष्णा किन ?
गोकर्ण गौतम

सिटी सेन्टरस्थित बिग मुभिज् पुग्दा बिहानको ९ बज्न केही मिनेट मात्र बाँकी थियो । हत्तारिँदै काउन्टर पुगेर ‘च च हुई’ को टिकट मागें ।

टिकट विक्रेता युवतीले कम्प्युटरको स्क्रिन मतिर फर्काइदिइन्, सिट जति सबै हरियो । अर्थात् एउटै टिकट बिकेको रहेनछ, नत्र रातो हुन्थ्यो । चार–पाँच जना मात्र दर्शक आए भने हलले फर्काउने गर्छ, त्यही भएर सोधें, ‘अरू आउँदै नआएका कि आएर फर्काउनुभएको ?’ उनले हल्का मुस्कानसहित जवाफ दिइन्, ‘नाइँ, सोध्न आउनुभएकै तपाईं मात्र हो ।’
यो हो, ‘च च हुई’ रिलिजको पहिलो दिन अर्थात् मंसिर ६ गतेको कुरा ।
आफूलाई समीक्षा लेख्नुपर्ने, बिग मुभिजबाहेक क्यूएफएक्ससहित अन्त कुनै मल्टिप्लेक्समा बिहानको शो थिएन । तर पहिलो शो नै क्यान्सिल ! यसको बजेट २ करोड रुपैयाँ भनिएको छ । विदेशमा समेत सुटिङ गरिएको, चकलेटी हिरो आर्यन सिग्देलको अभिनय । प्रमोसनमा कलाकारले प्रशस्त समय दिएका । निर्माताले दिल खोलेर खर्च गरेका । त्यस हिसाबले पनि कम्तीमा प्रदर्शनको पहिलो दिन नै हलमा यसरी खडेरी लाग्नु नपर्ने । म यस्तै ठान्थें/ठान्छु तर दर्शकले ‘बाल’ नदिएपछि कसको के लाग्छ ? ‘बिहानीले दिनको संकेत गर्छ’ भनेझैं त्यसपछि पनि फिल्मको व्यापार उकासिन सकेन ।
स्टारडम भएका भनिएका निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ ले पनि करिब यस्तै दुर्दशा भोग्यो । सुरुमा कात्तिक ८ गते रिलिज हुने तय थियो । अन्तिम समयमा सर्‍यो । मल्टिप्लेक्समा पर्याप्त शो नपाएकाले आपनिङमा असर पर्ने भन्दै दुई साता फिल्म सारियो । सरेपछि सो राम्रै पायो तर पहिलो दिनबाटै दर्शकको अभाव सामना गर्नुपर्‍यो । सुरुआती तीन दिनमा दुई करोड बराबरको ग्रस कलेक्सन गर्ने आशा थियो निर्माण पक्षको तर कुल व्यापार नै यसको एक तिहाई पुग्न मुस्किल भयो । जबकि यस फिल्मको ‘साली मन पर्‍यो...’ गीत लोकप्रिय भएको थियो । तैपनी दर्शक हलमा तानिएनन् ।
‘च च हुई’ कै निर्देशक साम्तेन भुटियाको ‘साढे सात’, सुदर्शन थापाको ‘चंखे शंखे पखें’ लगायतका फिल्मको ‘फस्ट डे फस्ट शो’ नै रद्द भएर फर्केको तम्तमाइलो अनुभव छ मसँग । तर आफ्नो फिल्मप्रति दर्शकको विरक्तिप्रति अधिकांश निर्माता–निर्देशकमा चिन्ता देखिन्न । जस्तो ः दसैंमा अशोक शर्माले बडो तामझामका साथ आफैंले भनेको दिन ‘रातो टीका निधारमा’ रिलिज गरे । हलमा बडिगार्डसहित पुग्ने हिरोइन साम्राज्ञीको मुख्य भूमिका थियो । तर, कसैको केही जोर चलेन, पहिलो दिनबाटै सुक्खा लाग्यो । खासमा फिल्ममा त्यस्तो उल्लेख्य केही गुण थिएन, जसले दर्शकलाई तानोस् । शर्माको धुन भने अर्कै । कमजोरबोध त कता हो कता, उल्टै उपयुक्त रिलिज मिति नछानेकाले व्यापार बिग्रिएको जिकिर गरे ।
शर्मा मात्र होइन, हाम्रा बहुसंख्यक फिल्ममेकर आफूलाई चोख्याउन खोज्छन् । दोष अरूलाई थोपार्छन् । दर्शकले नबुझेको । हलले शो नदिएको । पानी परेको, घाम चर्किएको । मिडियाले समीक्षा लेखेर डुबाइदिएको आदि आदि... । बहानाको कुनै कमी छैन ।



