‘अम्बर गुरूङको नेपालीप्रतिको प्रेम आमाबाबुले आफ्नो बच्चालाई गर्नेजस्तो सर्तरहित थियो— नैसर्गिक र प्रश्न गर्नै नसकिने ।’ गुरूङ र उनले बुझेको नेपाली पहिचानलाई छोरी अल्काले यसरी सम्झिइन् :
बाबा अम्बर गुरुङलाई मृत्युपश्चात् सम्मान गर्न केही महिनाअघि आमा र मलाई मोरङको बेलबारीमा आयोजित एक कार्यक्रममा आमन्त्रित गरिएको थियो । साउन अन्तिम साता गरिएको उक्त कार्यक्रम हामी दुबैका लागि तीतोमीठो अनुभवले भरिएको थियो ।
किनभने हामी पहिलो पटक बाबाको गैरउपस्थितिमा कुनै सम्मान कार्यक्रममा भाग लिँदै थियौं ।
एकातर्फ बाबालाई उहाँले नपाली संगीत र साहित्यमा पुर्याउनुभएको योगदानका लागि मृत्युपर्यन्त पनि सम्मान गरिएको साक्षी हुन पाउँदा हामीलाई गर्व थियो भने अर्कातर्फ उहाँ अब हामीमाझ हुनुहुन्न भन्ने यथार्थले मुटु दुखिरहेको थियो । बाबाको कला र आत्मा सदैव जीवित नै रहे पनि उहाँको सिर्जनशीलता, कुराकानी र आवाजले अब हाम्रो उपस्थितिलाई सराहना गर्दैन भन्ने दु:खद अनुभूति भइरहेको थियो ।
कार्यक्रम दुई भागमा बाँडिएको थियो । बिहानी सत्र दार्जिलिङ, असम, बेलबारी, धरानलगायत आसपास नेपाली कविहरूको कवितावाचन बाबामा समर्पित थियो । मध्याह्नको कार्यक्रम उहाँका संगीत र गीतहरूमा समर्पित । आयोजकहरूले बाबाले सबै नेपालीलाई एउटै सूत्रमा जोड्न निभाउनुभएको भूमिकाको उच्च मूल्यांकन गर्न त्यहाँ स्वदेशी र प्रवासी दुवै तप्काका कवि, लेखक, संगीतकार र गायकको सम्मेलन गरेका थिए ।
कलाकार तथा बेलबारीका स्थानीयको सानो जमघटमा भएको कार्यक्रमले विश्वभर छरिएर रहेका नेपाली डायस्पोराको सांकेतिक प्रतिनिधित्व गथ्र्यो । यस्तै नेपाली कला, संस्कृति र पहिचानको विकासमा बाबाले आजीवन गरेको योगदानमा सबै नेपालीलाई एकताबद्ध गर्ने शक्ति रहेको त्यहाँ स्पष्ट हुन्थ्यो ।
तसर्थ, बाबाले नेपाली संगीत र साहित्यकै विकासमा योगदान कसरी दिनुभयो ? र, नेपालीको रूपमा हाम्रो सामूहिक तथा भिन्न पहिचानको प्रतीक हुनुभयो ? यी प्रश्नहरूको उत्तर खोज्न मैले बाबाको केही गीत र नेपालीपन तथा नेपाली पहिचानप्रतिको उहाँको दृष्टिकोणबारे पनि संश्लेषण गर्न चाहेंं ।
‘पहिचान’ का बारे छलफल गर्नु भनेको राजनीति र अर्थनीतिको धु्रवीकरणको साँघुरो घेराभित्र पर्नु हो । यहाँ मेरो उद्देश्य किञ्चित त्यो होइन । मैले यहाँ ‘पहिचान’ भनेको केवल हाम्रो सामूहिक नेपाली पहिचानमा सगीत, साहित्य, कला र संस्कृतिको कोणबाट र बाबा तथा उहाँको कलाले खेलेको भूमिका भन्न खोजेको हो । यो धेरै अर्थमा सांकेतिक बिम्बको कुरा हो । उदाहरणका लागि हाम्रो राष्ट्रिय गानले एकातर्फ हाम्रो राष्ट्रिय इतिहास र विभिन्न ‘जाति’ का रूपमा हाम्रो पहिचानको प्रशंसा गर्छ । त्यसरी नै अर्कोतर्फ नेपालीका रूपमा छरिएर ‘घर’ बाट टाढा–टाढा रहे पनि आफ्नो सामूहिक पहिचानलाई जोगाउन नेपालीहरूले कति कष्ट बेहोरेका छन् र कति सास्ती खेपेरै आफ्नो घरलाई सम्झने गरेका छन् भन्ने ‘नौलाख तारा’ का शब्दहरूले बताउँछन् । यी शब्दहरू आफैंमा उदाहरण हुन् ।
न सम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको
काँढाकै माझ पहाडी फूल (छैन र कहाँ हाँसेको)–२
सुनको सपना आँसुमा किन पो बाँधी ल्यायौ नि
मनको आगो निभाउन किन पो यहाँ आयौ नि...
