सधैंसधैं कुरिरहें

कविता

भाद्र २, २०७५

किरणकृष्ण श्रेष्ठ

काठमाडौँ — तिमी जन्मँदा तिम्री आमाप्रसव पीडाले छट्पटिँदाबाहिर चुरोटको साँग्लो बनाउँदै कुरें

तिमी जन्मँदा
तिम्री आमा
प्रसव पीडाले छट्पटिँदा
बाहिर चुरोटको साँग्लो बनाउँदै कुरें
तिम्रो च्याँ सुन्न...

बिरामी पर्‍यौ
हनहनती
पानी पट्टी फेर्दै
अनिदो रात
कति कुरें–कुरें

स्कुल गयौ
बसस्टपमा कुरें
घर आयौ
होमवर्क गरून्जेल
खाना कुरें

कलेज गयौ
उमेरको मादसँगै
रातिराति
मातेरै सही
तिमी घर नफिरून्जेल
सुत्नलाई कुरें

पढ्न
घर टाढा गयौ
तिम्रो खबर ल्याउने
हुलाकी कुरें
तिमी छुट्टी आउने
दिन र पल कुरें

एक दिन बिदेसियौ
तिम्रो फोन कुरें
स्काइप कुरें
भाइबर कुरें

आफू थंिलदा अस्पताल लगिदिने
कोही आफन्तजन कुरें
अस्पतालमा डाक्टर कुरें
थोरै मीठोमसिनो वचन कुरें

ओहो !
जीवनभर कुरिरहें
मैले सासलाई कुरें कि
सासले मलाई ?

आज मेरो सासले
कुरेन मलाई
म भएँ एक्लो
सासविहीन
सजीवबाट
म निर्जीव भएँ

यतिखेर
अस्पताल शइयाबाट
म मोरच्यरी घर्रामा पुगेको छु
सास गएसँगै चिसिएको
मेरो शरीर थप चिस्सिएको छ
शवगृहको
ओसिलो शइयामा

बाहिर तिम्री आमा
कुरिरहेकी छिन् एकैसाथ—
मेरो शवलाई
र,
तिम्रो आगमनलाई ।

किरणकृष्ण

Link copied successfully