मैले नेपाली फिल्म, फिल्ममेकर, दर्शकको रोजाइ/मनोविज्ञान, फिल्मको गुणात्मक पक्ष, व्यापारिक यथार्थलाई नजिकबाट नियालेको ९ वर्ष हुनै लागेछ । यस अवधिमा फिल्मको बजेट बढ्यो । कलाकारको पारिश्रमिक बढ्यो । मल्टिप्लेक्स बढे । फिल्ममेकर बढे तर सोही अनुपातमा न व्यापार बढ्यो, न त सिर्जनशीलता । व्यापारमा ‘छक्का–पञ्जा’ सिरिज अपवाद भएजस्तै सुन्दर सिनेमा निर्माणको हकमा ‘कालो पोथी’, ‘सेतो सूर्य’ अपवाद हुन् ।
नत्र वर्षमा ९० को हाराहारीमा फिल्म रिलिज हुनु, मुस्किलले ५ हिट हुनु, अरू ४–५ ले लगानी उठाउनु र बाँकी फ्लप हुनु हाम्रो नियति हो । मिडियामा हिटको प्रायोजित डंका पिटाएर भ्रम छर्नु र आत्मरतिमा रमाउनु अलग कुरा । संवादमुखी र प्रसंगबेगरका कमेडी, बासी रोनाधोना र रोमान्सबाट मूलरूपमा नेपाली फिल्म माथि उठ्न सकेको छैन । त्यसमाथि अलि गाँठवाला निर्माता छ भने विदेश पुगेर, त्यति नभए नेपालकै हिमालमा भए पनि गीत खिच्ने लहड छ । फिल्ममा त्यसको सान्दर्भिकताको मतलबै छैन, सिर्फ चमकधमक देखाउन पाए पुग्यो ।
पहिले पनि फिल्म फ्लप हुन्थे तर कम्तीमा सुरुआती दिनमा चल्थे । स्टार वा प्रमोसनको भूमिका हुन्थ्यो त्यसमा । अहिले व्यापार पूरापूर सखाप हुन थाल्यो । पहिले फिल्म फ्लप हुँदा पोस्टरको पैसा उठाएन भनिन्थ्यो । अहिले निर्माताहरू आफैं हँसिमजाक गर्न थाल्या छन्, ‘पोस्टर टाँस्ने माडकै पैसा उठाएन ।’ त्यो पनि अरू होइन, कथित ‘स्टार’ भनिएकाहरूकै फिल्म बक्सअफिसमा घुँडा टेकिरहेका छन् । सहरिया युवा फुस्तामा नम्रता श्रेष्ठको त्रेज छ भनिन्छ । नम्रताले आफ्नै लगानीमा फिल्म बनाइन्, ‘जाइरा’ । एक्सन भूमिकामा थिइन्, प्रमोसनमा देश दौडाहा गरिन् । फिल्मको बजेट अढाई करोड नाघ्यो तर ओपनिङमा दर्शकविहीन बन्नुपर्‍यो । हेरेर होइन, नहेरेरै दर्शकले ‘रिजेक्ट’ गरे । सामाजिक सञ्जालमा पछ्याउनु र हलसम्म पुगेर फिल्म हेर्नु, अलग रहेछ । चकलेटी हिरो सलिनमान बनियाँको ‘यात्रा’ पनि यस्तै विडम्बनाको सिकार भएको थियो ।
आखिर नेपाली फिल्मप्रति आमदर्शकमा यतिबिघ्न वितृष्णा किन ? बेलामौकामा फिल्मकर्मी र मिडियालाई घोचपेच गर्न माहिर निर्माता/कलाकार दीपकराज गिरीसँग यसको जवाफ रहेछ, ‘हामी नेपाली फिल्ममेकरले विश्वसनीयता गुमाएका छौं । ९० प्रतिशत नेपाली फिल्म हेर्नु भनेको ‘टर्चर’ हो । म आफैं प्रिमियरमा तनाव खेपेर फिल्म हेर्छु, बाहिर निस्केर राम्रो भन्नुपर्छ । तर दर्शकले पैसा तिरेर किन तनाव लिने ?’ उनलाई लाग्छ— फिल्ममेकरभन्दा दर्शक बाठा भइसके, प्रमोसनमा फन्डा गरेर, स्टारकास्ट राखेर अब हलमा चाप हुँदैन । दर्शकले यो सब झूट हो भन्ने बुझिसके ।



