यौवन, यौन र युवा !

शिव प्रकाश

यौवन– वशमा छैन वासना फूलको के दोष ?परस्परका प्रतीक हुन् यौवन र फूल  । एउटा समय हुन्छ मानिस मादक बन्छ  ।

यौवन, यौन र युवा !

चित्त परागचेतनामा डुब्छ । फूलको जस्तै वशमा हुँदैन यौवनको वासना ! मान्छेले उसलाई युवा देख्छ ।
जब यौवन र यौन वयल खेल्न थाल्छन् शरीरमा कामका काँढा उम्रिन्छन् । मस्तिष्कमा वासनाको वायु मडारिन थाल्छ । कामुकता बढ्छ– तिमी ठान्छौ म युवा हुँ !
तर कामुकता यौवन र यौनसँग सम्बन्धित छ, युवासँग हैन । एउटा शरीर यौन र यौवनको घर मात्र भयो भने त्यो शरीरलाई युवा भनिदैन । शारीरिक आकार, आकृति, रचना र संरचनमा फरक हुनु यौवन हुन हो, युवा हुनु हैन ।
यद्यपि उपनिषद् (कठोपनिषद्) ले शरीरलाई धेरै माथि राखेको छ । भन्छ— शरीर माध्यम खलु
धर्मसाधनम् ! शरीरलाई धर्मको माध्यम र साधन मानिएको छ । धर्मलाई कर्म र कर्तव्यका रूपमा हेरिएको छ । स्वस्थ शरीर पहिलो सुख मानेको छ ।
यौवन अर्थात् जवानी ! त्यही उपनिषद्अनुसार यौवनको अर्थ यतिमा मात्र सीमित छैन । स्वस्थ जीवन र चेतनाको नाउँ हो यौवन । यौवन काया – यौवन विचार !
एउटा समय हुन्छ, जुन समयमा निडरताले जन्म लिन्छ तर अनुशासनको मृत्यु हुन्छु । उग्रचेतनाको समय ! मानिस ठान्छ— सबै जान्दछु, सबै बुझ्छु । जे गर्न पनि सक्छु । जे गरे पनि हुन्छ । सबैभन्दा बलियो देखिन चाहन्छ, हिन्दी सिनेमाको हिरोजस्तो । ऊ ठान्छु म युवा हुँ– तर हैन, हुँदै हैन ।
जवानीको विकार मात्र हो, उग्रउत्तेजना ! उग्रउत्तेजना हैन उत्प्रेरणा हो, युवा । युवा हुन जवानी शरीरमा मात्र हैन, सोचमा हुनुपर्छ । छातीमा हैन, मस्तिष्कमा हुनुपर्छ । अनुहारमा हैन, चेतनामा हुनुपर्छ । शरीर र चित्तमात्र रत भएर हुँदैन मस्तिष्क र चेत पनि रत हुनुपर्छ ।
पराग र पालुवाजस्तै हुन् चित्त र चेतना ! पराग हराउँदै जान्छ, पालुवा बढ्दै जान्छ । युवा– पराग हैन, पालुवा हो । चित्तको आयतन सानो हुन्छ । चेतना र आकाश उस्तै हुन् । युवा चित्त हैन, चेतना हो ।
यौवन बिनानिम्तारु पाहुना हो तिम्रो शरीरको । आफैं आउँछ–आफैं जान्छ । तर युवा जन्माउनुपर्छ । काया हैन, कर्म हो युवा ।

यौन–भोक, भोग र सम्भोग ?