अगमसिंह गिरीले जब यो गीत रचना गर्नुभयो र बाबाले संगीत भर्नुभयो र गाउनुभयो— सायद उहाँहरूले पहाड र दार्जिलिङका चिया बगानमा दु:ख भोगिरहेका नेपाली (मुगलान) लाई मात्रै सम्झनुभएको थियो । तर, पाँच दशकअघिको यो गीत अहिले पनि दार्जिलिङ, भुटान, असम मात्र नभएर खाडी मुलुक, मलेसिया, युरोप र अमेरिकालगायत पूरा विश्वमा दु:ख पाइरहेका तथा घर सम्झिएर दिन बिताइरहेका लाखौं नेपालीको अवस्थासँग उत्तिकै सान्दर्भिक छ ।
यो गीतको सान्दर्भिकता स्मरण गरिरहँदा म अमेरिकाको एउटा घटना सम्झन्छु । मैले अमेरिकामा नेपाली देहव्यापारका बारे एउटा ‘प्रेजेन्टेसन’ दिनुपर्ने थियो । कार्यक्रमको केही दिनअघि मलाई आयोजकका तर्फबाट जर्जियाबासी डा. रामचन्द्र बरालको फोन आयो । उनले मलाई मेरो प्रेजेन्टेसन दिनुभन्दा पहिला ‘नौ लाख तारा’ बारे केही बोलिदिन आग्रह गरे । उनलाई त्यो गीतले घरबाट बाहिर गएका अथवा बिदेसिएका सम्पूर्ण नेपालीले गरिरहेको संघर्षका बारे बोल्छ भन्ने गहिरो रूपमा लागेको रहेछ ।
बाबालाई हामी नेपालीको पहिचान भनेको सामाजिक संघर्ष र राजनीतिक इतिहास मात्र नभएर यहाँका हरेक मानिसमा रहेको भिन्नता र अतुलनीय विशेषतामा रहेको महसुस हुन्थ्यो । उदाहरणका लागि, उहाँका धेरै गीतले हाम्रो गरिबी, कसैसँग पनि तुलना गर्न नसकिने बहादुरी, उदारता, कोमलपन, सन्तोषी, खुला हृदय, सच्चा र इमानदारीलाई आत्मसात् गरेका छन् ।
नेपालीको गरिबीप्रति उहाँको सहानुभूति थियो । तर उहाँलाई यही आर्थिक पीडाले गर्दा नेपालीलाई करुणामय र दयालु बनाएको हो भन्ने लाग्थ्यो । नेपालीहरू बाहिरबाट हेर्दा जति कठोर देखिन्छन्, भित्र उति नै नरम छन् भन्ने बुझाइ उहाँको थियो । गरिबीकै कारणले नेपाली जातिमा कोमलपन, अर्काको मर्म र वियोगलाई बुझ्ने भावना, उदार हृदय, बलियो आत्मबल र आत्मविश्वास निहित छ भन्ने उहाँको धारणा थियो ।
नेपाली हुनुका गुणहरूको कुरा गर्दा बाबा कोमामा जानु केही घन्टाअघि ग्रान्डी अस्पतालको एक घटना याद आउँछ । बाबा खाटमा सुतिरहनुभएको थियो । उहाँको खोकी निकै बढेकाले सास फुल्न थालेको थियो । त्यो देखेर मेरो श्रीमान्ले बाबालाई हिम्मत नहार्न भन्दै हुनुहुन्थ्यो । बाबाले यो सुनेपछि मुस्कुराउँदै भन्नुभयो, ‘मलाई थाहा छ, म हार्दिनँ ।’