‘निश्चल–स्वस्तिमालाई समेत दर्शकले सुरुकै दिन रिजेक्ट गरे । युट्युबमा अपलोड गरिएका प्रचारात्मक कन्टेन्टलाई पनि वास्ता गरिन्न । त्यही कलाकारको अन्तरवार्ताले युट्युबमा लाखौं भ्युज पाउँछ, फेसबुक–इन्स्टाग्राममा हजारौं लाइक्स पाउँछ,’ गिरी अगाडि थप्छन्, ‘तर तिनै कलाकारको फिल्मचाहिँ सुपरफ्लप हुन्छ । अब त बुझ्नुपर्‍यो नि, दर्शक मनोरञ्जनको ग्यारेन्टी भए मात्र हल जान्छन्, कलाकार हेर्न जाँदैनन् ।’ यो सत्य कुरा हो तर दुर्भाग्यचाहिँ, हाम्रा फिल्मकर्मी आफ्नो फिल्म हेर्न हलमा कति दर्शक आइरहेका छन् भनेर होइन, मेरो कति ‘फलोअर्स’ छन् भनेर फुरुङ्ग छन् । ‘पब्लिक क्रेज’ ले नै दर्शक तान्ने हो भने अहिले पनि राजेश हमाल जत्तिको फ्यान फलोइङ कसको होला र ?
गिरीलाई पत्याउने हो भने दर्शकहरू ‘ब्रान्ड’ रोज्न थालेका छन् । त्यो भनेको अहिलेको हकमा, ‘छक्का–पञ्जा’ सिरिज बनाएको गिरीकै टिम, ‘जात्रा’ र ‘जात्रै–जात्रा’ बनाएको रवीन्द्रसिंह बानियाँ–प्रदीप भट्टराईंको टिम अनि ‘कबड्डी’ सिरिजको रामबाबु गुरुङ–दयाहाङ राईको टिम । उनी स्विकार्छन्, ‘हाम्रो पनि एउटा फिल्मले निराश बनायो भने अर्को हेर्न दर्शक आउँदैनन्, हामी डेन्जरजोनमा जान्छौं ।’
प्रमोसनका क्रममा अनेक फुर्ती लगाउने, आशा देखाउने तर फिल्मचाहिँ फिक्का हुने प्रवृत्तिकै कारण हुनुपर्छ, ‘नेपाली फिल्मलाई माया गरिदिनुस्’ भनेर गरिने याचनालाई समेत दर्शकले हल्का ढंगले लिन थालेका छन् । लुट, कबड्डीपछि बल्लतल्ल बनेको नेपाली डायस्पोरासमेत भद्रगोल भएको छ । विदेशमा फिल्म जान्छ, कलाकार जान्छन् तर दर्शक आउँदैनन् । नेपाली बस्ने देशहरूमा नेपाली फिल्मको बजार विस्तार गर्न कम्मर कसेर लागिपरेको हाइलाइटस् नेपालले पनि हार मानिसकेको प्रतीत हुन्छ ।
निर्माताका लागि नेपाली फिल्मवृत्तमा ‘मुर्गा’, ‘भेडा’ जस्ता शब्द खुब चल्ती छ, उहिल्यैबाट । ‘मुर्गा’ को मुहार र फसाउने तरिका फरक भयो होला तर प्रवृत्ति उस्तै छ । गिरीका अनुसार निर्देशकले पटकथा अब्बल बनाउन होइन, निर्माता फसाउन ज्यादा तनमन खर्चन्छन्, निर्माताचाहिँ कथा सुनेर अनेक लोभमा बुझ्दै नबुझी पैसा खन्याउँछन् । यस्तै पटके निर्माताका फिल्मलाई दर्शकले बेवास्ता गरिरहने गर्छन् । उनी दोह्रोर्‍याउँछन्, ‘अब ब्यानर र ब्रान्ड हेरेरै दर्शक हलमा पुग्छन् ।’
गिरीको भन्दा ठ्याक्कै विपरीत विश्लेषण छन्, नेपाली फिल्मको बजारका बारेमा जानकार मानिएका निर्देशक/वितरक प्रचण्डमान श्रेष्ठको । ‘यो वर्ष जति पनि फिल्म चले, ती फिल्म हेर्नेमध्ये ६०–७० प्रतिशत दर्शकमा नकारात्मक छाप पर्‍यो,’ वितरण कम्पनी स्टेसन फाइभका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ भन्छन्, ‘वर्षको हिट फिल्म भनेर हल्ला गरियो तर ती फिल्मले कतिलाई निराश बनायो, लेखाजोखा छैन । अहिले त्यही निराशाको परिणाम देखापर्दै छ ।’ नाम नलिए पनि उनले संकेत गरेका फिल्महरू ‘जात्रै–जात्रा’, ‘कबड्डी ३’ र ‘छ माया छपक्कै’ हो भनेर बुझ्न
गाह्रो छैन ।
पाँच–सात जना कलाकार, उस्तै कमेडी र संवादले नेपाली फिल्मप्रति वितृष्णा जागेको छ । ‘त्यसो नहुँदो हो त किन नेपालभर तीन–चार लाख ग्रस हुँदैन ? केडीएम चार्ज र हल सञ्चालन खर्चै उठ्दैन,’ श्रेष्ठ भन्छन्, ‘यसलाई चिर्न ‘लुट’ जस्तै चेन्जमेकर फिल्म आउनैपर्छ । छलाङ चाहिएको छ । त्यस्तो फिल्म नआइन्जेल व्यापार अझ डामाडोल हुन्छ ।’
तर दुःखको कुराचाहिं, उनले भनेजस्तो ‘पाराडाइम सिफ्ट’ गर्ने सिनेमा बन्ने सम्भावना तत्काल देखिएको छैन ।