यद्यपि, यौनका बारेमा कुरा गर्ने हामीसँग स्पष्ट भाषा छैन । निश्चित माध्यम छैन ।मानिस सबैभन्दा बढी उत्सुक यौनमा छ । त्यही मानिस सबैभन्दा बढी यौनमै विमुख हुन बाध्य छ । यौनलाई कसरी हेर्ने, कसरी बुझ्ने ? फ्रेन्च शब्द सेक्जे र ल्याटिन सेक्सस मिलेर बनेको शब्द सेक्स अर्थात् यौन । जसको अर्थ भोक, भोग र सम्भोग अर्थात् रतिसँग मात्र छैन । यौनले गुप्ताङ्ग र लैंगिकता, सम्भोग र प्रजनन, यौनाकर्षण र चेतना, यौन संशय र संहिता तथा यौन निग्रह र उन्माद आदिलाई पनि जनाउँछ ।
काम र जीवनदर्शनको ठूलो पाटो पनि यौनसँग जोडिएको छ । स्त्री र पुरुषबीचको स्पष्ट भेद पनि यौन हो भने सम्बन्धको बलियो सेतु पनि यौन हो । मानव जीवनका आधारभूत चार पुरुषार्थमध्ये काम यौनमा आउँछ । सबैभन्दा प्राचीन ऋग्वेदले धर्म, अर्थ र कामपछि मोक्ष प्राप्तिको बाटो तय गरेका कुरा पाइन्छ । संस्कृतमा दुई शब्दको एउटा वाक्य छ— धमार्थकामेभ्यो नमः ! कामसूत्रको रचनासूत्र हो, यो वाक्य । धर्म र अर्थसँगै कामलाई वन्दना गर्दै यही वाक्यबाट कामसूत्रको श्रीगणेश गरे वात्स्यायनले । कामसँगै मानिस अनेक भाव र भावनासँग जुध्छ ! मानिसको जटिलता देखेर नै सायद महर्षी वात्स्यायनले कामसूत्र लेखे । यौनलाई कामदर्शनका रूपमा व्याख्या गरे । आचार्य ओशोले यौनलाई ऊर्जा माने । वेदले मोक्ष र ब्रह्मप्राप्तिको माध्यम मान्यो ।
यौनलाई बुझ्न यौनारम्भमा जानुपर्छ । जसलाई वयःसन्धि पनि भनिन्छ, अंग्रेजीमा प्युवर्टी । प्युवर्टी नै मानव जीवनको एउटा ढोका हो । यसैले यौवनको ढोका खोलेर यौनारम्भमा प्रवेश गराउँछ ।
किशोरावस्थाको प्रवेशद्वार हो, प्युवर्टी । जीवनको वसन्तकाल ! सौन्दर्यमुखी हुन्छ मानिस । मदकाल अर्थात् कामऋतुमा प्रवेश गर्छ । प्रकृतिजस्तै प्राणी–जीवन पनि ऋतुचक्रमा घुम्न थाल्छ । यौनेच्छ सुरु हुन्छ । हामी ठान्छौं युवाकाल हो तर युवा हैन, यौवनकाल हो, यो ।
यौनेच्छा अर्थात् यौनको आवश्यकतालाई मात्र बुझेर युवा वा वयस्क हुँदैन । यौनको मर्यादालाई पनि बुझ्नुपर्छ । प्रीति र रति यौनेच्छासँग गाँसिएका छन् । तर प्रीतिको आफ्नै रीति छ । रतिको आफ्नै गति छ ।
एउटा क्रियाबाट उत्पन्न हुने प्रक्रिया हो– यौनेच्छ । प्युवर्टीको वाइप्रडक्ट (सह–उत्पत्ति) हो, यो । जब यो प्रक्रियामा मानिस प्रवेश गर्छ उसले आफूलाई युवा ठान्न थाल्छ तर हैन ।
यौनलाई यौवनसँग, यौवनलाई यौनसँग र यौवन तथा यौन दुवैलाई युवासँग गाँसेर हेरिन्छ । तर मानिस जन्मदेखि मृत्युपरन्त यौनसँग गाँसिएको छ । मानिस सधैं यौनिक प्राणी हो । यौवन जीवनको एउटा ‘ककटेल’ समय–अवधि मात्र हो । युवासँग यौन र यौवनको सम्बन्ध छैन ।
यौनलाई परिभाषित गर्न कुन कोणबाट हेर्ने ? त्यसैमा भर पर्छ यौनको परिभाषा । यौनिक सक्रियता सुरु हुनु भनेको युवा हुनु हैन, एक अर्थमा यौवन हुनु मात्र हो । यौन जैविक हो । यौवन शारीरिक हो । युवा मानिसिक अर्थात् ‘स्टेट अफ माइन्ड’ हो । यौवनको सम्बन्ध शरीरसँग हुन्छ । युवाको सम्बन्ध चेतनासँग । यौवन यौनको भोको हुन्छ । युवा विचारको भोको हुन्छ ।

युवा– कन्टेन्ट कि कन्टेनर ?
