यसै त कम्युनिस्ट मुलुक त्यसमाथि परम्परादेखि नै रातो रङ मन पराउने चिनियाँहरू । ड्रागन रातो, सजावट रातो, आतिथ्य सत्कारको ब्यानर रातो, उपहारको र्यापिङ रातो अनि झन्डा रातो ।
चीनमा रातो रङलाई शक्ति, खुसी, असल भाग्य र शुभसंकेतका रूपमा लिइन्छ । चिनियाँ परम्परागत नयाँ वर्षलाई वसन्त चाड भनिन्छ । चीनमा जनवरी २८ अर्थात् माघ १५ देखि बाँदर वर्षलाई बिदा भएर कुखुरा वर्ष भित्रिँदै छ । अनि यसै दिनदेखि वसन्त ऋतु सुरु हुने भएकाले यसलाई वसन्त चाड पनि भनिएको हो । चीनमा कुखुरा वर्षमा जन्मिएका सबै व्यक्तिले आजको दिन रातो रङको बिकनी लगाउने गर्छन् । बेच्न राखिएका रातो रङका भित्री पोसाक र विभिन्न सजावटले बजार नै राताम्मे बनेको छ । वसन्त चाडका अवसरमा चीनमा उपहारका रूपमा आदानप्रदान गरिने पैसा पनि रातो खाममा टक्रयाइन्छ ।
चीनमा रातो खाम निकै प्रचलित छ । विशेषगरी जन्मदिन, विवाह र नयाँ वर्षमा उपहार दिनका लागि रातो खामको प्रयोग गरिन्छ । यस्तो रातो खामभित्र नगद राखिएको हुन्छ र चिनियाँ भाषामा होङपावो भनिन्छ । चिनियाँ भाषामा होङ भनेको रातो हो भने पावो भनेको खाम हो । वसन्त चाडमा रातो खाममा राखेर पैसा दिनेबारेमा चीनमा एउटा कथा प्रचलित छ । परापूर्वकालमा कुनै चिनियाँ गाउँमा राक्षसले बालबालिकाहरू सुतिरहेको बेला उनीहरूको टाउकोमा छुने गथ्र्यो । राक्षसले छोएपछि बालिबालिकाहरू सिकिस्त बिरामी हुने अथवा मर्ने गर्थे । राक्षसबाट दु:ख पाएपछि त्यहाँका मानिसले भगवान्को आराधना गरे । भगवान्ले आठवटी परीलाई बालबालिकाको रक्षा गर्न पठाए । ती आठवटी परीहरू आफ्नो रूप बदलेर सिक्काको रूप लिई बालबालिकाको सिरानीमुनि पसे । जब राति राक्षस आयो सिक्काको रूपमा रहेका ती परीले चम्किलो प्रकाश छरेर राक्षसलाई भगाए । यसपछि वसन्त चाडमा बालिबालिकालाई पैसा दिने चलन चलेको हो । यो प्रचलन बालबालिकाबाट अरू सबैमा छरिन थाल्यो । हिजोआजको डिजिटल युगमा मोबाइलबाट विच्याट र एलिपे एप प्रयोग गरेर रातो खाम मार्फत हुने पैसाको कारोबार चिताइ नसक्नुको हुन्छ । यसलाई चीनमा विच्याट र अलिपेको रातो खामको युद्ध पनि भनिन्छ । रातो खामभित्र जोडा नम्बरको पैसा राखिन्छ । मत्यु भइसकेको मान्छेका नाममा दिइने पैसा भने बिजोडी नम्बरमा राखिन्छ । चिनियाँ विश्वासअनुसार सकेसम्म चारबाट सुरु भएको मात्रा ४, ४०, ४४ को संख्यामा पैसा राखिन्न । चीनमा चारलाई अपसकुनका रूपमा लिइन्छ । पहिले रातो खाममार्फत असीमित मात्रामा उपहारको रूपमा पैसा पठाउन सकिन्थ्यो तर अहिले चीनमा भ्रष्टाचार बढेकाले विच्याटले २०० युआनभन्दा बढी पठाउन नसकिने व्यवस्था गरेको छ । विशेषगरी पाँच दसमलव २० चिनियाँ युआन पठाउनु राम्रो हुन्छ किनभने ५२० लाई चिनियाँ उच्चारणमा आई लभ यु भनेजस्तै सुनिन्छ ।