प्रकाशित : मंसिर १४, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्

सधैं गतिशील

ध्रुव तुलाधर

'ओल्ड इज गोल्ड,' दक्षिण एसियाली खेलकुदमा वैकुण्ठ मानन्धरले स्वर्ण पदक जितेपछि भोलिपल्टको भारतीय दैनिकहरूले लेखे । ‘उमेर ३५, दौड्ने २०’ भन्दै समाचारमा उनको खुबै तारिफ भयो । तन्नेरी धावकले जसरी दौडिएको भनेर चर्चा गरिएको थियो । कोलकाता रंगशालामा ३३ वर्षअघि पाएको वैकुण्ठको त्यो सफलताको चर्चा अहिले पनि उत्तिकै छ ।

जब दक्षिण एसियाली खेलकुद (साग) आउँछ, तब उनको त्यो स्वर्णको कथा कोरिन्छ । तत्कालीन दक्षिण एसियाली महासंघीय (साफ) खेलकुद, अहिले परिवर्तित नाम सागको तेस्रो संस्करण भारतको कोलकातामा भएको थियो । सन् १९८७ मा वैकुण्ठले कोलकातामा रचेको म्याराथनको कीर्तिमान तेजस्वी छ । पहिलो र दोस्रो साफमा स्वर्ण जितिसकेकाले स्वर्णको ह्याट्रिक गर्ने पालो थियो । तयारी राम्रो थियो । त्यसले गर्दा टाइमिङ सुधार्नुपर्ने दबाब उत्तिकै थियो उनमा ।


कोलकाता जानुअघि सबैको हौसला र साथ पाएका थिए उनले । तत्कालीन राजा वीरेन्द्रले समेत उनलाई हौसला भरिदिएका थिए । प्रशिक्षणमा विशेष प्राथमिकता गराइदिएको थियो । जर्मन र रसियन प्रशिक्षकको निगरानीमा थिए । वैकुण्ठ सम्झन्छन्, ‘त्यसले मलाई धेरै ऊर्जा दियो । मैले पनि केही गर्नुपर्छ भन्ने अठोट रह्यो । त्यो कोलकाताको ट्र्याकमा देखाएँ । तेस्रो स्वर्ण जितें । कीर्तिमान पनि बनेछ । त्यो मेरा लागि एउटा बयान गर्न नसकिने क्षण थियो । कोलकातामै मेरो चर्चा चुलिएको थियो ।’