जीवनको गुमेको अवधि हैन वर्तमान र बाँकी अवधि हो, युवा । एडल्फ हिटलरको एउटा भनाइ छ– ‘जो आफूलाई युवा ठान्छ उसले भविष्य पाउँछ ।’ भनिन्छ, उनले आफ्नो हातको भाग्यरेखा आफ्नै चक्कुले कोरेका थिए । एक समय विश्वकै सर्वशक्तिमान बनेका हिटलरका हरेक पाइला उद्देश्यउन्मुख बने । जसले आफूलाई सधैं युवा ठाने । उद्देश्य र आकांक्षाले उनलाई सधैं ऊर्जावान् बनायो ।
जीवन सधैं सम्भावना हो । जीवनबिना मृत्यु पनि असम्भव छ । जहाँ प्रयास छ त्यहाँ प्राप्ति छ । युवा त्यो हो जसले आफ्नो भविष्यको गर्भ आफैं धारण गर्छ ।
तिमी लाठे भयौ, आफूलाई युवा ठान्छौ । तिम्रा बाबुआमाले तिमीलाई जन्माए तर युवा तिमीले जन्माउनुपर्छ । आफैंले आफैंभित्र जन्माउने आफ्नै सन्तान हो, युवा । आफैंले आफैंभित्र आफैंसँगै हुर्काउनुपर्छ, त्यो युवा । आफैंभित्र बचाउनुपर्छ, त्यो युवा । त्यो युवाको नाउँ हो– चेतना !
सिद्धार्थ गौतमको जन्म मायादेवीको कोखबाट भयो तर गौतम बुद्धको जन्म उनको आफ्नै कोखबाट भयो । चेतनाको कोखबाट जन्मिएको सिद्धार्थ गौतमको आफ्नै सन्तान हो, बुद्ध !
बुद्धको शाब्दिक अर्थ हो, बोधी ! बोधीको अर्थ हो, बुद्धि ! बुद्धिको अर्थ हो, बोध ! बोधको जन्म प्रश्नबाट हुन्छ । प्रश्नको जन्म जिज्ञासा र उत्सुकताबाट हुन्छ । प्रश्न नै चेतना र जागरणका जननी र जनक हुन् । समग्रमा बुद्धको लाक्षणिक अर्थ हो– प्रश्न, जागरण र चेतना !
बुद्धले ती हरेक बेकामे र बासी जवाफमाथि सधैं प्रश्न गरे । प्रमाण खोजे । जुन हजारौं वर्षदेखि भनिदै आएको थियो, भन्न बाध्य गारइँदै आएको थियो । जुन हजारौं वर्षदेखि मानिदै आएको थियो, मान्न बाध्य गराइँदै आएको थियो । प्रश्न नगरेको भए बुद्ध हुने थिएनन् सिद्धार्थ गौतम ! सायद एउटा बुद्धू राजा हुन्थे, बस्थे ।
प्रश्न गर्ने क्षमता नै ‘युवत्व’ को तराजु हो । कुनै पनि कुरा मान्नुअघि जान्नु जरुरी हुन्छ । पहिले जान, बुझ । कुनै पनि विचार र दर्शनलाई शब्दमा हैन सारमा त्यसको सत्त्व बुझ । तात्पर्य र तत्त्व बुझ । शब्दको अर्थ हैन, अन्तर्भाव र अभिप्राय बुझ । बुद्ध पनि यसै भन्थे– ‘जड हैन चेतनामा जाऊ ।’
युवा त्यो हो जसले प्रश्न गर्छ । प्रश्न गर तिनलाई, जसले तिम्रो वर्तमान लुटिरहेका छन् । जसले तिम्रा मातापितालाई लुटे, तिनैले तिम्रा सन्ततिलाई पनि लुट्नेछन् ।
तिम्रो भविष्य लुट्ने ती दुष्कर्मी र दुराचारी नै समाज र देशको मालिक र शासक बनेका छन् । सबैभन्दा धेरै पाप–अपराध, छल–कपट, लुट–पाट, हत्या–हिंसा, कुकर्म र बलात्कार तिनैले गरेका छन् । जो स्वघोषित गुरु, पण्डित, महात्मा, पन्त–पुजारी र कथित नेता बनेका छन् !