सास फुले पनि त्यो बेला बाबाले हामीलाई दोस्रो विश्व युद्धमा बर्मामा पक्राउ परेका गोखार्ली सैनिकको कथा सुनाउनुभयो । विभिन्न दु:ख, कष्ट र अप्ठयारो भोगेर बर्माका जंगल र गुरिल्लाबाट उम्कन सफल एक गोर्खालीलाई दुई वर्षपछि उद्धार गरियो । त्यसपछि उसलाई सैनिक कमान्डरले यस्तो अवस्थामा पनि ‘दुई वर्षसम्म कसरी बाँचिस् ?’ भनेर प्रश्न गर्दा त्यो गोर्खाली सैनिकले च्यातिएको नक्सा देखाउँदै ‘यसको सहयोगबाट जंगलबाहिर निस्कन सफल भएँ’ भनेर जवाफ दिएको थियो । उसको हातमा रहेको त्यो नक्सा बर्माको जंगलको नभएर लन्डन सहरको थियो ।
त्यो कथा टुंग्याउँदै बाबाले भन्नुभयो, ‘मलाई थाहा छ, म यसबाट पार पाउँछु, किनकि म आत्मबल र आत्मविश्वास उच्च भएको नेपाली जाति हुँ । हामी नेपालीको आत्मबलले कस्तो–कस्तो मुस्किल त पार गरेको छ । यो नै हाम्रो विशेषता हो । यो नै नेपाली मौलिकता र नेपाली अस्तित्वको चिनारी हो ।’
नेपालीको बहादुरी, इमानदारी, सच्चापन, निर्दोषिताप्रति बाबाको प्रेम अविच्छिन्न र निकै गहिरो थियो । उहाँको नेपालीप्रतिको प्रेम आमाबाबुले आफ्नो बच्चालाई, दाइ–दिदीले आफ्नो भाइ–बहिनीलाई गर्नेजस्तो सर्तरहित थियो— नैसर्गिक, प्रश्न गर्नै नसकिने र निरन्तरको प्रेम ।
यसप्रकारको नेपालीत्वको भावनामा बाबा भौगोलिक सिमाना, सीमा, आर्थिक–सामाजिक स्थिति, जातपात, स्वदेशी–प्रवासीबीचको भिन्नतालगायतका सबै आधारभन्दा माथि उठ्नुभयो । त्यसको साटोमा उहाँले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्नुभयो । उहाँले लेखेको एउटा गीतमा पनि त्यही भनिएको छ :
तिमीलाई गरिबभन्दा सरम छैन तीलभरि
तिम्रा जम्मै आँसु मेरा आँखाका यी डिलभरि
तिम्रो पसिनाको फूल फुल्छ एक दिन देशभरि
इमान तर बेच्यौ भने शिर निहुरिन्छ युगभरि
नेपाली, मेरो नेपाली
नेपाली, मेरो नेपाली
शूर, वीर जत्तिका छौ, त्यत्तिकै छौ सन्तोकी
बाहिरबाट हेर्दा कठोर, (कमलो छौ दिलभरि)–२
झुत्रो लुगा लाए पनि धनी तिमी मनभरि
तिमी भोकै निदाएको सपना मेरो पेटभरि
नेपाली, मेरो नेपाली
एक घरदेखि छुटिएका बेग्लै हामी बासहरू
एक आमाले पस्किएकी (थालका हामी गाँसहरू)–२
छुटिएको वेदनाको छटपटी भए पनि
जतासुकै बसे पनि नेपाल छ मनभरि
नेपाली, मेरो नेपाली