उनले २ घण्टा १५ मिनेट ०३ सेकेन्डको म्याराथन टाइमिङ निकालेका थिए । दोस्रो साफ (१९८५) मा कायम गरेको भन्दा ७ मिनेट सुधारेका थिए । जबकि २ घण्टा २२ मिनेट ०७ सेकेन्डमा ढाकामा उनले स्वर्ण जितेका थिए । त्यतिबेला नेपालको स्वर्ण जित्नेमा वैकुण्ठ मात्र रहे । लामो दूरीमा नेपाली धावकलाई पहिलो र दोस्रो संस्करणमा कमैले चुनौती दिन्थे । सन् १९८४ को काठमाडौं साफमा २ घण्टा २७ मिनेट ११ सेकेन्डबाट स्वर्ण जित्दा वैकुण्ठलाई चुनौती दिने आफ्नै देशका अर्जुन पण्डित थिए । अर्जुनले २ घण्टा ४२ मिनेट लगाएर रजत जितेका थिए ।


तेस्रोमा भने उनलाई श्रीलंकन धावक समरासिंघेलाई कडा टक्कर दिएका हुन् । वैकुण्ठले सम्झिए, ‘उनी म सँगसँगै दौडिरहेका थिए । उसलाई त कुनै पनि हालतमा जित्छु भन्ने मेरो ध्यान थियो । अन्तिमतिर गति बढाएँ । उनलाई पछाडि पारें ।’ चौथो संस्करण (इस्लामाबाद, १९८९) मा उनै समराले वैकुण्ठलाई पछाडि पार्दै स्वर्ण जिते पनि टाइमिङ (२ः१९ः४२) मा उछिन्न सकेनन् । त्यसमा वैकुण्ठले कांस्य पदक जिते । उनी चाहन्थे, आफ्नै चेला टीकाबहादुर बोगटीले पदक जितुन् भन्ने तर त्यस्तो भएन । चौथोदेखि आठौंसम्म वैकुण्ठको म्याराथन पथलाई टीका, विसनसिंह राउत, गणेशबहादुर राईले पछ्याएका थिए । कोलम्बो (१९९१) र ढाका (१९९३) मा कांस्यमा चित्त बुझाएका टीकाले मद्रासमा स्वर्ण जिते ।


२० वर्षपछि नेपाली भूमिमा साग आयोजना हुँदै छ । साग पूर्वसन्ध्याले आम खेलकर्मीलाई चटारो छ । त्यही मेसोमा भेटिँदा वैकुण्ठ भने फुर्सदिला देखिए । देशकै लिजेन्ड धावक भए पनि उनी भूमिकाविहीन छन् । ६८ वर्षे वैकुण्ठको दशरथ रंगशालामा धाउनेक्रम रोकिँदैन । बिहान सबैरे आइपुग्छन् । पुनर्निर्माणको अन्तिम चरणमा रहेको रंगशाला फन्का हाल्छन् । साथीभाइ भेट्छन्, चेलाहरूसँग गफिन्छन् अनि कलंकी सुनार गाउँस्थित घर फर्कन्छन् । डेढ दशकअघि मुटुको भल्भ फेरेका उनको कर्म मैदानमा आउन खुट्टा रोकिँदैन ।


झन्डै चारपल्ट वैकुण्ठ रंगशाला पुनर्निर्माण भएको आफैंले देखेका छन् । आठौं साफमा पनि पुनर्निर्माण भएको थियो । त्यसअघि २०३७ साल र २०२८ सालमा पनि पुनर्निर्माण गरिएको थियो । २०२८ सालमा त उनीहरू दौडिएर रंगशाला र कभर्डहलको उद्घाटन गरेका थिए । त्यसैले रंगशालाप्रति उनको मोह अत्यधिक छ ।


१३ औं सागमा तपाईको कुनै भूमिका छैन ? एक छिन उनी अनुत्तरित भए । भने, ‘मलाई कहाँ भूमिका दिन्छन् । मेरो डाह गर्ने धेरै छन् । म छुच्चो छु । मनमा लागेको बोल्छु । त्यो खेलकुदका शासकलाई मन पर्दैन, पच्दैन । म आशा पनि गर्दिनँ । नयाँ पिँढीले पाउनुपर्छ । उचित मान्छेलाई उचित ठाउँ दिइनुपर्छ तब मात्र खेलकुद विकास हुन्छ ।’


साग उद्घाटनको दिन ओलम्पिक टर्च बाल्न पाउनेमा भने विश्वस्त छन् । ‘ओलम्पियन अनि यही सहरको वासिन्दा भएको नाताले ओलम्पिक टर्च बाल्न पाउनु मेरो अधिकारमा पर्छ,’ चारपल्ट ओलम्पिक खेलेका वैकुण्ठले सुनाए ।