एउटा कुखुरा चोर्ने भोको नागरिक जेल जान्छ । अर्बौं चोर्ने सत्ताको मालिक हुन्छ । तिमी तिनै मालिकको दासत्वमा खुसी छौ । खराउ पुजारी बनेका छौ । ती भ्रष्टको साधन बनेर आफूलाई नष्ट गरिरेहेका छौं । तिनको फोहर बोक्ने कन्टेनर बनेका छौ तर आफूलाई युवा ठान्छौ ?
तिमी २५ वर्षका छौ । त्यसैले आफूलाई युवा ठान्छौ तर उमेर हैन, विचार हो युवा । युवा त्यो हो, जो कहिल्यै कन्टेनर बन्दैन । युवा त्यो हो, सधैं कन्टेन्ट बन्छ ।
तिमी व्यक्ति हैन वस्तु भैसकेका छौ । वस्तु हैन, व्यक्ति हो युवा । व्यक्ति मात्र हैन व्यक्तित्व हो ।
तिमी जवान छौ तर निस्चेतनको कालो मुस्लो भरिएको भारी टाउको लिएर हिंड्छौ । तिमी युवा हैन धरतीको विकृत जैविक ‘प्रडक्ट’ को ‘बाई–प्रडक्ट’ मात्र हौ । ‘बाई–प्रडक्ट’ हैन, ‘सेल्फ–प्रडक्ट’ हो युवा !
जवानी हैन, जीवनको ऊर्जा हो युवा । उदासता हैन, उद्देश्य हो युवा । अरूको आश्रय र आधारमा बाँच्ने उपजीवी हैन, त्यसको विपर्याय स्वजीवी–स्वनाम हो, युवा ।
भनिन्छ युवा भविष्यका कर्णधार हुन् तर जहाँ मानिस कहिल्यै युवा हुँदैन, त्यहाँ भविष्यको कर्णधार कसरी जन्मन्छ ? नेपालमा युवा छैनन् । युवा नभएको देशको कुनै भविष्य हुँदैन । युवा भएको भए आज देशको यो दुर्दशा हुने थिएन । मुढतासामु बुद्धि र विवेकले घुँडा टेक्ने थिएन ।
युवा भनेको विवेक हो, बुद्धि हो । तर त्यो विवेक र बुद्धि मुढतासामु लड्छ भने त्यो युवा हैन मानवरूपी काँचो मुढो मात्र हो । त्यो विवेक र बुद्धि मुढताविरुद्ध लड्छ भने त्यो युवा हो । युवा नै त्यस्तो शक्तिशाली मानवीय उपकरण हो, जसले पुराना विचार र विकामे अभ्यासलाई विस्थापित गर्छ ।
तिमी जुँगामुठे पठ्ठो हौ वा पुष्ट शरीरधारी पठ्ठी ! तिमी दास बन तर अरूको हैन आफ्नै । तिमी मालिक बन तर अरूको हैन आफ्नै । युवा त्यो हो, जो आफ्नै दास र आफ्नै मालिक पनि हो ।
यो पनि भनिन्छ, प्रत्येक बालबालिका जन्मदा प्रतिभाशून्य हुन्छन् तर मलाई अल्बर्ट आइन्सटाइनको उल्टो कथन सुल्टो लाग्छ । उनी भन्छन्– ‘प्रत्येक बालबालिका जन्मदा प्रतिभावान् हुन्छन् ।’
समाज एउटा दुष्चक्रमा चलेको छ– यो गर्नु हुन्छ, यो हुँदैन । यो पर्छ, यो पर्दैन । यो ठीक छ, यो छैन । तिमी आफू निर्णय गर्न सक्दैनौ, अरूको निर्णय मान्छौ । आफू सोच्दैनौ, अरूको सोचलाई आफ्नो बनाउँछौ । तिमी आफू बन्न सक्दैनौ अरूजस्तो बन्छौ ।
तिमी तिनै कथित नेता–गुरु, पण्डित–पुजारी, सन्त–महन्तबाट निर्देशित र नियन्त्रित छौ । यीसँगै तिम्रा आफ्नै दिग्भ्रमित मातापिता– जसले सधैं सम्भवलाई पनि असम्भव बनाइरहे । निश्चिततालाई छोडेर अनिश्चिततातिर दौडिरहे । तिनकै भ्रमको पिँजडामा बन्दी छौ । सुगा बनेका छौ, तिनैको भाषा बोल्छौ । तिनैले भन्छन्– किनभने यो वर्षौंदेखि गरिआएका छन्, गर्नुपर्छ । वर्षौंदेखि भनिआएका छन्, भन्नुपर्छ । वर्षौंदेखि मानिआएको छ, मान्नुपर्छ ।