०००
बाबाका लागि नेपाल र नेपालीप्रतिको प्रेम सम्झौतारहित, निर्धक्क र अटुट सत्यझैं थियो । उहाँका धेरै राष्ट्रिय गीतले पनि नेपालीको सद्गुणहरूको महिमागान गर्दै हाम्रो वीरता, गौरव र सामूहिक जातिप्रेमलाई मुखरित गर्छ । उहाँको जातिप्रेमले नै गीतमा आत्मा भरिदिन्छ र, नेपालीपनको भावनालाई गहिराइमा पुर्याउँछ जुन गहिराइमा सहानुभूति, दया र मानवता भरिएको छ ।
उच्चस्तरको सिर्जनाले मानिसबीच रहेको वैमनस्यतालाई हटाउँदै एकताबद्ध गर्नुपर्ने हुन्छ । मेरो विचारमा सच्चा कलाकार त्यो हो, जसले श्रोता–दर्शकलाई त्यो कुरा सुनाउन वा देखाउन सक्छ
जुन कुरा सामान्य अवस्थामा सुन्न अथवा देख्न सकिन्न । विशेषगरेर जसले हामीलाई एकअर्काको भावनालाई बुझ्दै व्यक्तिगत तहमा मिलाउन उत्प्रेरक बनाउन सक्छ ।
बाबामा भएको यही विशेषताले मानिस–मानिसको संवेदनलाई जोड्न बल पुर्याएको हो । यही क्षमताकै कारणले उहाँले नेपालीप्रति प्रेम र समर्पणभाव देखाउँदै नेपाली कला–संस्कृतिलाई माथि उचाल्दै नेपाली पहिचानलाई उजागर गर्न सफल हुनुभयो । उहाँको यो गीतले पनि यसै भन्छ :
म गरिब नेपालीको तर धेरै प्यारो छोरा
चाहे झोपडीमा मेरो सारासारा जीवन बितोस्
म भोकै पिंडीमा मरूँ चाहे गल्लीमा सडूँ
मेरो नेपाल संसारमा ठूलो भई बाँचोस्
म आफ्नै चिन्तनामा कैले पनि नलागूँ है
मैले गरेको परिश्रमले मेरो देश फुलोस्
म आफू चाहे बाहिरतिर बसूँ
नेपाल फुल्दै छ भन्ने सन्देश पाइरहूँ
म आफ्नै जपनामा कैले पनि नडुबूँ है
देशको चिन्तामा बरु मेरो केश फुलोस्
म आफू नर्कमा परूँ कि त स्वर्गमा परूँ
पसिनाका फूलहरूको मोती म फुलाउन सकूँ
म वीरसाथै नेपालीको धेरै त्यागी छोरा
यो देश उठाउने संग्राममा मेरो जीवन बितोस्
म शिथिलता र थकाइले चाहे आफू गलूँ
सारा नेपालीलाई ब्युँझाउने गीत म गाउन सकूँ
बाबाका लागि सिर्जना भनेको उहाँको भावनाको अभिव्यक्ति र जीवनको भोगाइ मात्र थिएन । न त केवल इतिहास, जीवन कथाहरू र नेपालीको यथार्थ मात्र थियो । अन्तत: उहाँका सिर्जनाहरूले नेपाली जातिको आत्मामा रहेको द्वन्द्वलाई शीतल पार्ने प्रयास गरेका छन् । यस्तै उहाँको सिर्जनाको केन्द्र भनेकै नेपाली हुनुको गौरव हो, जुन पहिचान हरेक नेपालीको अद्वितीय गौरबबाट मुखरित भएको हो ।