दक्षिण एसियाली खेलकुद नजिकिएसँगै सधैं उनको मनमा भुटभुटी चल्छ । आफ्नो नामको कीर्तिमान अरू कुनै देशका खेलाडीको नाममा नजाओस् । कीर्तिमान नेपालकै धावकको नाममा लेखिएको देख्न चाहन्छन् उनी । सम्भव छ त ? यस किसिमको छोटो तयारीले कीर्तिमान तोड्न गाह्रो हुने उनी ठोकुवा गर्छन् । ‘३–४ महिनाको तयारीले कहाँ पुग्छ ? लामो क्याम्पमा राख्नुपर्छ । त्यो पनि खेलाडीको ट्रेनिङ एज हुन्छ । त्यतिबेला राम्रो प्रशिक्षण पाउनुपर्छ । तब नतिजा त्यहीअनुसार दिन सक्छ । नत्र सम्भव हुँदैन,’ लामो दूरीका धावक तयार पार्न सानै उमेरदेखि हरेक पक्षमा ध्यान दिनसके नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमै राम्रो सफलता पाउने उनको बुझाइ छ ।


देशको भौगोलिक बनावटका कारण नेपाली दौडमा सफल हुने वैकुण्ठको अनुभव छ । ‘दौडका लागि हाम्रो ‘जिन’ नै राम्रो छ । अफ्रिकी देशले जस्तै योजना बनाएर अगाडि बढ्नुपर्छ । तब मात्र हामी धावकहरूले भरिएको देश हुन सक्छौं,’ उनी भन्छन्, ‘नीलेन्द्रराज श्रेष्ठले ल्याएको सहर म्याराथनको अवधारणामा जान सके त्यसले खेलाडी र देशको आर्थिक र सांस्कृतिक पक्षको पनि विकास हुन्छ ।’


सागमा लगातार तीन स्वर्ण जित्नुको रहस्य के थियो त? खेलाडीमा हुनुपर्ने गुण थियो, ‘अनुशासन, मिहिनेत र देशप्रति समर्पण ।’ यिनै कुराले उनको खेलाडी जीवनलाई बाँधिरह्यो । आफ्नो खेलप्रति कुनै पनि समय विचलित भएनन् । अनि अर्को उनलाई तत्कालीन शासकहरूको बलियो साथ रह्यो । राजा वीरेन्द्रले समेत उनको ट्रेनिङबारे चासो राख्थे अनि हौसला भर्थे रे । त्यसले उनलाई राम्रो गर्न प्रेरित गरिरह्यो । भन्छन्, ‘जहिल्यै मैले केही गरेर देखाउनुपर्छ भन्ने लागिरहन्थ्यो ।’


दोस्रो साफमा स्वर्ण जितेपछि प्रबल गोर्खा दक्षिणबाहु पाए भने तेस्रो जितेपछि विख्यात त्रिशक्तिपट्ट थापे । उनले राजदरबारमा पदक थाप्न जाँदाको एउटा घटना सुनाए, ‘राजा (वीरेन्द्र) ले विशिष्ट श्रेणीमा पर्ने पदक दिन चाहेका रहेछन् । परिषद्बाट सिफारिस अर्कैमा गएछ । अनि मलाई राजाले छुट्टै बोलाएर भने— तिमी देशकै ठूलो सम्पत्ति हौं । देशको नाम फैलायौं ।

भन तिमीलाई के आवश्यक छ, के गर्नुपर्छ ? खेलाडीका लागि धेरै सुविधा छैन ।’ मैले भनें, ‘सरकार, ठीक छ । मलाई मात्र गरेर हुँदैन । अरू धेरै खेलाडी छन् । मेरोभन्दा कमजोर स्थिति भएकालाई हेर्नुपर्छ ।’ राजाले ‘हुन्छ’ भने । मलाई १० हजार रुपैयाँ दिए । त्यतिबेला पदक मात्र दिने चलन थियो । मलाई पैसा लिनु कि नलिनुजस्तो भयो । तर लिएँ । योगदानको कदर गरिएको हो भन्ने लाग्यो । त्यो जमानामा १० हजार ठूलो रकम थियो ।’
twitter:@tuladhardhurba

प्रकाशित : मंसिर १४, २०७६ १०:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×