तर किन गर्ने, किन भन्ने, किन मान्ने ? तिमी प्रश्न गर्न सक्दैनौ । प्रश्न गर्नु अपराध हो भनेर तिमीलाई तर्साइएको छ । तिमी तर्सिएका छौ । मान्छेलाई विश्वासले हैन, त्रासले जितेको छ । तिमी विश्वाससँग हैन, त्राससँग पराजित छौ । तैपनि तिमी आफूलाई युवा ठान्छौ तर युवा त्रास हैन, विश्वास हो ।
ती अपराधी हुन् जसले मानिसलाई बुद्ध बनाएर उठाउने हैन बुद्धू बनाएर लडाउने गरेका छन् । आफूजस्तै भ्रष्ट बनाएर मानवतालाई नष्ट गरिरहेका छन् । जन्मदा एउटा बालकले जुन प्रतिभा लिएर आएको हुन्छ, त्यो सारा प्रतिभा तिम्रो समाज र तिम्रा आफ्नै मातापिताले नष्ट गरिदिएका छन् । यो अपराधका लागि ती दुराचारी पण्डित, महात्मा र नेताहरू दण्डनीय छन् । तिमी तिनलाई दण्ड दिन सक्दैन, बरु दण्डित भएर बस्छौ । अझैं आफूलाई युवा ठान्छौ ? तर दुराचारविरुद्ध बज्ने दुन्दुभि हो, युवा ।
बनाउँछौ भने मानिसलाई सोच्न सक्ने बनाऊ, सोच्न देऊ । प्रश्न गर्न सक्ने बनाऊ, प्रश्न गर्न देऊ । निर्णय गर्न सक्ने बनाऊ, निर्णय गर्न देऊ । त्यही हो सबैभन्दा ठूलो कर्म र धर्म । तिमी नष्ट भैसकेका छौ । तिमीसँग न कर्म छ, न धर्म छ । तैपनि तिमी आफूलाई युवा ठान्छौ तर अनुहारमा बोकाका रौंजस्ता काला दाह्राी–जुँगा र शरीरमा यौनको राप पालेर तिमी युवा हुँदैनौ ।
युवा त्यो हो, जो सोच्न सक्छ । युवा त्यो हो, जो निर्णय गर्न सक्छ । युवा त्यो हो, जो प्रश्न गर्न सक्छ । युवा त्यो हो, जो स्वविवेकले हेर्छ । युवा त्यो हो, जो आफू भएर बाँच्छ । युवा त्यो हो, जो आत्माको आवाज सुन्छ । युवा त्यो हो, जसले आफ्नो बाटो आफैं बनाउँछ । युवा त्यो हो, जो आफ्नो बाटोमा हिँड्छ । युवा त्यो हो, जो स्वयं आत्मसम्मानको आकाश हुन्छ । युवा त्यो हो, जो स्वयं स्वाभिमानको सगरमाथा हुन्छ । युवा त्यो हो, जो स्वयं विचारको महानदी बन्छ, निरन्तर बहन्छ ।
युवा तिम्रो कालो दाह्री हैन, दृष्टिकोण हो । युवा तिम्रो पोटिलो शरीर हैन, सामर्थ्य हो । युवा तिम्रो बलियो काया हैन, कर्म हो । उत्सुकता, उत्कण्ठा, इच्छा, आकाङ्क्षा, उद्देश्य, उत्साह, उत्प्रेरणा, ऊर्जा र उच्चताको भाव हो युवा ।
चुनौती खोज्नु, स्विकार्नु र चुनौतीसँग लड्नु हो, युवा । सिर्जनात्मक चेतना हो, युवा । जुन चेतनामा उद्विग्नता, आक्रोश र छटपटी हुन्छ ।
चेतना नै मस्तिष्कको प्राण हो । त्यही चेतन मस्तिष्कको अलौकिक उत्पादन हो, युवा !
तर तिमीभित्रको युवालाई मार्ने तिम्रो दुस्मन तिमीले नै पालेका छौ । उमेर हैन, अन्धविश्वास, दुविधा, डर र नैराश्यता हुन् तिमीले पालेका ती दुस्मन ।

प्रकाशित : असार २८, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?