जयस्थिति मल्लको वंश

इतिहास
जयस्थिति मल्ललाई दक्षिण मधेसबाट उपत्यका ल्याइ राजलदेवीसित विवाह गराइएको थियो । यसैको आधारमा उनी तत्कालीन नेपालको शासन व्यवस्थामा क्रमश: स्थापित हुन पुगेका थिए ।
वासुदेवलाल दास

काठमाडौँ — नेपालको मध्यकालीन इतिहासमा राजा जयस्थिति मल्ल (सन् १३५४–१३९४ ई) को ठूलो महत्त्व छ । तत्कालीन समयमा अव्यवस्थित देशको राजनीतिक, सामाजिक, आर्थिक इत्यादि क्षेत्रहरूमा समसामयिक अनेक सुधारहरू गरी एक प्रकारको व्यवस्थित शासन प्रणाली तथा सामाजिक रीति–व्यवहारको स्थापना यिनले गरेका थिए । परन्तु, यस्ता प्रख्यात राजाको वंश र परिवारबारे अहिलेसम्म निश्चित रूपमा भन्न सकिने अवस्था छैन ।

यी राजाको नामका अनेक पाठहरू, जस्तै स्थिति मल्ल, स्थिति मल्लदेव, स्थितिराज मल्ल, जयस्थिति मल्ल, जयस्थितिराज मल्लदेव, जयस्थितिराज मल्लदेव ठाकुर इत्यादि देखिन्छन् । नेपालको इतिहासको अध्ययनका लागि अति नै महत्त्वपूर्ण स्रोतको रूपमा रहेको ग्रन्थ ‘गोपालराजवंशावली’ यिनकै पालामा तयार पारिएको भनिन्छ । ‘गोपालराजवंशावली’ ग्रन्थको पत्र २८–२९ मा ‘तदन्तरे श्रीदेवलदेवीना स्मानीयात....श्रीजयस्थितिराजमल्लदेव विजयी भवे, तस्य विवाहं कृतम् श्रीराजलदेवीनां स्वामी भवान्’ अर्थात् ‘यसपछि श्रीदेवलदेवीद्वारा ल्याइएका... श्रीजयस्थिति मल्लदेव विजयी हुनुभयो । उहाँको श्रीराजलदेवीसँग विवाह भयो’ भनेर उल्लेख गरिएको छ । यसैगरी, त्यसै ग्रन्थको पत्र ५३ मा ‘स ४७४ अश्विनी शुद्धि ९ श्रीजयस्थितिराजमलदेवस कोवनम्बिज्याङा ख्वपोन्दुबिया त्यंखो चोन ङाला लिव विवाह जुव’ अर्थात् ‘नेसं ४७४ (विसं १४११, सन् १३५४ ई) आश्विन शुक्ल नवमीका दिन श्रीजयस्थितिराज मल्लदेव कोवनं (दक्षिण मधेस) बाट आउनुभई भक्तपुर पसी त्यंखोमा बस्नुभयो । पाँच महिनापछि विवाह भयो’ भनी लेखिएको छ ।
यस सन्दर्भमा जयस्थिति मल्ललाई भक्तपुरमा ल्याउनमा प्रमुख भूमिका निर्वाह गरेकी देवलदेवीबारे चर्चा गर्नु मनासिब हुन्छ । देवलदेवी (देवलक्ष्मीदेवी) भक्तपुरका राजा जयतुंग मल्लकी कन्या थिइन् र उनको विवाह मिथिलाका कर्णाटवंशीय अन्तिम शासक हरिसिंहदेवसित भएको थियो । दिल्लीका बादशाह गियासुद्दिन तुगलकले मिथिलाको राजधानी सिमरौनगढमाथि आक्रमण गर्दा राजा हरिसिंहदेव आफ्ना परिवारजनका साथ सन् १३२६ ई, जनवरीमा उपत्यकातिर पलायन भएका थिए । हरिसिंहदेवको बाटोमै निधन भएको थियो तथा देवलदेवीलाई उनका छोरा राजकुमार जगतसिंहदेव तथा अन्य परिजनका साथ भक्तपुरको युथुनिमम् दरबारमा आदरसाथ स्वागत गरिएको थियो । त्यसपछिको समयमा भक्तपुरको राजनीतिक मञ्चमा देवलदेवीको प्रभावशाली भूमिका रहेको पाइन्छ । यिनको नामका साथ ‘विजयराज्ये, राजाधिराज परमेश्वर परमभट्टारक’ जस्ता विरुदहरूको उल्लेख गरिएको छ । देवलदेवीको मृत्यु सन् १३६६ ईमा भएको थियो । यसप्रकार लगभग ४० वर्षसम्म भक्तपुरको शासन व्यवस्थामा देवलदेवीको प्रभुत्वपूर्ण भूमिका रहेको थाहा हुन्छ ।