विच्याटले सन् २०१३ को जुनदेखि किनमेल गर्न सकिने व्यवस्था सुरु गरेको हो । सन् २०१४ जनवरी १७ देखि रातो खाममा पैसा उपहार दिन सकिने सुविधा थपिएपछि वसन्त चाडमा भर्चुअल खाम प्रयोगमा आउन थालेको हो । पहिले अलिबाबाले पनि आफ्नो मोभमेन्ट विच्याटमै सेयर गथ्र्याे । तर प्रतिस्पर्धा बढेपछि विच्याटले अलिबाबाको अलिपेमार्फत पैसा प्रदान गर्ने गतिविधिलाई निष्क्रिय बनाएपछि अलिपेले छुट्टै सफ्टवेयर बनाएर काम गर्न थाल्यो ।
वसन्त चाडका अवसरमा सीसीटीभीले आयोजना गर्ने सांगीतिक गाला हेर्ने दर्शकहरूलाई विच्याटबाट भाग्यशाली पैसा वितरण गर्न थालेपछि यसले अझै लोकप्रियता पायो । सन् २०१५ देखि वसन्त चाडका अवसरमा टिन्सेन्ट कम्पनीको विच्याट र अलिबाबाको अलिपेबीचमा रातो खामको युद्ध सुरु भएको छ । सन् २०१४ को वसन्त चाडको सीसीटीभी गाला हेर्ने दर्शकहरूलाई मोबाइल हल्लाएर भाग्यशाली पैसा लिन भनिएको थियो । सो अवसरमा विच्याटले एक अर्ब २० करोड राता खाममा ५० अर्ब चिनियाँ युआन राखेर वितरण गरेको थियो । सन् २०१५ को वसन्त चाडको पूर्वसन्ध्या पारेर फेब्रुअरी १० मा अलिबाबाले मोबाइलको एप अलिपेमार्फत ६० करोड चिनियाँ युआन भाग्यशाली पैसा दिने घोषणा गर्यो । जसमा १५ करोड ६० लाख चिनियाँ युआन नगद र ४३ करोड ४० लाख चिनियाँ युआन बराबरका किनमेलका कुपनहरू राखिएका थिए । अलिबाबाको घोषणाको आधा दिन नबित्दै विच्याटले ५० करोड नगद र ३ अर्ब चिनियाँ युआन बराबरका किनमेल कुपन दिने घोषणा गर्यो । यहीँबाट सुरु भयो अलिपे र विच्याटबीचमा रातो खामको युद्ध । सन् २०१४ को चिनियाँ नयाँ वर्ष सुरु हुने अघिल्लो साँझ एक करोड ६० लाख रातो खाम आदानप्रदान भएको थियो । सन् २०१५ मा एक अर्ब चिनियाँ युआन आदानप्रदान भएको थियो । सन् २०१५ को चिनियाँ नयाँ वर्षमा अलिपेमार्फत ८८ करोड रातो खाम प्रतिमिनेट आदानप्रदान भएका थिए भने विच्याटमार्फत ८१ करोड प्रतिमिनेट आदानप्रदान भएका थिए । सोही अवधिमा विच्याटमार्फत जम्मा एक अर्ब रातो खाम आदानप्रदान भएका थिए भने अलिपेमार्फत ६८ करोड ३० लाख व्यक्तिहरूले पैसा लिने भाग्यशाली खेलमा सहभागी भएका थिए । उनीहरूमध्ये २४ करोड राता खाममार्फत ४ अर्ब चिनियाँ युआन आदानप्रदान भएको थियो ।
सन् २०१६ को वसन्त चाडमा विच्याटले ८ अर्ब व्यक्ति (पटकपटक गरी) भाग्यशाली पैसा लिने कार्यमा सहभागी भएका थिए जसमध्ये ३ अर्ब २० करोड पटक रातो खाम मार्फत पैसा आदानप्रदान भएको थियो । अलिपेले चाहिँ यो संख्या खुलाएको छैन ।