जयस्थिति मल्ल नेपालको शासन व्यवस्थामा राजलदेवीका पति भएकाले स्थापित हुनपुगेका हुन् । अब राजलदेवीको विषयमा केही चर्चा आवश्यक छ । भक्तपुरका शासक जयरुद्र मल्लको देहान्त हुँदा उनकी एक मात्र सन्तान छोरी नायकदेवी राज्यको उत्तराधिकारी थिइन् । नायकदेवीको पालन–पोषणमा दरबारमा प्रभावशाली रहेकी देवलदेवीको सहयोग थियो । ‘गोपालराजवंशावली’ ग्रन्थको पत्र २७ मा ‘अत्रान्तरे काशेस्वरवस्संज श्रीहरिचन्ददेवस मानवेन: विवाहंकरोति श्रीनायकदेवी’ अर्थात् ‘यसपछि काशीका राजाको वंशमा जन्मेका, मानवगोत्रका श्रीहरिचन्ददेवसँग श्रीनायकदेवीको विवाह भयो’ भनेर उल्लेख गरिएको छ । नायकदेवीसित विवाहित भएको आधारमा हरिचन्ददेवको भूमिका शासन व्यवस्थामा बढ्न थाल्दा दरबारको तत्कालीन षड्यन्त्रपूर्ण राजनीतिक वातावरणले गर्दा सम्वत् ४५३ (विसं १३९२, सन् १३३५ ई) वैशाख कृष्णपक्ष तृतीया तिथिका दिन विष–प्रयोगद्वारा उनको हत्या भएको थियो । त्यस बखतमा देवलदेवी र उनका पुत्र जगतसिंहदेव दरबारमा नै बसेका थिए । भनिन्छ कि नायकदेवी र जगतसिंहदेवबीच प्रेम बढ्दै गयो र अन्तत: जगतसिंहदेवद्वारा नायकदेवीलाई पत्नीको रूपमा स्वीकार गरिएको थियो । यस कुरालाई ‘गोपालराजवंशावली’ ग्रन्थको पत्र २८ मा ‘कर्णाटकवंशज श्रीजगत्सिंहदेव समाहित संगृह्य कृतं नायकदेवी’ अर्थात् ‘कर्णाट वंशज श्रीजगत््सिंहदेवले बिस्तारै नायकदेवीलाई संगृहिणी भार्या बनाए’ भनेर उल्लेख गरिएको छ । यसरी, तत्कालीन दरबारको राजनीतिक परिवेशमा देवलदेवी र उनका छोरा जगतसिंहदेवको प्रभाव सुदृढ भएको थियो । यसै सिलसिलामा नेसं ४६७ (विसं १४०३ साल, सन् १३४६ ई) पौष कृष्ण दशमी तिथि अनुराधा नक्षत्रमा श्रीजगतसिंहदेव र श्रीनायकदेवीकी कन्या राजलदेवीको जन्म भयो । कन्या जन्मेको १० दिनपछि नायकदेवीको देहान्त भइहाल्यो । यसपछि राज्यकी उत्तराधिकारी राजलदेवीको पालन–पोषण पितामही देवलदेवीद्वारा नै भएको थियो । यिनै राजलदेवीको विवाह जयस्थिति मल्लसित भएको हो ।
जयस्थिति मल्ललाई दक्षिण मधेसबाट विक्रम संवत् १४११ (सन् १३५४ ई) आश्विन शुक्ल नवमीका दिन ल्याइएको थियो । उनलाई भक्तपुरमा राखी ५ महिनापछि अर्थात् सन् १३५५ ईमा राजलदेवीसित विवाह गराइएको थियो । यसैको आधारमा जयस्थिति मल्ल तत्कालीन नेपालको शासन व्यवस्थामा क्रमश: स्थापित हुन पुगेका थिए । आफ्नी पौत्री (नातिनी) का लागि योग्य वरको खोजीमा देवलदेवीको सर्वोपरि भूमिका रहेको ‘गोपालराजवंशावली’ ग्रन्थमा ‘श्रीदेवलदेवीना स्मानीयात’ अर्थात् ‘श्रीदेवलदेवीद्वारा ल्याइएका’ भनेर स्पष्ट उल्लेख गरिएको छ । यसका साथै जयस्थिति मल्ल ‘दक्षिण मधेसबाट’ ल्याइएका भनेर पनि स्पष्ट उल्लेख छ । यस प्रसंगमा विचारणीय कुरो के छ भने देवलदेवी स्वयम् मिथिलाकी महारानी थिइन् । भक्तपुर उनको पितृगृह थियो । भक्तपुरमा उनी आफ्नो राजनीतिक र प्रशासनिक प्रभुत्व स्थापित गर्न सफल भइसकेकी थिइन् । राजलदेवी उनकी पौत्री थिइन् । यस्तो अवस्थामा एउटी राजकुमारीको विवाहका लागि कुनै राजपरिवारका वर नै उपयुक्त हुने कुरा देवलदेवीजस्ती प्रखर, प्रबुद्ध र योग्य शासकीय क्षमता भएकी व्यक्तिका लागि सम्झाइराख्ने कुरो हुन सक्दैन । अत: उनले आफ्नी पौत्रीका लागि अत्यन्त योग्य, उच्च कुलका राजपरिवारका राजकुमारलाई नै अवश्य ल्याएकी हुनै पर्दछ ।
यस सन्दर्भमा रामदेव राय दनुवारद्वारा लेखिएका ‘दनुवार जातिको ऐतिहासिक रूपरेखा’ नामक पुस्तकमा उल्लेख भएको प्रसंग विचारणीय देखिन्छ । उक्त पुस्तकको पृष्ठ ३५ मा उल्लेख छ, ‘राजा पुरादित्य सिंहको कान्छा छोरा स्थितिदेवबारे खरियानी निवासी जाति राजा स्व.उत्तीम
सिंहको भनाइ विचारणीय छ । उनको भनाइअनुसार स्थितिदेव सप्तरीका थुप्रै तागाधारी दनुवारहरूलाई जन्तीको रूपमा लिएर पहाड उपत्यका (खुपुदेश) विवाह गर्न गएकोमा आजसम्म जन्तीसहित पुन: फर्केर आएको छैन ।’ राजा जयस्थिति मल्लको नामको पाठहरूमध्ये स्थितिदेव पाठ रहेको प्रमाण जयज्योतिर्मल्लको नेपाल संवत् ५३३ (सन् १४१३ ई) को पशुपति अभिलेखमा राजलदेवीका पति स्थितिदेव भनी उल्लेख भएकोबाट पाइन्छ ।
यस प्रसंगमा उपर्युक्त उत्तीम सिंहद्वारा भनिएको कुरा उनको व्यक्तिगत अनुमान नभएर उनको परिवारमा एवम् त्यस क्षेत्रमा प्रचलित अनुश्रुति हो । अनुश्रुतिलाई इतिहास लेखनको सन्दर्भमा एउटा महत्त्वपूर्ण स्रोतको रूपमा ठानिन्छ । अर्कोतिर, उपर्युक्त उत्तीम सिंह भन्ने व्यक्ति सप्तरीका द्रोणवार राजा पुरादित्य सिंहका वंशजभित्रकै हुन्, त्यसै कारणले उनका परिवारका सदस्यहरूलाई आजसम्म पनि जातीय समाजमा ‘राजा’ भनेर सम्बोधन र सम्मान प्राप्त छ । यस्तै, एकातिर पुरादित्य सिंहको वंशावलीमा उनका कान्छा छोरा स्थितिदेव भनेर उल्लेख छ भने अर्कोतिर, जयस्थिति मल्लका माहिला छोरा जयज्योतिर्मल्लको अभिलेखमा समेत स्थितिदेव भनी उल्लिखित छ । यसरी नै, ‘गोपालराजवंशावली’ ग्रन्थमा ‘दक्षिण मधेसबाट जयस्थिति मल्ललाई ल्याइएको’ कुरा स्पष्ट रूपमा उल्लेख छ । यता, सप्तरीदेखि महोत्तरीसम्मको भूभाग पर्ने (वर्तमान सिरहा र धनुषासमेत) जिल्लाहरूका क्षेत्रका गाउँ तथा नगरहरूमा द्रोणवार वंशीय राजा पुरादित्य सिंहका वंशज अनेक दोनवार परिवारहरूको बसोबास छ । यिनीहरू आफूलाई रजहन दोनवार भनेर ‘सप्तरिया राजा’ परिवारका भन्ने गर्छन् । यिनीहरूको परिवारमा भन्ने गरिएको अनुश्रुतिअनुसार स्थितिदेव विवाह गर्न जन्ती लिएर खुपुदेश गएका थिए । नेवारी भाषाको शब्द खुपुदेश भनेको भक्तपुर नै हो । देवलदेवीले जयस्थिति मल्ललाई सन् १३५४ ईमा भक्तपुरमा नै ल्याएकी थिइन् । भक्तपुरदेखि दक्षिणतिर रहेको मधेसको भूभागमा नै सप्तरी क्षेत्र पर्छ, जहाँ स्थितिदेवका पिता पुरादित्य सिंहको राज्य थियो । यसप्रकार जयस्थिति मल्ल सप्तरीका राजकुमार निश्चित हुन आउँछन् । द्रोणवार वंशीय राजा पुरादित्य सिंहको शासनकालमा सप्तरी राज्य अत्यन्त सबल र सम्पन्न राज्यको रूपमा रहेको थियो । मिथिलाका ओइनवारवंशीय राजा शिवसिंह ठाकुर (सन् १४१३–१४१६) युद्धमा अन्तर्हित भएपछि उनकी महारानी लखिमादेवीका साथ मैथिली भाषा र साहित्यका महाकवि विद्यापति सप्तरीमा राजा पुरादित्य सिंहको दरबारमा आएर बाह्र वर्षसम्म प्रवास बसेका थिए ।
मिथिलामा कर्णाट वंशको शासन समाप्त भएपछि ओइनवार ब्राह्मण वंशको शासन स्थापित हुन पुगेको थियो । त्यस अवस्थामा सप्तरी क्षेत्रका साथै मिथिला क्षेत्रका अन्य भूभागमा अनेक राजवंशका शासनहरू स्थापित भएका थिए । यसै सन्दर्भमा द्रोणवार ब्राह्मण राजवंशका अधीनमा नेपालका सप्तरी र महोत्तरी लगायत भारतको बिहार राज्यमा पर्ने नरहनजस्ता राज्यहरू स्थापित हुन पुगेका थिए । मिथिलामा ओइनवार ब्राह्मण राजवंश र द्रोणवार ब्राह्मण राजवंशहरूबीच परस्पर सम्बन्ध रहेको देखिन्छ । मिथिलाको इतिहासको अध्ययनबाट थाहा पाइन्छ कि काशीको राजपरिवार र नरहन राज्यको द्रोणवार ब्राह्मण राजपरिवारबीचमा वैवाहिक सम्बन्ध थियो । यस सन्दर्भमा ध्यान दिनुपर्ने कुरा के छ भने भक्तपुरकी राजकन्या तथा राजगद्दीका उत्तराधिकारी नायकदेवीको विवाहको सन्दर्भमा सन् १३३० ईमा काशीका राजवंशका कुमार हरिचन्ददेवलाई ल्याइएको थियो । यसप्रकार, सप्तरीका द्रोणवार ब्राह्मण वंशका प्रभावशाली राजा पुरादित्य सिंहका राजकुमारले तत्कालीन भक्तपुरको अस्थिर राजनीतिक परिवेशलाई सहजता र स्थिरता प्रदान गर्न सक्ने कुरामा विश्वस्त भएर नै देवलदेवीले राजलदेवीको विवाहका लागि राजकुमार स्थितिदेवलाई भक्तपुरमा ल्याएको देखिन्छ । काठमाडौं उपत्यकामा मल्ल राजाहरूको समयमा नामको अगाडि ‘जय’ र पछाडि ‘मल्ल’ लेखिने पुरानो परम्परा पाइन्छ । अत: स्थितिदेवको नाम जयस्थिति मल्लदेव हुन गएको बुझिन्छ ।
अब यस प्रसंगमा एउटा अर्को पक्ष के रहेको छ भने कान्तिपुर, भक्तपुर र ललितपुरका मल्ल राजाहरू जयस्थिति मल्लका वंशज नै थिए । अर्कोतिर, ललितपुरका राजा सिद्धिनरसिंह मल्लको मंगलबजारको विश्वेश्वर मन्दिरको अभिलेखमा स्वयम्लाई मिथिला प्रदेशका राजा हरिसिंहदेवको वंशमा उत्पन्न भएको भनिएको छ । यस्तै विवरणहरू ज्योतिर्मल्लको पशुपति अभिलेख, प्रतापमल्लको हनुमानढोका अगाडिको कृष्णदेवल अभिलेख आदिमा पाइन्छन् । यसरी, उपत्यकाका मल्ल राजाहरूले मिथिलाका कर्णाटवंशी राजा हरिसिंहदेवलाई आफ्ना पुर्खा मान्नु एवम् सप्तरी र महोत्तरी क्षेत्रका रजहन दोनवार परिवारमा हरिसिंहदेवलाई पुर्खा मानेर पूजा गरिनु आदि विषय विचारणीय छन् ।
यस सन्दर्भमा कुलचन्द्र कोइरालाद्वारा लिखित ‘श्रीतलेजु र दिगुतलेजु’ नामक पुस्तकमा वर्णन गरिएको छ कि ‘मावलीपट्टिको कुल चलाउन यस कन्याबाट जन्मेको पुत्र यौटा वा सबै मलाई दिनुपर्छ भनी सर्तसाथ कन्यादान दिएको छ र त्यसबाट छोरो जन्म्यो भने त्यो पुत्रिका–पुत्र हुन्छ र मावलीपट्टिको कुलगोत्रमा जान्छ ।... त्यस्ता पुत्रले मावलीपट्टिकै कुलगोत्र चलाउने हुन्छ भन्ने कुरा स्मृतिकार मनु, गौतम, वशिष्ठ, बृहस्पति आदि धर्मशास्त्रकारको कथन छ । यस्तो सर्त मञ्जुर गर्न जयस्थिति मल्ल चुकेनन् होला... ।’ यसै आधारमा कर्णाटवंशका मिथिलाका राजा हरिसिंहदेवकी रानी देवलदेवीले स्थितिदेव (जयस्थिति मल्ल) को हातमा आफ्नी पौत्रीलाई कन्यादान गरिदिएकी हुन सक्छ । अत: जयस्थिति मल्लका सन्तति मल्ल राजाहरूले आफ्नो पूर्वज नान्यदेवलाई मान्नु, श्रीतुलजादेवीलाई आफ्नो कुलदेवता मान्नु र आफूलाई रघुवंशी मान्नु आदि कुरा धर्मशास्त्रसम्मत नै थिए भन्ने स्पष्ट हुन्छ । अत: जयस्थिति मल्लका सन्तानहरूले द्रोणवार ब्राह्मण वंशको सट्टा मावलीपट्टिका कुल कर्णाट वंशको उल्लेख गरेका थिए । अत: स्थितिदेव, स्थिति मल्ल, स्थिति मल्लदेव, स्थितिराज मल्ल, जयस्थिति मल्ल, जयस्थितिराज मल्लदेव, जयस्थितिराज मल्लदेवठाकुर आदि नामहरूबाट सम्बोधित गरिएका नेपालका मध्यकालीन राजा भएका व्यक्ति सप्तरी राज्यका गिरिनारायण प्रशस्ति भएका द्रोणवार ब्राह्मण वंशीय राजा पुरादित्य सिंहका कान्छा छोरा स्थितिदेव नै हुन् । यसप्रकार, अहिलेसम्म जयस्थिति मल्लको वंशबारे अनेक अनुमानहरूले गर्दा विवादास्पद रहेको विषय एउटा निश्चयमा पुग्न सकेको देखिन्छ ।

प्रकाशित : पुस १५, २०७४ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

घुर

कविता
सरिता तिवारी

काठमाडौँ — अब घुर बालेर बस्छ अकलुवा घुर !

र, घुरको आगोमा मिसाउाछ
सम्झादा सम्झादै भाउन्न छुट्ने केही झुर स्मृति
त्यसैमा झोस्छ सिद्धान्तले लपेटिएका फर्जी शब्द
थप्छ त्यहीं
दूरन्त क्रान्तिका खलनायकहरुको कुटिल तस्बिर !

घुरको वेदीमा
चट्चटाएर बल्नेछन्
उधारा र ढााटले भरिएका बेइमान हरफहरु
र हावाको लहरसागै हुर्हुरिादै उडेर हराउनेछन् हावामै

ताप्नेछ अकलुवा
पिठ्युा तेस्र्याएर, पैताला उचालेर
एउटा फरक स्वादको आगो !
हेर्ने छ आाखा नझिम्क्याई
आगोको मारूनी नाच
र कुरी बस्नेछ आगोछेउमै तबसम्म
जबसम्म निभ्ने छैन ऊभित्रको डहन !

आवेशमा छ अकलुवा
तीव्र झोंकमा छ आज

घाम छोप्न गएकी छोरीलाई चिहानमा भेटेको दिन बरू ऊ पहाडझैं शान्त र सोचमग्न थियो
’मुठभेड’ मा बलात्कृत भएर जंगलमा मृत
भेटिएकी पत्नीलाई देख्दा बरू
थियो ऊभित्र
क्रान्तिले सिकाएको उद्दाम हौसला र आशा

त्यो बलिदानको अनुष्ठानमा
चरनाम नाङ्गो भएको मान्छे ऊ
त्यो अद्भुत स्वप्नको मूल्यमा सर्वस्व गुमाएको योद्धा ऊ
क्रान्तिका खरिदार, दलाल र ग्राहकको
मेलामा पुगेर फर्केदेखि
लगातार निकाल्न खोज्दै छ हिसाब
कि क्रान्तिले क कसलाई सिध्याएर गयो ?
र बनाएर गयो क कसलाई ?

अरे भाइ ! क्रान्ति भनेको कुनै सर्प–सोपानको खेल हो ?
क्रान्ति जुवाको खालमा हु‍र्‍याउने हुकुमको एक्का हो ?
अथवा क्रान्ति कसैको ’बाप’ को जागिर हो ?

थुतेर झोस्न मन छ उसलाई अब यही
आगोमा
अविच्छिन्न मुकुटधारणको
उखरमाउलो सपनाले रौसिएर
क्रान्तिका अर्थहरु बटार्दै र बङ्ग्याउादै
प्राधिकारसहित
उसको सर्वहारा आङमाथि उक्लेर
बर्बराइरहेको
इतिहासको सबभन्दा धुर्त जिब्रो !

प्रकाशित : पुस १५, २०७४ ०९:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT